भेडाच्यांग्राभन्दा सस्तो यो ज्यानलाई…


ओमबिक्रम विष्ट र सुक्मित गुरुङले गाएको पुरानो गीत छ –’सुनचाँदी भन्दा महंगो यो ज्यानलाई साँचेर पो राख्यौ कि कसो….?’ २०७४ साल असोज नौ गते राजधानी सहर काठमाडौंबाट दशैंका लागि गृहनगर नारायणगढ आइपुग्दासम्मको अनुभवसंगै, दसैका पर्यायवाची मानिने खसी र भेडाच्यांग्राको विम्व ‘ब्लेण्ड’ गर्दै मेरो दिमागले यो गीतको स्वरुप बारम्बार बिगारेर यसरी गाइरहेको छ ‘भेडाच्यांग्राभन्दा सस्तो यो ज्यानलाई….।’

संयोग कस्तो भने नि हिजैमात्र ट्विटरमा कुनै मन्त्रीको घरमा हुनसक्छ; पजेरो चढेर भित्रिने तयारीमा रहेको ‘प्रिभिलेज्ड’ खसीको फोटो कसैले हालेको थियो। गीतका स्रष्टा-सर्जकहरु; गीतकार-संगीतकार प्रकाश गुरुङ, गायकहरु ओमविक्रम विष्ट र सुक्मित गुरुङले मेरो दिमागको धृष्टतालाई माफ गरिदिनुहुनेछ र पाठकहरुले यसमा सयौंपटक दोहोरिने ‘भने’ र ‘बताए’ जस्ता शब्दको कर्कशतालाई बेवास्ता गरेर पढिदिनुहुनेछ भन्ने अनुरोधका साथ म आफ्नो एकदिने काठमाडौं-नारायणगढ यात्रा विवरण सुरु गर्छु। जुन दशैंका बेला ‘राजधानी छोडेर बाहिरिने यात्रु’का रुपमा मेरो नितान्त पहिलो अनुभव थियो ।

‘कूल’ कलंकीपछिको कर्कश कलंकी

असोज छ गते पोखराबाट काठमाडौं पुगेकी थिएँ। आठ गते राति साथी अन्जिता पराजुलीको घर कलंकीमा थिएँ। अन्जिताले नै आफूहरुले दश गते चितवन जानको लागि टुरिस्ट बस र जहाज दुबैको टिकट नपाएको भनेपछि मैले आफ्नो योजना सुनाएँ ‘नौ गते एकाबिहानै कलंकीचोक पुगेर ‘ढुकेर’ बस्ने, जुन भेटिन्छ त्यसमा गैहाल्ने।

साथमा बच्चाबच्ची छैनन् त्यसैले बसको भुइँ वा छतसमेतमा बसेर भए पनि जाने। जोगाउनैपर्ने भनेको साथमा रहेको ल्यापटप हो जसोगरी पनि जोगाई हालौंला (सधैं दुख्ने र यात्रामा असह्य रुपमा ‘चर्किने’ ढाडलाई चाहिं यहाँ प्राथमिकतामा राखिएन)। तर अघिल्लो दिन भेट्ने भन्दाभन्दै काठमाडौं सहरको जाममा गुटमुटिएर भेट हुन नपाएका सेतोपाटीका पत्रकार समुन्द्र घिमिरेले ‘म बिहानै भेट्न आउँछु’ भनेर राति फोन गरेपछि एकाबिहानै कलंकी पुगेर बस ‘ढुक्ने’ मेरो योजना मुल्तवी भयो।

बिहान साढे सातबजे आइपुगेका समुन्द्र र म अनि घरको काम, अफिस जाने तयारी र हामीलाई चिया-खाजा टकारेर बचेको समयको बीचबीचमा गफ मिसाउन आउने अन्जिता मिलेर सबा नौ बजेसम्म केही ‘कूल-क्रान्तिकारी’ गफ गरिसकेपछि तीनैजना घरबाट निस्क्यौं। अन्जिता अफिसको लागि र समुन्द्रपनि मलाई कलंकी छोडिदिएर आफ्नो अफिस जानका लागि।

हिंड्नुअघि अन्जिताले ‘खाना पकाएको छु खाएर जानु, म निस्कन्छु तर तिमीहरु गफ गरेर आरामले गए हुन्छ’ भनेर गरेको प्रस्ताबलाई बिहानको चियासंग खाएको हलुवाको तुजुकमा मैले अस्वीकार गरें। कार्यालय समयको भयंकर जाम स-साना भित्रि बाटोबाट छिचोल्दै मलाई मोटरसाइकलमा कलंकी चोक छोडिदिएर समुन्द्र विदा भए।

