काठमाडौं सभ्यता- ५
पुरातत्वविद्हरूले मंगलबार रानीपोखरी उत्खनन् गर्दा उत्तरतर्फ जगतनारायण मन्दिरमा गुर्जुपल्टन बढाइँ दिँदै थियो।
एकै दिनका यी गतिविधिले दुई पक्ष उजागर गरेका छन्।
पुरातत्वविद्हरू ‘मल्लकालीन शैलीमै रानीपोखरी संरक्षण गर्न सकिने’ निष्कर्षमा पुगेका छन्। गुर्जुपल्टनको बढाइँले रानीपोखरीसँग जोडिएको साँस्कृतिक महत्व झल्काउँछ।
सुरुमा उत्खननको कुरा गरौं।
‘राजा प्रताप मल्लको पालामा जुन स्वरुप, शैली र निर्माण सामग्री प्रयोग गरेर रानीपोखरी बनाइएको थियो, त्यसरी नै पुनर्निर्माण गर्न सकिन्छ,’ मंगलबार र बुधबारको उत्खननपछि सम्पदाविद् सुदर्शराज तिवारीले सेतोपाटीसँग भने।
आर्किटेक्चर इञ्जिनियरिङका प्राध्यापक तिवारी रानीपोखरी पुनर्निर्माण अध्ययन समितिका सदस्य हुन्।
काठमाडौं महानगरपालिकाले मल्लकालीन शैली, स्वरुप र निर्माण सामग्री प्रयोग गरेर रानीपोखरी पुनर्निर्माण गर्न सकिन्छ कि सकिँदैन अध्ययन गर्न पुरातत्व तथा सम्पदाविद् संलग्न समिति गठन गरेको थियो।
समिति यस्तो निष्कर्षमा पुग्नुका कारण छन्।
रानीपोखरीको पश्चिमपट्टि खन्दा करिब साढे तीन फिट गहिराइमै पानी फेला पर्यो। पानी उम्रिएको भाग सडकको सतहभन्दा करिब १९ फिटमुनि छ।
त्यही ठाउँमा कालो माटो र बालुवाको तह फेला परेको छ। ती आपसमा खप्टिएर छ तह बनेका छन्।
हेर्नुहोस्:
पानीको सतहभन्दा ठ्याक्कै माथि लेसिलो कालो माटो छ। त्यसमाथि बालुवाको पत्र छ। बालुवालाई कालो माटोले थिचेको छ। त्यसमाथि बालुवा, कालो माटो र फेरि बालुवाको तह छ। यसले पोखरीको भित्री सतहमा अझै पानी अडिएर बसेको देखिन्छ।
‘पोखरी निर्माणको परम्परागत विधि नै यही हो,’ तिवारीले भने, ‘यहाँ कालो माटो र बालुवाको तहले पानी अडाउने काम गरेको छ। यसको मतलब, रानीपोखरीलाई प्राकृतिक रूपमै पुनर्जीवन दिन सकिन्छ भन्ने हो।’
कालो माटोले पोखरीको पानी चुहिनबाट रोक्छ। आवश्यकताअनुसार पानी रसाएर जाने बाटो पनि दिन्छ। पुरानै अवस्थामा पानी जम्मा हुन भने केही समय लाग्न सक्छ। पिँधबाट खुर्किएर फालेको करिब एक फिट कालो माटो हाले आउँदो बर्खाभरिमा पानी भरिन सक्ने उनको अनुमान छ।
[caption id="attachment_120991" align="alignnone" width="822"]
रानीपोखरी उत्खनन् गर्दा भेटिएको पानी र त्यसमाथि कालो माटो र बालुवाको तह। तस्बिरः सुदीप श्रेष्ठ/सेतोपाटी[/caption]
उत्खनन् क्रममा पोखरीको दुई तह डिल पनि फेला परेको छ। दुवै मल्लकालमै बनेका हुन्।
