मातृभाषा सिकाऔं!


अवैधानिक रुपमा रहेका नागरिकलाई देश निकाला गर्ने चर्चासँगै अमेरिकी राष्ट्रपतिको चर्चा फेरि चुलिएको छ। डाका कार्यक्रम (सानै उमेरमा अमेरिका आएका र वैधानिक कागजपत्र नभएका नागरिकहरु) अन्तर्गत दुई वर्षमा नविकरण गर्न मिल्ने बिल सन् २०१२ मा ओबामा सरकारद्वारा अमेरिकी संसदमा पारित भएसँगै १६ वर्षभन्दा कम उमेरमा अमेरिका आएकालाई पढ्न र काम गर्न कुनै बाधा नहुने भयो। तर, अहिले आएर अवैधानिक आप्रवासीको संख्यामा उल्लेख्य वृद्धि भएकोले वास्तविक अमेरिकीको जागिर खोसिएको आरोप लगाएर ट्रम्प प्रशासनले उक्त कार्यक्रम खारेज गरेको छ।

खारेजीको समाचारपछि लाखौंको संख्यामा रहेका आप्रवासीहरुले आन्दोलन गर्दैछन्। यही आन्दोलनलाई मध्यनजर गर्दै, उक्त मानिसहरुलाई अमेरिका रहन अरु छ महिनाको समयसीमा तोकिएको छ। यी मानिसहरु छ महिनापछिको विकल्प के हुनसक्छ भन्दै सामाजिक सञ्जालमा ट्रम्प प्रशासनसँग प्रश्न तेर्स्याउँदैछन्।

अमेरिकालाई सपना देख्नेहरुको पुरा हुने थलोको रुपमा लिने गरिन्छ। देखेको सपनालाई पुरा गर्न कडा मिहिनेत गरे सोहीअनुसारको अवसर पनि अमेरिकामा सजिलै पाइने हुनाले धेरै नेपालीहरुको रोजाईमा पनि यही देश पर्ने गर्छ। हिजो जो बालबालिका थिए, आज युवा भएका छन्। तिनै सपनालाई आँखामा लिएर साकार गर्न तल्लीन देखिन्छन्। तर ट्रम्पको उक्त निर्णयले उनीहरुको सपना तुहिन लागेको छ। उनीहरु धेरै चिन्तित छन्। आफू जन्मेको देश फर्कनु पर्यो भनेर होइन। स्वदेश फिर्ता भएपछि ती व्यक्तिका लागि भाषा मुख्य समस्या बन्नेछ। उनीहरुलाई त्यो समाजमा भिज्न धेरै कठिन हुनेछ। खुला आँखाले देखेको सपनालाई तिलान्जली दिनुपर्ने अवस्था आउनेछ।

भाषा यस्तो एउटा कडी हो, जसले हामीलाई समाज र राष्ट्रसँग जोड्छ। संसारमा धेरै देश छन्। देशअनुसार राष्ट्रिय भाषा फरक-फरक हुन्छन्। त्यस्तै, एकै देशभित्र पनि जाति, भूगोलको आधारमा फरक-फरक भाषा बोलिन्छ। जसलाई मातृभाषा भनिन्छ। जुन व्यक्ति मातृभाषा भाषा राम्ररी बोल्न सक्छन्, उनीहरु आफ्नो संस्कृतिसँग नजिक हुन्छन्। साथै, आफ्नो कुरा निर्धक्क राख्न सक्ने हुनाले, सुन्ने मानिसमा गहिरो छाप छोड्न सक्छन्।

हाम्रो देशको कुरा गर्ने हो भने राष्ट्रिय भाषाको रुपमा नेपाली बोलिन्छ। अनि संविधानमा पनि सरकारी कामकाजको भाषाको लागि देवनागरीमा लेखिएको नेपाली भाषा मात्र प्रयोग हुनेछ भनिएको छ। यसरी मानव जीवनमा भाषाको अत्यन्तै महत्व रहँदै आएको छ।

हाम्रो सरकारले हरेक वर्ष शिक्षा क्षेत्रमा करोडौं बजेट विनियोजन गर्दै आएको छ। तर उपलब्धि भने बालुवामा पानी खन्याउँदा जे देखिन्छ, त्यस्तै छ। पूर्णतया: शुन्य छ। जसले गर्दा देशमा दुई थरी शिक्षा नीति अख्तियार गरिएको छ। जसले वर्गीय विभेदलाई प्रश्रय दिएको छ। निजि विद्यालय व्यापारिक प्रयोजनको उदेश्य लिएर खोलिएको छ। मध्यम वर्ग र उच्च वर्गको विद्यार्थीलाई लक्षित गरी खोलिएका यस्ता विद्यालयमा तिरिने शुल्कका आधारमा शिक्षा दिइने गरिन्छ। शुल्क जति धेरै तिर्यो, त्यति नै गुणस्तरीय शिक्षा दिइने भनिएको हुन्छ। साधारणतया यी विद्यालयका छात्र-छात्रा अंग्रेजी भाषामा दखल राख्ने हुन्छन्।

