तपस्वीको भेषमा बसिरहेका रामबहादुर बमजनको आश्रमबाट बेपत्ता भएका आफ्ना परिवारका सदस्यलाई खोजी दिन ३ परिवारले राज्यलाई आग्रह गरेका छन्।
मकवानपुर र नुवाकोटबाट आएका तीन परिवारले शुक्रबार रिपोटर्स क्लबमा पत्रकार सम्मेलन गरी बमजनको आश्रममा अनुसन्धान गर्न र वर्षौंदेखि बेपत्ता पारिएका आफन्त खोजी दिन सरकारलाई आग्रह गरेका हुन्।
बौद्ध धर्मको एक संगठन अहिंसावादी धर्म चक्र संघका महासचिव प्रेम दोर्जे लामाले बमजनको आश्रमबाट हराएका डोल्मो र चुन्मोलगायत अन्य आनी र चेलाको खोजी गर्न माग गरे।
यो संगठनमा मकवानपुरकी डोल्मो र नुवाकोटकी चुन्मोका परिवार पनि आवद्ध छन्।
‘सुरूमा दुबै हाम्रो गुम्बाका आनी थिए। पछि बमजनतिर लागेर उतै आश्रममा बस्न थाले,’ उनले भने, ‘अहिले उनीहरू बेपत्ता भएको भन्दै परिवारका सदस्य हामीलाई सोध्न आइरहनुभएको छ। हामीले पनि खोज्यौं, भेटेनौँ। अब राज्यले खोज्दिनुपर्यो।’
सुरूमा आफ्नो संगठनले बमजनलाई तपस्वी नै मानेर सहयोग गरेको उनले बताए।
‘उहाँ तपस्या बसेको बेला सहयोगको अपेक्षा गरेपछि संघको तर्फबाट सहयोग गर्यौं,’ उनले भने, ‘जब गढीमाई रोक्छु भनेर उहाँले हामीलाई विभिन्न कार्यक्रम गर्न लगाउनुभो। जसो जसो भन्नु भो त्यसै गरेका थियौं। अनि आफैं भाग्नुभयो त्यसपछि भने हामी अलग्गियौं।’
गढीमाई रोक्छु भनेका बमजन आफैं २ महिना बेपत्ता भएको उनले बताए।
महिनापछि उनी फर्केर बाराको हलखोरिया आएपछि फेरि आफूहरू उनको दर्शन गर्न गएको उनले दाबी गरे।
हराएर फर्किँदा बमजनका साथमा एकजना महिला पनि आएकी थिइन्।
‘त्यो बेला पनि तीन चोटी ढोगेर दर्शन गरेका थियौं। यत्रो दिन तपाईं कहाँ जानु भयो भनेर सोध्यौं। सँगै बसेको महिलाका बारेमा पनि सोध्यौं,’ उनले भने।
बमजनले भने आफू कहाँ हराएको भन्नेबारे फरक-फरक कुरा गरेको दोर्जेले बताए।
त्यसपछि भने आफूहरू पूर्ण रूपमै बमजनसँग अलग्गिएको उनले स्पष्ट पारे।
‘हाम्रा आनी पनि त्यो समूहमा गएका थिए। बेपत्ता छन्। कि मरेको छ भन्नुपर्यो कि त कहाँ छन् पत्तो लाग्नुपर्यो,’ उनले भने, ‘बमजनका आश्रमहरूमा राज्यले अनुसन्धान गर्नुपर्यो। सत्यतथ्य के हो पत्ता लगाउनुपर्यो।’
बमजनको आश्रमबाट २०७१ माघदेखि बेपत्ता भएकी डोल्मोका दाजु र बुवाले पनि पत्रकार सम्मेलनमा राज्यलाई यस्तै आग्रह गरे।
‘मेरी छोरीले बमजनको आश्रमबाट फोन गरेकी थिई। पछि हामी भेट्न जाँदा छैन भन्छन्,’ उनले भने, ‘हामीले धेरै ठाउँ खोज्यौं, भेटेनौं। अब राज्यले खोजी दिनुपर्यो र खबर गर्नुपर्यो।’
