चीनमा अरनिको खोज्दा

चीनमा अरनिको खोज्दा

बेइजिङको मियायोइङ मन्दिर परिसरमा रहेको कलाकार अरनिको मुर्ति। तस्बिर: सिमोन सङ


बेइजिङको पश्चिम क्षेत्रमा फुचेङमेन भन्ने ठाउँ छ। तेह्रौं शताब्दीमा यहाँ युआन साम्राज्यको राजधानी थियो, जहाँ कुब्लाई खान शासन गर्थे।

आठ सय वर्षपछि कुब्लाई खान वंशको यहाँ नामनिशान छैन। भएका केही संरचना पनि वरिपरिका गगनचुम्बी टावरसामु होचा छन्, हराएका छन्।

त्यही गगनचुम्बी टावरबीच मियायोइङ मन्दिरले भने ऐतिहासिक भव्यता र युआन पहिचान कायम राखेको छ। र, यसको जस जान्छ, ५०.९ मिटर अग्लो बौद्ध स्तुपलाई, जसलाई ‘सेतो डगोबा’ भनिन्छ।

चिनियाँ शैलीका पगोडाबीच बनेको यो स्तुप आयातीत हो। यसको संरचना चिनियाँ ढाँचामा होइन, नेपाली ढाँचामा बनेको छ।

बेइजिङबाट तीन हजार किलोमिटर टाढा काठमाडौंमा भेटिने बौद्ध स्तुपसँग मिल्दोजुल्दो यो संरचना एक नेपाली मूर्तिकारले निर्माण गरेका हुन्। ती मूर्तिकारले यो स्तुप मात्र बनाएनन्, चिनियाँ कला र निर्माण शैलीलाई सदियौंसम्म प्रभावित गरे।

चिनियाँ विद्वानहरूले ‘आंगी’ भनेर चिन्ने ती नेपाली कलाकारको नाम हो, अरनिको।

‘अरनिकोभन्दा अगाडि पनि थुप्रै नेपाली कलाकार र मूर्तिकारले चीन भ्रमण गरे, तर उनका सिर्जनाले जति गहिरो प्रभाव चिनियाँ सभ्यतामा अरू कसैले पार्न सकेनन्,’ संस्कृतिविद् सत्यमोहन जोशीले भने, ‘उनी चीनका लागि नेपालका प्रथम साँस्कृतिक दूत हुन्।’
***

ईश्वी सम्बत् १२६०।

ऐतिहासिक दस्तावेजहरूका अनुसार नयाँ मंगोल सम्राट कुब्लाई खान तिब्बती बौद्धधर्मबाट प्रभावित थिए। उनले बौद्धधर्मका चार प्रमुख स्कुलमध्ये एक शाक्य स्कुलका ड्रोगोन छोग्याला फाग्पालाई शाही बौद्धगुरू नियुक्त गरे। यी मंगोल शासकले सन् १२७१ मा आफूलाई चिनियाँ सम्राट घोषित गर्दै युआन वंशको शासन स्थापना गरेपछि फाग्पा बौद्धधर्मको सिद्धान्त विस्तार गर्न चाहन्थे।

नेपालको संस्कृति त्यतिबेलै तिब्बतमा लोकप्रिय थियो। तिब्बतमा आफ्नो शैली र ढाँचा स्थापना गर्ने योजनामा रहेका कुब्लाई खानका आँखा स्वाभाविक रूपले यो हिमाली मुलुकमा गयो।

यही सिलसिलामा फाग्पाले नेपालका ८० जना कुशल कालिगढको सूची तयार पारे। अहिले चीन–शासित तिब्बतमा पर्ने सिगात्सेको दक्षिण–पश्चिमस्थित शाक्य गुम्बामा सुनौलो स्तुप निर्माण गर्नु उनको उद्देश्य थियो। उक्त सूचीमा १७ वर्षीय अरनिको पनि थिए। उनी काठमाडौं उपत्यकाको पाटन क्षेत्रका बासिन्दा हुन् भन्ने भनाइ छ।

अरनिको र उनका कालिगढलाई यो योजना पूरा गर्न दुई वर्षभन्दा बढी लागेन। फाग्पा अत्यन्तै खुसी भए। उनले नेपालबाट आएका कालिगढ अरनिकोलाई दरबार बैठकमा उपस्थित गराए। अरनिकोको कालिगढी जाँच्न एउटा तामाको मूर्ति मर्मत गर्न दिइयो। उनले त्यो मूर्ति कुशलतापूर्वक मर्मत गरिदिए।

