सन्तानसहितका एकल महिला र आप्रवासी नेपाली समाज


एउटी ६५ वर्षीया मध्यमवर्गीय अङ्ग्रेज महिलाले आफ्नो बारेमा बताउने क्रममा काउन्सिलरलाई भनिन्— ‘डेबिड र म सँगै बस्न थालेको पाँच वर्ष भयो । हामीले विवाह चाहिँ तीन वर्ष अगाडि गर्‍यौँ । यो विवाह मेरो लागि तेस्रो थियो । हामी यति मिलेर बसेका छौं कि ऊ वास्तवमा मेरो ‘सोल मेट’ हो ।’

अंग्रेजीमा ‘सोल मेट’को अर्थ आत्मादेखि नै मिलन भएको मान्छे भन्ने बुझिन्छ। अस्ट्रेलियामै जन्मेकी तर पुर्खाहरू इटालीबाट आएका मारियाले यसो भन्दा उनको आँखा चम्किलो भएको थियो । थप जान्न खोज्दा उनले यसो भनिन्—‘वास्तवमा मेरो पहिलो विवाह हुँदा म १८ वर्षकी थिएँ। हामी चार–पाँच वर्षसँगै बस्यौँ होला । ऊ आफ्नै सुरको थियो । हामी आ–आफ्नै जीवन बिताउने गर्थ्यौँ।

ऊ धेरै समय आफ्ना साथीहरूसँग बिताउँथ्यो । ठूली छोरी त्यहीबेला जन्मिई । त्यसलगत्तै म अरु कसैलाई मन पराउँछु भनेर उसले मलाई छोडेर गयो । अर्को चार–पाँच वर्ष त मैले छोरी हुर्काउनमा नै ध्यान दिएँ । त्यसपछि जोनसँग भेटघाट भयो, नजिकियौँ र त्यस्तै म ३० वर्षको हुँदा ऊसँग विवाह गरेँ । सुरूमा जोन राम्रै थियो । पछि विस्तारै ऊ परिवर्तन भयो । अरु दुई बच्चाहरू पनि जन्मिए । ऊ रक्सी खाएर साह्रै रिसाउँथ्यो।

लामो कुरा छोट्याउँछु । उसँग पनि म धेरै बस्न सकिन, बच्चाहरूको लागि भनेर जसोतसो गरेर मैले नै तन्काएँ । दश वर्षसँगै बसेर एक दिन मैले उसलाई अब तिम्रो छुट्टै बस्ने व्यवस्था गर भनिदिएँ । त्यसपछि पनि दुई चारवटा केटा साथीहरू नभएका होइनन् । तर डेविडसँगको साथ पाएपछि वास्तविक जीवनसाथीको अनुभव गर्न पाएँ।’

माथिको कथा मैले उपचार गर्ने व्यक्तिहरूसँगको मिल्दोजुल्दो कथा हो। मारियाको मानसिक स्वास्थ्य दोस्रो विवाहको क्रममा खस्केको थियो र उनी डिप्रेसनको लागि नियमित उपचारमा छिन् । डेविडको साथ पाएपछि उनको मानसिक अवस्था राम्रो छ। विवाह र पारपाचुके सम्बन्धी निर्णय आधुनिक समाजमा व्यक्तिले नै गर्ने भनिए तापनि सामाजिक परिवेशले ठूलो महत्त्व राख्दछ ।

मारियाको सन्दर्भमा भाग्यवश उनका पहिलेका पतिहरूले सम्बन्ध टुटेपछि खासै दुःख दिएनन् । पहिलो पति भने लामो समय गायब नै रह्यो र उनको छोरीको जीवनको सुरूका वर्षहरूमा कुनै योगदान गरेन । दोस्रो श्रीमानले भने पछिसम्म पनि छोराछोरीको शिक्षा र लालनपालनमा कुनै न कुनै किसिमले योगदान गरिरह्यो । उनीहरूको निर्णयलाई समाजले पनि स्वीकार नै गरेको अवस्था थियो ।

कानूनले पहिलाका श्रीमानहरूलाई बच्चाको लालनपालनको लागि निश्चित पैसा दिन भनेको थियो । पहिलो श्रीमानले दिएन, छैन भन्थ्यो । दोस्रोले बच्चाहरू १६ वर्ष नपुगुन्जेल आफूले गर्ने दायित्व पूरा गरिरह्यो । मारियाको माइती पक्षले सुरूमा दोस्रो श्रीमानसँग सम्बन्ध सुधार्न सकिन्छ कि भनेर ‘म्यारिज काउन्सिलिङ’ गर्ने कि भन्ने सल्लाह दिएका थिए । तर जब मारिया यो सम्बन्ध तोड्ने निर्णयमा पुगिन् उसका माइतीले राम्रो साथ दिए ।