सबभन्दा होचो डिल सडक सतहभन्दा करिब १५ फिट तल छ। यो पश्चिमपट्टिको उत्खननमा फेला परेको हो। माथिल्लो डिल दक्षिणतर्फ हात्तीको शालिकमुनि छ। यो सडक सतहभन्दा लगभग पाँच फिट तल छ। त्यतिबेला सडकसँगै मिल्ने गरी बनाइएको हुनसक्ने तिवारी बताउँछन्।
दुवै डिल मल्लकालीन इँटाले बनेका छन्। यसको बनोट साधारण पर्खालभन्दा फरक छ। साधारण पर्खालमा एक लहर तेर्सो इँटामाथि अर्को लहर खप्टाइएको हुन्छ। ती इँटा त्यतिबेला माटोले जोडिन्थ्यो। अहिले सिमेन्टले जोडिन्छ।
यहाँ भने इँटाहरू न लहर मिलेका छन्, न माटोले जोडिएकै छन्।
सबभन्दा तल्लो लहरको इँटा ठडिएको छ। त्यसमाथि तेर्सो छ। त्योभन्दा माथि देब्रेतिर डल्किएको छ। त्यसपछि दाहिने, फेरि देब्रे र फेरि तेर्सो छ। यहाँभन्दा माथि पहिलेकै क्रम दोहोरिन्छ।
दुवै पर्खालको ठीक पछाडि उत्तिकै उचाइमा कालो माटो खाँदिएको छ। यसको चौडाइ डेढ फिट छ।
‘यस्तो पर्खाल बलियो हुन्छ, पानी बाहिर जान दिँदैन,’ तिवारीले भने, ‘डिलबाट चुहिएर जाने पानी कालो माटोको तहले अडाउँछ।’
‘दुई तहको डिलले पोखरीको दुइटा सतह बुझाउँछ। सबभन्दा तल्लो डिल पानीको न्यूनतम सतह हो। बर्खामा पोखरी भरिँदा पानी माथिल्लो डिलसम्म पुग्छ भन्ने यसले संकेत गर्छ,’ उनले भने।
‘नब्बे साल अगाडिको तस्बिर हेर्दा रानीपोखरी माथिल्लो डिलसम्मै भरिएको देखिन्छ।’
यसबीच अर्को एउटा डिल पनि हुनसक्ने उनको अनुमान छ। यो सडक सतहभन्दा १० फिट तल हुनसक्छ।
‘सामान्यतया परम्परागत पोखरीमा पाँच–पाँच फिटको अन्तरमा डिल बनाउने चलन हुन्छ,’ उनले भने, ‘रानीपोखरीमा दुइटा डिल फेला पार्यौं, थप उत्खनन् गर्ने हो भने अर्को पनि फेला पर्न सक्छ।’
[caption id="attachment_120992" align="alignnone" width="825"]
रानीपोखरीको डिल। यो मल्लकालमै बनेको हो। तस्बिरः सुदीप श्रेष्ठ/सेतोपाटी[/caption]
काठमाडौं महानगरपालिकाको पछिल्लो पुनर्निर्माण क्रममा तल्लो डिलको केही भाग भत्किएको छ। यसको सट्टा कंक्रिट पर्खाल लगाउन खोजिएको थियो। चौतर्फी विरोधपछि नै महानगरपालिकाले गत साता काम रोकेर अध्ययन समिति गठन गरेको हो।
महानगरका ठेकेदारले भत्काएकोबाहेक अधिकांश भाग सग्लै छ। यसलाई जस्ताको तस्तै प्रयोग गर्न सकिने तिवारी बताउँछन्।
‘भत्किएका केही भाग पुरानै शैलीमा बनाए बाँकी उही रूपमा प्रयोग गर्न सकिन्छ,’ उनले भने।
अध्ययन समितिका संयोजक विष्णुराज कार्कीको पनि यस्तै राय छ।
उनी पोखरीमा प्रयोग भएका इँटा तथा अन्य सामग्री जतिसक्दो फेरि प्रयोग गर्नुपर्ने बताउँछन्।
