प्रकाश दाहालको मृत्युपछि तन्नेरीलाई मुटु जचाउने छट्पटी


मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मीकहाँ दुई दिनयता थुप्रै तन्नेरी उपचार गराउन आइरहेका छन्। जचाउन आउनेमा झन्डै २५ प्रतिशत तन्नेरी छन्। अरू बेला चार–पाँच प्रतिशत मात्र यो उमेर समूहका हुन्थे।

माओवादी अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको ‘आकस्मिक हृदयाघात’ ले मृत्यु भएपछि उनकै उमेरका तन्नेरीमा स्वास्थ्यप्रति चासो र छट्पटी बढेको डा. रेग्मी लगायत चिकित्सकहरूको अनुभव छ।

केही दिनयता वीर अस्पतालबाट विदा लिएर क्लिनिकमै परीक्षण गरिरहेका डा. रेग्मीले प्रकाशको मृत्यु भएको दोस्रो दिन सोमबार त पूरा दिन बिरामी हेरेरै बिताए।

‘वीर अस्पतालमा जचाउन आउने तन्नेरीहरू पनि ह्वात्तै बढेको सुनेको छु। अलिकति छाति चस्स दुखेको वा मुटुको धड्कन बढेको छ भने पनि डराएर जचाउन आउनेहरू छन्,’ उनले सेतोपाटीसँग भने।

अर्का मुटुरोग विशेषज्ञ डा. प्रेमराज वैद्य यो घटनापछि ३० वर्ष नाघेका युवामा मुटु जचाउने क्रम बढेको बताउँछन्।

‘चासो बढेको छ, युवाहरू पहिलेभन्दा धेरै आएका छन्,’ उनले भने, ‘कतै आफूलाई पनि प्रकाश दाहालको जस्तै समस्या हुने हो कि भन्ने चिन्ताले जचाउन आइरहेका छन्।’

डा. अनिल भट्टराईको यस्तै अनुभव छ।

‘सामान्य मान्छे पनि जचाउन आइरहेका छन्,’ उनले भने, ‘पहिलेभन्दा दसदेखि बीस गुणा बढेको छ।’ यसअघि आउनेभन्दा नयाँ खालका व्यक्ति स्वास्थ्य परीक्षणमा आएको उनले बताए।

डा. रेग्मीका अनुसार यसरी आउने अधिकांश तन्नेरीमा मुटुको समस्या देखिएको छैन।

‘कतिपय पहिलेदेखि उच्च रक्तचाप र मधुमेहका बिरामी पनि आउँछन्, जसले राम्ररी मुटु परीक्षण गराएका हुँदैनन्,’ उनले भने, ‘उनीहरू यसरी डराएरै भए पनि परीक्षण गर्न आउनु असाध्यै राम्रो हो। कोही कोहीमा मुटुको समस्या भेटिने पनि गरेको छ।’

खासगरी मधुमेहका बिरामीलाई युवावस्थामै मुटुरोगको सम्भावना बढी हुने उनले जानकारी दिए। धूमपान गर्नेहरू पनि सतर्क रहनुपर्छ र नियमित परीक्षण गराउनुपर्छ। कतिपय तन्नेरी उच्च रक्तचाप र मधुमेह हुँदाहुँदै सचेतता अपनाउँदैनन्। यस्तो घटनाले एकपटक सबैलाई झस्काइदिने डा. रेग्मीले बताए।

‘मधुमेहका बिरामी र धूमपान गर्नेहरूले नियमित परीक्षण गराउनु जरुरी छ, तर गराउँदैनन्। यस्तो घटनापछि भने सबै जचाउन आइपुग्छन्,’ उनले भने, ‘बीचमा लामो समय हराएका उच्च रक्तचाप र मधुमेहका बिरामी पनि यो घटनालगत्तै आउन थालेका छन्।’

डा. रेग्मीका अनुसार यस्तै अवस्था करिब सात वर्षअघि सञ्चारकर्मी इन्द्र लोहनीको मृत्यु हुँदा पनि भएको थियो।

त्यतिबेला  पनि तन्नेरीहरूमा अहिलेजस्तै ‘त्राहीमाम’ मच्चिएको उनले बताए। त्यही अवस्थालाई लिएर नाम दिइएको ‘इन्द्र लोहनी सिन्ड्रोम’ त्यतिबेला निकै चर्चित थियो। लोहनीभन्दा पहिले अनुपशमशेरको बेला यस्तै लहर चलेको थियो।

‘हल्का छाती दुख्यो कि ‘मलाई हार्ट अट्याक भइहाल्ला’ भनेर युवाहरूमा उपचार गर्न आउने लहरै ल्याउँछ यस्तो घटनाले,’ उनले भने, ‘प्रकाश दाहाल चर्चित युवा भएकाले सबैले चिनेका थिए। उनको अचानक मृत्युको समाचार फैलिनु र ‘हार्ट अट्याक’ बाटै भएको चर्चा चल्नुले सबैलाई झस्काइदियो।’

उनको मृत्यु ‘हार्ट अट्याक’ नै थियो कि थिएन पक्का नभए पनि आफ्नो स्वास्थ्यप्रति लापरवाह हुने सहरी तन्नेरीमा यस किसिमको सचेतना आउनु सकारात्मक भएको उनको भनाइ छ।

यति हुँदाहुँदै यस्तो घटनाले तयार पार्ने ‘फोबिया’ भने ठीक नभएको उनले बताए। उच्च रक्तचाप, मधुमेह, धूमपान गर्ने वा अत्यधिक मदिरा सेवन गर्ने तन्नेरी पुस्ताको हेलचेक्र्याइँ पनि ठीक नभएको उनले उल्लेख गरे।

डा. रेग्मीका अनुसार तन्नेरी उमेरमै मधुमेह, उच्च रक्तचाप, कोलेस्ट्रोल वा मुटुकै अन्य जोखिमपूर्ण अवस्था बोकेकामध्ये १० प्रतिशतले मात्र उपचार गराइरहेको अवस्था छ। ‘९० प्रतिशत त उपचारभन्दा बाहिरै छन्। उनीहरू जहिले पनि हार्ट अट्याकबाट मृत्यु हुनसक्ने जोखिममा छन्। त्यस्ता मानिसमा यस्तो घटनाले सचेतना ल्याएर उपचारको घेरामा आइदिनु राम्रो हो,’ उनले भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.