आधाघन्टा जति उभिएँ। दुइतीनजना भाइहरु भेटिए। मिसिएर गफ गर्न थालें। एकजनाले हेटौंडा कहिले पनि नारायणगढको बाटो नगएकोले नारायणगढबाट हेटौंडा कुन गाडीमा जाने वा कति घन्टा लाग्छ भन्ने थाहा छैन भने। आफ्नो सानो भाइसंगै उभिएका उनलाई मैले ‘बल्खुबाट गए हुन्छ नि जीप पाइन्छ’ भनेर सल्लाह दिएको त ‘त्यहाँ चार घन्टा उभिइकन’ आएको भने।

मैले उनलाई नारायणगढबाट सबा वा साढे एकघन्टा मात्र लाग्छ हेटौंडा पुग्न, त्यहाँसम्म जाने हो भने मै हेटौंडा जाने गाडी चढ्न सहयोग गरौंला भनें। हुन्छ भनेका उनले एकैछिनमा बीरगन्ज लेखेको बस देख्नेसाथ हेटौंडा जाने हो भनेर सोधे। बसका कण्डक्टरले हुन्छ भनेको सुन्नेसाथ मतिर हेर्दा नि नहेरी आफ्नो भाइको हात समातेर दौडेर बस चढिहाले। मेरो सडकछाप मित्रताको त्यहीं सडकमै अन्त्य भैहाल्यो।

फेरि एक्लै बस कुर्दै थिएँ। उस्तै उमेरका अर्का भाइ देखें र नजीक पुगेर ‘कहाँ जाने?’ भनेर सोधें। उनले त झन ‘नारायणगढ’ (नै जाने) भने। कुरैकुरामा उनले ‘अलि उता एउटा माइक्रो बस त छ तर नारायणगढसम्मको तीनसय चालीस मात्र भाडालाई पाँचसय भनेकोले गइन’ पनि भने।

पिठ्यु र पेटमा गह्रुंगा दुइटा झोला, झोलाको खल्तीमा ढाड दुखेकोमा खान भनेर चारदिनअघि मात्र डाक्टरले दिएका सातदिनको लागि खाने चारथरी र एक महीनाको लागि खाने एकथरी औषधी संगै बोकेको, बिरानो शहरमा (केही बिराना व्यबहार समेत भोगेर) बिताएको तीन दिनको मानसिक-शारिरीक थकाइले थिलोथिलो परेको मन र शरीर, साथीले ‘खाना खाएर जाउ’ भन्दा भन्दा टिमुर्किएर हिंडेबापत ‘खुच्चिङ खाइस’ भनेझैं गरी बटारिन शुरु गर्न-गर्न आँटेको पेटलाई जबरजस्ती थामिरहेकी मलाई चाहिं पाँचसय रुपियाँ निकै कम दर हो जस्तो लाग्यो।

किनकि दसैंको बेला सवारी धनीहरुको मनमानी भाडाको बारेमा सुनेअनुरुप मैले कम्तीमा हजार रुपियाँ जति अनुमान गरेर बसेकी थिएँ। कता छ भनेर सोधेपछि उनले उ त्यहाँ भनेर श्याम पेट्रोल पम्प नजीकै दुइवटा पसलको बीचमा रहेको खाली ठाउँमा रोकिराखेको माइक्रो बस देखाइदिए, यतिबेला उनीसंगको सडकछाप मित्रतालाई सडकमै अन्त्य गर्ने पालो मेरो र म बसतिर बढें।

बस चढेको एकछिनमा ‘क्याप’ लगाएका व्यक्ति चढे। ‘ल ल पाँच-पाँचसय रुपियाँ झारौं त’ भन्दै भाडा उठाउन शुरु गरे र बसभरिका यात्रुले चुपचाप ‘झारे’ पनि। एकजना युवकले कतिखेर जान्छ भन्दा बसवालाले ‘दुइ मिनेटभित्र  गैहाल्छ’ भनेर जवाफ दिए। उनले घर पुगेर ब्याग लिएर आउँछु दस मिनेट कुर्नुस भन्दा बसवालाले भने, कहाँ कुर्ने गैहाल्ने हो ल पाँच मिनेटभन्दा कुर्न सक्दिन झोला लिएर आइहाल्नुस।’