डोल्मोसँगै बेपत्ता भएकी उनकी साथी नुवाकोटकी चुन्मोकी दिदी गंगामाया पनि पत्रकार सम्मेलन गर्न काठमाडौं आएकी थिइन्।
उनले आफ्नी बहिनी बमजनको आश्रममा गएपछि नफर्किएको बताइन्।
२०६८ सालमा बमजनको आश्रममा गएपछि उनी घरमा एकपटक आएकी थिइन्। त्यो बेला एकरात बसेर बमजनकै आश्रममा फर्केकी उनी अहिलेसम्म सम्पर्कमा नआएको गंगामायाले बताइन्।
‘मेरो बहिनी आएको बेला मैले भेट्न पाइनँ। त्यसपछि टाढा-टाढा भयो। घर आउन पनि छोड्यो,’ उनले भनिन्, ‘गुरूलाई धेरै मान्थ्यो। तर आश्रममा छैन भन्छन्।’
बमजनले बुङमती लगाएको पूजामा भेटिन्छ कि भनेर खोज्न गएको उनले बताइन्।
‘आफैं आएन। हामी खोज्न कहाँ जाने? त्यही पनि बुङमतीको पूजामा खोज्न आएको बमजनका मान्छेले बहिनीको फोटो देखाउँदा यो त अहिंसावादीको सिआइडी हो, निस्केर गयो भन्छ अरू कुरा भन्दैन,’ उनले भनिन्,‘गुरू (बमजन)ले टेकेको माटो पनि शक्ति हुन्छ भन्थ्यो। मरेको भए लास पाउँ जिउँदो भए भेट्न पाउँ।'
पत्रकार सम्मेलनमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वनस्पति चोकका महिन्द्र वाइवाले पनि आफ्ना बुवा खोजी दिन आग्रह गरे। उनका अनुसार २०७१ चैतदेखि बुवा बमजनको आश्रमबाटै बेपत्ता भएका हुन्।
‘चैतको १४ गते बमजनको आश्रमबाट १७ गते आउँछु भनेर फोन गर्नुभएको थियो १० दिन पुग्दा पनि आउनुभएन। म सिन्धुपाल्चोक गएँ, त्यहाँ एउटा बाजेले निस्केर गइसक्यो भन्यो,’ उनले भने ,‘तर बुवा घरमा आउनुभएको छैन। राज्यले खोजिदिनुपर्यो।’
यी तीनै परिवारले आफ्ना बुवा, बहिनी र छोरी खोजी दिन भन्दै प्रहरीमा जाहेरी पनि दिएका छन्।
तीन आनी बेपत्ता र एक अनुयायीको हत्या लगायत बमजन आश्रममा हुने यौन शोषण, हत्या-हिंसाबारे सेतोपाटीमा बुधबार र बिहीबार गरी ७ वटा स्टोरी छापिएका थिए। पढ्नुहोस सबै स्टोरी :
पहिलो स्टोरी- बमजन आश्रममा यौन शोषण, हत्या-हिंसाको दुष्चक्र
दोस्रो स्टोरी— बमजनको आश्रममा तीन आनी बेपत्ता, एक अनुयायीको हत्या
तेस्रो स्टोरी— बमजनको आश्रमबाट भागेका तीन आनीको कथा
चौथो स्टोरी: गंगामायाको कथा— आफू बमजनबाट बलात्कृत भइन्, साना आनीहरूलाई भने जोगाइन्
पाँचौं स्टोरी— बमजन कसरी बने मैत्रेय बुद्ध?
छैठौं स्टोरी- बमजनको आश्रमबाट पाँचौं व्यक्ति पनि बेपत्ता
सातौं स्टोरी- बमजन आश्रमबाट बेपत्ता चार जनाका परिवारले दिए प्रहरीमा जाहेरी