वीरगन्जको तकदिर!


शिरमा अड्याएको घाँसको भारी बिसाएर उनी सिर्सिया पुलछेउ रुखको फेदमा टुक्रुक्क बसेकी थिइन्। उनको उमेर ४५ देखि ५० वर्षको हुँदो हो। साथमा दुई जना साथी थिए।

‘कति गर्मी हो!’ मोटरसाइकलमा ब्रेक हानेर हामीले कुराकानीको पर्दा उघार्यौ।

गर्मीको प्रसंग निकालेपछि उनीहरुले हामीलाई ‘कहाँबाट आएको’ भनेर सोधे। मधेस ठाउँमा गर्मीमाथि टिप्पणी गर्ने पक्कै स्थानीय होइनन् भन्ने उनीहरुले सजिलै अनुमान लगाए।

वीरगन्ज महानगरमा अहिले मौसम मात्र गर्मी छैन, चुनावी गर्मी पनि थपिएको छ। खेतीकिसानी गर्ने स्थानीयलाई भने चुनावी गर्मीमा होमिने फुर्सत कहाँ?

यही मंगलबार सिर्सिया पुलमा भेट्दा हामीले उनीहरुलाई नेपाली भाषामै प्रश्न सोधेका थियौँ। उनीहरु केही बेर ‘अवाक्’ भए। मुखामुख गरेर हाँसे। प्रश्न बुझे, तर जवाफ फर्काउन सकेनन्। भोजपुरी हामी नबुझ्ने, नेपाली उनीहरु। हामीले टुटेफुटे हिन्दीको सहारा लिँदै उनीहरुको दकस मेट्न खोज्यौं।

‘चुनावमा कुन पार्टीलाई भोट दिनुहुन्छ?’

एकछिनमा उनले सहजतासाथ जवाफ थिए, ‘बेटाको पूछे के देंगे।’

यसअघि नाम सोध्दा यस्तै जवाफ मैले यो सुनेको थिएँ।

वीरगन्जको मुख्य बजार पस्ने मुरली बस्तीमा एउटी महिलाले नाम सोध्दा जवाफमा भनेकी थिइन्, ‘हमार पतिको नाम सलिम अन्सारी।’

महिलाले आफ्नो नामधरि भन्न दकस मान्ने यो परिस्थिति मधेसको कुनै देहात गाउँको थिएन। देशको प्रमुख व्यापार नाका वीरगन्जको थियो, जहाँ आर्थिक कारोबारले सचेतना पनि बढाएको होला भन्ने धेरैको अनुमान हुन्छ। यसपालि चुनावी रिपोर्टिङमा जाँदा जे अनुभव गर्यौं, त्यो हामीले सोचेभन्दा फरक थियो। स्थानीय चुनावको मुखमा रहेको वीरगन्ज महानगरको नयाँ नेतृत्वका लागि यो अवस्था हटाउनु नै सबभन्दा ठूलो चुनौती हो।

हामी उस्तै प्रश्न लिएर वीरगन्जका गल्ली-गल्ली पसेका थियौं। बाक्लो बस्ती रहेको वडा नं १६ को इटहरामा सर्वसाधारणसँग कुराकानी गर्न खोज्दा ठाकुरराम क्याम्पस पढ्ने बलिराम शर्माले जवाफ फर्काए, ‘यहाँ कसैले तपाईंको प्रश्नको जवाफ दिने छैन।’

‘किन दिँदैनन्?’

