‘धूलोधुवाँ च्याम्बर’ बन्दैछ काठमाडौं

बल्खुको धुलाम्मे सडकमा गुडिरहेका सवारी साधन।तस्बिर: सेतोपाटी


भारतको राजधानी नयाँदिल्लीलाई मुख्यमन्त्री अरविन्द केजरीवालले नै ‘ग्यास च्याम्बर’ को संज्ञा दिएका छन्।

‘विषालु’ तुँवालोले ढाकिएर सहर उकुसमुकुस भएपछि केजरीवालले ट्विटरमा यस्तो टिप्पणी गरेका हुन्।

नयाँदिल्लीसँग डेढ घन्टा हवाई दुरीको काठमाडौं पनि ‘धूलोधुवाँ च्याम्बर’ भन्दा कम छैन। प्रदूषणको ‘उत्प्रेरक’ मानिने जाडो यामसँगै काठमाडौं खाल्डो धूलोधुवाँले निस्सासिँदो छ। यसले स्वास्थ्यमा प्रतिकूल असर पारेको छ।

बढ्दो प्रदूषणबीच राजधानीका अस्पतालमा छाती र फोक्सोका बिरामी बर्सेनि थपिएका छन्। जाडो सुरु भएपछि यो क्रम अझ बढेको प्रहरी अस्पतालका चिकित्सक डा. मनोजकुमार यादव बताउँछन्।

‘चिसोमा छाती र फोक्सोका बिरामी बढ्छन्, काठमाडौंमा जुन खालको प्रदूषण छ, त्यसले यस्ता रोग अझ बढाइदिन्छ,’ उनले सेतोपाटीसँग भने।

उनका अनुसार यहाँको हावामा पाइने धूलोका कण चुरोटभन्दा हानिकारक छन्। धूलोमा हुने कार्बन–मोनो–अक्साइड, सल्फर–डाइ–अक्साइडजस्ता रसायनले सिधै फोक्सोमा असर गर्छ। सामान्य रूघाखोकीबाहेक फोक्सोमा दाग देखिने, सुन्निने र संक्रमणको एउटा मुख्य कारण यही प्रदूषण हो। आँखा चिलाउने, छाला एलर्जी हुने, सास फेर्न गाह्रो हुने, छाती भारी हुनेजस्ता नयाँ बिरामी देखिएको र दम तथा मुटुरोगीको समस्या बढेको उनले बताए।

सामान्य रूघाखोकी लाग्दा पनि निको हुन गाह्रो भएको तपाईंले महसुस गर्नुभएको होला। डा. यादव यसलाई प्रदूषणकै कारण मान्छन्। भन्छन्, ‘चिसोमा धूलोधुवाँबाट बच्नुपर्छ। बाहिर आवतजावत गर्दा धूलोधुवाँको सम्पर्कमा आएपछि रोग निको हुन समय लाग्छ।’

आउँदा दिनमा जति चिसो बढ्दै जान्छ, यो समस्या उति थपिन्छ। भारतको नयाँदिल्ली र चीनको बेइजिङ दुवैमा चिसो सुरु भएसँगै प्रदूषण उत्कर्षमा पुगेको हो। यहाँ पनि मंसिर–पुस लाग्नासाथ धूलोधुवाँ गुम्सिने क्रम बढेर जान्छ।

यसका पछाडि मुख्य दुई कारण छन्— एउटा सामाजिक, अर्को वैज्ञानिक।

सामाजिक कारण भन्नाले जाडो यामका गतिविधि हुन्। चिसो बढेपछि हामी न्यानो हुन आगो, कोइला, भुसेचुह्लो, स्टोभ लगायत बाल्न थाल्छौं। ठाउँ–ठाउँमा फोहोरमै आगो सल्काइन्छ। जहीँतहीँ आगो ताप्ने क्रम बढ्नाले गर्मी यामभन्दा जाडोमा कार्बन–मोनो–अक्साइड उत्सर्जन बेसी हुन्छ।

अर्को भनेको सवारीबाट निस्कने धुँवा हो। यसको मात्रा जाडोमा बढी हुन्छ। यो मौसममा सवारीको इन्जिन चिस्सिएको हुन्छ। स्टार्ट गरेर कुदाउनुअघि निकै बेर ‘अन’ गरेर राख्नुपर्छ। बाटो कुहिरोले ढाकिने हुँदा सवारीको गति पनि सुस्त हुन्छ। फेरि स्टार्ट गर्न झमेला हुने सोचेर गाडी केही बेर नचलाउँदा पनि स्टार्टमै राखिन्छ। यी गतिविधि हामीलाई सामान्य लागे पनि यसले सवारीबाट निस्कने धुँवाको मात्रा बढाइरहेको हुन्छ।