पैसा उठाउँदै गरेका उनलाई मभन्दा पछाडिको सीटमा बसेका एकजना (रुद्र अधिकारी जसको शरीरमा हाड सुनिने एकखालको अपांगता र अपांगता परिचयपत्र समेत थियो, आमाबाबु गुमाएका उनी नेपाल युथ फाउण्डेसन नामक संस्थाको संरक्षणमा हुर्केका रहेछन् ) ले ‘टिकट दिनुस न दाइ’ भनेर मागे। एकछिन सुनेको नसुन्यै गर्दापनि उनले टिकट दिनुस भन्न नछोडेपछि बसवालाले भने टिकट हुँदैन, लगातार किन हुँदैन भन्ने प्रश्नमा उनको एकोहोरो जवाफ थियो टिकट हुँदैन। टिकट त दिन पर्यो नि। एकोहोरो उनको जिद्दी सुनेपछि बसवालाले उनलाई थर्काएर भने ‘तिमी बढ्ता जान्ने रहेछौ ल बसबाट झरिहाल।’

अब उनीसंगै अरु दुइजना युवक पनि मिसिएर भन्नथाले ‘टिकट त दिनुस न दाइ हामीलाई अफिसमा पेश गर्नुपर्छ। इन्स्योरेन्स वा अरुको लागि पनि त टिकट चाहिन्छ।’ रुद्रलाई अति हेपेर झर भनेको सुनेकी मैले पनि थपें ‘बढ्ता भाडा लिएको कारण टिकट दिन मिल्दैन भनेर सीधै भन्नुस न बरु तर कसैलाई बसबाट झर भनेर अपमान किन गर्नुहुन्छ ?’ अब चाहिं बसवाला अलि हच्केर भन्न थाले- टिकट दिन मिल्दैन किनकि अफिस बन्द भैसक्यो, तपाईंहरुलाई पुर्याउने जिम्मा मेरो, भएन ? यसको प्रतिरोधमा अरु दुइजना युवकले भने ‘मकालु वा तपाईंको जस्तै अरु गाडीले त दिएको छ त टिकट।’

मैले असाध्यै नम्रतापुर्वक थपें, ‘बाटोमा तपाईंको गाडी पल्टेर हामी मरौंला रे अनि टिकट हेरेर के के नाम भएका यात्रु  थिए भनेर जानकारी त दिनुपर्ला नि दाइ।’ पछाडिका युवकहरुले उस्तै नम्रतापुर्वक भने ‘तपाईंलाई मर्का नपर्ने गरी (५०० रुपैयाँ नै लिएर तर टिकटमा ३४० लेखेर यानिकि ठगेर नै ) नै टिकट बनाइदिनुस तर टिकट चाहिं बनाइदिनुस।’ ‘ल तपाईंहरु सबलाई कागजमा आफ्नो नाम टिपेको हुनुपर्यो होइन त ?’ यसो भनेर बसवाला बाहिरिए।

एकछिनमा उनले ‘चलानी’ लेखिएको कागज लिएर आएर हामी सबलाई सोधे ‘ल आफ्नो आफ्नो नाम भन्नुस यसमा लेख्छु।’ पछाडिका भाइहरुले फेरि निहुँ खोजे ‘चलानीमा नाम लेखेर कसरी हुन्छ ? टिकट र चलानी कहाँ एउटै हो  ?’ मैले फेरि नम्रतापुर्वक थपें ‘दुर्घटना भयो भने टिकटको सट्टा यसमा किन नाम लेखिस भनेर तपाईंहरुलाई सोध्ने निकाय पनि त होला नि। गाह्रो पर्ला त्यतिबेला। अब नछोड्ने भए भनेपछि बसवाला कड्किंदै-भड्किंदै भन्न थाले, ‘टिकट दिंदै दिन्न जाने भए जानुस नत्र झर्नुस।’

मुस्कानसहित तर कानरहितको ट्राफिक प्रहरी महाशाखा १०३

‘झर्नुस’ भनेर बसवालाले सबलाई झपारेको देखेपछि सबभन्दा पछाडिका एकजना भाइले ट्राफिक प्रहरी महाशाखाले बारम्बार फुक्ने गरेको नम्बर भन्दै १०३ नम्बरमा फोन डायल गरे र बसले टिकट नदिएको कुरा भन्न थाले बस नम्बरसहित। फोन काटिसकेर उनले उताबाट फोन उठाउने व्यक्तिले खासै ‘रेस्पोन्स’ नगरेको, त्यहीं कलंकीको नागरिक सहायता कक्षमा सम्पर्क राख्नुस भनेको, आफूले बसभित्र भएको बस गुड्न लागेकोले झर्न नमिल्ने र बस रोकिदिन अनुरोध गरेको विवरण बताए। उताबाट केही नहुने देखेपछि हामीले ससानो स्वरमा गाइँगुइ गर्यौं अब कहाँ फोन गर्ने।

