अदालत अवहेलनाको मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको रिहाइको माग गर्दै मंगलबार बिहान ८ बजेदेखि माइतीघरमा केसीका समर्थकहरू भेला भएका छन्।
डा केसी पक्राउको विरोध गर्दै ‘सोलिडारिटी फर डा केसी एलायन्स’को आयोजनामा हुने प्रदर्शनमा स्वस्फूर्त रूपमा सर्वसाधारणको उपस्थिति भइरहेको छ।
यसैबीच प्रहरीले माइतीघर मण्डला क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको छ।
सिंहदरबार प्रहरी बृत्तमा राखिएका केसीलाई नौ बजे अदालतमा उपस्थित गराउने तयारी प्रहरीले गरेको छ भने त्यसअघि नै केसीका समर्थकहरु केसीलाई तत्काल रिहा गर्न माग गर्दै माइतीघर मण्डलामा भेला भएका हुन्।
पूर्वस्वास्थ्यमन्त्री तथा नेपाली कांग्रेसका नेता गगन थापा पनि केसीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै र उनलाई तत्काल रिहाको माग गर्दै माइतीघर आउने भएका छन्।
डा केसीलाई सोमबार राति ८ बजे अनसनस्थलबाट नै पक्राउ गरिएको हो। डा केसीले सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र उनले गरेका कामहरु बारे छानबिन गर्न माग गरेका छन्।
डा केसीले चार वर्षअघि बरखास्तमा परेका आइओएमका डिन डा शशि शर्मालाई सर्वोच्चले पुनर्बहाली गरेपछि सोको विरोध गरेका थिए। सोही प्रकरणमा उनले सोमबार दिउँसोबाट अनसन सुरु गरेका छन्। प्रहरी हिरासतमा रहेका डा केसीले त्यहाँ पनि अनसन जारी राखेका छन्।
तस्बिरहरूः नारायण महर्जन