एनआरएनए भिजन २०२० : केही प्रबृतिहरु र अबका चुनौती


बिदेशमा बस्ने नेपालीहरुको साझा संस्था गैरआवासीय नेपाली संघको आठौं बिश्वसम्मेलन आउन अब केही दिनमात्र बाँकी रहँदा बिश्वभरीबाट हजारौं प्रतिनिधिहरु यतिबेला काठमाण्डौ आउने क्रममा हुनुहुन्छ ।

सामान्यतयाः विश्व सम्मेलन र अधिवेशनका लागि बेला चुनावी चटारोले गैरआवासीय नेपाली संघका मुद्दाहरु ओझेल पर्ने गरेको बिगतका अनुभवहरु छन् । तर, यो सम्मेलनमा भने चुनावी चटारोसँगै ‘एनआरएनए भिजन २०२० एण्ड बियोण्ड’ को प्रस्तावमाथि पनि बहस भइरहेको छ ।

गैरआवासीय नेपाली संघको आगामी कार्यदिशाका रुपमा संघका अध्यक्ष शेष घलेले अगाडी सार्नुभएको यो मार्गचित्रप्रति गैरआवासीय नेपालीहरु निकै उत्साहित देखिए पनि केही पक्षबाट भने यसमाथि प्रहार गर्ने काम भइरहेको छ ।

मलाई के लाग्छ भने कतिपय साथीहरुले यो कार्यदिशाको भावना बुझ्नै खोज्नुभएको छैन र सतही आलोचनामात्र गरिरहनुभएको छ । केही साथीहरुले बुझ्न खोज्दा पनि बुझ्न सकिरहनुभएको छैन् होला । जतिले बुझ्नुभएको छ, उहाँहरुले यसले प्रस्ताव गरेको प्राबधान र संरचनाहरुबारे खुलेर समर्थन गरिरहनुभएको देखिन्छ ।

पहिलो प्रबृत्ति यस्तो छ कि, उहाँहरुलाई संघको मार्गदर्शक प्रस्ताव ल्याउनु नै ठिक लागेको छैन् । यो प्रस्ताव सही छ कि गलत भन्नेतिर उहाँहरुलाई चासो हैन, मुख्य कुरा वर्तमान अध्यक्षले संस्थाका संरचना सुधारका लागि कुनै पनि प्रस्ताव ल्याउनुहुँदैन् भन्ने उहाँहरुको मान्यता देखिन्छ ।

त्यही कारण उहाँहरुले यो प्रस्ताव नाम सुनेदेखि नै बिरोध गर्नुभयो । यो प्रस्तावको कन्टेन्ट हेर्न पनि खोज्नुभएन् । न्यूजर्सी सम्मेलनमा प्रारम्भिक खाका पेश गरियो ।

त्योभन्दा पहिले नै एनआरएनए आईसीसीका साथीहरुलाई सुझावका लागि खाका पठाइयो । त्यसपछि एनसीसीहरुलाई पनि खाका पठाइयो । तर, उहाँहरुले यसमा कुनै सुझाव दिनै आबश्यक ठान्नुभएन । किनकी उहाँहरुलाई संस्था बलियो बनाउने, लक्ष्य र कार्यक्रमहरु प्रष्ट पार्ने कुराहरु मन परेकै थिएन । कन्टेन्ट राम्रो होस् कि नराम्रो, उद्देश्य जतिसुकै पवित्र होस् उहाँहरुलाई त्यसको मतलव भएन ।

एक वर्षसम्म बिरोधका लागि बिरोधमात्र गरेर बसिरहनुभयो, अनि जब सम्मेलन आउन थाल्यो आफ्ना फिडब्याक संस्थालाई नपठाई सार्वजनिकरुपमा गालीगलौजमा उत्रिनुभयो ।

कुनै नीति र कार्यक्रम नै ल्याउन पाइन्न, ल्याइयो भने जतिसुकै राम्रो भए पनि बिरोध गर्छु र गुटबन्दी गर्छु भन्नु राम्रो संस्कार हैन् । यस्तो पूर्वाग्रहले ‘नेपालीका लागि नेपाली’ को मूल लक्ष्यलाई पुरा गर्न सकिदैन ।

