मनाङदेखि न्यूयोर्कसम्मको मेरो यात्रा : सोनाम लामा


‘विचरी ! मेरी आमाले पोखरा कस्तो शहर हो थाहै पाउनु भएन। मनाङको स्याउबारीमै कुटोकोदालो गर्दै उहाँ बित्नुभयो। मनाङबाहिर पनि संसार होला र ? सायद यस्तै–यस्तै सोच्नुभयो होला। उपचारसमेत नपाई बित्नुभयो। मान्छे जन्मेपछि मर्नैपर्ने यो संसारको नियम। को पो अजम्बरी छ र! त्यो पनि जन्मदिनेले छोडेर जाँदा मन भक्कानिँदो रहेछ। जति बुढो हुन्छु, जति प्रगति गर्दछु त्यति आमाको यादले सताउँछ। म आमा बित्दा १२ वर्षको हुँदो हुँ।’

‘त्यतिबेला अहिलेजस्तो सहज बाटोघाटो थिएन हवाईजहाजसमेत चलेको थिएन। अहिले त कथाजस्तो लाग्दछ हामीलाई। हामी भने बाबासँग सानोमा तीन महिनाका बीचमा पोखरा झरिरहन्थ्यौं । पोखरा झर्दा कति धेरै घरहरू देखेर मन फुरुङ्ग हुन्थ्यो। बुबाको व्यापार सुरू भयो पोखरामा। हामी पोखरा बस्न थाल्यौँ।

कहिलेकाही न्यूर्योकको गगनचुम्बी भवन र रात्रीकालीन जीवन देख्दा मलाई मनाङका आफ्नै घर याद आउँछ भौतिक चिजले मान्छेलाई यश–आराम दिएपनि सन्तुष्टी दिँदो रहेनछ।

‘सानोमा कुनैदिन काठमाडौं आउँला सोचेको पनि थिइनँ। पोखरा जोमसोम, जोमसोम पोखरा दिनहरू उकाली ओरालीमै बितिरहेको थियो। मनाङको पहिलो व्यापारी बाबु हुन्, मेरा बुबा। र पोखरामा व्यापारकै सिलसिलामा हङकङमा व्यापार सुरू गरेँ।

अहिले न्यूर्योकको व्यवसाय र व्यस्ततालाई श्रीमतीको जिम्मा छोडेर गत आठवर्षदेखि निरन्तर एनआरएनमा जोडिएको छु। समय निकालेर गैरआवासीय नेपाली संघको आठौं सम्मेलनका लागि काठमाडौं आइपुगेको धेरै भएको छैन। म आफैँ पनि यसपटकको आठौँ सम्मेलनमा उपाध्यक्ष पदको उम्मेदवार हुँ। विगतमा एनआरएनको अन्तरराष्ट्रिय समन्वय परिषद्मा दुईदुई कार्यकालसम्म काम गरेको मेरो अनुभव छ।

उत्तर अमेरिकी क्षेत्रको उपसंयोजक हुँदै संयोजकसम्म आफ्नो सफलतापूर्वक कार्यकाल गरिसकेको सबैलाई थाहै छ । ममा अझै केही गर्ने उर्जा र जोश छ। म इमान्दारीका साथ काम गर्न रुचाउँछु । यो मेरो शैली पनि हो।

मनाङको पुरुङ्गगाउँ नै मेरो जन्मथलो हो। आफ्नो गाउँको माया सबैलाई हुन्छ। मलाई मेरो गाउँको माया छ। गाउँमा केही गर्न पाए हुन्थ्यो जस्तो लाग्दछ।

सन् १९८४ देखि १९९४ सम्म कार्पेट व्यवसाय सुरू गरेँ । करीब ३ देखि ४ सय जनालाई सिजनल र नियमित रोजगारी दिएको थिएँ। त्यतिबेला बजार भारतदेखि यूरोप र लण्डनसम्म थियो। तर बजार खस्कन थाल्यो। अनि अमेरिकी बजारमा कार्पेटको मार्केट हेर्दै म अमेरिका पुगेको हुँ। अमेरिकामा विजिनेस भिसा थियो । त्यही भिसा एकवर्षपछि ग्रीनकार्डका रुपमा परिणत भयो।

‘सन् १९९४ देखि अहिलेसम्म अमेरिकाको न्यूर्योकमा बस्छु। अमेरिकन, भारतीय, बंगालादेशी, भुटानी र नेपालीगरी २ सयजनाले रोजगारी पाइरहेका छन्। न्यूर्योकमा मेरो अर्गानिक नेचुरल हेल्थ फुडको डिपार्टमेण्ट स्टोर छ। अहिले मैले चारठाउँमा सुरू गरिसकेको छु। त्यसैगरी, हिमालय याक रेष्टुरेन्ट न्यूयोर्कको प्रख्यात रेष्टुरेन्ट हो । तपाईँहरु आउनु भयो भने थाहा पाउनुहुनेछ। मलाई काममा लगाव मन पर्दछ । म त्यति बाहिर खुलेर बोलेर हिँड्ने स्वभावको मानिस पनि होइन । मलाई खासका अरुजस्तै मिलाएर बोल्न पनि आउँदैन।