अर्को, सामुदायिक विद्यालय राज्यबाट सञ्चालित छ। यी विद्यालयमा निम्न वर्गका विद्यार्थीको वर्चश्व पाइन्छ। दुर्गम र सुगम दुवै भेगका निम्न आय भएका परिवारका बालबालिका यस विद्यालयका विद्यार्थी हुन्। जहाँ सरकारले तोकेको पाठ्यक्रममा आधरित भएर पठन-पाठन हुने गर्छ। पाठ्यपुस्तक समयमा नपाउनु, घरधन्दा भ्याएर विद्यालय जानु, टाढा हुनु, शिक्षक दिनहुँ हाजिर नहुनु जस्ता समस्या यस्ता विद्यालयका विद्यार्थीले भोग्नु पर्ने नियति हुन्। यसरी जसरी-तसरी विद्यालय शिक्षा पुरा गरेपछि, उच्च शिक्षा लिँदा वा कार्यालयमा काम गर्ने सिलसिलामा निजि विद्यालय वा कलेजमा पढेकासँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ। अरु कुरामा समान भए पनि अंग्रेजी भाषामा दखल नहुनेलाई प्रतिस्पर्धा गर्ने क्रममा हीनताबोध हुन्छ। त्यस्तै, अंग्रेजी माध्यमबाट शिक्षा पाएकोले उनीहरुसँग सकेसम्म बोल्न नखोज्ने, बोल्न परे गाह्रो मान्ने गर्छन्। अझ यति मात्र होइन, मिलेर कुनै कार्य गरेका छन् भने त्यसको जस आफैं मात्र लिने प्रवृति देखाउन पछि पर्दैनन्। फेरी नेपाली समाज कस्तो छ भने कसैलाई नेपाली बोल्न नआउँदा केही फरक पर्दैन। तर उसको दक्षता अंग्रेजीमा भएमा हदैसम्मको महत्व दिन्छ। जसले, त्यस व्यक्तिमा घमण्ड पैदा हुन्छ। अंग्रेजी अन्तराष्ट्रिय भाषा भएकोले यो भाषा जान्दा र नजान्दा, यसले हाम्रो जीवनमा प्रभाव त पार्छ, तर उक्त भाषामा आफू दखल भएकोले नै अरुलाई होच्याउन मिल्छ भन्ने सोच्नु कदापी राम्रो होइन। यसरी कुनै व्यक्तिले कुनै पनि भाषा, आफूलाई आउने भन्दै अरुलाई दुर्व्यवहार गरेमा चुपचाप बस्ने होइन। प्रतीकारमा उत्रने हिम्मत गर्नुपर्छ।

धेरै भाषाको ज्ञान भएमा हामीले धेरै नयाँ कुराको जानकारी लिन सक्छौं। आफूलाई हरेक क्षेत्रमा अगाडि बढाउन पनि भाषा सहयोगी हुन्छ। तर, भाषाको ज्ञान हुँदैमा मान्छे सफल हुन्छ भन्ने हुँदैन। सफल हुनका लागि कडा मेहनत, लगन र धैर्यता चाहिन्छ। यो कुराको ज्वलन्त उदाहरणको रुपमा बलिउडमा स्थापित अभिनेत्रीको रुपमा आफुलाई चिनाउन सफल कंगना रनावतलाई लिन सकिन्छ। मनालीको गाउँबाट मुम्बईसम्मको यात्रा तय गर्दा अंग्रजी भाषा प्रमुख समस्याको रुपमा आफ्नो अगाडि तेर्सिंदा पनि कति पनि विचलित नभई कडा परिश्रमको परिणाम आज हामीसामु छ।

हाम्रो शिक्षाले वर्ग विभेदलाई पक्षपोषण गरेपनि, जुनसुकै भाषा जानेको मानिस समझदार हुनुपर्छ। यसका साथै, भाषाले मानिसलाई रचनात्मक पनि बनाउन प्रेरित गर्छ। डाका कार्यक्रम अन्तर्गत रहेका आप्रवासीलाई उनीहरुका अभिभावकले कुनै हीनतावोध बिना बेलैमा आफ्नो मातृभाषा सिकाएको भए, आज ट्रम्प सरकारले देश निकाला गरे पनि भाषाको कारणले आफ्नो सपना पुरा हुँदैन भन्ने लाग्ने थिएन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.