उसलाई चाहिएको बेलामा बच्चाहरूको हेरविचारमा सहायता गरे। उसका झन्डै एक चौथाई साथीहरूको पनि सम्बन्धहरू टुटेकै अवस्था थियो। मारियाको कहानी अस्ट्रेलियाको सवालमा नौलो रहेन । सम्बन्धहरू नचलेको अवस्थामा काउन्सिलिङद्वारा सम्बन्धको उपचार गर्ने सुविधा उपलब्ध हुनुको साथै भाँचिएको सम्बन्धको अवसान गराएर अघि बढ्ने क्रममा उपयुक्त समयमा अर्को सम्बन्धको सुरूवात बिल्कुलै स्वीकारयुक्त चलन भएको छ।

मैले माथिकै जस्तो स्थिति एउटा नेपाली जोडीको हकमा पनि भेटें । तीस वर्ष नकटेको त्यो जोडी नेपालमै जन्मे पनि आमाबाबुको कामको सिलसिलामा विदेश बसाईको क्रममा विदेशमै हुर्के । संयोगवश दुवैजना एउटै हाइस्कुलमा पढ्न आइपुगे । माया बस्यो । थुप्रै वर्षको माया विवाहमा परिणत गरे ।

उसो त केही समय ‘लिभ इन रिलेशनसिप’मा बिताएका थिए । बच्चा जन्मियो । त्यसको एक दुई वर्षभित्रैमा यो विवाहको अन्त्य भयो । एकदिन उक्त नेपाली पुरुषले श्रीमतीलाई भन्यो— म तिमीलाई माया गर्न सक्दिन । तिमीलाई सम्झिदा फिलिगंस नै आउँदैन।

अब हाम्रो विवाहको अन्त्य भयो । अंग्रेजीमै आपसमा बोलीचाली गर्ने नाम मात्रको उक्त नेपाली जोडीले पारपाचुके पश्चात् पनि यही देशका छुट्टिएका अन्य धेरै जोडीजस्तै बच्चाको हेरविचारको लागि सामान्य संवाद कायम नै राखेका छन्। दुवैको साथी र समाज एउटै र पहिलो पुस्ताका आप्रवासी नेपाली समाज भएकोले उनीहरूसँग कस्तो सम्बन्ध राख्नेबारे नेपाली समाज चाहिं अलि दुविधाग्रस्त जस्तै देखिन्छ। जसको एउटा कारण नेपालबाट बसाई सरेर आएका हामी पहिलो पुस्ताका आप्रवासी नेपाली हुनु नै होला ।

आजभोलि नेपालमै बस्ने र सोचाइ तथा संस्कारको हिसाबले विदेशमा भएपनि नेपालकै नेपालीजस्ता पहिलो पुस्ते नेपालीहरूमा पनि सम्बन्ध विच्छेद बढ्दो छ । महिलाहरूको उकासिएको आर्थिक र कानूनी हैसियत, एकात्मक परिवार र नेपालको हकमा वैदेशिक रोजगार केही कारण हुन सक्लान् । अन्य कारणमध्ये संयुक्त परिवारले पहिले प्रदान गर्ने आड र सहायताको कमीले ल्याउन सक्ने तनाव पनि होला  या श्रीमानलाई नाथ होइन बराबरीको हैसियतमा राख्न खोज्ने नयाँ  प्रवृत्तिले पुरुषको परम्परागत बलियो हैसियत कमजोर भएको कारण पनि होला।

तर ६५ वर्षकी अस्ट्रेलियाको मारियाले पाउन सकेको मुख्य दुईवटा कुराहरूबाट नेपाली महिलाहरू पारपाचुके पश्चात वञ्चित नै रहनुपरेको देखिन्छ।

पहिलो चुनौती सन्तान सहितका एकल महिलाको पुनर्विवाहको सम्भावनासँग सम्बन्धित हो । हुन त सम्बन्धविच्छेद पश्चात् पुन: विवाह गर्ने नगर्ने व्यक्तिगत स्वन्त्रताको कुरा हो। अस्ट्रेलियाकी मारियाले तेस्रो पटक विवाह ६० वर्षको उमेरपछि गरिन् । ‘सोल मेट’ पाइन्। अस्ट्रेलियामै मैले व्यक्तिगत रुपमा चिनेका सम्बन्ध विच्छेद भएका नेपाली जोडीहरूको हालको अवस्था हेर्दा बहुसंख्यक पुरुषहरूले विवाह गरिसकेको अवस्था छ भने बहुसंख्यक महिलाहरूले पुनः विवाह नगरेको अवस्था छ ।