‘त्यसपछि अरनिकोले केही चिनियाँ कालिगढलाई आफ्नै कार्यशालामा डाकेर नेपालको मूर्तिकला ढाँचाबारे ज्ञान दिए,’ कला इतिहासका ज्ञाता स्वर्गीय डिना बाङ्देलले जुलाईमा निधन हुनुअघि पोस्ट म्यागजिनसँगको कुराकानीमा भनेकी थिइन्।

बाङ्देलका अनुसार अरनिकोले सिकाएको ढाँचामा भारतीय, नेवार र चिनियाँ शैलीको मिश्रण छ, जुन आज पनि बेइजिङ दरबार संग्रहालयमा देख्न सकिन्छ।

‘अरनिको र चीनको सम्बन्ध बुझ्न युआन वंशमा पाइने मूर्तिहरूको ढाँचा अध्ययन गर्नुपर्छ, युआन वंशको मूर्तिकलामा नेपालीपनको छाप देखिन्छ,’ बाङ्देलले भनिन्, ‘अनुहारदेखि हातको हाउभाउसम्म नेपालीपनले भरिएको छ। यस्तै मूर्ति नेपालभरि देखिन्छन्।’

चीनको ताङ वंश (ईश्वी सम्बत् ६१८–९०७) का केही ऐतिहासिक दस्तावेजमा पनि नेपालका तत्कालीन राजा नरेन्द्र देवबारे वर्णन गरिएको बाङ्देलले जानकारी दिइन्। यसले नेपाल र चीनबीच उतिबेलै बौद्ध धर्मवालम्बीका माध्यमबाट साँस्कृतिक आदाप्रदान हुने गरेको देखिन्छ। खासगरी सिद्धार्थ गौतमको जन्मस्थान लुम्बिनी भ्रमणमा आउने चिनियाँ धार्मिक पर्यटकमार्फत् दुई देशबीच साँस्कृतिक आदानप्रदान हुने गरेको थियो।

समयक्रममा नेपालबाट गएका कालिगढ मिङ वंश (१३६८ देखि १६४४) सँग निकट भए। सत्रौं शताब्दीका मंगोल सम्राट पनि नेपाली कलाशैलीको स्तुप डिजाइनबाट प्रभावित थिए। त्यतिबेला बनेका धेरै मूर्ति र कलाकृति नेपालमा अहिले बन्नेसँग मिल्दाजुल्दो रहेको कतारस्थित भजिर्निया कमनवेल्थ विश्वविद्यालको कला इतिहास कार्यक्रमका निर्देशकसमेत रहेका बाङ्देल बताउँछिन्।

‘नेपाल–चीन सम्बन्धको इतिहास पछ्याउँदै जाने हो भने सातौं शताब्दीमै पुगिन्छ,’ उनले भनिन्, ‘हामी चिनियाँ इतिहासको एक अभिन्न हिस्सा हौं, र हाम्रो यो सम्बन्ध तिब्बतमार्फत् जोडिएको होइन।’
***

मियायोइङ मन्दिरमा रहेको बौद्ध स्तुप। तस्बिर: सिमोन सङ

‘सेतो डगोबा’ अरनिकोको अहिलेसम्मकै उत्कृष्ट कलाकृति होइन।

मंगोल साम्राज्य बेला सन् १२७१ मा निर्माण सुरु भएको यो स्तुप बनाउन आठ वर्ष लागेको थियो। यो स्तुप मंगोल साम्राज्य रक्षा गर्न बनाउन लगाइएको अरनिकोको आत्मकथामा उल्लेख छ। बेइजिङ सेतो डगोबा मन्दिरको प्रशासकीय कार्यालयले उक्त आत्मकथा प्रकाशन गरेको हो। स्तुपलाई त्यतिबेला बौद्धधर्म गतिविधिको केन्द्र मान्ने गरिन्थ्यो।

यो स्तुप पूर्णतया नेपाली शैलीमा बनेको छ। काठको प्रवेशद्वारमा कलात्मक बुट्टा कुँदिएका छन्। मन्दिरभित्र दिपंकर बुद्ध, शाक्यमुनि र मैत्रय बुद्धका मूर्ति छन्। नेवारी कलाले प्रभावित पौभा (कपडा) पेन्टिङ र स्तुपको गजुर काठमाडौंको स्वयम्भूनाथ र बौद्धनाथ स्तुपसँग मिल्दोजुल्दो छ।