‘जबजब देशमा संकट पर्दछ म हुर्रिएर नेपाल आइपुग्छु । भूकम्प आउँदा अमेरिकाको तर्फबाट स्वंयसेवकमा खटिने पहिलो मै हुँ । १७ दिन बसे पालमा । पीडित नेपाली दाजुभाई दिदीबहिनीहरूलाई सकेजति सहयोग गरेँ । समग्र मेन्टल्ली र फिजिकल्ली ध्यान त्यसैमा खन्याएँ । अहिले नमूनाबस्ती बसाउने भवनको सहयोगी म पनि हुँ ।’

संसारको अग्लो स्थानमा बुद्धमूर्ति स्थापना गर्न लागेको छु । त्यो स्थान नेपालको मुक्तिनाथ हो । पाटन औद्योगिक क्षेत्रबाट १०० टनको बुद्ध मूर्ति स्थापना गर्न करीब ३ करोड रुपैयाँ खर्च भैसकेको सो आफ्नो व्यक्तिगत लगानी रहेको छ। मुक्तिनाथमा मैले मूर्ति स्थापना मात्रै गर्न सकेँ भने एउटा सपना पूरा हुन्छ। यसमा संस्थाको कुनै पैसा परेको छैन म आफैँ पनि एनआरएन हुँ।’

मेरा दुईछोरी र एक छोरा छन् । छोरी फार्मेसी डाक्टर र छोरा इन्जिनियर हो । अर्को पढ्दैछ ।
काठमाडौंमा दुईटा कार अमेरिकामा चारवटा कार छ । म भने अकोर्ड चढ्छु । छोराछोरीहरू विएमडब्लु, मार्सडिज चढ्छन् । आजभोलिका केटाकेटीलाई दुःख थाहा छैन । मैले आफ्नो जीवनमा धेरै दुःख गरेँ।

यतिधेरै विकसित देशमा बसेर के गर्नु? विगतमा आमा बिरामी हुँदा डोकोमा बोकेर पोखरा ल्याउन पनि सकिएन आमाको यादले जहिल्यै पनि आँखा रसाउँछ।

हामी जहाँ भएपनि नेपाली संस्कृतिमै रमाउनु पर्दछ । ल्होसार होस् वा दशैं–तिहार मेरा छोराछोरी पनि खुशी हुन्छन्, चाडवाडमा । नागरिकता निरन्तरता हाम्रो माग हो तर पहिचान भनेको हाम्रो धर्मसंस्कृति नै हो । हाम्रो राष्ट्रियता भनेकै हाम्रो संस्कृति हो। नागरिकता एउटा आधार मात्र हो।

मेरी श्रीमती नेपालकै पहिलो एयरहोस्टेज महिला हुन्। उनलाई अमेरिकी सोसाइटी मन पर्दैन । विगतमा उनी धेरै आत्तिईन् । आजभोलि जेनतेन समायोजन गर्छिन्।

‘मनाङमा आफ्नै बारीमा स्याउ लगाएको छु । स्याउ अहिले वर्षको ५० देखि ६० लाख नेपाली रुपैयाँमा सम्ममा बेच्छु । अबको एकदुईवर्षमा ५ देखि ७ करोडसम्म कमाउने लक्ष्य रहेको छ मेरो मनाङको स्याउबाट।

आठौं महाधिवेशनका लागि हामी विदेश बस्ने साथीहरूको यो विश्वसम्मेलन हो । आशा छ सबैले सहयोग गर्नेछन् । संस्थामा काम गर्ने साथीहरू धेरै छन् सबै इच्छुक छन्। हामीले जित्नेको कुरा गर्नुपर्दछ । चुनाव हो हार–जीत भैनै हाल्छ । फेरि पनि उपाध्यक्षमा चार पाँचजनाको रहर देखेको छु।

विभिन्न देशबाट विभिन्न पदमा साथीहरूको रहर छ । काम गर्ने जाँगर छ । तर के काम गर्ने भन्नेकुरा स्पष्ट हुन जरुरी छ । सबैको ‘इन्ट्रेस’ एनआरएनमा छ। यो गौरवको विषय हो । तर साथीहरूले काम गर्ने साथीलाई मौका दिनुहोस् । कामको मूल्यांकन गरिदिनुहोस्। विगतका उसले गरेका कामको समिक्षा गरेर विवेकपूर्ण मतदान गर्नुस् यहि भन्नु छ ।

लेखक एनआरएनका अमेरिकी संयोजक हुन् (महेन्द्र पौडेलसँगको कुराकानीमा आधारित)

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.