लागू औषधसहित २ जना विदेशी नागरिक पक्राउ


ठूलो परिणाममा लागू औषध एम्पूलसहित २ जना विदेशी नागरिक पक्राउ परेका छन्।

नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी ३५ सय थान एम्पूलसहित २ जना विदेशी नागरिक पक्राउ गरिएको जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा बोल्दै व्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक ठूले राईले एम्पूलसहितको लागू औषध लुकाईछिपाई राखिएको अवस्थामा काठमाडौंको कलंकीबाट सोमबार भारत रक्सौलका रमेश कुमारलाई पक्राउ गरिएको जानकारी दिए। त्यसैगरी, उनले गत मंसिर २९ गते १ किलो करीब ५ सय ग्राम चरेससहित रशियन नागरिक भिक्टोर छिगानोभलाई पनि पक्राउ गरिएको जानकारी दिए।

बरामद गरिएको सो चरेसको अन्तिम गन्तव्य मोरिस रहेको पनि प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.