‘यो ठाउँबाट अहिलेसम्म भोट एक छाप छ। अघिल्लो संविधानसभा चुनावमा पनि त्यस्तै भयो,’ उनले भने, ‘दलका उम्मेदवारसँग गाउँको माग पूरा गर्ने समझदारीबिना यहाँबाट भोट जाँदैन।’

उनको यस्तो जवाफले विकासप्रति गाउँको एकमत देखाएको थियो। तर, बलिरामले गुह्य रहस्य खोले।

उनको भनाइमा दलीय भोज खाने र पार्टीको प्रचारमा खट्ने मानिस थुप्रै थिए। उनीहरु जसको खाए पनि अन्तिम समयमा भोट अन्तै दिन्थे। अहिलेसम्म कसलाई भोट हाल्ने भनी टुंगो नलागेकाले मौन बसेको बलिरामले बताए।

हामी रिपोर्टिङकै क्रममा वीरगन्ज-१ स्थित झन्डै २२ घर भएको डोम बस्ती पुग्यौं। उनीहरुको टोलको सीमा पानी तान्ने कलले निर्धारण गरेको थियो। हामीले टोलमा कति घर छन् भनेर सोधेपछि नन्दकिशोर मल्लिक अगाडि आए। ‘२०/२२ परिवार होला। एउटा घरमा ७/८ जना छन्,’ उनले औंलाको इसारामा देखाउँदै भने, ‘त्यो कलबाट यता हाम्रो जातिको बसाइ छ।’

मल्लिकले मतदानका लागि सर्त राखेका छन्- ‘रोजगार ग्यारेन्टी गर्ने मान्छे चाहियो।’

यो टोलमा पनि ‘कसलाई भोट दिने’ भनेर सोध्दा महिलाहरु आपसमा कानेखुसी गर्थे। एकले अर्कोलाई ‘किसको भोट देबे?’ भनेर सल्लाह माग्थे।

त्यसो त अन्य स्थानका मतदाताको हालत पनि यस्तै नभएको होइन। सबै सेवासुविधा सम्पन्न हुनुपर्ने महानगर नै चेतनास्तरमा पछाडि परेको देख्दा भने अचम्म लाग्यो। यो पनि नयाँ नेतृत्वको निम्ति चुनौती हो।

यस्तै चुनौती छ, वीरगन्ज सरसफाइको।

महानगर बने पनि खुला नाली, फोहोर र दुर्गन्धित सहरको परिचय बनाएको छ वीरगन्जले। मेयर उम्मेदवार रहबर अन्सारी वृक्षरोपण गर्न दुई फिट खन्दा गुट्खाको प्लास्टिक पोका मात्र निस्केको सुनाउँदै थिए। यति मात्र होइन, वीरगन्जका साँघुरा सडकमा सवारी पार्किङको व्यवस्था छैन। धुलो र धुवाँ अनि हर्नको कर्कश आवाजले व्यापारीको सहर वीरगन्जको अपमान गरिरहेको छ। यो महानगर अपमानबाट मुक्ति दिलाउने मेयर खोजिरहेको छ।

वीरगञ्जकै मुस्लिम बस्ती छपकैयामा एक पात्र भेटिए, मनोज राउत।

‘मेरो नाम पनि मनोज हो नि!’ मेरो जवाफ सुनेलगत्तै उनी हाँसे र भने, ‘मीतज्यू।’

साइनो गाँसेपछि सुखदु:खको बयान सुरु भइहाल्यो। गण्डक उपक्षेत्रीय अस्पतालको ल्याबमा काम गर्ने मनोजले वीरगन्जमा गरिबले उम्मेदवारै बन्न नसक्ने अवस्था आएको बताए।

‘मुस्लिमले गर्छ कि भनेर भोट हाल्यो गर्दैन, कांग्रेसले त झन् केही गर्दै गरेन,’ उनको रोष दलपिच्छे खनिँदै गयो। भने, ‘दु:ख भोगेको मान्छे मेयर हुने अवस्था छैन।’

वडा नम्बर १२ का मतदाता अफताफ आलम उम्मेदवारहरुका आँखाबाट नैतिकता हराउँदै गएको बताउँछन्।

‘नैतिकताभन्दा यहाँ पैसाको लडाइँ छ,’ आलम भन्छन्, ‘यसपालि वीरगन्जको तकदिरमा के छ हेरौँ।’

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.