दसैंसँगै भल्किने मन

दसैंको नवमीका दिन बसन्तपुर दरबार स्क्वायरमा रहेको काल भैरव मन्दिरमा दियो बाल्दै। तस्बिरः नारायण महर्जन/सेतोपाटी


बाल मस्तिष्कले त्यसताका भ्याएन, आजभोलि बल्ल विश्लेषण गर्न सकेजस्तो लाग्छ।

बाहुन भइकन मेरो परिवार बाहुनवाला ‘धार्मिक’ थिएन। आमा नभए पनि घर र मामाघरका हजुरबुवासहित फैलिएको मेरो ठूलो परिवारको आर्थिक अवस्था खुम्चिएको थियो। बाहुन भनिए पनि हामी ‘तल्लो जात’ कथित थियौं।

यी सबका बीच आउँथ्यो दसैं, केटाकेटी मनमा रहर फैलाउँदै। छिमेकमा पाहुना आउँथे, मीठो–मीठो पाक्थ्यो, खान्थे र रमाउँदै स्वतन्त्र हिँड्थे। म कल्पिन्थेँ, ‘हामी पनि त्यस्तै गर्न पाए!’

दसैं नजिकिँदै गर्दा सोह्र श्राद्ध पनि आउँथ्यो। मलाई सोह्र श्राद्ध रमाइलो लाग्थ्यो। यो स्कुलमा मनाइने दिवस र जयन्तीहरू झैं लाग्थ्यो– अभिभावक दिवस, भानु जयन्ती, शिक्षा दिवस, मोती जयन्ती, बाल दिवसजस्तै। दिवसमा जसरी सम्बन्धित मान्छेको सम्झना र सम्मान गरिन्छ, सोह्र श्राद्धमा छोरीछोरा मिलेर दिवंगत आमाबालाई सम्झन्छौं। फरक यत्ति, दिवस र जयन्ती जन्मदिनमा मनाइने, श्राद्ध मृत्यु तिथिमा।

ओहो! सोह्र श्राद्ध त झनै महत्वपूर्ण रहेछ। महत्व थाहा मात्र पाउँदै थिएँ, मन कुटुक्क भयो सत्य देखेर। मैले देखेको सत्य– कोही-कोहीबाहेक यस्ता छोरीछोरा थिए, जसले आफ्ना बाआमा जिउँदो हुँदा एक गिलास पानी दिएनन्, अनि मरेपछि खिरको पिण्ड दिँदैछन्। बाँचुन्जेल मीठो लवजमा आमा–बा भनेनन्, श्राद्धमा ‘माता–पिता’ जप्दैछन्। एक सरो लुगा दिन नसक्नेले ‘आमाबाको नाममा’ भन्दै खर्च गर्दैछन्।

यो सत्यले मलाई पोल्यो। निरर्थक लाग्यो श्राद्ध। आखिर यो खर्च कसका निम्ति? श्रद्धा दिन नसक्नेले पैसा खर्चेर श्राद्ध गर्नुको के अर्थ?

आमाबालाई श्रद्धा नै दिने हो भने श्राद्धको यो खर्च उनीहरुको नाममा समाज सेवामा गर्दा हुँदैन? त्यो खर्च कसैको दक्षिणा बनाउनुको साटो सहयोगमा बदल्दा के आमाबाप्रति देखाउने आस्था नजरअन्दाज हुन्छ र? मरेपछि गर्ने खर्च उनीहरूका सपना जिउँदै हुँदा पूरा गर्ने प्रयास गर्न सकिन्न र? आज म यही सोच्छु।

मेरी आमाको पनि श्राद्ध गरिएन। यो सब सोचेर होइन, अत्यन्त पीडक कारणले। मेरा बा जिउँदै भएकाले गर्न नहुने रे! एक सन्तान जन्माउन आमाबा दुवैको भूमिका बराबर हुन्छ, तर मरेपछि आमाको भूमिका कमजोर हुने रहेछ। आमा छँदै बा बिते श्राद्ध हुनैपर्ने, बा हुँदै आमा गए, गर्न नहुने। समान हैसियतले पनि मर्न नपाइने कस्तो रीत।

त्यसैले ‘आमा सम्झिने दिन’ आउँदै गर्दा मन भुटभुटिन्छ। चाहे पनि गर्न नहुने श्राद्ध र गर्न हुने भए पनि गर्न नचाहने श्राद्धले मनमा डढेलो लगाउँछ।

अनि त म दसैं मात्र सम्झिन चाहन्छु। तै यो दसैंको मिठास पनि कहिलेकाहीँ मेरा गल्तीहरुको गन्धले तितो बनाइदिन्छ। दसैंसँगै जोडिएका मेरा गल्तीले घोचिरहन्छन्, सिउँडीको काँडाले झैं। झस्काइरहन्छन्, निदाउन नि दिँदैनन् कयौं रात। मैले गल्ती गरेकी थिएँ– आमाबाको अवमूल्यन गरेर।

झन्डै १२ वर्ष अघिको कुरा, मोबाइल भन्ने जिनिस सर्वसाधारणले भर्खर–भर्खर चलाउन पाएका थिए। मोबाइल सेट निकै महँगो पर्थ्यो। किन्दै ढाड सेकिन्थ्यो, चलाउँदा गोडा पनि। कल उठाउँदा र म्यासेज पढ्दा समेत पैसा लाग्ने। यति हुँदा पनि मान्छेले आफ्नो सामर्थ्य देखाउन मोबाइललाई आवश्यकता बनाउँदै गए। म पनि यसमा लोभिएँ। म कुनै सामान किन्दा वा काम गर्दा घरमा आमाबालाई नसुनाई गर्दिनँ थिएँ। मोबाइलले यस्तरी तान्यो, ठूलो साहस बटुलेर नसोधी एउटा किनेँ, आफ्नो लागि।