‘टुक्रा–टुक्रा भएर नासिएका छन् भने अलग कुरा, नत्र जति सकिन्छ पुरानै सामग्री प्रयोग गर्नुपर्छ,’ पुरातत्व विभागका पूर्व महानिर्देशक कार्कीले भने, ‘प्रताप मल्ल पालाका इँटा हामी अब पाउँदैनौं, सकभर जोगाएर राख्नुपर्छ।’
यी त भए मल्लकालीन शैलीमै पोखरी संरक्षण गर्न सकिन्छ भन्ने आधार।
रानीपोखरीसँग जोडिएका केही यस्ता पक्ष पनि छन्, जसलाई पुष्टि गर्न थप उत्खननको दरकार पर्छ।
पानीको स्रोत र निकास त्यसैमध्ये हुन्।
प्राचीन तथा मध्यकालीन पोखरीभित्र कम्तिमा दुईवटा इनार हुन्छन्। एउटाले पानी आपूर्तिको काम गर्छ भने अर्कोले निकास।
त्यतिबेला धेरै परबाट कुलो खनेर पानी ल्याउने चलन थियो। पोखरीनिर पुगेपछि कुलो दबाएर जमिनमुनि लगिन्थ्यो। र, भूमिगत रूपमै पोखरीको एउटा इनारसँग जोडिन्थ्यो। यसो गर्दा पानी बुलबुल गर्दै पोखरीको सतहसम्म आउँथ्यो।
अर्को इनार भने कालो माटोले भरेर राखिन्थ्यो। पोखरी मर्मत वा सफा गर्नुपरे माटो झिक्ने चलन थियो। पिँधमा कालो माटोमुनि बालुवा हुन्थ्यो। माटो झिकेपछि पानी त्यही बालुवाबाट रसाएर जान्थ्यो।
कुनै–कुनै पोखरीमा दुईभन्दा बढी इनार खनिएका हुन्थे। ती इनारबाट कुलो खनेर ढुंगेधाराहरूसम्म लगिन्थ्यो र टोल–टोलमा पानी आपूर्ति गरिन्थ्यो।
रानीपोखरीको निर्माण संरचना पनि यस्तै थियो। यहाँ सातवटा इनार खनिएको भनाइ छ। यी इनारबाट काठमाडौंका विभिन्न टोलमा पानी आपूर्ति हुन्थ्यो।
अहिलेसम्म थाहा भएअनुसार तीनधारा पाठशालामा जाने पानी रानीपोखरीकै हो। सुन्धारा हिटीमा हामीले केही वर्षअघिसम्म पानी आइरहेको देख्थ्यौं। त्यसको स्रोत रानीपोखरी नै हो। त्यहाँ टुँडिखेल हुँदै कुलो खनेर पानी लगिएको थियो।
‘उत्खननबाट यी सबै गुत्थी सुल्झाएर रानीपोखरीको स्रोत र निकास खोज्न सकिन्छ,’ तिवारीले भने।
[caption id="attachment_120990" align="alignnone" width="825"]
रानीपोखरीमा फेला परेको पानी ट्यांकी आकारको बज्र ढुंगा। यो पोखरीको पानी निकाससँग सम्बन्धित रहेको अनुमान छ। तस्बिरः सुदीप श्रेष्ठ/सेतोपाटी[/caption]
गुत्थी सुल्झाउने केही आधार फेला परेका छन्।
ढुंगेधाराहरूमा माछाको मुखजस्तो आकृतिबाट पानी आउने जस्तो भाग हामी देख्छौं, यहाँ त्यस्तै संरचना फेला परेको छ। त्यो बर्खामा पानी भरिँदा बगेर जाने बाटो हुनसक्छ।
पोखरीको भूमिगत स्रोत पनि फेला पार्न सकिने तिवारीको भनाइ छ।
स्रोतकै कुरा गर्दा तिवारीले रानीपोखरी निर्माणसँग जोडिएको बेग्लै सम्भावना औंल्याए।
हामीलाई अहिलेसम्म के थाहा छ भने, राजा प्रताप मल्लले छोरा चक्रवर्तेन्द्रको निधनपछि रानीको चित्त बुझाउन यो पोखरी बनाएका हुन्।
उनले यही ठाउँ किन रोजे त?