टिकट नलिइ नजाने अड्डी त सुनेकै थिए शायद ट्राफिक प्रहरीलाई फोन गरेको समेत सुनेछन् कि क्याहो बसवालाले। अघिसम्म दुइ मिनेटमा गैहाल्छ भनेका बसवालाले अचानक भने ‘अब हाम्रो गाडी जाँदैन झर्नुस सबैजना।’ यसो भनेर उनले सबैलाई अघि उठाएको पाँचपाँच सय फिर्ता पनि गरिदिए। किन जाँदैन को हल्लाखल्लामा उनले भने, ‘गाडी बिग्रियो अब ग्यारेज लगेर बनाउने।’ एकैछिन अघिसम्म दुइ मिनेटमा गैहाल्छ भनेको गाडी बिग्रियो भनेर थन्क्याउन हिंड्न खोज्नुमा उनीहरुले नाटक गरेका हुन् भन्ने त प्रष्टै थियो।

तर पनि पछाडिका भाइहरुले निकै संयमित भएर सोधे, ‘कतिबेर लाग्छ बनाउन ?’ ‘एकडेढघन्टा वा त्यो भन्दा बढी पनि।’ यसो भनेर उनले गाडी भने अगाडि बढाइ नै राखे। हामी टिकट माग्नेहरुलाई झारेर पछि नमाग्नेहरुलाई लान खोजेका हुन भन्ने त प्रष्टै थियो। तर पनि पछाडिका भाइहरुले ‘हामी गाडी यो बनेपछि संगै जान्छौं’ भनि नै राखे।

बस बनेपछि जान्छौं त भन्यौं तर बस गुडाएर कति पर वा कति किलोमिटर टाढाको ग्यारेजमा पुर्याइदिने हो र फेरि रात परेपछि लखरलखर हिंडेर कलंकी पो आइपुग्ने पर्ने हो भन्ने डर हामी सबैमा थियो। सबभन्दा पछाडिका भाइले फेरि १०३ मा फोन गरे।  हामीलाई बसवालाले गाडीमा राखेको छ गाडी चलेको छ अघिसम्म जान ठीक परेको अहिले बिग्रियो भनेको छ कता लाने हो थाहा छैन यहाँ कलंकीमा भएका ट्राफिक प्रहरीलाई भनेर रोकाइदिनुस् न भन्ने उनको अनुरोधमा फेरि उताबाट फोन उठाउनेले उही आफूले केही गर्न नसक्ने कुरा नै दोहोर्याए।

अब चलिराखेको बसमा राखेर कुन अनकन्टारको ग्यारेजमा पुर्याउने हो भन्ने डरले आत्तिएका हामी चार पाँच जनाले कम्तीमा पनि चारपाँचपटक झ्यालबाट हात निकालेर कलंकीमा ड्युटीमा रहेका चार पाँचजनै ट्राफिक प्रहरीलाई यो गाडी रोकिदिनुस न भनेर इशारा गरिराख्यौं। उनीहरुले सुनेनन् वा बुझेनन् तर वास्ता गरेनन् । धन्न धेरै टाढा नलगी कलंकीको मुख्य चोकबाट अलिकति अगाडिको पुलबाट बायाँ रहेको ‘ज्ञान दाइको ग्यारेज’ मा पुगेर माइक्रो बस रोकियो। ड्राईभरको सिटमा जो थिए उनले हामीसंग पैसा लिइकन फिर्ता दिएका मान्छेको बारेमा भने ‘त्यो साहु हो र गाडी बिग्रियो बनाउन लैजा भन्यो मैले ल्याएँ अरु कुरा थाहा छैन।’ उनले हामीलाई ‘कहाँकहाँ कम्प्लेन गर्नुहुन्छ गर्नुस’ समेत भने।

