धमिला धम्कीहरु


निकट विगत

आफूलाई भगवानको सच्चा अनुयायी मान्ने स्वघोषित स्वामीको फोन आयो कार्यालयको ल्यान्डलाइनमा।

‘राधा कृष्ण राजेन्द्र स्वामी,’ बडो नम्र आवाजमा उताबाट कोही बोल्यो, ‘यसरी परमेश्वर श्रीकृष्णको निन्दा गरिएको लेख छाप्दा स्वामीलाई अलिकति पनि पापबोध भएन?’

‘त्यो त एउटा विचार हो नि स्वामीजी। त्यसमा के आपत्तिजनक कुरा छ र?’ मैले विनम्र जवाफ दिएँ, ‘तपाईं पनि लेख्नुस् हामी छाप्छौँ।’

‘मेरो लेख तपाईंहरु छाप्नु हुन्न भन्ने कुरा मलाई राम्ररी थाहा छ। भगवान श्रीकृष्णलाई तथानाम भनिएको लेख छाप्ने तपाईंको पत्रिकामा कसरी मेरो लेख छापिएला? म छाप्नै चाहन्न पनि,’ उनको आवाज केही चर्को बन्दै गएको थियो, ‘तपाईं पापिष्ट हुनुहुँदो रहेछ। तपाईंलाई स्वर्गमा कुनै ठाउँ हुने छैन अब। नर्कमा पर्नु हुनेछ। तातो तेलको कराईमा डुब्नुपर्नेछ तपाईंले मृत्युपछि। कल्पना गर्नोस् त कति पीडा खप्नु पर्नेछ त्यसबेला तपाईंले!’

ठूलो आकारको एक पत्रिकामा मेरो जिम्मेवारी पनि ठूलै थियो। विचार पृष्ठ, सप्ताहन्तसमेतको संयोजन गर्ने जिम्मेवारी मेरो काँधमा थियो। चार पृष्ठको सप्ताहन्तमा त्यस दिन आवरण लेख धार्मिक खालको थियो। कृष्ण भगवान थिएनन् भन्ने आशय त्यस आलेखले बोकेको थियो। त्यसै सेरोफेरोमा अर्को एउटा लेख विचार पृष्ठमा पनि प्रकाशित भएको थियो। हिन्दु धर्ममा महिला र दलितमाथि अधिक विभेद छ भन्ने आशयको विचार प्रकाशित भएको थियो।

स्वघोषित स्वामीले फोन राख्ने बेलामा मलाई धम्की दिँदै भने, ‘भोलि तपाईंको कार्यालय घेर्न हामी कृष्ण भगवानका भक्तहरु आउँदैछौँ, हाम्रो सामना गर्न तयार भएर बस्नोस्।’

त्यसदिन राति राम्ररी निद्रा पनि परेन। कसरी भीडको सामना गर्ने? तिनले के कस्ता प्रश्नहरु सोध्ने हुन्? तिनको चित्त कसरी बुझाउने होला? कतै शारीरिक आक्रमण नै पो व्यहोर्नु पर्ने हो कि? यस्तैयस्तै प्रश्नहरु मनमा खेलिरहे।

भोलिपल्ट म अलि अगाडि नै कार्यालय पुगेँ। सम्पादकसँग सल्लाह पनि गर्नुपर्ने अवस्था थियो। कार्यालयको रिसेप्सनमा नपुग्दै रिसेप्सनिस्ट बहिनीले मेरो फोन आएको जानकारी दिइन्। कुनै महिलाको फोन रहेछ, विचार पृष्ठमा प्रकाशित आलेखबारे कुरा गर्ने इच्छा रहेछ उनको।
मनभित्र कताकता डरजस्तो उत्पन्न भइरहेको थियो, कार्यालय नै घेर्ने भन्ने अघिल्लो दिनको धम्कीका कारण।

धेरै पुरानो भनाइ ‘कुन्ड कुन्ड पानी मुन्ड मुन्ड विचार’ त्यसै आविष्कार भएको होइन। पृथक विचारलाई मार्न हामीमध्ये धेरैलाई मज्जा लाग्छ। विचार मन नपर्न सक्छ वा त्यसप्रति विमति राख्ने अधिकार सबैलाई छ। तर, विचारको गला नै रेट्ने चाहनाको सम्मान वा स्वागत कसरी गर्न सकिएला र! म यस्तै सोच्दै थिएँ। मेरो टेबुलको फोनको घन्टी बज्यो।

महिलाको पहिलो शब्द नै कर्कश थियो।

‘राजेन्द्र पराजुली भन्ने मान्छे तैँ होस्?’ उनको पहिलो वाक्य नै यही थियो।

‘हो म नै हुँ। तपाईंको नाम?’ मैले नम्र आवाजमै सोधेँ।

‘तँजस्ता आमा बेचुवालाई किन चाहियो मेरो नाम? भन् तैँले हिन्दु धर्मलाई गाली गर्नका निम्ति कुनकुन एनजीओ–आईएनजीओबाट कतिकति डलर र युरो खाइस्? राजधानीमा कति वटा घर जोडिस्?’ उनी कड्कँदै थिइन्। ती महिलाले प्रयोग गरेको अश्लील शब्द लेख्न त परै जाओस् म सम्झन पनि सक्दिनँ।