‘यहाँ प्राकृतिक रूपले नै पोखरी रहेको हुनसक्छ,’ तिवारीले भने, ‘असन वा जमलतिरबाट बग्ने पानी जम्मा हुने पोखरीलाई प्रताप मल्लले रानीपोखरीको रूप दिएका हुनसक्छन्।’
यस्तो अनुमान गर्नुको कारण छ।
किराँतकालदेखि नै सहरको सिरानमा पोखरी बनाउने चलन थियो। यसले पानीको भेल बस्तीभित्र छिर्न रोक्थ्यो। बर्खाको पानी जम्मा गरेर टोल–टोलमा बाँड्न ‘रिजर्भोयर’ को काम गर्थ्यो।
किराँतकालीन हाँडीगाउँको गहनापोखरी त्यस्तै पोखरी हो। क्षेत्रपाटीको इखापुखु अर्को उदाहरण हो। यो लिच्छविकालमै बनेको मानिन्छ।
मल्लकालीन रानीपोखरी सिरान पोखरीकै वर्गमा पर्छ। थप उत्खनन् गर्ने हो भने जमल वा असनतिरबाट पानीको भेल छिर्ने बाटो पत्ता लाग्न सक्ने तिवारी बताउँछन्।
‘रानीपोखरीभित्र सातवटा इनार छन् भनी सुन्दै आएका छौं, त्यो खासमा सातवटा स्रोत हुनसक्छ,’ उनले भने, ‘रानीपोखरीबाट सहरका विभिन्न भागमा पानी आपूर्ति हुन्थ्यो भनिन्छ। त्यसो हो भने आपूर्तिको बाटो खोज्न सकिन्छ।’
‘यसपालि हामी मल्लकालीन ढाँचामै रानीपोखरी संरक्षण गर्न सकिन्छ भन्ने निष्कर्षमा पुग्यौं, बाँकी उत्खननको जिम्मा पुरातत्वविद्को छुट्टै टोलीलाई दिन सकिन्छ,’ उनले भने।
भुइँचालोले रानीपोखरीसँग जोडिएका सबै पक्ष मिहिन हेर्ने अवसर दिएको उनको भनाइ छ।
[caption id="attachment_120994" align="alignleft" width="287"]
रानीपोखरीमा भेटिएको राणाकालीन इँटा। यो ९० सालको पुनर्निर्माणमा प्रयोग भएको हो। तस्बिरः सुदीप श्रेष्ठ/सेतोपाटी[/caption]
यस्तै अवसर मंगलबार उत्खनन् क्रममा गुर्जुपल्टनको बढाइँले पनि दियो।
त्यो बढाइँ रानीपोखरीसँग जोडिएको कलश जात्राको हिस्सा हो, जसले साँस्कृतिक महत्व झल्काउँछ।
यहाँ वर्षको दुईपटक चाँगुनारायणदेखि कलश जात्रा ल्याउने चलन छ। एउटा साउन शुल्क द्वितीयामा, अर्को पुस शुल्क पूर्णिमामा, जुन संयोगले मंगलबार थियो।
यो जात्रामा नारायण, लक्ष्मी र सरस्वतीको तीनवटा कलश ल्याइन्छ। चाँगुनारायण मन्दिरमा नित्यपूजापछि कलश जात्रा सुरु हुन्छ। मन्दिरका राजोपाध्याय पुजारीले नारायणको मुख्य कलश र धरेल थरका सहायक पुजारीले बाँकी कलश बोक्छन्।
यो जात्रा वसन्तपुरको हनुमानढोका दरबारमा टुंगिन्छ। त्यहाँ पुग्नुअघि रानीपोखरी उत्तरपट्टि जगतनारायण मन्दिरमा पूजा गर्ने चलन छ। पहिले कलशको स्वागत गर्न काठमाडौंका राजाबाट पूजा पठाउने गरिन्थ्यो। सँगसँगै गुर्जुपल्टन स्वागत र बढाइँ गर्न आउँथ्यो। यो चलन कायमै छ।
