जमिन नभएका भूकम्पपीडितलाई जग्गा खरीद रकम प्रदान


भूकम्पपछिको आवास पुनर्निर्माणमा जमिन नभएका भूकम्पपीडित परिवारलाई जग्गा खरीदको रकम प्रदान गरिएको छ।

प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेका अनुसार उत्तरगया गाउँपालिकाका ६ घरपरिवारलाई प्रतिघर परिवार  दुई लाख रुपैयाँका दरले जग्गा खरीदबापत प्रदान गरिएको हो । यसअघि ४४ घरपरिवारलाई जग्गा खरीदको रकम प्रदान गरिएको उनले बताए।

थातथलोको बस्ती जोखिम भई एकीकृत बस्तीका रुपमा स्थान्तरण गर्नुपर्ने करीब ६५० घरपरिवारमध्ये हालसम्म ७८ परिवारलाई जग्गाधनी पुर्जा प्राप्त गरेको आधारमा जग्गादातालाई  एक करोड ५६ लाख रुपैयाँ भुक्तानी गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण रसुवा शाखाका प्रमुख कृष्णकान्त उपाध्यायले जानकारी दिए।

भूकम्पबाट विस्थापित भई बोगटीटार क्षेत्रमा बस्दै आएका परिवारलाई आवास पुनर्निर्माण गराउन जागरण ल्याउने कार्य भइरहेको उत्तरगया गाउँपालिकाका अध्यक्ष उपेन्द्र लम्सालले बताए। विस्थापित परिवारलाई छिटोभन्दा छिटो जग्गा व्यवस्थापन गरी आवास पुनर्निर्माणमा प्राथमिकता दिन प्रतिनिधिसभा सदस्य मोहन आचार्यले सरोकारवालासँग आग्रह गरेका छन्।

प्रजिअ न्यौपानेको अध्यक्षतामा बसेको पुनर्निर्माणसम्बन्धी बैठकमा बोल्दै आचार्यले सबै निकाय दत्तचित्त भएर अगाडि बढेर बसोबासलाई सहज बनाउन आग्रह गरे। उनले जिल्ला अस्पतालको समेत निरीक्षण गरी स्वास्थ्य उपचार प्रभावकारी बनाउन चिकित्सकलाई आग्रह गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.