कालीगण्डकीमा पक्की पुल निर्माण तीव्र 


कालीगण्डकीमा निर्माणाधीन पक्की पुल निर्माण अहिले धमाधम अगाडि बढिरहेको छ ।

पाल्पाको रामपुर नगरपालिका–६ र स्याङ्जाको चापाकोट नगरपालिका–७ जोड्ने कालीगण्डकीको गौरीघाटमा पक्की पुल निर्माण कार्य अगाडि बढेपछि यस क्षेत्रका स्थानीयवासी खुशी भएका छन्।

जेभी काठमाडौंको डिजाइनमा सपना हिमदुङ एण्ड थोकर निर्माण कम्पनीले २०७२ फागुन १६ गते शिलान्यास गरेर तीन वर्षमा पुल निर्माण सम्पन्न गर्ने गरी निर्माण प्रक्रिया धमाधम अगाडि बढाएको हो ।

एकसय ७४ मिटर लम्बाइ, आठ मिटर चौडाइ रहेको पक्की पुल नेपाल सरकारको  १५ करोड ११ लाख रुपैयाँको लागतमा निर्माण कार्य भइरहेको छ। अहिलेसम्म ७० प्रतिशत जति निर्माण कार्य सम्पन्न भइसकेको ठेकेदार एवं चापाकोट नगरपालिका–७ का वडाध्यक्ष एकदेव भट्टराईले  बताए।

यो पुल यस क्षेत्रकै नमूनाका रूपमा तीव्रगतिमा निर्माण अगाडि बढेको पुल निर्माण समितिका उपाध्यक्ष एवं रामपुर नगरपालिका–६ का वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए। आगामी असार मसान्तसम्ममा पुल निर्माणको काम सकिने उनले बताए।

पुल निर्माण सम्पन्न भएपछि पाल्पाको रामपुर, स्याङ्जाको चापाकोटलगायतका स्थानियवासी प्रत्यक्ष लाभान्वित हुनेछन्। यही पुलबाट नदी वारिपारि यात्रा गर्न, गाउँघरमा उत्पादित कृषिजन्य सामग्री गाडीमा ओसारपसार गर्न सजिलो हुने भएपछि यस क्षेत्रका स्थानीयलाई धेरै फाइदा पुग्नेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.