रानीपोखरी उत्खनन् भइरहँदा जुन बढाइँको आवाज सुनियो, त्यो गुर्जुपल्टनले चाँगुको कलश स्वागत गरेको हो।
त्यस दिन कलश बोकेका पुजारी गुर्जुपल्टन पछि लगाएर कमलाक्षी, असन, इन्द्रचोक हुँदै हनुमानढोका दरबार पुगेका थिए। तलेजु मन्दिरको द्वारमा ‘जीवित देवी’ कुमारी स्वागत गर्न आएकी थिइन्। कुमारीको उपस्थितिमा तलेजुका पुजारीले ‘लसकुस’ (स्वागत) गरेपछि कलश भित्र्याइयो।
तलेजुका पुजारीले पुरानो भोटे ताल्चाको एक छेउ समातेका थिए। अर्को छेउ चाँगुका पुजारीको हातमा थियो। करुवाले पानीको धारा बगाउँदै उनीहरू अघि बढे।
हनुमानढोकाको त्रिशूल चोक, मूलचोक हुँदै इनार भएको सानो चोकमा पुगे। त्यहाँ सानो छाप्रोजस्तो थियो, जसभित्र ढुंगा थियो। उनीहरूले कलश त्यही ढुंगामाथि बिसाए। प्रताप मल्लको पालामा ढुंगाको सट्टा आसन नै थियो भन्ने भनाइ छ।
यो पूरै जात्राभरि कलश छोपेर राखिन्छ।
चाँगुनारायण पुजारी परिवारका सदस्य आभाष राजोपाध्यायका अनुसार राजाले सबभन्दा पहिले कलश हेर्ने चलन थियो। अहिले राष्ट्रपतिलाई दर्शन गराउन शीतल निवास नै लगिन्छ।
‘कलशको जलमा राष्ट्रपतिले आफ्नो छायाँ हेर्नुहुन्छ,’ राजोपाध्यायले भने, ‘यसले राष्ट्रप्रमुखलाई चाँगुको शक्ति प्राप्त हुन्छ भन्ने भनाइ छ।’
यति गरेर हनुमानढोका फर्काएपछि नासचोकमा जात्रा विसर्जन हुन्छ।
साउन र पुसमा मनाइने कलश जात्रा लगभग समान हुने राजोपाध्याय बताउँछन्। साउनेजात्रा लिच्छविकालदेखि चलेको मानिन्छ। गोपाल राजवंशावलीमा लिच्छवि राजा पुष्पदेवको पालामा जात्रा सुरु भएको उल्लेख छ। यस आधारमा पुसको कलश जात्रा पनि लिच्छविकालीन नै हुनसक्ने उनले बताए।
मल्ल राजाहरूले कलश स्वागत गर्न आफ्ना पुजारी र गुर्जुपल्टन काठमाडौंको सिरान रानीपोखरीसम्म पठाएको भनाइ छ।
रानीपोखरीसँग जोडिएको यो जात्राले साँस्कृतिक महत्व झल्काउने संरक्षण अभियन्ता आलोकसिद्दि तुलाधर बताउँछन्।
‘रानीपोखरी पुरातात्विक धरोहर मात्र होइन, काठमाडौंको जीवित सम्पदाको हिस्सा हो,’ उनले भने, ‘यो मासिनु भनेको हाम्रो सम्पदा मासिनु हो, काठमाडौं सभ्यता मासिनु हो।’
‘हामीले काठमाडौंको जीवित सम्पदा जोगाउन रानीपोखरीलाई परम्परागत स्वरुपमै पुनर्निर्माण गर्नुपर्छ,’ उनले भने।