‘सोर्सफोर्स’वाला सिन्काको सहारा

हिन्दीमा उखान छ ‘डुब्तेको तिन्केका सहारा’ अर्थात डुब्न लागेको मान्छेलाई (बाहिर निस्कनको लागि) सिन्काको सहारा पनि ठूलो लाग्छ। आफूसंगै बसभरिका यात्रुलाई पनि इन्तु न चिन्तु देखेपछि र १०३ का प्रहरीले खासै सहयोग गर्न नसक्ने बताइसकेपछि निरुपाय र शुन्य दिमागको अवस्थामै मैले तीसौं वर्ष पुराना पारिवारिक मित्र र हाल नेपाल प्रहरीका एसपी राजुबाबु श्रेष्ठलाई फोन गरें। ‘यसो यसो भयो अंकल’ भनेर उहाँलाई बेलिबिस्तार लगाइसकेपछि उहाँले ‘नागरिकको समस्यामा तुरुन्त रेस्पोन्स गर्ने अफिसर’ भन्दै डिआइजी सर्बेन्द्र खनालको नम्बर दिनुभयो जुन स्वीच अफ थियो। त्यो अफ छ भनेर फेरि फोन गरेपछि उहाँले ०१४२२००६० र ०१४२६८४४४ गरी दुइवटा ल्यान्डलाईन नम्बर दिनुभयो जसमा पछाडिको सिटका सुजन अमागाईले फोन गरे।

दुइटामा एउटा उठ्यो तर उठाउनेले त ‘कलंकीमा भएका ट्राफिक पुलिसलाई रोकेर भन्नुस न’ पो भने। रोकेको हो सबतिर फोन गरेको हो केही सीप नलागेको हो भनेपछि र राजुबाबु श्रेष्ठले नम्बर दिएको भनेर नामै लिएपछि उनले बल्ल बल्ल सुजनलाई उपत्यका ट्राफिक प्रहरी इन्चार्ज उमेश रन्जितकारको नम्बर दिए।

रन्जितकारसंग मैले फेरि राजु अंकलको नाम लिएर बसवालाको नाटक र आफूहरु अलपत्र परेको याचना सुनाएपछि चाहिं उनले भने ‘तपाईंको नम्बर दिएर पुलिस पठाउँछु।’ बल्लतल्ल एकछिनमा चाहिं खड्का थरका ट्राफिक प्रहरी आइपुगे। त्यतिन्जेलमा बसका ड्राइभरले बसको टायर फुकालिकन ठोकठाक गर्दै थिए। हातमा मोबाइल लिएका रुद्रले उनलाई ‘मेकानिकले हो नि बनाउने, तपाईं त ड्राइभर, आउँछ त बस बनाउन ? भनेर सोधेका मात्र के थिए उनले ‘तेरो मुख कुच्चिने गरी पिटिदिन्छु’ भनेर रुद्रलाई थर्काए खड्का थरका प्रहरी आउनुअघि।

आइपुगेका प्रहरी खड्काजीले ड्राइभरसंग कागजपत्र मागे। उनले गजुरी प्रहरीले समातेको छ भने। भाडा कति लिन खोजेको थियो भन्दा ड्राइभरले चारसय ‘होला’ भने र कसले उठाएको भन्दा खै थाहा भएन भनेर पुरै रंग बदलेर पो जवाफ दिए। यत्तिकैमा बस मालिक हुँ भनेर अर्का मान्छे प्रकट भए जो हामीसंग पैसा लिएर फिर्ता दिने चाहिं थिएनन। उनलाई खड्काजीले शुरुमा त अर्को बस मगाएर उहाँहरुलाई पठाइदेउ भने। उनले सक्दिन कहाँ पाउनु दसैको बेला अर्को गाडी, यो जुनबेला बन्छ त्यहिबेला जाउन भने। कागजपत्र लिन जान्छू भनेर उनी हिंडेपछि खड्काजी एकछिन गाडीका मेकानिकहरुसंग गफिन थाले।

हामीले अब हाम्रो के हुन्छ गाडीलाई के कारबाही हुन्छ भनेर सोधेपछि उनले जवाफ दिए ‘अब यो गाडीले आफ्ना कागजपत्र ठीक छ भनेपछि र बिग्रेको बनेपछि गुड्नबाट रोक्न सकिंदैन। तपाईहरुसंग बढी भाडा लिएको भन्ने प्रमाण छैन पैसा फिर्ता लिइसक्नुभयो। उजुरी दिने भए प्रमाण चाहियो। बरु अघिनै उनिहरुलाई नै अनुरोध गरेर अर्को बस मिलाईदेउ भनेर जानुपर्ने।’ खड्काजीको समेत बदलिएको रुप देखेपछि मैले सोधे अब बसवालाले गरेको बस बिग्रेको नाटक ट्राफिक प्रहरीले सदर गर्दियो भन्नु पर्यो त ? खड्काजी अर्कोतिर लागेपछि मैले फेरि उमेश रन्जीतकारलाई फोन गरेर भनें अब हामी आत्मसमर्पण गरेर फेरि कलंकीमा ढुकेर बस्नुपर्यो हो गाडी खोज्दै ? रन्जीतकारले अरु धेरै कुराको साथमा यति चाहिं भने, ‘दशैंको बेला भएकोले गाडी पाउन गाह्रो छ तर तपाईंहरुलाई पठाइदिने कोशिस गर्छु।’

