धोबीखोलाको पानी पिउनयोग्य बनाइने


नवनिर्वाचित प्रदेशसभा सदस्य कुसुमकुमार कार्कीले रुद्रमती अर्थात् धोबीखोलाको पानी पिउन र नुहाउनयोग्य बनाउन आफूले पहल गर्ने बताएका छन्।

बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित नीलोपुलका बासिन्दासँग आज बिहान भेटघाट कार्यक्रममा उनले त्यसका लागि प्रशोधन कारखाना राख्न जग्गा खोजी प्रक्रिया अगाडि बढाइने जानकारी दिए।

काठमाडौं निर्वाचन क्षेत्र ४(ख)बाट निर्वाचित सदस्य कार्कीले नीलोपुल क्षेत्रमा सुरक्षाका लागि सिसिटिभी क्यामरा राख्न तथा स्थानीयको आयआर्जन र रोजगारीका साथै जैविक वस्तुको उपभोग गर्न गराउन आफ्नो सहयोग रहने स्पष्ट पारे।

आफ्नो क्षेत्रको विकासका लागि छिट्टै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलगायत विषयका विज्ञहरूको छुट्टाछुट्टै समूह बनाई क्रियाशील गराइने, स्थानीय तहका समस्या समाधान र विकासका लागि सोही तह (बूढानीलकण्ठ नगरपालिका)सँग आफूले समन्वय गर्ने आश्वासन पनि उनले दिए।

नीलोपुल टोल सुधार समितिका अध्यक्ष रामजी खड्का तथा बुद्धिजीवी सुरेश निरौला, थरेन्द्र बराल, सञ्जीव लामा, भगवती गिरीलगायतले नीलोपुलको सुधार, सुरक्षा र पानीको समस्याबारे प्रदेश सदस्य कार्कीलाई अवगत गराएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.