यसकारण एनआरएनमा दोहोर्‍याएँ


प्रत्येक दुई–दुई वर्षमा हामी विदेशमा बस्ने नेपालीहरूको एउटा सञ्जाल गैरआवासीय नेपाली संघ (एनआरएन) को विश्वसम्मेलन काठमाडौंमा हुन्छ। यही अक्टोबर १४–१७ मा हुने यस संगठनको महासम्मेलनबाट नेतृत्व चुनिने गरिन्छ । यो एनआरएनको आठौँ महाधिवेशन हो। यस चरणसम्म आइपुग्दा संगठन ७८ देशमा आफ्नो राष्ट्रिय समन्वय परिषद् गठन गरिसकेको सर्वविदितै छ ।

तर यहाँ केही साथीहरूलाई लागिरहेको हुनुपर्दछ मैले किन अध्यक्षमा आफ्नो उम्मेदवार प्रस्तुत गरिनँ। मेरा लागि पदभन्दा ठूलो काम हो । पद केवल कामका लागि प्रचारप्रसार गर्ने साधन मात्र हो भने साध्य त केवल हाम्रा भावना र विवेक हो त्यही भावना र विवेकका कारण यसपटकको आठौँ महाधिवेशनमा उपाध्यक्ष पदमै दोहोर्‍याउने निर्णय गरेको छु।

गैरआवासीय नेपालीहरू आज ५० लाख जति छन् जो विदेशमा बसेर देशमा आफ्नो देश सम्झिरहेका छन् । जति पैसा कमाए पनि उनीहरूले देशमै पठाउने हो त्यही नै आज देशको प्रमुख आयश्रोत हो । यसबारेमा धेरैकुरा बताइरहनु पर्दैन । विगतमा जस्तो भनाई एनआरएनहरू आउँछन् र गफ गरेर जान्छन् भन्ने दिनहरू गए ।

प्रत्येक दुई वर्षमा हुने हाम्रो सम्मेलनमा केही न केही महत्वपूर्ण योजनाहरू घोषणा गर्दै आइरहेका हुन्छौँ। अब घोषणाभन्दा पनि कार्यान्वयनतर्फ ध्यान केन्द्रीत गर्ने बेला भएको छ। यथार्थता विगतमा हामीसँग स्थायी खालको सरकार थिएन। संविधानसभाबाट मुलुकले संविधान पाएको थिएन, १० वर्षे जनयुद्ध कारण अर्थतन्त्र तहसनहस भइरहेको थियो । लाखौँ विस्थापित, हजारौँले घरबार छोडेर पराधिन हुनुपर्ने बाध्यता थियो। गाउँ तह जनप्रतिनिधिविहीन थिए। स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ। यो हामी स्वदेश तथा विदेशका सम्पूर्ण नेपालीहरूको लागि पनि सुखद कुरा हो ।

कतिपयको धारणा छ, एनआरएनसँग पैसा छ एनआरएनलाई ल्याएर लगानी गराउनु पर्‍यो । वास्तवमा मुख्य कुरा के भने एनआरएन आफैँमा एउटा सामाजिक संस्था हो । संस्थाले लगानी गर्दैन । संस्था एउटा फोरम र माध्यम हो जसद्वारा लगानी गर्ने हो । हामीले त्यसरी नै लगानी गरिरहेका छौँ । हाम्रो लगानी पैसा मात्रै होइन सीप, क्षमता र सहभागिता पनि हाम्रा लगानी हो । अहिले मैले मुख्य एजेण्डाको रूपमा अघि सारेको विषयवस्तु के हो भने विज्ञ सम्मेलन नै हो । डाक्टर, इञ्जिनियर र विज्ञानप्रविधि क्षेत्रमा अमेरिकादेखि यूरोप, मध्यपूर्वदेखि जापान र कोरियादेखि अष्ट्रेलियासम्म हाम्रा ५० हजारभन्दा बढी विशेषज्ञहरू रहेछन् भन्ने कुरा जानकारी पाउँदा मलाई हर्षोल्लास पनि हुन्छ र नैराश्यता पनि ।

हर्षोल्लास यसकारण हुन्छ कि, मैले गैरआवासीय नेपाली संघको पूर्व महासचिव हुँदादेखि भन्दै आएको विषय प्राविधिक ज्ञान र सीप सिकाएर विदेशिने वातावरण बनाउनुपर्दछ भन्ने अवधारणा थियो। त्यसकारण ती हाम्रा प्राविधिकहरू विशेषज्ञहरू हाम्रा सम्पति हुन् राष्ट्रका सम्पति हुन् त्यसैले गर्व गर्दछु यी विषयमा ।

