बोटे‍-मुसहर वस्तीमा दसैंको रौनक देख्न कहिले पाइने?


नवलपरासीको कावासोतीस्थित देवचुली टेलिभिजनको अफिसमा रमा नामकी बहिनी आइन् काम खोज्दै। त्यस टेलिभिजनका अध्यक्ष केवी रानाले बोटे समुदायसम्बन्धि कार्यक्रम गर्ने अभियान चलाएका रहेछन्। उनी त्यही बोटे समुदायबाट अन्तर्वार्ताका लागि आएकी थिइन्।

सामान्य औपचारिक अन्तर्वार्ता सकिएपछि उनको गाविसका जनप्रतिनिधिबारे कुरा भए। २२-२३ वर्षकी ती बहिनीले आँखाभरी आँसु पार्दै भनिन्, ‘मैले जानेदेखि अहिलेसम्म प्रत्येक ६ महिनामा एउटा न एउटा टोली आएर विभिन्न आश्वासन बाँडेर जान्छन्। कहिले पानी, कहिले कुवाका कुरा गरेर कागज बनाएर फोटो खिचेर लैजान्छन्। तर, आजसम्म हाम्रो समुदायमा खानेपानीको व्यवस्था छैन।’

मलाई अचम्म लाग्यो। चौध वर्षअघि घुमेको त्यो वस्ती म फेरि घुम्न गएँ। नवलपरासी जिल्ला (अहिले छुट्टिएको जिल्ला नवलपुर) को रजहरबाट करिब दुई किलोमिटरभित्र बोटे बस्ती छ। त्यहाँका बासिन्दाको आयआर्जनको स्रोत माछा हो, जो नारायणी नदीमा जाल हानेर निकालिन्छ र बेचिन्छ। अर्को आर्जन भनेको डुँगा चलाउने। कहिलेकाँही चितवन राष्ट्रिय निकुन्जका बाघ र गैंडा पसेर  छताछुल्ल वस्ती पारिदिन्छन्। बाघ संरक्षण अभियानकर्ताले तिनीहरुको सुरक्षाको ग्यारेन्टी लिएपनि त्यो केवल पानामा मात्रै सिमित छ र गोष्ठीहरुमा उनीहरुका निम्ति ल्याएको बजेट सकिन्छ।

बिगत १४ वर्षदेखि मैले स्थानीय सन्तुमान र मनकाजीलाई देखिरहेको छु। उनीहरुको जीवनस्तर जस्तो थियो आजपनि त्यस्तै छ। त्यो समुदायका घरहरु माटो, बाँसका झाज, निकुन्जभित्र पाइने खराइका खार लगाएका र माटोले लेपेको छ। यहाँका महिला स्वयं यस्ता घरमा बस्दा असुरक्षित छन्। वर्षमा कतैकतै हुने बलात्कार र आशयकरणी जस्ता अपराधजन्य मुद्दामा तैँचुप र मैचुप भै बस्न बाध्य छन्।

यी विषयहरु उठाउनुपर्छ। म आफैं संलग्न देवचुली टेलिभिजनका अध्यक्षलाई भन्दा उनले भने, ‘बारम्बार यी विषयहरु मिडियामा नल्याएको होइन। केही एनजिओवालाहरूले केन्द्रबाट बजेट ल्याउँछन् तर यहाँ आइपुग्दासम्म कताकता पुगिसक्छ।’

उनले थपे, ‘आजभोलि त क्यामरा तेर्स्यायो भने उनीहरु भाग्छन्। सुकिला-मुकिला मान्छेलाई हेयको दृष्टिले हेर्छन्। कुनै आश्वासन बाँड्न आयो भन्ने भान पर्दो हो। त्यसैले त्यहाँ जानु बेकार जस्तो लाग्न थाल्यो।’

हुन पनि हो। विश्वास कसको गर्ने? दसैंतिहार जस्ता चाडपर्व आउँदै गर्दा मलाई ती वस्तीको मान्छेको याद आउँछ। मान्छेहरु मासु,रक्सी र नाचगानमा झुम्दा ती भोकानांगा बच्चाहरु माटोमा आफ्ना संवेदनशील अंग देखाएर खेलेको याद आउँछ। नदीतिरमा डुँगा लिएर बसेका माझीले आज पनि ग्राहक पाइएन भनेर रित्तो हात फर्कदाँ उनकी श्रीमतीको आँखामा दबेको आँसु याद आउँछ जुन मैले १४ वर्षअगाडि देखेको थिएँ।

अर्ग्यौलीस्थित मुसहर वस्तीको पीडा पनि उस्तै छ। यी बोटे र मुसहरबस्तीमा दसैंमा कुनै रौनक देख्न पाइँदैन। करिब डेढदेखि दुईसय घर परिवार यस्ता छन्, उनीहरुको जिविकोपार्जन नै जाल, ढडिया, बल्छीका सहारामा हुन्छ। यो सहारा नारायणी नदी, नजिकैको खोला र खेतका ढावले दिन्छन्। यहाँ उनीहरूले घोंगी, गंगटा र केही माछा भेटाए भने औधि खुसी हुनुपर्ने बाध्यता छ।

ऐलानी जग्गामा बस्ने उनीहरूसँग लालपुर्जा छैन। नारायणी नदी वरिपरिका जग्गा खनजोत गरी खेतियोग्य बनाएका छन्। तर वर्सेनि आउने बाढीले सर्लप्पै लैजाँदा नारायणीको भेल छेऊ बसेर मनवीर माझी रोएको देख्दा मन भक्कानिएर आयो।

तिनका साना छोराछोरी स्कुल जान समय पाउँदैनन्। बाबुआमा ढडिया लिएर नारायणीतिर गएपछि घर कसले कुर्ने? कसैका भैंसी, बाख्रा छन्, त्यो चराउन को जाने?

यहाँ अशुद्ध पानीका कारण केही महिला केटाकेटीको अल्पायुमै मृत्यु भएको छ उपचार नपाएर।

त्यसमा कसको ध्यान जाने हो?

आफ्नै आँखाले यी समस्या देख्नुपर्दा पीडा हुने रहेछ। त्यसैले बोटे र मुसहरका समस्यालाई उजागर गर्नुपर्ने खाँचो देखिन्छ। ती क्षेत्रहरुबाट पटक-पटक चुनाव जितेका प्रभावशाली नेता छन्। तर, जति चुनाव आएपनि, नेता माथिल्लो ओहदामा पुगे पनि बोटे र मुसहर वस्तीको मुहार फेरिएको छैन।

उनीहरूलाई दसैं मनाउन त के दिन गुजारा गर्न पनि ठूलो जोखिम र संघर्ष गर्नुपरेको देख्दा आत्मग्लानीले मन पोलिरहन्छ।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.