तिनको गालीले भन्दा पनि कति डलर–युरो खाइस् भन्ने शब्दले मलाई बढी पोलिरहेको थियो। उनको आरोपलगत्तै मेरो मानसपटलमा यो तथ्य घुमिरहेको थियो– कोटेश्वर तीनकुनेमा बाबुबाजेले जोडेको सम्पत्तिमध्ये अंशबन्डा हुँदा मेरो भागमा डेढ रोपनी परेको थियो। अहिले मसँग केवल साढे पाँच आना बाँकी छ। जोड्नु त परै जाओस् म पैतृक सम्पत्ति जोगाउन पनि असफल मान्छे हुँ।

महिलाको धम्कीपूर्ण आवाज मत्थर भएको थिएन। मेरो पनि रिसको पारो उकालो चढ्दै थियो। तिनले सुरुदेखि नै ‘तँँ’ सम्बोधन गरेकी थिइन्। मैले केहीबेर तपाईं भन्दा पनि तिनको बोली फेरिएको थिएन। म उनलाई सम्झाउन खोज्दै थिएँ, तर उनी मेरो एक शब्द पनि सुन्न तयार थिइनन्। त्यसपछि मैले पनि तिनलाई ‘तँ’ सम्बोधन गर्न थालेँ। केहीबेर चर्काचर्की परेपछि उनले फोन राखिन्।

कार्यालय घेर्न आउने सम्भावित जमातको तनाव त बाँकी नै थियो। नियमित काम पनि गर्नु नै थियो। काममा लागेपछि दायाँबायाँ केही नहेर्ने स्वभावका कारण साँझको साढे पाँच बजेको मैले पत्तौ नै पाइनँ।

कार्यालय घेर्न कोही पनि आएन। म राहतको स्वास फेर्दे घरतर्फ लागेँ।

तस्बिरले रुष्ट

त्यस दिनको मुख्य तस्बिर एनसेल कार्यालयमा गरिएको तोडफोडको थियो। माओवादी समर्थित मजदुरहरुले एनसेलको कार्यालयको सिसा फुटाइदिएका थिए। त्यस पत्रिकामा म प्रमुख जिम्मेवारीमा थिएँ।

एकाबिहानै प्रेस तथा छापाखानासम्बद्ध मजदुर युनियनका एक अधिकारीको फोन आयो।

‘अत्यन्तै सामान्य कुरालाई लिएर पत्रिकाको मुख्य फोटो बनाउने? तपाईंको पत्रिकाको अरु कुनै काम छैन? तपाईं मजदुरविरोधी हुनु हुँदो रहेछ। तपाईं त्यो फोटो छापिएकोमा क्षमायाचना गरेर भोलि समाचार प्रकाशित गर्नोस्। नत्र राम्रो हुने छैन।’

उनी थप धम्क्याउन खोज्दै थिए। मैले आफूलाई पनि बोल्न दिनोस् भनी तिनलाई भनेँ।

‘म मजदुरविरोधी होइन। म स्वयम् नै एउटा मजदुर हुँ। तर, गलत कामको विरोध गर्नु मेरो धर्म हो। तपाईंले भनेजसरी भोलि भूलसुधार प्रकाशित गर्न मिल्दैन।’ म थप कुरा भन्न चाहन्थेँ। उनले आफ्नो आवाजको भोल्युम निकै बढाए।

‘हामी सशस्त्र युद्ध लडेर आएका मान्छे हौँ। हामीलाई मान्छे सिध्याउन कुनै गाह्रो छैन। होस् गर्नोस् जोगिएर हिँड्नोस्।’ कडा धम्कीपछि मलाई ती व्यक्तिसँग थप कुरा गरिरहन मन लागेन। भित्र कताकता डर पनि लागिरहेको थियो। सार्वजनिक सवारी चढेर वा पैदल हिँडेर घर–कार्यालय आवतजावत गर्नुपर्ने मान्छे म। साँझ–बिहान कतै ढुकेर सिध्याइदिने त होइनन् भन्ने चिन्ता पनि लाग्यो।

चिन्ताकै बीच उक्त पत्रिकाको कामबाट राजिनामा दिनु पर्ने अवस्था उत्पन्न भयो। पत्रिकाले दुई महिनाभन्दा बढी समयदेखि सहकर्मी साथीहरुको तलब दिइरहेको थिएन। मैले प्रकाशकसँग तलब समयमा दिनका निम्ति अनुरोध गरिरहेको थिएँ। उनी कमाइ नभएका कारण तलब दिन गाह्रो परिरहेको बताउँदै आइरहेका थिए। अति भएपछि मैले त्यस संस्थाबाट बिदा लिनुपरेको थियो।

