दशैंमा बाल्यकालको सम्झनाले लखेटेपछि….


अाहा ! दशै शब्द सुन्नासाथ मनमा एक किसिमको उर्जा पैदा हुन्छ। त्यसमा पनि वाल्यकालमा दशैको मस्ती नै बेग्लै थियो। नयाँ लुगा लगाउने, मिठा परिकार खाने, हाँस्ने र रमाउने, कति आनन्दको पर्व ! दशैंका कुरा आउँदा मलाई जन्मथलो सर्लाही र बाल्यकालको सम्झनाले सताउँछ।

कति उल्लास र उमङ्गले भरिन्थ्यो मन ! तिजसँगै दशैको रौनक सुरु हुन्थ्यो। जब सोह्र श्राद सुरु हुन्थ्यो तब दशैका तयारीका लागि गर्नुपर्ने कामको लिस्ट तयार हुन्थ्यो। घरमा रङ्ग लगाउने, चिउरा कुट्ने, अचार राख्ने, घर सफा गर्ने आदि।

हाम्रो घरको तल्लो तला माटो र इट्टाले बनेको र माथिल्लो तला काठको फलेकले बनेको चिटिक्क थियोे। घर रङ्गाउने काममा बाबालाई भन्दा मलाई हत्तार हुन्थ्यो। किनभने साथीहरूका अगाडि उनीहरुको भन्दा आफ्नो घर राम्रो देखियोस् भन्ने लाग्थ्यो। त्यसैले  सकि नसकि भित्तामा भ¥याङ अड्याएर बाबासँगै कुचोले चुना र रातो माटोलाई छाँट मिलाई मिलाई लगाउँथे। सोह्र श्रादबाटै घर शुद्ध र सफा सुग्घर राख्नु पर्छ भन्नूहुन्थ्यो ममीले। घरकी ठूली छोरी भएकाले घरआँगनको सरसफाइमा, कपडा धुन र चिउरा कुट्ने काममा समेत ममीलाई सघाउनु पथ्र्यो।

चिउरा कुट्ने काममा भने मलाई सारै रमाइलो लाग्थ्यो। बारीमा पाकेको काँक्रोको गालेको अचारसँग पोलेको, भुटेको मकै खाँदै पालोपालोसँग आधा रातसम्म ढिकी घरमा रमाइलो गर्दै चिउरा कुट्थ्यौं। घर नजिकै चिउरा मिल पनि नभएको र बाबाले पनि ढिकीमै कुटेको चिउरा मन पराउने भएकाले घरमै बनाउँथ्यौ। त्यस्तो चिउराको स्वाद अहिले कहाँ पाउनु ! सायद आफ्नो परिश्रम परेकाले पनि होला।

बर्षमा एकैपटक दुई जोर कपडा पाउने दशै कहिले आउलाझै हुन्थ्यो। स्कुलको ड्रेस र टीकाको दिनमा लगाउने अर्को ड्रेस। कुनैकुनै बर्ष बाबाले स्कुल ड्रेस नयाँ नै छ अहिलेलाई यसैले चलाउनु नयाँ किन्नु पर्दैन भन्नु भयो भने रोइकराई कसरी हुन्छ नयाँ स्कुल ड्रेस किन्न लगाएरै छाड्थेँ। किनभने दशैको बिदापछि स्कुल जाँदा सबै साथीहरूका नयाँ चप्पल, नयाँ ड्रेस देखाउने होडबाजी चल्थ्यो। अनि त आफूमात्रै कसरी पुरानो लगाएर जानु भनेर रुन्थें।

हाम्रो परिबारमा बाबा, ममी र र बहिनी शाकाहारी भएकाले खसीबोका काट्ने चलन थिएन र अहिले पनि छैन। तर पनि आफूहरुले मासु नखाने भए पनि छिमेकीकोमा अष्ठमीका दिन काटेको खसीको भाग ल्याएर ममीले पर बसेर पकाउन सिकाएको मासुको स्वाद अझै पनि मुखमै झुन्डिएको छ। घट्स्थापना सुरु भएसँगै साथीभाइ र ठूला दाइहरुसँग मिलेर पिङ्ग राख्नको चटारो हुन्थ्यो। बिहानै उठेर हामी पनि दाइहरुसँग सिरु खोज्न जान्थ्यौ। सिरु या खरको व्यवस्था हुन सकेन भने घरै पिच्छे ५ र १० रुपैयाँ उठाएर पिङ राख्थ्यौं। पिङ राखिसकेपछि बल्ल दशै आए झैं हुन्थ्यो। त्यति मात्रै नभएर घरआँगन बाटोघाटो चौतारो सरसफाइ गर्ने र रङ्गाउने काम पनि गथ्यौं। सानै भए पनि त्यस्ता  सामाजिक काममा अगुवा भएर हिड्थेँ म।

