‘हजुरआमा, तपाईं र हजुरबाको भेट साँच्चै हुन्च?’


अभी र म यसकारण पनि मिल्ने साथी थियौँ कि उसको र मेरो मामाघर एकै ठाउँमा थियो, पुरुन्चौर।

अझ अचम्मको कुरा, हाम्रो थर र अभीको मावलीको थर एउटै थियो, पौडेल। अनि उसको थर र मेरो मावलीको थर एउटै थियो, अधिकारी।

हेमजा र पुरुन्चौरकोबीच बग्ने सेती गण्डकीको भने कुनै थर थिएन। हरेक चोटि मामाघर जाँदा–आउँदा सेती गण्डकीलाई देख्दा मलाई लाग्थ्यो कि सेती गण्डकी बुढी भएर होला सेतै भएर बगेकी। जसरी हाम्री हजुरआमा फुल्नु भएको थियो, सेतै भएर। अभीकी हजुरआमा हुनुहुन्नथ्यो। जसरी मेरो हजुरबा हुनुहुन्नथ्यो।

तर, यो प्रसंगमा अभीको र मेरो परिवारको एउटा कुरा मिल्दैनथ्यो। अभीकी हजुरआमा केही वर्ष अगाडि मात्र बित्नु भएको थियो। मेरो हजुरबा भने धेरै पहिले बित्नु भएको थियो। मेरो घरकाले भनेअनुसार म जन्मेको केही महिनापछि। मेरो मेरा आँखासँग आँखा पक्का जुधाउनु भयो होला हजुरबाले। मेरो आँखामा क्यामराभित्र हुने जस्तो रिल भइदिएको भए हजुरबाको अनुहार मेरो दिमागमा कैद हुन्थ्यो सायद।

म र अभी कहिल्यै पनि एक्लै मामाघर जान्नथ्यौं। बा–आमासँगै हिँड्थ्यौँ। तर, यसपटक कसैलाई थाहा नदिइकन मामाघर गएर आउँ भन्ने सल्लाह भयो। बा त्यतिखेर हेटौँडामा सिमेन्ट किन्न जानुभएको थियो। अभीका बा नागडाँडामा तास खेल्न। दशैँको दुई दिनअगाडि हामीलाई एक्कासी मामाघर जान मन लाग्यो। कारण गण्डकी पारीको ठाडो उकालो उक्लिन नपाउँदै चौरमा बनाइने चौरले पिङ। चौरबाट हेमजा पूरै देखिन्थ्यो। त्यस्तो पिङ उपल्लो हेमजामा बनाइँदैन थियो। जे होस् हामीले देखेका थिएनौँ।

मैले अभी सोधेको थिएँ, ‘हामीलाई खेल्न दिन्नन् की?’

अभीले ‘पक्का दिन्छन्’ भनेर ढुक्क बनायो। पोहोर साल पनि हामीले सजिलै खेल्न पाएका थियौँ। त्यही सम्झनाले झन् अभीको विश्वासको टुँडो समातिदियो।

हामी निस्कियौँ। भनेर निस्किए त जानै पाइँदैन। जतिसक्दो छिटो फर्किने भनेर हामी दसै बजे निस्कियौँ। निलो जाँगेका दुइटा गोजिमा बारीका एक–एक वटा सुन्तला कोचार्‍यौं। सुन्तलाको बोक्राले सुन्तले हुन पर्खिरहेको थियो, रसले गुलियोपन। हामीमा भने सुन्तलाको पूर्णता पर्खने कुनै धैर्य थिएन। हरियो र अमिलो सुन्तला टिपेर हामी मेलवटतिर हुत्तियौँ। हामीसँग लम्किन सक्ने लामा खुट्टा थिएनन्। त्यसैले हामी हिँड्थ्यौँ। तर हुत्तिँदै।

बाटामा ‘कता हिँड्यौ केटा हो?’ भनेर सोध्नेले घर कुरा पुर्‍याउने हुन् की भन्ने डरले हामीले भन्यौं, ‘त्यहीँ मेलवटसम्म जाने हो।’ मेलवटमा अम्बरेको चिया पसल थियो। त्यहाँ प्राय मान्छेहरु भइरहन्थे। त्यो दिन पनि थिए। तिनीहरूले म र अभी दुबैलाई राम्रो चिन्थे। अभीले पनि जाँगेनै लगाएको थियो। हामीले जाँगेमा सकि–नसकी सुन्तला कोचारेकाले बाहिरै बाट मानिसहरूले याद गर्न सक्थे। चिया पसलमा बसेकाले त झनै। उनीहरूको कामनै बाटामा हिँड्नेलाई घुरेर हेर्ने र गाउँभरीका काट्न मिल्ने जति कुरा काट्दै चियालाई झन् स्वादिलो बनाउने हुन्थ्यो।

‘ए केटा हो, हेर त तिमोर्का साप्राँ त पिलो आच। आइजाओ त, म निचोरदिन्चु,’ चिया पसलमा कोही बोल्यो।

हामीलाई कसले के भन्यो भन्नेसँग सरोकार भएन। चिया पसलतिर हर्दा पनि नहेरी एकसुरमा टाप कस्यौं। अल्लि तल ओर्लिएपछि उत्तर तिर माछापुच्छ«को अनुहार प्रष्ट देखियो। कुवँरका वनतिरबाट फुटेको मूलको पानीले बीचैमा बाटो काटेको थियो। देब्रे छेऊतिर कसैले एक बित्ता कालो पाइपका टुक्रा माटोमा धसाएर पानी बाटातिर खसालेछन्। पिउन सजिलो भयो।