पत्रिकाको ‘कर्पोरेट मिटिङ’मा मैले समयमा तलब नदिएका कारण राजिनामा दिएको घोषणा गरेको थिएँ। उक्त घटना भाइरल हुन पुगेछ। कसैले तिनै मजदुर युनियन(माओवादी समर्थित)का नेताको कानमा पनि पारिदिएछ।

उनले मैले राजिनामा दिएकै साँझ फोन गरेर मसँग भने, ‘हिजोको कुरा बिर्सिदिनुस् मैले जे भनेँ। तपाईं मजदुरका पक्षमा आवाज उठाउने पत्रकार हुनु हुँदो रहेछ। हामी तपाईंलाई जस्तोसुकै सहयोग गर्न तयार छौँ। त्यो पत्रिका बन्द गराइदिन पनि सक्छौँ।’ उनी मलाई आकर्षित गर्ने कुरा गर्दै थिए, लोभ्याउँदै पनि थिए।

केहीबेर मैले उनका गुलिया कुरा सुनिरहेँ। जवाफमा भनेँ, ‘तपाईंको सदाशयताका लागि धन्यवाद। अहिले मलाई तपाईंको सहयोगको आवश्यकता छैन। म आफ्नो काम आफै गर्न सक्छु।’

डेढ फिटको तरबार

‘म तिघ्रासम्म आउने बुट लगाउँछु। त्यसमा सधैँ डेढ फिटको तरबार हुन्छ। त्यही तरबारले तँलाई चटक्कै पार्छु। नचाहिँदा समाचार लेखेर हाम्रो बिजनेस डुबाउने तँलाई अब कसैले जोगाउन सक्दैन।’ कत्ति डर लाग्दो धम्की!

‘मेरो समाचारमा तपार्इंंलाई चित्त बुझेन वा त्यसमा सत्यतथ्य छैन भने सम्पादकलाई चिठी पठाउनुस् न म छाप्न लगाउँला,’ मैले भन्न सक्ने यत्तिमात्रै त थियो।

बेरोजगार युवालाई ‘मेडिकल ट्रान्सक्रिप्सन’ तालिम दिएर रोजगार बनाउने अभियान सञ्चालन गरेर एउटा कम्पनीले सरकारसँग अढाइ करोड रुपैयाँभन्दा बढी हात पारिसकेको थियो। तर, तालिम सकिएको लामो समय भइसक्दा पनि युवाले काम पाएका थिएनन्। युवाहरु तालिम प्रदायक संस्थासँग रुष्ट थिए। तिनले उक्त संस्थाको झ्यालढोका र केही कम्प्युटरसमेत फुटाइदिएका थिए। यति गर्दा पनि रोजगारी नपाएपछि ती मिडिया गुहार्न पुगेका थिए। र, संयोगवश मैले त्यसको समाचार लेखेको थिएँ।

धम्की झन्डै एक महिनासम्म निरन्तर आइरह्यो– कहिले कार्यालयको फोनमा त कहिले घरको फोनमा। धम्कीदातालाई मेरो मोटरसाइकल नम्बर, घरको ठेगाना सबै जानकारी रहेछ। उसलाई म प्रायः घर जाने समय पनि थाहा रहेछ। ऊ मलाई जब फोन गथ्र्यो कसरी बाँच्लास्? कहिलेसम्म बाँच्लास्, तैंले अझै पनि त्यो गलत समाचारको खण्डन गरिनस् हैन भन्थ्यो। जब म साँझ घर प्रवेश गर्ने सानो गल्लीमा पस्थेँ, त्यहाँ कोही उभिएको देख्यो भने पनि उही तरबारवाला मान्छे त हैन भन्ने त्रास मनमा उत्पन्न हुन्थ्यो।

यो पछिल्लो त्रासको हुरी महिनौँसम्म चल्यो। हरेक खालका धम्कीले डर उत्पन्न गर्थे। कुनै डर अलि लामो समयसम्म रहन्थे, कुनै भने तात्कालिक हुन्थे। थुप्रै धम्कीको सामना गरियो, अझै कति सामना गर्नुपर्ने होला ! कतिपय सम्झन लायक छन् त कतिपय क्षणिक रहे यस्ता धम्की। प्रश्न मन नपराउने जमात हाम्रो देशमा ठूलो छ। यथास्थिति तिनको प्रिय अवस्था हो। प्रश्न नरुचाउने र यथास्थितिको पृष्ठपोषकहरुमध्ये अधिकांश असहिष्णु छन्। ती इतर विचारको हत्या गर्ने मनशाय राख्छन्। र, धम्की दिने तिनै हुन्।

यी पुराना धम्कीहरु ताजा छँदा निकै तनाव दिन्थे। अब ती धमिला हुँदै गएका छन्। तिनले अब तनाव दिने सामथ्र्य गुमाइसकेका छन्, बरु अहिले सम्झँदा मज्जा लाग्छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.