उनको जवाफ सुन्दासुन्दै एकजना गाडी मेकानिकले हामीलाई काउन्टरमा जानुस ड्राइभरले अर्को गाडी खोजिदेला भनेर पन्छाउन खोजे। उनको हो मा प्रहरी खड्काजीले पनि हो मिलाए। रुद्रले काउन्टरमा ‘फेरि बस छैन भने हामी कता जाने’ भन्दै थिए खड्काजीले उनलाई शुरुका बसवालाकै लवज र शब्दमा थर्काए ‘तिमीलाई बढ्ता गफ गर्न आउँदो रहेछ।’

हामी लुखुर लुखुर काउन्टरमा पुग्यौं। यत्तिकैमा क्यामेरा तेर्साएका र यात्रुको भीड खिचिरहेका एकजना देखेपछि मैले उनलाई हाम्रो समस्या बताएँ। एपीवन टिभि को क्यामेरा रहेछ। सुनिसकेपछि त रिपोर्टरले हामीलाई पैसा फिर्ता लिइसक्नुभएको रहेछ अब धेरै लफडामा नपर्नुस अर्को गाडी खोजेर जानुस पो भन्छन्।

उनको कुराले जिल खाएकी मलाई एकजना अलि पाका र पछि आइपुगेका अर्का ट्राफिक प्रहरीले बोलाए र बेलिबिस्तार सुने। एउटा सुनको दाँत भएका र थापा थरका उनले चाहिं यति धेरै मान्छेले ठगेको भनेपछी के को लिखित प्रमाण, म त्यो बस बनेपछी अफिस झिकाउँछू तपाईंहरुलाई अर्को बसमा पठाउँछू भनेर आश्वस्त पारे र कुनै बसवालालाई गाडी झिकाउ भनेर फोन पनि गरिदिए। आफू नैकाप थिएँ र आउन ढिला भयो समेत भने। यही मौकामा मैले थापाजीलाई खड्काजीको र बसवालाको रुद्रप्रतिको ‘गफ जानेको रहेछस’ वाला व्यबहारमा के फरक रह्यो भनेर कुरा समेत लगाइदिएँ।

हामी तालिबानको देशमा छौं कि दासप्रथा कायम छ हाम्रो देशमा, किन यस्तो व्यवहार यात्रुलाई भनेर सोधें, थापाजीले निरास नहुनुस हामीले सक्दो रेस्पोन्स गरेकै छौं भने। खड्काजी जो अघिसम्म सातौंपटकमा बल्ल आइपुगेको व्यक्ति होला तपाईं भनेर भन्दा ‘जतिऔं’मा भए नि आइ त पुगें नि’ भन्दैथिए ले पनि थापाकै बोलीमा लोली मिलाएर ‘हामीलाई नेगेटिभ नसोचिदिनुहोला’ भने। ‘तपाईंहरुमाथि विश्वास भएरै सहारा मागेको हो’ भन्यौं हामीले वाक्कदिक्क परेकै भएपनि। अनि थापाजीले बोलाएको बसले हामीलाई टिकट चाहिं ३५० को नै दियो र अन्तिमको सीटमा कोचाइदियो।

बसका सबै तितरबितर भएर तीनजना-सुजन म र रुद्र मात्र बाँकी, अर्को बस पाउने नपाउने ग्यारेन्टी नभएको, पहिलोपटक १०३ मा फोन गर्ने भाइसमेत पत्नीसहित लापता भैसकेको आदि कारण, दिनभरि भोकैप्यासै बसेर गरेको न्यायको याचना पछिको पुरस्कार सोचेर हामी चुपचाप अन्तिम सिटमा कोचियौं। नौ बजेदेखि कलंकीमा हायलकायल परेका हामी सबा एकबजे बसको सिटमा बसेर सास मात्र के फेर्न भ्याएका थियौं एकजना महिलाले ल्याएको एलसिडि टिभि पनि ‘डिक्कीमा राख्ने’ भन्दै ड्राइभरले पछाडि हुँदै नभएको डिक्की यानिकी अन्तिम सिटको पछाडि कोचिदिए।

