वीरगञ्जको ग्यास उद्योगमा भीषण आगलागी, दुईको मृत्यु, दमकलसमेत जल्यो


वीरगञ्ज महानगरपालिका– २४,  पटेलनगरमा रहेको सुपर ग्यास उद्योगमा बुधबार बिहान भीषण आगलागी भएको छ।

बिहान सवा ६ बजेतिर लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन। प्रहरीका अनुसार आगलागीमा परी २ जनाको ज्यानसमेत गएको छ। यद्यपी उद्योगभित्र कति मानिस थिए भन्ने अझै खुल्न सकेको छैन।

आगो नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको एउटा दमकलसमेत जलेको छ। आगलागीको कारण खुल्न सकेको छैन।

आगलागी फैलँदै गएपछि नियन्त्रण बाहिर छ। ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रणहरुसमेत नजिक जान नसकिरहेको प्रहरीले जनाएको छ। विश्वकर्मा सिमेन्ट उद्योग नजिकै रहेको प्लान्टभित्र रहेका सबै ग्यास बुलेट पनि जलेर नष्ट भएका छन्।

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीको टोली पुगे पनि आगो निभाउन सकेका छैनन्।

वीरगन्जका प्रमुख जिल्ला अधिकारी बिनोदप्रसाद सिंहले तत्काल आगो नियन्त्रणमा लिन नसकिएको बताए। सामान्य दमकलले आगो नियन्त्रण लिन नसकिने भएकाले भारतबाट अत्याधुनिक दमकल मगाउने तयारी भइरहेको सिंहले बताए। ‘पानी फाल्ने दमकलले आगो नियन्त्रणमा लिन नसकिने भएकाले भारत र एयरपोर्टबाट पम्प फाल्ने वारूण यन्त्र ल्याउने तयारी भइरहेको छ,’ उनले भने, ‘हाम्रो दमकलका अपरेटरलाई समेत चोट लागेको छ। मानवीय क्षतिसमेत भएको छ।’

उद्योगको प्लान्ट बस्तीबाट एक किलोमिटर टाढा भए पनि भीषण आगलागी भएका कारण स्थानीय बासिन्दा त्रसित बनेका छन्। स्थानीय बस्ती नै छाडेर सुरक्षित स्थानमा पुगेका छन्। प्रहरीले स्थानीयलाई आगलागीको ५ सय मिटर पर नै रोकेको छ।  ग्यास बुलेट पड्किएको आवाज परेसम्म सुनिएको छ।

यसैबीच सुरक्षाकर्मीले स्थानीयलाई घर छोडेर सुरक्षित स्थानमा जान आग्रह गरेको छ। प्रहरीले आफ्ना घरपालुवा जनावरसहित सुरक्षित स्थानमा जान आग्रह गरिरहेको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.