अनुमतिबिना सार्वजनिक जग्गामा भवन


पोखरा लेखनाथ महानगरपालिकाको अनुमतिबिना विश्वकर्मा समाज तालचोक इकाइले भवन निर्माण गर्न सुरू गरेको छ।

पोखरा २७ तालचोकबाट पश्चिम बगादी खोलाको डिलमा रहेको १ रोपनी ३ आना जग्गामा भवन निर्माणका लागि ट्रस पनि हालिसकिएको छ।

राज्यले सार्वजनिक ठाउँमा कुनै पनि संघ/संस्थाको भवन निर्माण नगर्न निर्देशन दिएको छ। तर, त्यस ठाउँमा भने विश्वकर्मा समाजले स्थानीय तह र स्थानीयलाई वेवास्ता गर्दै निर्माणको काम अघि बढाउँदै आएको छ। स्थानीय आमा समूहदेखि अगुवासम्मकाले वडा कार्यालय, इलाका प्रहरी कार्यालय शिशुवा र महानगरपालिकामा समेत उजुरी दिदाँ निर्माण कार्य नरोकिएको स्थानीयले बताए।

सार्वजनिक ठाउँमा कुनै हालतमा पनि भवन निर्माण गर्न नदिने पोखरा महानगरपालिका–२७ का वडा अध्यक्ष पूर्णबहादुर गुरुङले बताए। ‘मैले बनाउन स्वीकृत दिएको छैन,’ उनले भने, ‘चुनावको बेला पारेर ट्रस निर्माण हालिएको छ, त्यो हटाउन लगाउँछु ।’

स्थानीय जयकृष्ण त्रिपाठीले भने त्यो जग्गा आफ्नो रहेको भन्दै दाबी गरेका छन् । सार्वजनिक स्थलमा कानुन अनुसार सबैलाई उचित हुने काम गर्नुपर्ने स्थानीय बेलबहादुर थापाले बताए । ‘व्यक्ति विशेष र संघसंस्था विशेषभन्दा पनि सबैलाई राम्रो हुने पार्क बनाउनु हाम्रो चाहना हो,’ उनले भने, ‘जवरजस्ती एउटा संस्थाको मात्र भवन बनाउनु उचित होइन ।’ पटकपटक वडाध्यक्षलाई यस विषयमा जानकारी गराउँदासमेत वेवास्ता भएको उनले सुनाए । ‘हामीले मौखिक र लिखित उजुरी गर्दासमेत निर्माण कार्य रोकिएको छैन,’ उनले भने, ‘सुरुमा जग्गामा तारबार लगाउने बेलामै उजुरी दिएका थियौं,अहिले ट्रससमेत निर्माण हँुदा सम्बन्धित निकाय मौन छ ।’

व्यक्तिगत प्रयोजनका लागि नभएर समाजका लागि प्रयोग गर्न लागिएको विश्वकर्मा समाज तालचोक इकाइ समितिका अध्यक्ष गमबहादुर सुनारले बताए । ‘सबैले यसरी नै सार्वजनिक ठाउँमा समाज घर बनाउन हुने हामीले नहुने भन्ने कहिं छ?,’ उनले भने, ‘अन्य समाज घर जस्तै हामीले पनि बनाउन पाउनुपर्छ ।’ व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर जातीय भवन निर्माण गर्न लागिएको उनले बताए ।

व्यक्तिगत भन्दै उजुरी तालचोक नजिककै विश्वकर्मा समाज तालचोक इकाइले भवन निर्माण गर्न लागेको जग्गा आफ्नो रहेको एक व्यक्तिले दाबी गरेका छन् । पोखरा महानगरपालिका–२७ बगदी खोलाको डिलमा रहेको १ रोपनी३ आना जग्गा आफ्नो रहेको भन्दै स्थानीयजयकृष्ण त्रिपाठीले वडा कार्यालयमा निवेदन दिएका छन् । वडा कार्यालयको अनुमति बिना विश्वकर्मा समाज तालचोक इकाइले भवन निर्माण गरेको जग्गा आफ्नो रहेको भन्दै त्रिपाठीले मंसिर १८ गते उजुरी दिएका हुन् ।

त्रिपाठीले उक्त जग्गा आफ्नो बाजेको पालादेखि भोग चलन गर्दै आएको १९९० सालामा नापी भई २०३१ सालसम्म तिरो तिरेको र कित्ताकाट भइ दर्ता प्रक्रियामा रहेको तर तत्कालीन नापी कार्यालयले खरबारी भनी हाललाई दर्ता गर्न नमिल्ने भनी रोकिराखेको हुँदा आफ्नो परिवारले खेती गर्दै आएको उल्लेख छ । आफूले भोग चलन गर्दै आएको जग्गामा विश्वकर्मा समाजले भवन बनाउन लागेकोले पटकपटक नबनाउन अनुरोध गर्दासमेत उल्टो डरधम्की देखाइ निमार्ण सुरू गरिएकोउनको निवेदनमा उल्लेख छ ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.