हाम्रो सिट अगाडि धकेलियो तर पनि हामी चुपचाप बसिरह्यौं उही दसैमा जता घिच्याए नि चुप रहने भेडाच्यांग्रा झैं। बस गुडेपछि मैले अन्तिमपपटक फोन गरेर भ्याली ट्राफिकका इन्चार्ज उमेश रन्जितकारलाई ‘सहयोगका लागि धन्यवाद, गाडी पायौं’ भनेर भनें, उनले सकेको सुधार गर्ने तर चाडको बेलामा उतिखेरै त संभव नहुने, र ‘तपाईंहरु पहिलो हो कम्प्लेन गर्ने’ भनेर भने।

भलाद्मी’ यात्रुको बीचमा खराब ‘थुतुनो’वालाहरु

बम्पर पुरस्कारस्वरुपको अन्तिमको चारजना अट्ने सिटमा पहिल्यै एकजना र हामी तीनजना गरि अघि बढिराखेका  थियौ, सुजनले आफ्ना साथी सन्तोष सिंखडा ले फेसबुकमा लेखेको स्टाटस देखाए। जसअनुसार गोरखा जाँदै गरेका उनले कलंकीबाट बसलाई चारसय दस भाडा तिर्नुपर्नेमा हजार रुपिया तिरेका थिए। ‘कलंकीको यो बिधि लुट भ्याली ट्राफिकलाई थाहै छैन वा थाहा नभएको जस्तो गरेको होला है।’

गफ गर्दै हामी गुडिरहेको बेला धादिङको फिस्लिङमा एकजना बच्चा सहितकि महिलालाई चढाउन केही पुरुषले हाम्रो बस रोके। ड्राइभर झरे, हामीतिर ईसारा गरे र भने अलि पर सर्नुस। रुद्रले भने ‘चारजनाको सिट छ कसरि पाँचजना, अझ बच्चा सहित गरेर छ जना बस्नु ?’  ड्राइभर जंगिएर भने ‘तपाईंहरुले गर्दा अघि पनि लफडा भयो, गाउँको मान्छे हाल्न पाइएन त्यसैले खुरुक्क सर्नुस।’ हामीले गर्दा भएको भनेको उनको लफडा थियो १९ जनाको सिटमा २१ जना चढाएको, कलंकीमै गाडी गुडिसकेपछि अर्को ट्राफिक प्रहरीले फेला पार्नु र जरीवाना तिराउनु।

मलाई यो सुनेपछि चाहिं साच्चिकै भाउन्न भयो र भने, हामी मान्छे मारेर तपाईंको गाडीमा भागेको त होइन त भाइ किन ‘तपाईंहरुले गर्दा’ भन्नु भएको ? चढाउन मन नभाको भए नचढाउनु पर्ने नि। ‘पुलिसले चढा भनेपछि के गर्ने ?’ उनको ठाडो जवाफ थियो। कलंकीमा सुनको दाँतवाला थापा थरका ट्राफिक प्रहरीले बा २ ख ६३५७ लाई कारबाही गरे नगरेको पत्यार मनलागे फोन गर्न र आफूले चढाइदिएको बा २ ख ७०२० ले पनि बाटोमा किचकिच गरेपनि तुरुन्त फोन गर्नु भनेका त थिए। तर कलंकीमा तिमीहरु चढेकाले ठग्न पाइन भनेर फेरि बीच बाटोमा त्यसको असुल उपर गर्न थप यात्रु चढाउने सत्तरी ‍बीसका ड्राइभरको बारेमा उजुरी वा फोन गर्ने उर्जा हामीसंग बाँकी थिएन।

तस्बिरः साबित्री गौतम

यति मात्र होइन तपाईंलाई चढाउन मन नभए नचढाउन पर्ने नि मात्र भन्दासमेत बसभित्रका एकजना भलाद्मीले हामीलाई थर्काए ‘तपाईंहरुलाई ड्राइभरसंग डिस्कस गर्नुछ भने नारायणगढ झरेर गर्नुहोला।’ उनको व्यबहारले ‘अति’ भएपछि मैले भने ‘नारायणगढ वा टुडिखेल कहाँ भाषण दिने तपाईं नसिकाउनुहोस न।’