बालबालिकाको लालनपालनको जिम्मा आमामा आएको कारणले पुरुष विवाहको लागि स्वतन्त्र हुन एउटा कारण हुन सक्छ । अर्को कारण स्वतन्त्र रूपले बाँच्न केही महिलाहरूले पुन: विवाह नगर्ने निर्णय गरेको पनि हुन सक्छ । तर त्योभन्दा पनि सम्बन्धविच्छेद भएको महिला र उनको सन्तानप्रतिको पुरुषप्रधान समाजको दृष्टिकोण पनि महत्वपूर्ण कारण हुनसक्छ ।

मारियाको हकमा उनको पहिलो सन्तान हुर्किसकेको अवस्था थियो। हरेक व्यक्तिको यस्ता सम्बन्धप्रतिको धारणा पश्चिमी समाजमा पनि फरक फरक हुन सक्छ । तर ‘स्टेप फादर’ या ‘स्टेप मदर’को अवधारणालाई यो समाजले राम्ररी पचाएको पाइन्छ। नेपाली समाजमा सायद सौतेनी आमा या सौतेनी बाबु भन्ने शब्द नै सबैभन्दा पहिले परिवर्तन गर्नुपर्ने देखिन्छ।

जबसम्म समाजले सम्बन्ध विच्छेद भएको महिलाको अर्को परपुरुषसँगको सम्बन्धलाई पचाउँदैन तबसम्म उक्त महिलाको पुनर्विवाह हुने सम्भावना बढ्दैन– कारण उक्त महिलासँग विवाह बन्धनमा बाँधिन चाहने पुरुष पनि आखिर त्यही समाजकै हिस्सा भएकोले।

उसो त चर्चित हास्य कलाकार हरिवंश आचार्यले पनि पुनर्विवाह गरेका थिए । यो महिलाको कोणबाट हेर्दा वास्तवमा एउटा ठूलो सामाजिक फड्को थियो— किनकि उनकी दोस्री श्रीमती मीराको पनि यो दोस्रो विवाह थियो । भलै दुवैका पहिलो श्रीमान् या श्रीमतीको मृत्यु भएको थियो । तर सम्बन्धविच्छेद भएको महिलाको हकमा समाज अझै अनुदार नै रहेको आशंका गरिने यथेष्ठ उदाहरण हाम्रासामु छन् ।

सम्बन्ध विच्छेद भएका महिलाहरूको दोस्रो चुनौती समाजमा उनीहरूको हैसियतमा आउने परिवर्तन हो। यो चुनौती अष्ट्रेलियाको नेपाली समाजमा सम्बन्धविच्छेद पश्चात् महिलाहरूले अनुभव गर्ने उनीहरूको साँघुरिएको सामाजिक परिवेश भएको देखिन्छ। यसको एउटा कारण आप्रवासीका रुपमा अस्ट्रेलिया आएका जोडीहरूको एउटै सामाजिक समूह हुनु र सम्बन्धविच्छेद पश्चात् , विशेषगरी एकले अर्कालाई दोषारोपण गरिएका अवस्थामा सामाजिक समूहका सदस्यहरू विभाजित हुनु, तर धेरैजसो अवस्थामा पुरुषले बढी महत्व पाएको हो कि जस्तो देखिनुले यस परिप्रेक्षबाट पनि महिलाहरू नै तल परेको देखिन्छ।

नयाँ मुलुकबाट माइती धेरै टाढा भएको अवस्थामा नेपालबाट माइतीले समेत सम्बन्ध विग्रेको दोष महिलामा नै थोपरेका उदाहरण पनि छन् । प्रतिशतको हिसाबले थोरै भएपनि संख्यात्मक रुपले सन्तानसहितका एकल महिलाको संख्या बढ्दै गएको देखिएको छ। सम्बन्ध नबिग्रेको र नटुटेको राम्रो । तर विषालु सम्बन्धमा बासिरहनु या दुःखी सम्बन्धभित्र बसेर जीवन बिताउनु कि सम्बन्ध सुधार हुने सम्भावना नहुँदा सम्बन्ध बाहिर आउनेमध्ये हरेक व्यक्तिले निर्णय गर्ने क्रममा समाज बाधक नबन्दा अस्ट्रेलियाकी मारियाको जिन्दगी अहिले सहज नै छ।

माथि उल्लेखित अवस्था अस्ट्रेलियाको नेपाली समाजमा मात्र नभई नेपालमा र अन्य राष्ट्रमा बसोबास गर्ने नेपाली समाजमा पनि मिल्दोजुल्दो हुन सक्छ। सन्तानसहितका एकल महिलाको सामाजिक स्वीकृतिको स्तरमा परिवर्तन हुन नेपाली आप्रवासी सामाजभित्र यस प्रकारको थप छलफल र अध्ययन जरुरी छ ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.