मुखलाई दाहिने हातको अञ्जुलीले घेरेर तिर्खा मेटिने गरी पानी पियौँ। पहरातिरका पानीअमलाका बोटले घुरेर हेरिरहका झैँ देखिन्थे। यहाँनिर मूलको पानी नभैदिएको भए हामी दुबै जना तिनै पानी अमला उखेल्दै, हातमा घमाउँदै माटो झार्दै हिँड्थ्यौँ होला। पानी अमलाको माटो झरिसकिपछि त्यसैले तिर्खा मेट्दै हिँड्थ्यौँ होला। तर हामी पानीअमलालाई त्यतै छोडेर पानी मात्रै पिएर हिँड्यौँ। त्यसपछि हामी सुस्त–सुस्त दोभिल्ला तिर ओर्लियौँ। मान्छेहरु आउने–जाने हुन्थ्यो। तर, सुर्ता गर्न नपर्ने, हामीले नचिनेका, हामीलाई नचिनेकाहरू।

अनि बल्ल अभी र म कुरा गर्न थाल्यौँ।

‘तेरो हजुरआमा किन तिमीहरूसँग नबसेकी?’, अभीले अपत्यारिलो प्रश्न गर्यो।
मसँग यसको उत्तर नै थिएन। हजुरआमा हाम्रो र ठूलो बुवाको घरमा नबसेर किन कान्छो बुवाको घरमा बस्नुभएको होला ?

‘मलाई था छैन’, मैले अलि कड्किएर उत्तर दिएँ। मलाई अभीले यस्तो असजिलो प्रश्न नसोधोस् भन्ने लागेको थियो। पिङ खेल्न जाँदै गर्दा किन यस्तो नचाहिँदो प्रश्न सोध्यो होला भन्ने लागिरह्यो।

‘तँलाई थाहा छ तेरो हजुरआमाले त एक्लै पकाएर खानुन्च!’

अभीले झनै अचम्मको प्रश्न गर्यो। मेरो हजुरआमाले एक्लै पकाएर खाएको कुरा मैलाई नै थाहा नभएजस्तो। अघिभन्दा पनि नचाहिने कुरा।

‘मलाई थाहा नभएर तँलाई थाहा हुन्च त!’

मैले यसपटक झनै झर्किएर भनेँ। तर मनमनै लाग्यो, यसलाई किन मेरा हजुरआमाप्रति यति विघ्न चासो बढेको?

‘मेरो हजुबाले नि एक्लै पकार खान्चन्, अब त झन् एक्लै बस्चु भन्छन्।’

अभीले यसो भनेपछि मलाई कत्तिपनि झिझो लागेन। हाम्रो संवादको आसय सुरुमा नबुझेपनि कता–कता लागिरहेको थियो, अभीले आफ्ना हजुरबाको प्रसंग मेरी हजुरआमासँग जोड्न खोजिरहेको थियो। सायद उसका हजुरबा एक्लै बस्न खोजको कारण बुझ्न खोज्दै थियो। त्यतिखेर त मेरो र अभीको त्यो संवादबारे यसरी विश्लेषण पनि गर्न सक्दैनथ्यौँ। अहिले सम्झिँदा यो कारण, त्यो कारणले हो की झैँ लाग्छ।

‘किन नि?’

मैले अरु केही भन्न सकिन।

‘तेरी हजुरआमा र हाम्रा हजुरबा सँगै बसेनी हुनेनि है।’

अभीले मेरो ‘किन नि’को उत्तर नदिइकन आफ्नै कुरा थप्यो। हामी हिँडिरहेका थियौँ। यो प्रश्न पछि भने म रोकिएँ। हामी ठ्याक्कै साँघुरो, असुरक्षित बाँसको पुल हुँदै गण्डकी पार गर्न लागेका थियौँ।

मैले त्यसबेला बुझेको थिएँ, पुरुष र महिलासँगै बस्नु भनेको दुलाहा–दुलही हुनु हो। अनि, मेरो हजुरआमाको दुलाहा मेरा हजुरबा हो भन्ने ज्ञात थियो। हजुरआमाले धेरैपटक भनेका कुराले मैले बुझेको थिएँ, हजुरबा उहाँलाई स्वर्गमा पर्खिबस्नु भएको छ। मेरो हजुरबाकी दुलहीलाई आफ्ना हजुरबाको दुलही बनाउन तम्सिने अभीसँगै पुरुन्चौर जाने पुल तर्न मन लागेन। म फनक्क फर्किएँ। मैले चौरले पिङ पनि बिर्सिएँ।

दोभिल्लाबाट मेलवटसम्मको उकालो मलाई पहिले–पहिले उक्लिन सकस हुन्थ्यो, यसपटक दौडिएँ। पछाडि अभीलाई नहेरी। उसले बोलाइरहेको पनि नसुनिकनै दौडिएँ।

बाटामा मलाई बेतोडसँग अनुहारबाट रगतनै चुहिएला जस्तो गरेर दौडिएको देखेर, मेलवटको चिया पसलमा बसेकाले सोधे, ‘किन दौडेको?’ म नसुनिकनै हुत्तिएँ।

आफ्नो घरतिर नगइकन कान्छाबाकोतिर मोडिएँ। कौसीमा बस्नुभएकी हजुरआमातिर सोझैँ गएँ, उहाँ आत्तिनुभयो। मैले केही भनिन। हजुरआमा झनै बढि आत्तिनुभयो। म बिसाउँदै गर्दा अनुहारको रातो रंग खुइलिँदै गयो। स्टीलको गिलासमा हजुरआमाले दिएको पानी पिएँ। अनि सोधेँ,

‘हजुरआमा, तपाइँको र हजुरबाको भेट साँच्चै हुन्च?’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.