अब वैज्ञानिक कारणमा जाउँ।

जाडो याममा वायुमण्डलको माथिल्लो तहमा चिसो हावाको बाक्लो तह जमेको हुन्छ। यो तह गर्मीमा पातलो हुन्छ। सजिलै बहन्छ। जाडोमा भने जमेरै बस्छ।

‘जमिनको सतहबाट उड्ने धूलोधुँवाका कण माथिल्लो तहमा पुगेपछि हावाको बहावसँगै यताउति फैलिनुपर्ने हो, तर चिसोमा यस्तो हुन पाउँदैन,’ वातावरण विभागका सिनियर डिभिजनल केमिस्ट शंकरप्रसाद पौडेलले भने, ‘यो मौसममा धूलोधुवाँका कणले बाक्लो हावा छिचोल्न सक्दैन र फेरि वायुमण्डलतिरै फैलिन्छ। यसले गर्मीमा भन्दा जाडोमा प्रदूषण बढ्छ।’

काठमाडौं उपत्यकाको भौगोलिक संरचनाले पनि यतिबेला प्रदूषण जोखिम बढ्ने उनले बताए।

‘उपत्यका कचौरा आकारको छ। यहाँबाट निस्कने धूलोधुवाँ त्यसै त बाहिर जान गाह्रो छ, जाडोमा त झन् टम्म टालिएझैं हुन्छ,’ उनले भने, ‘कचौरामा धुवाँ भरेर माथिबाट छोपिदिएपछि के हुन्छ? हो, यहाँको धूलोधुवाँ पनि यसैगरी गुम्सिएर बस्छ।’

प्रदूषणका कण ‘पार्टिकुलेट म्याटर’ (पिएम) मा नापिन्छ। यो धूलोका कणको आकार हो। यो हामीकहाँ दुई इकाईमा नापिने वातावरण विभागका केमिस्ट पौडेलले जानकारी दिए। एउटा पिएम–२.५ र अर्को पिएम–१० मा।

पिएम–२.५ भनेको २.५ माइक्रोमिटर र पिएम–१० भनेको १० माइक्रोमिटरसम्मका धूलोका कण हुन्।

यी कण कति मसिना हुन्छन् भन्ने बुझ्न हाम्रो कपालको मोटाइसँग तुलना गरौं। कपालको सामान्य मोटाइ ७० माइक्रोमिटर हुन्छ। यही आधारमा २.५ माइक्रोमिटर भनेको कति सूक्ष्म हो भन्ने सहजै अन्दाज गर्न सकिन्छ। यसलाई आँखाले देख्न सकिन्न। यी कण हाम्रो नाकका रौंले छेक्न नसक्ने वैज्ञानिकहरूले पुष्टि गरेका छन्। त्यही भएर प्रत्येक साससँगै हामी धूलोका कण पनि फोक्सोमा हुलिरहेका हुन्छौं।

यस्ता कण खासगरी रसायनबाट उत्पन्न हुन्छन्। निर्माणस्थल, धुलाम्मे सडक, खेतबारी, आगो बालिएको वा धुँवा निस्किरहेको ठाउँमा बढी सक्रिय हुन्छन्। हावामा उड्दै गर्दा यस्ता कण पावर प्लान्ट, सवारीसाधन तथा उद्योगबाट निस्कने सल्फर–डाइ–अक्साइड र नाइट्रोजन–अक्साइडजस्ता ग्याससँग मिसिन्छन्। त्यसपछि स्वास्थ्यका निम्ति झनै हानिकारक हुन्छन्। पिएम–१० भन्दा साना कण अझ खतरनाक मानिन्छन्, किनकि यी सिधै फोक्सो र रक्तप्रणालीसम्म पुग्छन्।

दिल्लीमा जस्तो सडकै नदेखिने गरी तुँवालो लगाउने पनि यस्तै मसिना कणले हो।

हावामा हुने यी कणको न्यूनतम मात्रा देश र सहरको अवस्थाअनुसार फरक हुन्छ। काठमाडौंको न्यूनतम मापदण्ड पिएम–२.५ मा नाप्दा ४० मिलिग्राम प्रतिघनमिटर र पिएम– १० मा नाप्दा १२० मिलिग्राम प्रतिघनमिटर रहेको सिनियर डिभिजनल केमिस्ट पौडेलले जानकारी दिए।