अर्को के भने नैराश्यता यस अर्थमा लाग्दछ कि हामीले ती विज्ञहरूलाई एनआरएनमा ल्याउन सकिरहेका छैनौँ । विज्ञहरूलाई एनआरएनमा ल्याउनका लागि यसपटक मैले विज्ञसम्मेलनको एजेण्डा मेरो प्रेस विज्ञप्ति र घोषणा पत्रमा आफ्नो अवधारणा सार्वजनिक गरिसकेको छु जुन मेरो व्यक्तिगत स्वार्थ गाँसिएका विषय होइनन् ।

लगानीका हिसाबले पनि विश्वमा नेपाल तुलनात्मक रुपमा सस्तो श्रम बजार भएको देश हो । खुल्ला बजार अर्थनीति भएका हुनाले लगानी गर्न सजिलो छ। लगानी गर्ने चाहिने आधारभूत आवश्यकताको कमी नेपालमा छैन। दुई ठूला छिमेकीहरू विश्व बजारको प्रतिस्पर्धामा छन्। हामी उनीहरूको दाँजोमा नगए पनि व्यवसायिक फाइदा लिन सक्नेछौँ ।

लगानीका विषयमा पनि मेरो फरक धारणा छ । सानो–सानो पूँजीलाई एकत्रित गरेर लगानी बढाउनुपर्ने आवश्यकता ठान्दछु । नेपालमा जलविद्युतको क्षेत्रमा प्रचुर सम्भावना छ । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका पालामा उर्जामन्त्री जनार्दन शर्माले अनलाइन माध्यमबाट जलविद्युतमा शेयर लिनको लागि आह्वानसमेत गर्नुभएको स्मरण हुन आउँछ।

जलविद्युतमा आजै लगानी गरेर आजै प्रतिफल लिने क्षेत्र होइन, यो दिर्घकालीन योजना हो। यसका लागि देशविदेशमा रहेका साथीभाईले विशेषगरी खाडी क्षेत्रका साथीहरूले पनि सोच्नुपर्ने विषय हो। मुख्यतया हामीसँग अनगिन्ती समस्याहरू छन् सबै समस्याहरू एकैपटक हल हुँदैनन् विदेशिएका हामी पहिलो पुस्ता हौं भन्नेकुरा मनन गर्न जरूरी छ । गर्दैजाने हो ।

तर यहाँ प्रसंग  लगानी र अन्य कुराको होइन, मेरो उम्मेदवारीको हो । साथीहरूलाई लागिरहेको कुरा मैले महसुुुस गरेको छु। मैले आफ्नो विज्ञप्तिमा भनिसकेँ कि म कुनै गुट उपगुटबाट अध्यक्ष हुन चाहन्नँ । केहि महिनादेखि साथीहरूले बारम्बार घच्घच्याइ रहनुभएको हो । अध्यक्षमा आउनु पर्दछ भनेर । उहाँहरूको चाहनालाई कदर गर्दछु । हो आउनु पर्दछ । तर नेतृत्वमा यति हतार नगरौं भन्ने भावना एकातिर रह्यो भने अर्कोतिर तर उपाध्यक्ष भैसकेपछि अध्यक्ष हुने चाहना सबैमा हुन्छ।

अरू साथीहरू पनि देशमा भैपरी आउने हरेक समस्याहरूमा सहभागिता भएकै छन् । धेरै साथीहरूसँग हामी संयुक्तरूपमा काम गर्दै आइरहेका पनि छौँ । हामी यो सोचबाट मुक्त हुनुपर्दछ कि हामीलाई मिलाउन अरू आउनुपर्ने र छुटाउन अरू आउनुपर्ने । त्यसैले मिल्नु पनि आफ्नो विवेकले हो छुट्नु पनि आफ्नो विवेकले हो । यसपटक पनि मैले आफ्नो विवेक र संस्थाप्रति जिम्मेवारीपन बहन गर्दै निर्णय लिएको हुँ।

त्यसैले, मैले उपाध्यक्षमै फेरि पनि दोहोर्‍याउने प्रण गरी प्रेस विज्ञप्ति जारी गरिसकेको अवस्था हो । यस विषयलाई गैरआवासीय नेपाली साथीहरूले स्वभाविक रूपले ग्रहण गर्नुहुनेछ भन्ने आशा गर्दछु । यस पवित्र अभियानमा हामी सबै एक भई जुटेर हातमालो गर्दै अघि बढ्ने सदासर्वदा प्रण गर्दछु ।

लेखक एनआरएनका केन्द्रीय उपाध्यक्ष हुन् ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.