सोलारबाट बिजुली, स्थानीयवासी हर्षित


मोरङको मिक्लाजुङ गाउँपालिका–१ रमितेखोलामा सोलारबाट बिजुली उत्पादन सुरू भएपछि स्थानीयवासी हर्षित भएका छन्।

यससँगै सुगम जिल्ला मोरङको अति नै दुर्गम र विकट क्षेत्रका रूपमा चिनिने रमितेखोलाका बासिन्दाको उज्यालोका लागि टुकी र मैनबत्ती बाल्नुपर्ने बाध्यता हटेको छ। पहिलोपटक २४ घण्टा नै बिजुली उपभोग गर्न पाउँदा स्थानीयवासी दंग परेका छन्। स्थानीयवासीले सोलार मिनीग्रिड निर्माण उपभोक्ता समिति गठन गरेर सोलारबाट बिजुली उत्पादन गर्न थालेका हुन्।

समितिका अध्यक्ष पर्वत राईका अनुसार सोलारबाट ३० किलोवाट बिजुली उत्पादन गरेर उपभोक्तालाई वितरण गरिएको छ। राईका अनुसार  एक करोड ६० लाख रुपैयाँको लागतमा सोलारबाट बिजुली उत्पादन भएको हो।

विद्युत् उत्पादनका लागि एशियाली विकास बैंक (एडिबी)को ९० प्रतिशत, उपभोक्ता, वडा कार्यालय र जिल्ला समन्वय समितिको १० प्रतिशत लगानी लागेको उनको भनाइ छ।

बिजुलीबाट ६५ परिवार लाभान्वित भएका छन्। त्यसबाहेक विद्यालय, वडा कार्यालय, तीनवटा सहकारी, स्वास्थ्य चौकी समेतमा विद्युत् सेवा पुर्‍याइएको छ। राईका अनुसार सोलार प्यानलबाट ब्याट्रीमा पुगेको पावरलाई इन्भर्टरले एसी (अल्टरनेटिभ करेन्ट) बनाएर प्रवाह गर्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.