यो आँकडामा थोरै अंक बढ्नु पनि प्रदूषणस्तर जटिल बन्दै गएको सूचक हो।

वातावरण विभागले दैनिक काठमाडौं उपत्यकाको प्रदूषण नापिरहेको हुन्छ। यसका निम्ति ६ ठाउँको विवरण लिँदै आएको छ। पुल्चोक, भैंसेपाटी, रत्नपार्क, त्रिभुवन विश्वविद्यालय, शंखपार्क र वीरेन्द्र स्कुललाई प्रदूषण मापन केन्द्र बनाइएको पौडेलले जानकारी दिए।

‘हामी दैनिक यी केन्द्रबाट तथ्यांक निकाल्छौं,’ उनले भने, ‘त्यसै आधारमा काठमाडौंको औसत प्रदूषण दर मापन गर्ने हो।’

शनिबारको तथ्यांकअनुसार उपत्यकाको प्रदूषण केही बढेको पाइएको छ। जोखिमपूर्ण अवस्थामै नपुगे पनि सचेत हुनुपर्ने पौडेलले बताए। ‘जाडो लागेसँगै अझै बढ्न सक्छ,’ उनले भने।

भैंसेपाटी केन्द्रमा मापदण्डभन्दा बढी प्रदूषण छ। पिएम–२.५ मा नाप्दा ४० मिलिग्राम प्रतिघनमिटरसम्म हुनपर्नेमा शनिबार ४७.४७८ पुगेको छ। अझ ८ घन्टामा नापिएको प्रदूषण त ६८.५५७ सम्म पुगेको थियो, जुन जोखिमपूर्ण अवस्था भएको पौडेलले बताए।

शंखपार्क केन्द्रमा नापिएको प्रदूषण पनि उच्च छ। पिएम–२.५ मै नाप्दा प्रदूषण दर ४३.८११ मिलिग्राम प्रतिघनमिटर पुगेको थियो। पुल्चोक क्षेत्रको आँकडा भने सामान्य छ। शनिबार यहाँ पिएम–२.५ मा नाप्दा १३.५१४ थियो।

काठमाडौंमा यति प्रदूषण बढ्नु पनि यहाँको भूगोलका कारण जोखिमपूर्ण हुने विज्ञ बताउँछन्।

त्रिभुवन विश्वविद्यालय, भौतिकशास्त्र विभागका प्राध्यापक रामप्रसाद रेग्मीका अनुसार काठमाडौं अन्य सहरजस्तो खुला छैन। यहाँबाट धूलोधुवाँ निकास हुने बाटो कम छ। चारैतिर पहाड घेरिएकाले धूलोधुँवा यही खाल्डोमा जम्मा हुन्छ, बोतलमा भरेको धुवाँजस्तै।

हामीले ‘खाल्डो’ भन्ने उपत्यका वरिपरि अग्ला पहाड छन्। बाहिरबाट आउने हावा यिनै पहाडले छेक्छन्। काठमाडौंमा हावा छिर्ने तीन बाटा मात्र छन्– चोभार हुँदै बागमतीले बनाएको गल्छी, चन्द्रागिरि र नागार्जुनबीचको थानकोट/भीमढुंगा भञ्झ्याङ र नागार्जुन–ककनी बीचको मुड्कु/तीन पिप्ले भञ्ज्याङ।

दक्षिणी हावा बागमती गल्छी भएर आउँछ भने पश्चिमी हावा थानकोट/भीमढुंगा भएर। यी दुई प्रणाली नै काठमाडौंमा सक्रिय हुन्छन्। उपत्यकाको हावामा तैरिएको धूलोधुवाँ उडाउने काम यिनै दुई प्रणालीको हो।

यी दुई मार्गबाट बिहान साढे ११ बजेपछि मात्र हावा प्रवेश गर्छ। जबकि, प्रदूषण बढाउने सवारीको प्रवेश बिहानैबाट हुन्छ। दिनभरि गुम्सिएको धूलोधुवाँ काठमाडौंले दैनिक ७५ प्रतिशत मात्र फ्याँक्न सक्छ, २५ प्रतिशत यहीँ बस्छ। यसरी प्रत्येक दिन थुप्रँदै जाने धूलोधुवाँ नै प्रदूषण बढाउने कारण हो।

यति मात्र होइन, साँझ हावाको गति ढिलो भएपछि प्रदूषण बाहिर जाँदैन, धूलोधुवाँ हावामै तैरिएर बस्छ। यही तैरिएका कण जाडोमा झनै बाक्लिन्छ र प्रदूषण बढ्छ।

त्यसैले, केजरीवालले नयाँदिल्लीलाई ‘ग्यास च्याम्बर’ भनेजस्तै जाडो याममा काठमाडौं ‘धूलोधुवाँ च्याम्बर’ बन्नेछ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.