बिहान छुट्टिएका र पुग्नुभयो भनेर म्यासेज गरेर सोधेका अन्जिता र समुन्द्रलाई बसको नाटक लेखेर बताएँ। एकछिनपछि फोन नै गरेका समुन्द्रलाई बोलेर कलंकीदेखिको बेलिबिस्तार बताउन लागेको अघि नारायणगढमा डिस्कस गर्नु भन्न दाइले त तपाईंलाई भाषण गर्न परे क्याम्पाचौर (नारायणगढको स्थानीय सार्वजनिक सभा आयोजना हुने चौर) मा गर्नुहोला’ भने, अगाडिकी एकजना महिलाले ‘थुतुनो दे’का रहेछन यिनिहरुलाई बोल्न भगवानले’ भनिन।

मैले उनीहरुलाई ‘तपाईंहरुले हामीलाई गाली गर्नुछ भने एकछिनमा गर्नुहोला अहिले बोल्न दिनुस’ भनेर चर्को स्वरमा भनेपछि बल्ल उनीहरु रोकिए। कलंकीमा चार घन्टा भोकै र प्यासै उभिएपछि एक बोतल पानी किनेर म रुद्रसंगै बाँडेर खाएका जियोलोजिस्ट सुजनले भने ‘ हामी कसैको दास वा उपनिवेश भएनौं होला तर नेपालीलाई यति वर्षदेखि दासत्व सहने बानी लागेको छ नि, न्याय र अधिकारको कुरा सुन्दा झर्को लाग्छ।

राजमार्गका होटेलमा हेर्नुस सबथोक बासी छ चुपचाप खान्छौ, बसवालाले मनलाग्दी गर्छन् चुपचाप सहन्छौं। अधिकारको कुरालाई पैसा र कन्जुस्याईजस्ता कुरासंग जोड्छौं र संगै यात्रा गरेकालाई समेत दुर्व्यबहार गर्छौं। ‘

अन्तमा उही-भेडाच्यांग्रा भन्दा सस्तो यो ज्यानलाई

नारायणगढ नगइकन आपटारीबाट जुटपानी जाने पुर्व जानकारी नदिईकन आपटारीमा साढे आठबजे राति रोकिएको सत्तरी बीस नम्बरको माइक्रोवालासंग थप सवालजवाफ नगरीकन मैले सुजन र रुद्रसंग विदा मागें र म्याजिक भ्यान चढेर नारायणगढ घर आएँ। कलंकीको चारघन्टाको दुर्दशा र पछिल्लोपटक चढेका ड्राइभर र यात्रुसमेतको दुर्व्यबहार बाट क्लान्त बनेका हामी तीनैजनासंग थप बोल्ने तागत थिएन।

हामी जत्तिका ‘सचेत’ भन्न मिल्ने नागरिक जससंग राज्यका कुनकुन निकायसंग ‘न्याय’ माग्ने भन्ने जानकारी छ वा थोरै भएपनि बोल्न सक्ने तागत छ जस्ताहरु त यसरी सिथिल हुन्छौं भने देशभरिका निमुखा सर्वसाधारण नेपालीको हालत के होला। अझ टाढा, अझ दुर्गम जानुपर्ने र अझ कमजोर आर्थिक अवस्थाका कारण भनेजति भाडा तिर्न नसक्नेहरुले वर्षपिच्छेको यो महंगो बिरालो बाँध्ने दसैंको यात्रा कसरी गर्दा हुन्। संयोगले एकैपटक मात्र दसैको बेला राजधानी पुगेकी म यसरी आत्तिएँ भने वर्षैपिच्छे यस्तै दुर्व्यबहार भोग्ने उनीहरुको आत्मसम्मान र आत्मविश्वास कहाँ पुग्दो हो।

हिजोदेखि आजसम्म दिमागमा दुई तीनवटा कुरा घूमेका घूम्यै छन्। ती हुन्- नागरिक सर्वोच्चताको नाममा एकताका देशै जुरुक्क उचालिएको देशका नागरिकको ‘सर्वोच्चता’ के मध्ययुगीन दासहरुको भन्दा गतिलो भन्न मिल्ने अवस्थामा छ ? हरेक क्षेत्रमा अनगिन्ति बेथिति र त्यसको सुनुवाइको दयनीय अवस्था देख्दा उदासीले झुकेको हाम्रो शिर र गिरेको नूर के दशैंका भेडाच्यांग्राको झुकेको शिर र गिरेको नूर भन्दा माथि छ भन्न मिल्छ ? बारम्बार दिमागले उही सुन्दर गीतलाई बिगारेर प्यारोडी गाइराखेको छ – भेडाच्यांग्रा भन्दा सस्तो यो ज्यानलाई।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.