सिंगुवा विश्वविद्यालयका इतिहास प्राध्यापक वाङ जुझियाङका अनुसार यो स्तुपको मुख्य डिजाइन अरनिकोले गरेका भए पनि यसको निर्माण कसरी पूरा भयो यकिन छैन।

‘अरनिको एक कुशल कालिगढ र पेन्टर थिए, तर उनी भवन संरचना तयार पार्न पोख्त थिएनन्,’ वाङ भन्छन्।

उनका अनुसार स्तुपमा मंगोलियन र बौद्ध शैली पनि भेटिन्छ। मंगोलियन सैनिकले पानी पिउन प्रयोग गर्ने गोलो भाँडोका आधारमा स्तुप डिजाइन गरेर बौद्धधर्म झल्काउने चिह्नहरू कमलको फूल र मण्डल लेखिएको हुनसक्ने उनको भनाइ छ।

‘यो पहिलो लामा शैलीको पगोडा हो र चीनकै सबभन्दा उत्कृष्ट,’ प्राध्यापक वाङले भने, ‘यसले बौद्धधर्मप्रति युआन वंशको गहिरो विश्वास र सद्भाव झल्काउँछ। यो संरचना कुनै बेला बेइजिङकै सबभन्दा ठूलोमध्ये पर्थ्यो।’

अमेरिकाको मिचिगन विश्वविद्यालयका कला इतिहास प्राध्यापक एनिङ जिङका अनुसार सन् १२९४ मा अरनिकोले सम्राट र महारानी छाबीको पोट्रेट तयार पारेका थिए। उनलाई एउटा पोट्रेट पूरा पार्न तीन वर्ष लागेको थियो। उनका केही पेन्टिङको प्रतिलिपि ताइवान राष्ट्रिय दरबार संग्रहालयमा भेटिएका छन्। उक्त संग्रहालयले ती पेन्टिङ वा आफ्नो वेबसाइटमा अरनिकोको नाम भने खुलाएको छैन।

‘केही विद्वानले पेन्टिङको शैली र ढाँचा हेर्दा अरनिकोले नै बनाएको हुनसक्ने बताएका छन्,’ संग्रहालयबाट पोस्ट म्यागेजिनलाई प्राप्त इमेलमा भनिएको छ, ‘यसलाई पुष्टि गर्ने प्रमाण भने फेला परेको छैन।’

अरनिकोका केही उल्लेखनीय कलाकृति चीनबाहिर पनि फेला परेका छन्। दयाकी देवी ग्रिनताराको थाङ्का पेन्टिङ अमेरिकाको क्लिभल्यान्ड म्युजियम अफ आर्टमा छ। यो संग्रहालयले भने थाङ्का पेन्टिङमा चित्रकारको नाम उल्लेख गरेको छ। संग्रहालयले आफ्नो वेबसाइटमा थाङ्का पेन्टिङलाई यसरी वर्णन गरेको छ– ‘मध्य तिब्बतको पेन्टिङ परम्परामा नेपाली शैलीको अनुपम नमूना।’

त्यस्तै, सन् १२९२ मा बनाइएको महांकाल देवीको मूर्ति पेरिसको म्यूसे ग्युमितमा छ। यो संग्रहालयले पनि अरनिकोको नाम खुलाएको छैन।

प्राध्यापक वाङका अनुसार अरनिकोको प्रभाव मिङ र क्विङ वंश बेला बनाइएका कलाकृतिमा प्रस्ट झल्किन्छ। यसमा राजधानी बेइजिङको बेहाई पार्कस्थित सेतो पगोडा, बेइजिङको पश्चिमी क्षेत्रमा रहेको बज्रासन पगोडा र बेइजिङबाट ३ सय किलोमिटर उत्तरपूर्वस्थित चेन्गदेको ढाँचा पर्छन्।
***
आज चीनमा अरनिको खोज्ने हो भने बेइजिङको मियायोइङ मन्दिर जानुपर्छ।

सेतो डगोबा स्तुप परिसरमै अरनिकोको तामाको मूर्ति छ, जसमा उनले परम्परागत नेपाली पोसाक लगाएका छन्। एउटा हातमा पेन्ट ब्रस र अर्को हातमा गोलो पारेर बेरेको कागजको क्यानभास बोकेका छन्।

यो मूर्ति चिनियाँ विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीको संस्था अरनिको समाजले उपहार दिएको हो। चीनमा अरनिकोको सम्झना जीवित राख्न यो संस्था प्रयासरत् छ।

