बीस वर्षदेखि एचआइभी संक्रमित भन्छिन्– म स्वस्थ छु

एचआइभी संक्रमित मथुरा कुँवर। तस्बिरः विद्या राजपुत


एक वर्षको कान्छो छोरा स्याहार्दै थिइन् उनी, जब श्रीमान् बिरामी भएको खबर आयो।

अछाम, चण्डीगाउँ बस्ने ४० वर्षीया मथुरा कुँवरका श्रीमान् भारतको मुम्बईमा काम गर्थे। खबर सुन्नेबित्तिकै भेट्न गइन्।

दुब्लाएर ‘सिन्का’ भएका थिए। आँखा पूरै गडेका।

मथुराले सोधिन्, ‘के भयो तपाईंलाई?’

खै के भयो के, जति औषधि खायो, उति गल्दै पो गएँ,’ श्रीमानको जवाफ सम्झँदै मथुराले भनिन्, ‘मर्छु कि क्या हो।’

उनले श्रीमानको हत्केला छामिन्। अंगालो हालेर ढाडस दिइन्, ‘केही हुन्न तपाईंलाई, म छु नि।’

भोलिपल्टदेखि मथुरा श्रीमानको रोग पत्ता लगाउन मुम्बईका अस्पतालको चक्कर काट्न थालिन्।

‘जुन अस्पताल गए पनि रोग पत्ता लागेन,’ उनले भनिन्, ‘कहिले फोक्सो खराब छ भन्ने, कहिले कलेजो, कहिले पित्त। अस्पतालपिच्छे फरक कुरा सुनेर हामी त परेसान भयौं।’

करिब दुई साता यसैगरी बित्यो।

एक जना डाक्टरले एचआइभीको शंका गरे। जाँच्न लगाए। मथुराले अर्को अस्पतालमा लुकेर परीक्षण गराउन लगिन्।

एचआइभी पोजिटिभ नै भएको रहेछ।

डाक्टरले रोग पत्ता लागेको दिनमै श्रीमानको आयु पनि अनुमान गरे– ‘बढीमा एक महिना।’

यसबीच डाक्टरले मथुरालाई पनि रगत जाँच्न लगाए।

उनले जचाइन्।

उनको रिपोर्ट पनि पोजेटिभ नै देखियो।

‘उहाँको रिपोर्ट देखेपछि म त्यसै विक्षिप्त भएकी थिएँ, झन् आफैंलाई लागेको थाहा पाउँदा मेरो हंसले ठाउँ छाड्यो,’ मथुराले भनिन्, ‘चार जना बच्चाको भविष्य सम्झेँ।’

मथुराले हिम्मत हारिनन्।

उनी डाक्टरको परामर्शअनुसार श्रीमानको हेरचाहमा लागिन्। डाक्टरले एक महिनाको समय दिए पनि उनका श्रीमान आठ महिना बाँचे।

श्रीमान् बितेपछि समाजमा बालबच्चासहित पुनर्स्थापित हुन उनलाई संघर्ष गर्नुपर्यो। उनले मुठ्ठी कसिन्। र, डटेर रोगको सामना गर्न थालिन्।

यो आजभन्दा २० वर्षअघिको कुरा हो, जतिबेला नेपालमा एचआइभी एड्सको उपचार सम्भवै थिएन।

आज एचआइभी एड्सको औषधि सहज रूपमा पाइन थालेको छ।

६० वर्ष लागेकी मथुराले सरकारी स्तरमा गाउँमै उपलब्ध एचआइभी औषधि खाइरहेकी छन्।

‘म अहिले सरकारले दिने एआरभी ट्याब्लेट खान्छु,’ उनले भनिन्, ‘बिहान–बेलुकी एक–एक ट्याब्लेट।’

श्रीमान्–श्रीमती दुवै एचआइभी संक्रमित भए पनि चार जना सन्तान स्वस्थ थिए। सबैको ध्यान कान्छो छोरामाथि थियो। ऊ एक वर्षको हुँदा नै मथुरा र उनका श्रीमानलाई एचआइभी लागेको थाहा भएको थियो। गाउँलेहरू कान्छा छोरालाई पनि रोग लागेको शंका गर्दै हेला गर्थे।

‘गर्भवती हुँदै मलाई श्रीमानबाट एचआइभी सरेको हुनसक्थ्यो,’ उनले भनिन्, ‘मलाई आफ्नोभन्दा सानो छोराको चिन्ता थियो। कसले के के सुनाउँथ्यो, कान्छो रुँदै घर आउँथ्यो। मेरो मन सधैं पोलिरहन्थ्यो।’