पहिला गाउँमा सबैका घरघरमा टेलिभिजन थिएनन्। सिनेमा हल पनि कहिँकहिँ मात्रै हुन्थ्यो। दशैं भनेपछि मनोरञ्जन गर्ने, खाने, खेल्ने, रमाउने र गाउँभन्दा बाहिर, देशभन्दा बाहिर रहेका आफन्त, छिमेकी जम्मा हुने पर्व भएकाले मनोरञ्जनका लागि चेतनामूलक नाटक प्राय म आफै लेख्थेँ। एक महिना अगाडिबाटै हाम्रो घरमा साथीहरू मिलेर अभ्यास गरिन्थ्यो। नाच्न पनि मलाई असाध्यै मन लाग्ने भएकाले नृत्य प्रतियोगितामा भाग लिने गर्थे। प्रायः गाउँमा सबै जम्मा भएपछि अष्ठमी÷नबमीका दिन पारेर भब्य सांस्कृतिक कार्यक्रम गरिन्थ्यो।

मनोरञ्जनको साधन अरु केही नभएकाले हामीले आयोजना गरेको सांस्कृतिक कार्यक्रम हेर्न टाढाटाढा गाउँबाट पनि आँउथे। राम्रो नाचे बापत धेरैपटक नगद पुरस्कार पनि पाएकी छु तर त्यो पैसा पाएपछि निद्रा भने हराउँथ्यो। कहाँ खर्च गर्ने होला के किन्ने होला भनेर सोच्दा सोच्दै कतिबेला निदाइन्थ्यो पत्तै नहुने। अहिले गाउँलाई पनि सहरीकरणले ढाकेको छ। त्यस्ता दिन, त्यस्तो बेला र हाम्रा जस्ता स्वभाव र रुचि भएका केटाकेटी गाउँमा पनि छैनन्।

bty

हाम्रो गाउँमा दाजुभाइ आफन्त नभएकाले घरमा टीका लगाएपछि दशैं सकिएझै हुन्थ्यो। अलि सानै हुँदा साथीहरूसँग पैसा पाउने आसमा गाउँभरि डुलेको स्मृति ताजै छ। अलि बुझ्ने भएपछि छिमेकी काका काकीले टीका लगाउन आऊ भनेर कर गरेर बोलाउँदा पनि जान अफ्ठ्यारो लाग्थ्यो। मामा घर काठमाडौ भएकाले दशै प्रायः सर्लाही मात्रै मनाइयो। घरमा दिदी फूपुहरु पूर्णिमाका दिनसम्म पनि आइरहने हुनाले पनि ममीले घरबाट निस्कनै नपाउने फूपू र भान्जी दिदीहरु टीका लगाउन आउँदा उहाँहरुले ल्याउने कोसेली खाँदा र दिदीहरुले गर्ने रमाइलो हेर्दा बल्ल हाम्रो घरमा नि दशै आए झै लाग्थ्यो। नत्र त अरुका घरमा को–को पाहुना आए भनेर बरन्डामा बसेर हेथ्र्यों। बरु मामाको ससुराली हाम्रै गाउँमा भएकाले मामा माइजू हाम्रो घरमै आएर टीका लगाएर खामभित्र नयाँ नयाँ नोट राखेर दिनु हुन्थ्यो त्यो दक्षिणाको महत्व नै बेग्लै हुन्थ्यो। के गर्ने होला र के किन्ने होला भनेर छट्पटी बढ्थ्यो।

अलि ठूलो हुँदै गएपछि दशैं त त्यही नै हो तर मनमा भने त्यस्ता चाहना कम हुँदै गए। गाउँमा पनि शहरको प्रभाव पर्दै गयो। नयाँ लुगा लगाउन र मिठो खान दशंै नै कुर्नु पर्ने अबस्था हराउँदै गयो। झन बिबाहपछि २०६१ देखि पोखरा बस्न सुरु गरियो। बिबाह भएको बर्ष ससुरा बाबालाई क्यान्सरले ग्रस्त बनाएपछि भरतपुर क्यान्सर हस्पिटलमै बित्यो त्यो सालको दशैं। त्यसपछिका दशैका पनि आफ्नै कथा ब्यथा छन्।

पोखराको मुटु लेकसाइडमा बस्ने पर्यटन व्याबसायी श्रीमान, कहिल्यै बन्द गर्न नमिल्ने २४ घण्टै सेवा दिनु पर्ने होटल व्यबसाय। स्टाफहरुलाई दशैंमा बिदा नदिऊँ भने भागेर हिड्लान र नआउलान भन्ने पिरले उनीहरुलाई बोनस सहित दशैं बिदा दिएर पठायो अनि त्यसपछि पर्यटकलाई सेवा दिनमै ब्यस्त हुनु पर्ने। अनि त कता हरायो कता दशैको रौनक खाने फुर्सद  पनि नहुने। पोखरामा हाम्रा आफन्त नभएकाले पनि दशै दशै जस्तो कहिल्यै बन्न सकेन्। देशभित्रै भए पनि परदेशीजस्तो भइने दशैमा। दशैं दशैं बन्नका लागि आफ्ना र आफन्त नै चाहिने रहेछ भनेर पोखरा बसाइँमा धेरै पटक महसुुस गरेकी छु।

