तातोपानी नाका खुल्ने ग्रिन सिग्नल, चीनले माग्यो संयुक्त सुरक्षा कार्यालय

तस्बीरः गत शनिबार चीनको खासामा भएको सुरक्षा प्रमुखको बैठकमा सहभागी दुबै देशका प्रतिनिधिहरू


तातोपानी नाका खुलाउन चीनले ‘ग्रीन सिग्नल’ दिएको छ । नेपाल र चिनियाँ पक्षबिचको संयुक्त सुरक्षा बैठकमा चिनियाँ पक्षले यस्तो संकेत दिएको हो।

सो बैठकमा चिनियाँ पक्षले संयुक्त सुरक्षा संयन्त्रको खाका नै प्रस्तुत गरेको छ। ‘जोइन्ट कमाण्ड मेकानिज्म एग्रिमेन्ट’ मार्फत दुवै देशको सीमा सुरक्षामा समान उपस्थिति जनाउन चीनले माग गरेको छ। यसअघि पनि यस्तो संयन्त्रको अभ्यास गइसकेको छ। अब कार्यालयनै राखेर संयुक्त सुरक्षा गर्ने चिनियाँ पक्षले बताएको छ।

चीन सरकारले नेलमदेखि खासा र खासादेखि मितेरी मुलसम्मको सडकखण्डलाई दुई चरणमा निर्माण गरिरहेको छ। भूकम्प र बाढीका कारण क्षतिग्रस्त सो दुबै सडक खण्ड आगामी दुई महिनाभित्र सवारी चलाउन सकिने गरी निर्माण गरिसक्ने योजना बैठकका सुनाएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले सेतोपाटीलाई जानकारी दिए।

‘सो सडकखण्डलाई सन् २०१९ सम्ममा स्तरीय बनाउने योजना साथ चीन अगाडि बढीरहेको हामीले जानकारी पायौं,’ तामाङले भने ‘यो तातोपानी नाका खुल्ने संकेत हो।’

चीनले सुरक्षाकै कमजोरी देखाएर नाका खुलाउन आनाकान गरिरहेको भन्ने विभिन्न आशंकलाई थप बल पुर्‍याउँदै चीनले यस्तो प्रस्ताव राख्नुले यदी सुरक्षा प्रत्याभूति गराउन सकेमा तातोपानी नाका खुल्ने प्रजिअ तामाङले दाबी गरे। चिनियाँ पक्षले नेपालको बाह्रबिसेलगायतका क्षेत्रलाई इगिंत गर्दै ती स्थानहरुबाट ‘फ्रि तिब्बत’ अभियानको गतिविधि भइरहेको आरोप लगाएको छ। बैठकमा सहभागी नेपाली टोलीले नेपाल एक चीन नीतिमा स्पष्ट रहेको र नेपालमा चीन विरोधी गतीविधि हुन नदिने प्रष्ट पारिएको तामाङले बताए।

बैठकमा चीन पक्षबाट पोलिटिकल कमिस्नार कर्णेल वाङ्ग जिन ट्यागं ग्वीको नेतृत्वमा ८ जनाको टोली र नेपाली पक्षबाट जिल्ला प्रशासन कार्यालय सिन्धुवाल्चोकका प्रमुख अस्मान तामाङ र सुरक्षा निकाएका प्रमुख सहित १३ जनाको टोली सहभागी थिए।

के हो त ‘जोइन्ट कमाण्ड मेकानिज्म एग्रिमेन्ट’?

यो सीमा क्षेत्रमा प्रभावकारी सुरक्षा योजना हो। यसमा दुवै मुलुकका सशस्त्र प्रहरीस्तरका सुरक्षाकर्मी परिचालित हुनेछन्। दुबै मुलुकका प्रहरी उपरीक्षक, प्रहरी नायब उपरीक्षक तथा प्रहरी निरीक्षकस्तरको छुट्टाछुट्टै सयन्त्रहरू हुन्छन्।

ती संयन्त्रको पनि सुरक्षा संवेदनशिलताको आधारमा अलग अलग कार्यहरू निर्धारण गरिएका हुन्छन्। यससगै चिनियाँ पक्षले प्रस्ताव गरेअनुसार यस संयन्त्रको कार्यालय नै स्थापना भएमा तह तहमा दुवै देशका सुरक्षा कर्मीहरूले सीमा क्षेत्रको निगरानी गर्नेछन्। सो कार्यालय दुबै देशको सुरक्षा चुनौती र सूचना आदानप्रदानमा सहजता आउनेछ।

योसँगै चिनियाँ पक्षले आफ्नो देशको केन्द्रीय नीति अनुसार नै यो प्रस्ताव गरेको र रसुवागढी नाकामा पनि यो संयन्त्र स्थापना गर्न प्रस्ताव गरेको छ। नेपाल पक्षले भने यसबारेमा मन्त्रालयमा छलफल गरेर मात्रै आगामी बैठकमा निर्णय गरिने बताएको छ।  नेपालले यस्तो संयन्त्रको अभ्यास भारतसँगको दशगजा नाकामा गरिसकेको प्रजिअ तामाङले बताए।

तातोपानी नाका खुलाउन भएका प्रयासहरू

नेपाली पक्षले तातोपानी नाका खुलाउन पटक पटक प्रयास गरिरहेको छ। सिन्धुपाल्चोकबाट सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरू अग्नीप्रसाद सापकोटा र मोहनबहादुर बस्नेतले पनि नाका खुलाउन प्रयास भइरहेको बताइरहेका छन्।

नाका खुलाउनकै लागि नेपाल–चीन सरकारका उच्च अधिकारीबिच पटक पटक राजधानीमा छलफल गरिएको थियो। तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग चिनियाँ उपविदेशमन्त्री लु छिपाओले तातोपानी नाका चाँडै खुल्ने बताएका थिए।

नेपालका लागि चिनियाँ राजदूत यू हङले तातोपानी नाका चाँडै खुल्ने बताउदै आएकी छिन्। भूकम्प र भोटेकोसी बाढीले क्षतीग्रस्त सडक पुननिर्माण सकेको चिनियाँ रेलवे कन्ट्रक्सन कम्पनी लिमिटेडले सरकारलाई सडक ‘ह्याण्डओभर’ गर्दा पनि नाका छिट्टै सुचारु हुने चिनियाँ अधिकारीले संकेत दिएका थिए।

नाका सञ्चालनको लागि सिन्धुपाल्चोक जिल्ला प्रशासन र सुरक्षा निकायको संयुक्त टोलीले भूकम्पपछि ६ पटक औपचारिक बैठक गरेको छ। अघिल्लो सदरमुका चौताराबाट सुरु गरिएको सीमा सुरक्षा बैठक हालसम्म ७ पटक बसेको प्रजिअ तामाङले बताए।

अघिल्लो बैठकमा तिब्बती जिल्लाका प्रमुख पेङ लु वी, तिब्बत सुरक्षा  गाओ वान्हा र  सेनाका कोलोनेल वाङसँग तत्कालिन प्रमुख जिल्ला अधिकारी अन्तर बहादुर सिलवालल बिस्तृत छलफल गरेका थिए। चीन–नेपाल सरकारी अधिकारी बीच सदरमुकाम चौतारामा एक पटक , नेपाल कै नयाँ पुलस्थित द लास्ट रिर्सोटमा दुई पटक र अरु चार बैठक खासामा बसिसकेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.