तपस्वीको भेषमा बसेका रामबहादुर बमजनले बलात्कार गरेको र मानिस बेपत्ता पारेको समाचार आएपछि उनीमाथि कारबाही नगर्न उनको संगठनले राजनीतिक नेतृत्वलाई हारगुहार गरेको छ।
बमजनको बोधी श्रवण धर्म संघले पुस १३ गते नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी ज्ञापन पत्र बुझाएको छ। दाहाललाई भेट्नुअघि संघका मानिसहरूले गृहमन्त्री रामबहादुर थापालाई पनि भेटेकाथिए।
दाहाललाई बुझाइएको ज्ञापन पत्रमा सेतोपाटी डिजिटल पत्रिकालगायत बमजनबारे समाचार सामग्री प्रकाशन/ प्रसारण गर्ने सञ्चारमाध्यमलाई धार्मिक सहिष्णुतामा खलल पुर्याउन लागेको आरोप लगाइएको छ।
‘बिल्कुलै योजनावद्ध ढंगले धार्मिक सहिष्णुतालाई खलल गराउने कुत्सित मनसाय राखी देश र जनतालाई नै बर्बादीको दिशातर्फ घचेट्ने धृष्टतासहित सेतोपाटी अनलाइन न्युज, कान्तिपुर दैनिकको विशेष अगुवाइमा पछिल्लो समय केही अन्य सञ्चार माध्यम पनि तानिएर महासम्वोधी धर्म संघ गुरूज्यूलाई मानिस बेपत्ता पारेको संगीन आरोप लगाई योजनावद्ध ढंगले गतिविधि विकसित भइरहेका छन्,’ दाहाललाई बुझाइएको पत्रमा भनिएको छ, ‘अध्यक्षज्यूमार्फत् नेपाली दिदीबहिनी, दाजुभाइ र विश्व समुदायसँग यो अन्यायपूर्ण कायर गतिविधिको विरोध गर्दै साम्प्रदायक दंगा फसाद भड्काउनेतर्फ उन्मुख गतिविधिलाई रोक्नतर्फ कदम चाल्न नेपाल सरकारको ध्यानाकृष्ट गराइदिनुहुन यो मैत्रीय ज्ञापन पत्र प्रस्तुत गर्दछौं।’ (ज्ञापनपत्रको पूर्णपाठ तल समावेश गरिएको छ।)
तीन आनी बेपत्ता र एक अनुयायीको हत्या लगायत बमजन आश्रममा हुने यौन शोषण, हत्या-हिंसाबारे सेतोपाटीमा बुधबार र बिहीबार गरी ७ वटा स्टोरी छापिएका थिए। पढ्नुहोस सबै स्टोरी :
पहिलो स्टोरी- बमजन आश्रममा यौन शोषण, हत्या-हिंसाको दुष्चक्र
दोस्रो स्टोरी— बमजनको आश्रममा तीन आनी बेपत्ता, एक अनुयायीको हत्या
तेस्रो स्टोरी— बमजनको आश्रमबाट भागेका तीन आनीको कथा
चौथो स्टोरी: गंगामायाको कथा— आफू बमजनबाट बलात्कृत भइन्, साना आनीहरूलाई भने जोगाइन्
पाँचौं स्टोरी— बमजन कसरी बने मैत्रेय बुद्ध?
छैठौं स्टोरी- बमजनको आश्रमबाट पाँचौं व्यक्ति पनि बेपत्ता
सातौं स्टोरी- बमजन आश्रमबाट बेपत्ता चार जनाका परिवारले दिए प्रहरीमा जाहेरी
यस्तो छ दाहाललाई बुझाइएको ज्ञापनपत्र