पछि उनले एउटा संस्थाको मद्दतले कान्छो छोराको एचआइभी परीक्षण गराइन्।

रिपोर्ट नेगेटिभ आयो।

उनका ती छोरा अहिले इञ्जिनियरिङ पढ्दै छन्। छोराको पढाइमा एचआइभी नियन्त्रण अभियन्ताले सहयोग गरेको उनले बताइन्।

उनको जेठो छोराको भने छ महिनाअघि मृत्यु भयो। ‘एचआइभीले त मलाई लान सकेन,’ उनले बर्रर आँशु झार्दै भनिन्, ‘रक्सीले ठूलो छोरा लग्यो।’

उनका अनुसार माइला छोरा सामान्य जीवनयापन गरिरहेका छन्। छोरी स्नातक सकेर एक गैरसरकारी संस्थामा काम गर्छिन्। छोराछोरीको माया र स्याहारले पनि आफ्नो आयु लम्बिएको उनी बताउँछिन्।

मथुराले प्रौढ शिक्षाबाट कखरा सिकेकी छन्। आफूजस्तै एचआइभी संक्रमितको सहजताका लागि जनचेतना जगाउने काम गर्छिन्। ‘मैले समाज बुझेको छु। वास्तविक पीडा आफैंसँग छ,’ उनले भनिन्, ‘त्यही पीडा अरूसँग साटेर केही ज्ञान दिने प्रयत्नमा छु।’

‘बीस वर्षअघि आफूलाई एचआइभी लागेको थाहा हुँदा छोराछोरी कसरी पालौं भन्ने थियो। अहिले म सयौं एचआइभी पोजेटिभ महिलाको अभिभावक बनेर परामर्श दिइरहेकी छु,’ उनले भनिन्।

उनले एचआइभी संक्रमित महिलाको संगठनका रूपमा महिला महासंघ खोलेकी छन्। त्यसको ७५ जिल्लामै शाखा बनाउने दौडधुपमा छिन्।

त्यही संगठनमार्फत् धेरै दिदीबहिनीलाई आफ्नो अनुभव सुनाउने र सिकाउने मौका पाएकामा उनलाई गर्व लाग्छ।

‘पहिले यौनका कुरा लुकेर गरिन्थ्यो। जनचेतना जगाउँदा नांगै हिड भनेर हामीलाई सराप्थे। अहिले यौनका कुरा खुलेआम हुन्छन्। यसले एचआइभी संक्रमणप्रति राम्रो जनचेतना फैलिएको छ,’ उनले भनिन्।

‘पहिले सञ्चारमाध्यममा एचआइभी एड्स प्राणघातक रोग हो भन्ने सुन्दा कति बाँच्छु र भन्ने लाग्थ्यो। छोराछोरीलाई सम्झेर आङ सिरिंग हुन्थ्यो। अहिले समय परिवर्तन भएको छ। एचआइभी संक्रमणपछि पनि सामान्य जीवन बिताउन सकिन्छ।’

नेपालमा पहिलो एचआइभी संक्रमित फेला परेको सन् १९८८ मा हो।

डिसेम्बर १ मा विश्व एड्स दिवस मनाइरहँदा नेपालमा मथुराजस्तै एचआइभी संक्रमितको संख्या करिब ३३ हजार पुगेको राष्ट्रिय एचआइभी एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर करिब ३ करोड ५० लाख मानिस एचआइभी संक्रमित छन्।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका कार्यवाहक निर्देशक डा. विकास लामिछानेका अनुसार सरकार, गैरसरकारी संस्था, चेतनामूलक कार्यक्रम, प्रविधि विकासले कुनै बेला ‘प्राणघातक’ भनिने एचआइभी सामान्य बन्दै गएको छ।

उनका अनुसार अहिले औषधिको सहज पहुँच छ। संक्रमण हुनुअघि नै सावधानी अपनाउने प्रक्रियाले एचआइभीबाट हुने मृत्युदर पनि घटेको छ।

नेपालमा सन् २०३० सम्म ‘एड्सको महामारी अन्त्य गर्ने’ लक्ष्यका साथ जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको डा. लामिछानेले बताए।

सरकारले ७५ जिल्लाका २ सय ६५ केन्द्रमा एचआइभी परीक्षणको व्यवस्था गरेको छ। ६५ वटा एआरटी साइट सञ्चालनमा ल्याएको छ। एचआइभीसम्बन्धी सबै उपचार र औषधि निःशुल्क व्यवस्था गरिएको छ।

‘विगतमा सामाजिक तिरस्कार, डिप्रेसन, आत्मबलको कमीजस्ता कारणले मृत्यु हुनेको संख्या बढी थियो,’ डा. लामिछानेले भने, ‘अहिले सहजै औषधि पाइन्छ। यसको नियमित प्रयोगले एचआइभी संक्रमितहरू स्वस्थ हुँदै गएका छन्।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.