तीन सय वर्ष पुरानो घ्यू-तेल पसल सञ्चालक भन्छन्- असन गाडी मुक्त भए व्यापार बढ्छ


असनको अन्नपूर्ण मन्दिरछेउ साइनबोर्ड नभएको झिलिमिली पसल छ।

त्यहाँ आउने ग्राहकलाई साइनबोर्डको दरकार पनि पर्दैन। उनीहरुलाई थाहा छ, यो घ्यू-तेल पाइने राजधानीकै पुरानो पसल हो।

यसका सञ्चालक हुन् स्वयममान तुलाधर।

‘अरू राम्रा देखिने पसल हुँदाहुँदै किन यहाँ यस्तो भिड?’

‘यो पसल पुरानो हो। यहाँको घ्यू–तेल राम्रो हुन्छ,’ एक ग्राहकले भने।

‘कति वर्ष पुरानो?’

‘यो पसल चलाउने म छैठौं पुस्ता हुँ,’ स्वयममानले भने, ‘मेरो जिजुबाजेको पनि हजुरबुबाले खोल्नुभएको। भयो होला झण्डै तीन सय वर्ष।’

मन्दिरको ठीक पछाडि पसल हुनु र धेरै वर्ष यही ठाउँमा रहेकाले ग्राहकको विश्वास जितेको उनी बताउँछन्।

‘पसल निकै पुरानो भएकैले ग्राहक खोजी–खोजी यहीँ आउँछन्,’ उनले भने, ‘अनि अन्नपूर्ण मन्दिर पछाडिको, कुनाको पसल कुन हो भन्दै खोजेर पनि आउँछन्।’

यही भएर उनलाई कहिल्यै फुर्सद हुँदैन। बाह्रै महिना उनको पसलमा ग्राहक भरिभराउ हुन्छन्। ‘सधैं यस्तै भिड हो,’ ग्राहकतिर हेर्दै उनले भने, ‘कहिल्यै खाली हुँदैन।’

उनका अनुसार उनी १३ वर्ष उमेरदेखि नै पसलमा बस्न थालेका हुन्। पसल चलाउने आफू छैठौं पुस्ता भएकोबाहेक उनलाई यसको स्थापनाबारे धेरै थाहा छैन।

‘मलाई धेरै कुरा त थाहा छैन। सुरुसुरुमा यहाँ घ्यू–तेल मात्र बिक्थ्यो रे। मैले जान्दादेखि भने चाकु पनि बेच्थ्यौं,’ उनले भने।

उनको पसलको चाकु पनि निकै परिचित छ। सुरुवाती दिनमा पसलमा यिनै तीन थोक पाइन्थे।

अहिले भने उनले पसलमा धेरै सामान राखेका छन्। पूजा सामग्री, प्याक गरिएका खानेकुरा, मरमसला पनि सजाएका छन्। यसले व्यापार बढाएको उनी बताउँछन्। ‘समयअनुसार फेरिनु पर्छ। सामान थपेर परिवार चलाउन सहज भएको छ,’

उनले भने।

‘कहिलेदेखि राख्नुभयो?’

‘५० सालदेखि जिरासहित अरु मरमसला बेच्न थालेँ। ७१ सालबाट पूजा सामान र ड्राई फुड,’ उनले भने, ‘ग्राहकको सुविधा हेरेर यी सामान थपेको हुँ। घ्यू–तेल किन्न आउँदा अरू सामान पनि धेरै खोज्न थाले। ग्राहकको आवश्यकता पनि पूरा हुने, व्यापार पनि बढ्ने भएपछि थपथाप पारेँ।’

स्वयममानको पसलमा जसरी पुस्ता र सामान परिवर्तन भएको छ त्यसरी नै सामान बनाउने तरिका पनि फेरिएको छ। ग्राहक र उनीहरूले लैजाने तरिका पनि बदलिएको छ।

उनका अनुसार अघिका पुस्ताले असनमै पेलेको भुटेको तेल बेच्थे। काँचो तेल मधेसबाट ल्याउथे। गाउँतिरबाट नौनी ल्याएर आफैं खारेको घ्यू बेच्थे। भुटेको तेल अहिले पनि असनमै पेल्छन्। काँचो तेल मधेशकै बेच्छन्। घ्यू भने आफू खार्दैनन्। एक्लै भएको र काम बढेकाले खार्न नभ्याउने उनी बताउँछन्।

‘पहिला घरमै नौनी खारेर घ्यू बनाएर बेचिन्थ्यो। अहिले एक्लै छु। दाइहरु छुटिहाले। खार्नै भ्याइदैँन। त्यसैले यसका निम्ति छुट्टै मान्छे राखेको छु। नौनी चाहिँ अहिले पनि गाउँतिरबाटै आउँछ,’ ग्राहकलाई प्लास्टिकको बट्टामा घ्यू दिदैं उनले भने।