आफूले दशैं राम्ररी मनाउन नपाए पनि छोरीले गाउँले जीवन र दशैको महत्त्व बुझ्नु भनेर उनको स्कुल बिदा हुनासाथ एक महिनाका लागि माइती पठाउने गर्छु। ऊ पनि स्कुल बिदा हुनासाथ घरमा बस्न मान्दिन्, मामाघर जाने भन्छे।

गाउँमा अझै पनि दशंै दशैं जस्तै छ। कामकाजका लागि, उच्च शिक्षाका लागि र वैदेशिक रोजगारका लागि बाहिर रहेकाहरुको उपयुुक्त घर फर्कने समय आहा ! कति रमाइलो। सहरमा पनि हुन्छ यो प्रक्रिया तर, यहाँ कसैलाई कसैको महत्व हुन्न। पोखरा घुम्न आउने बाह्य पर्यटकका लागि स्वच्छ सफा हिमाल छर्लंग हाँसेको मौसम शरद ऋतु हुने भएकाले यतिबेला उनीहरूको चाप बढी हुने गर्छ भने आन्तरिक पर्यटकका लागि  पनि बर्षभरिकै लामो बिदा हुने भएकाले पोखरा घुम्न आउनेको संख्या अरु समयको तुलनामा बढी हुने गर्छ। यसले गर्दा पनि हामी पर्यटन व्यवसायीको दशैं अरुको भन्दा फरक हुने गर्छ।

सर्लाही र पोखराको दशैमा पनि केही फरक देखेकी छु। काठमाडौदेखि पूर्बतर्फ टीका पूर्णिमाको दिनसम्म लगाउने गरिन्छ तर मुग्लिनपारी आएपछि एक दिन टीकाको दिनमा मात्रै लगाइन्छ। एक दिन  भ्याइनभ्याई टीका अनि त्यसपछि दशै सकियो। तर, दुईचार बर्षयता पोखरामा पनि कोही कोहीले पुर्णिामासम्म टीका लगाउने र लगाइदिने गरेको पाइन्छ। सर्लाहीको दशै सम्झदै मन भरिएर आउँछ। यो लेख लेख्दालेख्दै कल्पनामा कतिपटक जन्मघर  पुगिसकेँ। सायद बालापनको छाप परेकाले होला दशैंभरि पाइला त्यहाँ पुग्न नसकेपनि मन हरबखत त्यहि डुलेको हुन्छ। चौतारो छेउमा गाडेको लिङ्गे पिङ्सँगै मन झुलिरहेको हुन्छ।

अहिले शहरीकरण र बसाइँसराइले गर्दा पनि पहिलाको तुलनामा दशैंको त्यो रौनक हराउँदै गएको छ। नयाँ लुगा लगाउन र मिठो खान दशैं नै कुर्नु पर्छ भन्ने कुरा हराएको छ। पहिला आफ्ना आफन्त नातेदार, दाजुभाइसँगै एक गाउँठाउँमा बस्थे र हरेक चाडपर्वमा जम्मा भई दुःख सुख साटासाट हुन्थ्यो। अहिले आएर अबसर र सुखद भविष्यको खोजीमा सुबिधा सम्पन्न ठाउँमा बसाइँ सर्ने प्रक्रिया तिव्र छ। परिणाम आफ्ना र आफन्तबीचमा दुरी बढेको छ। हाम्रै छोराछोरीले आफ्ना आफन्त चिन्दैन्न। अरुबेला जे जस्तो भए पनि दशैं दशैं जस्तो बन्न आफ्ना र आफन्तको साथ नै चाहिने रहेछ भन्ने मैले १३ बर्षे पोखरा बसाइमा अनुभव गरेकी छु।

अष्ठमीदेखि पसल सडकहरु सुनसान भएपनि टिकाको भोलिपल्टदेखि पूर्णिमासम्म लेकसाइडका सडकहरुमा आन्तरिक र बाह्य पर्यटकहरुको भिडले कुनै जात्रा या मेला झै लाग्छ। पर्यटन व्यवसायी भएकाले अन्य बर्षहरु झै यो बर्षको दशैं पनि पाहुनालाई स्वागत र सत्कारमै बित्यो। स्टाफहरु सबै जसो विदामा हुने भएकाले र माइती, घर, आफन्त सबै  सर्लाहीमा नै भएकाले कतै निस्कने मन पनि भएन। दशैं अर्थात असत्यमाथि सत्यको विजयउत्सव। प्रायःजसो उत्सव भन्नाले हाँस्ने, खेल्ने, खाने र रमाउने गरिन्छ। तर अहिलेको दशैं पहिलेकोझैं आत्मीय र सभ्य छैन। रमाइलोका नाममा रक्सी र मासुको व्यापार बढी भएको देखिन्छ। जसले गर्दा दशैंको त्यो रौनकता, आफन्तको सामिप्यता हराउँदै गएको छ। जुन दशैं हामीले देख्यौं मनायौं त्यसको महत्व हामीले अबका पुस्तालाई बुझाउन  सकेनौं भने दशैंको असली रुप हराउँदै जानेछ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.