मोबाइल किनेको वर्ष दसैंमा म चितवन पुगेँ। आमा हामीमाझ नै हुनुहुन्थ्यो। म जाँदा घर, टोल सबै रमाए। मेरो आगमनमा यसै खुसी बर्सिएको भने होइन, ममा एक विशेषता थियो– म मेरो जीवनको गोरेटो अलग तरिकाले खन्थेँ, अनि म नै थिएँ त्यो गाउँमा घर छाडेर हिँड्ने पहिलो छोरी। यस वर्ष त मसँग मोबाइल पनि थियो।

घरमा म एकसुरमा केही गर्दै थिएँ, एक्कासि ठूलो आवाजमा कोही हाँस्यो। अनौठो लाग्यो तर परिचित जस्तो। कता–कता हाँसोबीचमा बा बोलेझैं सुनेँ। आफूलाई अन्दाजका भरमा थाम्न सकिनँ र हाँसो पछ्याएँ।

नभन्दै मेरा बा वरिपरि नातिनीनाति भेला गरेर बीचमा रमाइरहनु भएको थियो। हातमा मेरो मोबाइल। बाले केटाकेटीलाई मोबाइल चलाउन सिकाइमाग्नु भएछ। उनीहरूले हानाथाप गर्दै सिकाइ पनि दिएछन्। बाले मोबाइलका कि–प्याड टुकटुक दबाउँदै घरको ल्याण्डलाइन नम्बर थिच्नुभएछ। टुर्र घन्टी बज्यो। बा आफ्नो सफलतामा रमाउनुभएछ, हाँस्नुभएछ, दंग पर्नुभएछ। गोरो वर्णका मेरा बा खुसी हुँदा रातो देखिनुभएको थियो। केटाकेटीले बडो तँछाडमछाड गर्दै मलाई सुनाए, बाले कसरी र कति छिट्टै मोबाइल चलाउन जान्नुभयो।

म बाको सफलतामा खुसीभन्दा बढी झस्किएँ। दिमाग स्कुलमा पाले दाइले हानेको घन्टी झैं टुङटुङ बज्न थाल्यो। ला! म कस्तो हुस्सु। ग्लानीले उकुसमुकुस भयो, आँखाबाटै चुहिने गरी।

मैले आफूलाई मोबाइल किन्दा आमाबालाई नसम्झेर निष्ठूरी बनेको होइन। तर अवमूल्यन गरेर अपमान भने पक्कै गरेकी थिएँ। मोबाइल किन्दै गर्दा मैले बाको हातमा त्यो पर्दाको खुसी आकल्न सकिनँ। बरू बहानाहरू खोजेँ। ‘घरमा ल्याण्ड लाइन छँदै छ। आमाबाको कोठामै पनि चलाउन सकिन्छ। घरमै बस्ने त हो। मोबाइलको खास काम नै छैन। परदेशमा बस्ने पनि कोही छैन। म एउटी यता छु। बित्थामा के पैसा खर्च गर्नु यतिविधि। बालाई फेरि अंग्रेजी पनि आउँदैन। मोबाइल चलाउनै जान्नुहुन्न।’

म नर्स। स्नातक गर्दा जेष्ठता सम्बन्धि बुझ्ने मौका पाएको थिएँ। यो विषयले मलाई यति छोयो, म यसमा केही गर्छु भन्ने लाग्यो। स्नातकोत्तरमा यही विषयमा अनुसन्धान गरेँ। पढाइमा सफलता मिल्यो, व्यवहारमा म नराम्रोसँग गुल्टिएँ।

पछुतोले ह्वारह्वार भएको मन निभाउन एकादशीकै दिन बजार गएर अर्को मोबाइल किनेँ। थपक्क ल्याएर बाको हातमा राखिदिएँ। अरूबेला जे सामान किनिदिँदा पनि रिसाएर वा केही न केही भनेर प्रतिक्रिया दिने बाले मोबाइल समात्दा दंग परेको मुस्कान दिनुभयो।

म झनै शिथिल भएँ, गल्ती बोधले कुँज्यायो। म बाको चाहना बुझ्न कसरी चुकेँ? उहाँलाई कसरी आफ्नो बहानाको परिधिमा बाधेँ?

आफूले पढेर, सिकेर सबैलाई जेष्ठताबारे बुझाउने बत्ती बोकेर हिँडेकी मैले आफ्नै घरमा पुगेपछि निभाएकी थिएँ, १२ वर्ष अघिको दसैंमा।

‘आमा सम्झिने दिन’ आउन थालेको यसपालि दस वर्ष पुग्यो। म घर पुगेँ। संयोग, मेरो गल्ती फेरि बल्झियो। बाले मोबाइल हराउनु भएछ। लाज मान्दै अब नकिन्ने भन्दै हुनुहुन्थ्यो। मेरो पुरानो गल्ती भाइले दोहोर्‍याएनन्। बा चाहिन्न भन्दै हुनुन्थ्यो, भाइले नयाँ मोबाइल हातमा थमाइदिए।

म हिँडिसकेकी थिएँ, बाको फोन आयो। मोबाइलबाटै खुसी भरिएको स्वरमा भन्दै हुनुहुन्थ्यो, ‘माडी कति खेर पुगेउ? छिटो आउनू है, दसैंमा घरै बस्नुपर्छ।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.