कुनैबेला ठेकी र सिसीमा दिन्थे।

‘यी हेर्नु न, अहिले यस्ता थरिथरि प्लास्टिक र भाँडा छन्। पहिले यो सबै गाउँ नै थियो। मान्छेहरू ठेकी, सिसी लिएर आउँथे,’ उनले भने, ‘अहिले कहाँ त्यस्तो रह्यो र? प्लास्टिकमा बोक्न पनि मान्छे अप्ठ्यारो मान्ने भएका छन्।’

ग्राहक र सामान जति परिवर्तन भए पनि उनी आफ्नो पेसा फेर्न चाहँदैनन्। ३५ वर्ष भयो उनले यो काम गरेको। न कुनै जागिर खाए, न अर्को व्यवसाय।

सिद्धार्थ बनस्थलीबाट धेरै पहिले विज्ञान विषयमा प्रविणता तह पास गरेको भए पनि आफूलाई यही काममा लत लागेको उनी बताउँछन्।

‘जमानामा आइएस्सी गरेको। जागिर नपाएको पनि होइन। बाबु-बाजेको पेसा धान्नुपर्छ भनेर अन्त ध्यान नदिई यही काम गरेँ,’ उनले भने, ‘यसमै खुसी छु। बाचुन्जेल यही गर्छु।’
‘तपाईंका छोराछोरीले नि यही गर्लान् नि?’

‘ख्वै आशा त छ, ढुक्कै चाहिँ छुइनँ,’ उनले भने, ‘एउटा छोरा र एक छोरी छन्। पुस्तौंदेखिको पसल धान्नुपर्छ भन्ने हो। व्यापार पनि राम्रो छ। मेरो जीवन यही पसलमा बित्यो। तर, उनीहरूलाई यसैमा मात्र के अडाएर राख्ने भन्ने लाग्छ। फेरि उनीहरूको पनि आफ्नै सोच होला। यही गर भनेर कर गर्न भएन। मन लागे यही पसल चलाउँछन्। नलागे कर गर्दिनँ।’

असन बीचमा ३५ वर्ष बिताएका उनले यो ठाउँ फेरिदाँका धेरै दृश्य देखेका छन्।

अब फेरि उनले नयाँ बदलाव देख्नेछन्। कुनैबेला सवारीको अत्यन्त घन्चमन्च हुने यहाँ अब केही शान्त हुनेछ। माघ २ गतेदेखि यहाँ चार पाङ्ग्रे सवारी देखिने छैनन्।

‘मलाई अत्यन्त खुसी लागेको छ। असन अलि शान्त हुने भयो। मान्छे हिँड्न पाउने भए,’ उनले भने, ‘मुस्किलले एक गाडी छिर्ने ठाउँमा लस्कर हुन्थ्यो। धूलोधुँवा उस्तै। खुला भएपछि किनमेल गर्ने अझै धेरै मान्छे आउँछन्। यहाँ त कति घुम्नै पनि आउँछन्, मन्दिर दर्शन गर्न आउँछन्। गाडीको भिडभाडले दिक्क हुन्थे। अब यो समस्या कम होला।’

‘दुई पाङ्ग्रे पनि हटाउँदा होला नि?’

‘यो चाहिँ तत्काल गरिहाल्नु हुँदैन। बिस्तारै गर्दा हुन्छ। सुरुमै सबै हटाउँदा मान्छेलाई गाह्रो हुन्छ। बानी हुन समय लाग्छ। चार पाङ्ग्रे हटेपछि मान्छेको आउजाउ बढ्छ। उनीहरू गाडी बिनै यहाँ आउन थालेपछि दुईपाङ्ग्रे पनि हटाउँदै लैजाने गर्दा राम्रो हुन्छ,’ उनले भने।

सबै व्यवस्था भएपछि मात्र दुईपाङ्ग्रेमुक्त गर्नुपर्ने उनको सुझाव छ।

‘असन नुनदेखि सुनसम्म पाइने पुरानो बजार हो। यसको संरक्षण गर्न चार पाङ्ग्रे सवारी आउन नदिनु अत्यन्तै राम्रो कदम हो,’ उनले भने, ‘यसलाई निरन्तरता दिन कडाईका साथ नियम र काम भने हुनुपर्छ।’

यही माघ २ गतेदेखि असनसहित काठमाडौंको भित्री क्षेत्र चार पाङ्ग्रे सवारीमुक्त हुँदैछ। यसले काठमाडौंको मौलिक पहिचान जर्गेनामा त मद्दत पुग्छ नै, यहाँका प्राचीन सम्पदा पनि संरक्षण हुन्छन्। स्वयममानका जस्ता दुई–तीन सय वर्ष पुराना पसल पनि जोगिन्छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.