संस्कृतिविद् जोशी अरनिकोको महत्व मार्कोपोलोभन्दा बढी भएको बताउँछन्। मार्कोपोलो भेनिसका व्यापारी हुन्, जसले कुब्लाई खानको दरबारमा १७ वर्ष बिताएका थिए।

‘हाम्रो समाजमा अरनिकोको कलाकृतिको महत्व त्यत्तिकै छ, जति पश्चिममा लियोनार्दो, माइकलएन्जेलो र बु्रनेलेस्चीको छ,’ कला इतिहास प्राध्यापक जिङ लेख्छन्।

नेपालमा अरनिकोको जीवन र कलाकृतिसम्बन्धी विस्तृत रेकर्ड उपलब्ध नभएको ९७ वर्षीय संस्कृतिविद् जोशी बताउँछन्।

युआन वंशका कलाकृति नभइदिएको भए अरनिकोको नामसमेत कसैलाई थाहा नहुने बाङ्देलको भनाइ छ। ‘यस अर्थमा हामी भाग्यमानी हौं,’ उनले भनिन्।

चिनियाँ ऐतिहासिक दस्तावेजअनुसार अरनिकोले आफ्नो जीवनकालमा नेपाल, मंगोलिया र चीनका गरी ११ जनासँग बिहे गरेका थिए। ती सबै श्रीमतीबाट उनका छ छोरा र आठ छोरी थिए।

अरनिकोलाई उनको कलाकृतिका निम्ति सम्मान पनि गरिएको थियो। उनी सन् १२७३ मा कलासम्बन्धी कक्षाका निर्देशक थिए। सम्राटले व्यक्तिगत रूपमा उनलाई ‘ड्युक अफ लियाङ’ पद्वी दिएका थिए। उनी त्यस्ता कम विदेशीमध्ये पर्छन्, जसको आत्मकथा चिनियाँ इतिहास किताबहरूमा पाइन्छ।

नेपालमा पनि अरनिकोलाई राष्ट्रिय विभूतिका रूपमा सम्मान गरिनुका साथै उनले कसरी तिब्बत र चीन गएर नेपाली शैलीका गुम्बा र मन्दिर बनाए भनेर स्कुलका पाठ्यक्रममा पढाइन्छ। नेपाल सरकारले उनको नाममा हुलाक टिकट जारी गरेको छ। उनको नाममा राजमार्गसमेत बनेको छ, जसले काठमाडौंलाई चिनियाँ सीमा कोदारीसँग जोड्छ।

‘यी भनेका केही सांकेतिक सद्भाव मात्र हुन्, अधिकांश नेपालीलाई अरनिकोको उपलब्धि र महत्वबारे खासै रुचि छैन,’ जोशीले भने।

यसको एउटा उदाहरण कीर्तिपुरस्थित नेपाल भाषा एकेडेमी हो, जहाँ सन् २००५ मै अरनिको ग्यालरी स्थापना गरिएको थियो। यो ग्यालरीबारे धेरै कमलाई जानकारी छ। र, धेरै कम मान्छे यहाँ भ्रमण गर्न जान्छन्।

अरनिकोले आफ्नो जीवन बिताएको चीनमा पनि उनीबारे थाहा पाउने र उनले चिनियाँ कला, संस्कृतिमा पुर्याएको योगदानबारे जानकार व्यक्ति कम छन्। अरनिकोको मृत्यु सन् १३०६ मा चीनमै भएको थियो। त्यतिबेला उनी ६२ वर्ष थिए। उनको अस्तु बेइजिङभन्दा अलि बाहिर गाङझुयान भन्ने ठाउँको स्तुपमुनि गाडिएको छ।

युआन कालका विद्वान चेङ जुफुका अनुसार कुब्लाई खानका नाति तेमुरले जब अरनिकोको मृत्युको खबर सुने, उनले तत्काल दरबार बैठक स्थगित गरेका थिए। त्यतिबेला युआन सम्राटले अरनिकोको अन्त्येष्टिका लागि विशेष प्रबन्ध गर्नुका साथै अरनिको परिवारलाई १ हजार २ सय ५० किलो चाँदी प्रदान गरेका थिए।

‘त्यो रात आकाशको एउटा तारा युआन सम्राटको दरबारमा खसेको थियो,’ चेङ लेख्छन्, ‘भोलिपल्ट बिहान रुखका हांगामा शितका दाना टल्किएका थिए।’

(यो फिचर साउथ चाइना मर्निङ पोस्टबाट साभार गरिएको हो।)

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.