नेपाल प्रहरीले चुनावका बेला खटाइएका म्यादी प्रहरीलाई तोकिएको सबै सेवा सुविधा दिएर विदाई गरेको बताएको छ। प्रहरी प्रवक्ता मनोज न्यौपानेले चुनाव सकिएपछि सम्मानकासाथ प्रमाणपत्रसमेत दिएर म्यादी प्रहरीलाई विदाई गरिएको दाबी गरे।
आइतबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै न्यौपानेले कालिकोटमा प्रहरीको गोली लागेर मृत्यु भएको भन्ने विषयमा अनुसन्धान भइरहेको बताए। सेवा सुविधा नपाएकै कारणले म्यादी प्रहरीले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको दाबी गरे ।
साक्षात्कारमा बोल्दै कालिकोटमा खटाइएका म्यादी प्रहरीलाई धन्यवादसहित प्रमाणपत्र वितरण गरेर विदाई गरिएको न्यौपानेले बताए। विदाई कार्यक्रम सकिएपछि ढुङ्गामुढा सुरु भएको बताउँदै न्यौपानेले त्यसपछिको घटना के कसरी भयो भन्ने विषयमा अनुसन्धानका लागि समिति बनाएको जानकारी दिए।
म्यादी प्रहरीलाई बैंक खाता खोल्न लगाएर सबै सेवा सुविधाको रकम बैंक मार्फत दिइएको बताउँदै न्यौपानेले अहिलेसम्म सबै म्यादी प्रहरीको बैँक खातामा रकम गइसकेको बताए।
प्रहरीले म्यादीलाई पैसा दिएन वा थोरै पैसा दियो भन्ने सुनिए पनि ती सबै झुटो भएको उनको दाबी थियो ।
जिल्ला र भौगोलिक अवस्थाका आधारमा भत्ता रकम फरक फरक हुने भएकाले यस विषयमा अन्यौलमा नरहन सबैलाई न्यौपानेले आग्रह गरे। म्यादी प्रहरी भर्ना गर्नुअघि नै तलब र भत्ताका विषयमा जानकारी दिइएको उनको भनाई थियो ।
चुनावी सुरक्षाका लागि ९८ हजार २ सय ६८ म्यादी प्रहरी प्रयोग गरिएको जानकारी दिदै न्यौपानेले प्रहरी जवान सरह तलब दिइएको बताए। ५५ दिनका लागि तलब, रासन भत्ता, खाजा खर्च, कपडा खर्च लगायतका शीर्षकमा दिने भनिएको सबै रकम खातामा पठाइसकिएको न्यौपानेले बताए ।
महिला म्यादी प्रहरीमाथि प्रहरीले दुव्र्यवहार गरेको भन्ने बारेमा पनि अनुसन्धान भइरहेको उनले बताए। संचारमाध्यमबाट घटना सार्वजनिक भएको थाहा पाउनासाथ अनुसन्धान भइरहेको उनको भनाई थियो ।
अन्य कुनै पनि घटनाका बारेमा अहिलेसम्म उजुरी नपरेको न्यौपानेले बताए ।
https://www.youtube.com/watch?v=6OA2H1IToRE&feature=youtu.be