हामी आफै यस्तो संकीर्णता र पूर्वाग्रहबाट ग्रसित भएपछि हामीले कसरी नेपालमा पूँजी, सीप विस्तार गरेर उदाहरण बन्न सकौंला ?
संस्थालाई समायानुकुल परिवर्तन गर्नै पाइन्न भन्नु विवेकसम्मत कुरा हैन् । उहाँहरुले यति मूर्ख तर्क पनि गर्नुहुन्न जस्तो लाग्छ । यो संस्थाको आबश्यकता र भिजन २०२० को मर्मलाई बुझेर पनि बुझ पचाउनु चाहिं संस्थाका लागि निकै हानिकारक हो ।

दोस्रोथरी साथीहरुले यो प्रस्ताव के हो भनेर जान्न त खोज्नुभयो तर कार्यक्रम र संरचना निर्माणको प्रकृयामा सहभागीता जनाउनुभएन । त्यसैले उहाँहरुले प्रारम्भिक खाकाका आधारमा धारणा बनाउनुभयो र केही शंकाको नजरले हेर्नुभयो ।

प्रारम्भिक अबधारणाबाट अगाडी बढ्दै प्राप्त सुझाव सल्लाह लिएर यसलाई कार्यक्रमको लेभलमा विकाश गर्ने काम भइसक्दा साथीहरुका धेरै आशंकाहरु निवारण भएको मैले देखेकीछु ।

खासगरी साथीहरुलाई यो प्रस्तावले अध्यक्षलाई धेरै अधिकार दिन खोजेको हो कि, प्रेसिडेण्सियल काउन्सिलको अबधारणाले अन्य पदाधिकारीलाई केवल सहयोगीमा मात्र सिमित गर्न खोजेको हो कि भन्ने आशंका गर्नुभएको थियो । तर, वास्तविकता त्योभन्दा ठिक बिपरित थियो ।

हालै अध्यक्ष घलेले दिनुभएको एक अन्तर्वार्तामा अध्यक्षका अधिकार बढाउने नभई घटाउने प्रस्ताव गरिएको बताउनुभएको छ । सम्पूर्ण संस्था अध्यक्षमाथि एकल निर्भर रहेको अबस्थामा उपाध्यक्ष, पदाधिकारी र सचिवालयलाई निश्चित अधिकार बाँड्ने प्रस्ताव भिजन २०२० मा ल्याइएको उहाँले जानकारी दिनुभएको छ ।

प्रेसिडेण्सियल काउन्सिलका बिषयमा पनि धेरै साथीहरुलाई मनकै बाघले खाएको रहेछ भन्ने अध्यक्षको अन्तरवार्ताबाट प्रष्ट देखिन्छ । समग्रमा यो प्रस्तावले अधिकारमात्र हैन, धेरै पदाधिकारीमा जिम्मेवारी पनि बाँडने प्रस्ताव गरेको हो, जुन संस्थाका लागि निकै स्वागतयोग्य बिषय हो ।

सँगसँगै हाम्रो सचिवालयलाई बलियो बनाउने, बिभिन्न बिभागमा काम गर्नका लागि डेडिकेटेड स्टाफहरुको ब्यबस्था गर्ने, परोपकारी कामलाई प्राथमिकतामा राख्ने लगायतका बिषयलाई हामी एनआरएनहरुले कसरी नराम्रो भन्न मिल्छ ? संस्था बलियो हुनु, संस्थाको इज्जत बढ्नु त हामी संसारभरका एनआरएनहरुको इज्जत बढ्नु हैन र ?
एनआरएनभित्रका बहुसंख्यक साथीहरुले चाहिँ संस्थालाई बलियो, आत्मनिर्भर र लक्ष्यमुखी बनाउने यो प्रस्तावलाई सुरुदेखि नै मुक्तकण्ठले प्रसंसा गर्दै यो प्रस्तावको पक्षमा समर्थन जनाउँदै आउनुभएको थियो । संस्थाको आग्रहअनुसार उहाँहरुले केही रचनात्मक सुझावहरु दिनुभयो, बहस र छलफलमा सहभागी हुनुभयो र यो प्रस्तावलाई अझै सम्बृद्ध बनाउने काममा उहाँहरुको महत्वपूर्ण भूमिका रह्यो ।

