गाडी भाडामा लिएर १ करोड ३५ लाख नतिर्ने पक्राउ


गाडी भाडामा लिएर १ करोड ३५ लाख रुपैयाँभन्दा बढी रकम नतिर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले नुवाकोट घर भई गंगबुमा बस्दै आएका शिवबहादुर कार्कीलाई पक्राउ गरेको हो ।

उनले विभिन्न ब्यक्तिहरूसँग गाडी भाडामा लिने, पछि गाडी र भाडा दुवै नदिने गरेको गुनासो आएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कार्कीले १ करोड ३५ लाख भन्दा बढी रकम गाडी भाडा लिएबापत तिर्नु पर्ने प्रहरीलाई बताए।

उनले गाडी एक वर्ष भाडामा लिने र एक महिनादेखि ३ महिनासम्मको अग्रिम रकम चेकमार्फत दिने गरेका थिए।

गाडीधनीले पटक पटक सो चेक बाउन्स भएपछि प्रहरीमा उजुरी दिएका थिए। उनले झण्डै २० जनाको गाडी भाडामा लिएर भाडा र गाडी दुवै फिर्ता नगरेको महाशाखाले जनाएको छ।

कार्कीले एक महिनाको भाडा बढीमा ७५ हजार रुपैयाँ दिने गरेका थिए।

व्यवसायी र पूर्व प्रहरी कर्मचारीसहित उनीबाट ठगिएको भन्दै दर्जनौं मानिसहरू मंगलबार अपराध महाशाखा पुगेका थिए। उनीविरुद्ध ठगी र बैंकिङ कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.