यी तीन प्रबृत्तिमध्ये पछिल्ला दुई खाले गैरआवासीय नेपाली साथीहरुले भिजन २०२० को उदेश्य, लक्ष्य र कार्यक्रम बुझिसक्नुभएको छ । एनआरएनको संस्थागत विकाशका लागि कुनै प्रस्ताव ल्याउन पाइन्न भन्ने निषेधकारी अबधारणा राख्ने सानो समूहबाहेक अब कसैले पनि यो प्रस्तावको कन्टेन्ट र उदेश्यलाई गलत सावित गर्न सक्दैन् ।
वास्तवमा हामीले वर्तमान अध्यक्ष शेष घलेलाई हृदयदेखि नै धन्यबाद दिनुपर्छ कि संस्थालाई चार बर्षसम्म नेतृत्व प्रदान गरेर संस्थालाई विश्वासयोग्य बनाउने काम उहाँले गर्नुभयो ।

एनआरएनलाई यो उचाईमा पुर्‍याउन उहाँले पूर्णकालिन प्रमुख कार्यकारीका रुपमा संस्थामा झण्डै ४८ महिना सेवा गर्नुभयो ।
सँगसँगै आफुले गरेका सुधार कामको निरन्तरता र आगामी दिनमा यो संस्थालाई कस्तो बनाउने भन्ने प्रष्ट मार्गदर्शनसहितको खाका हामी नयाँ पुस्तालाई छाडेर जाँदै हुनुहुन्छ । यसको अर्थ उहाँको मार्गचित्र अनुसार हिड्ने हो भने हामी आगामी दुई तीन कार्यकालमा यो संस्थालाई बिश्वकै उदाहरणीय सामाजिक संस्थाका रुपमा रुपान्तरण गर्न पक्कै सफल हुने छौं ।

हामी गैरआवासीय नेपालीहरुका लागि यो उहाँले दिएको अमूल्य उपहार हो र यसलाई ग्रहण गरेर हामीले संस्थालाई बलियो र भरोसायोग्य बनाउनुको विकल्प छैन् । आगामी विश्वसम्मेलनमा यो प्रस्तावलाई एक मतले पारित गरेर यसको कार्यन्वयन सुरु गर्नु नै हामी सवै गैरआवासीय नेपालीहरुको हितमा हुनेछ ।
यदि हामीले हाम्रा निहीत स्वार्थ र इगोका आधारमा यति सुन्दर प्रस्तावलाई लत्यायौं भने यसका प्रस्तावकलाई त केही फरक पर्दैन तर हामी गैरआवासीय नेपालीहरुका लागि भने खराव दिनको सुरुवात हुने छ ।

किनकी एउटा सानो समूहलाई संस्था दर्ता गरेको, संस्थागत संरचना सुधार गर्दै आफ्नै केन्द्रीय कार्यालय भवन निर्माण गरेको, संस्थालाई स्रोतसाधन सम्पन्न बनाएको, नेपाल सरकारसँग सहकार्य गरेर वास्तविक काम गरेको, भूकम्प, नाकाबन्दी र बाढीका बेला नेपाललाई आपतकालिन सहयोग गरेको केही पनि मन परेको छैन् ।

यो भिजनलाई अस्वीकार गर्नुको अर्थ हामी एनआरएनलाई भर्चुअल क्लव बनाउने दिशामा जाने हो । त्यसो गर्दा सानो समूहको स्वार्थ पुरा भए पनि लाखौं गैरआवासीय नेपालीको इज्जतमा धक्का लाग्ने छ ।

गैरआवासीय नेपाली संघमा रहेर यो संस्थामा आबद्ध हजारौं सदस्यहरुसँग संगत गरिरहँदा मलाई के बिश्वास छ भने, उहाँहरुलाई यो संस्थाको निकै माया छ र यसको भलाईका लागि नै उहाँहरुले आफ्नो म्याण्डेट दिनुहुनेछ ।

एनआरएनए आईसीसी पदाधिकारीका रुपमा चार बर्ष काम गर्दा मैले गरेको अनुभव के हो भने अब हामीले यो संस्थालाई नियम कानुन र संरचनामा बाँध्न सकेनौं भने अराजकतातिर जान्छ । हाम्रो संरचना ठूलो भइसक्यो, सदस्य संख्या नै ६० हजार नाघिसक्यो । हामीले गर्ने कामको क्षेत्र निकै बढ्यो । यस्तो बेलामा पुरानै संरचनाले संस्था चलाउँदा दुर्घटना हुन्छ ।

त्यसैले यो प्रस्तावलाई कसले ल्यायो भन्ने कुरा नहेरी यसको कन्टेन्ट हेरेर, संस्थाको आबश्यकता हेरेर आगामी महाधिवेशनले निर्णय गर्ने छ भन्ने मैले बिश्वास लिएकी छु ।
लेखक गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद्की प्रवक्ता हुन् ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.