एनआरएन र आगामी अधिवेशन, संस्थाभन्दा व्यक्ति हावी


संस्था तब बलियो हुन्छ जब यसको जग बलियो हुन्छ। संगठन व्यक्तीको होइन बिचार र आकारको आधारमा चल्नु पर्दछ । झोलामा संगठन बोकेर व्यक्तीको बढाई गर्ने संगठन दिर्घकालिन रुपमा अगाडि बढ्न सक्दैन । सामुहिकताको भावना र आम हितैसिहरुको कामना रहयो भने मात्र संगठन अघि बढनसक्छ । यतिखेर गैर आवासिय नेपाली संघ (एनआरएन) यस्तै यस्तै दुविधा र अन्तरकुण्ठामा अगाडी बढेको देखिन्छ ।

धनाड्य शेष घलेको दोश्रो कार्यकालले बिट मार्दै गर्दा संगठनमा केहि तिता मिठा बहसहरु प्रारम्भ भएका छन् । एनआरएनले प्रवासको विश्वासिलो साझेदारका रुपमा उदाउँदै गर्दा पर्दा पछाडिका रहस्य पनि खुल्दै गएका छन् । भनिन्छ, चिनी पनि धेरै खायो भने तितो हुन्छ । अस्ट्रेलियाका अर्वपती घले पहिलो कार्यकालमा विश्वभर हाई हाई भए । धनसँंगै मन भएको व्यक्तीमा गनिए पनि । मुलुक दुख्दा जुरुक्कै उठेर हिड्ने उनको साहस र जाँगरले धन भन्दा पनि उनको मन बलियो भएको ठम्याइयो । यहि कारण दोस्रो कार्यकालका लागि पनि छानिए । प्रारम्भमा मनोनितको विषयमा किचलोमा परेपनि पछि कार्यकाल राम्रैसँग अगाडि बढाए । उनको प्रयासमा आफ्नै भवन बन्यो । ढिलै भएपनि भूकम्प प्रभावित लाप्राकमा छानो पाए ।

संस्था र समन्वय अनि सामुहिकता एनआरएनको प्रतिबद्धता थियो । एनआरएन चिनियो कामले तर दामले पनि बढि नै प्राथमिकता पाएको चर्चा चल्यो । यो संस्था चिनिदै गर्दा उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सदस्यहरुको पनि उत्तिकै मेहनत र पसिना बग्यो होला । तर संस्था चिनियो व्यक्तीको नाममा । व्यक्ती भए हिरो संस्था भयो जिरो । जसले जे भनेपनि पछिल्ला दिनमा संस्थाले नामसँंगै बदनाम पनि कमाएको छ । अमेरिकामा विधानको बिवाद अदालतमा पुग्यो।

चीनमा जबरजस्ती गरिएको आवाज उठ्यो । विवाद समाधानका बाटाहरु पहिल्याउने क्रममा अध्यक्ष र महासचिव जस्ता जिम्मेवार पदाधिकारीले आ–आफ्नो शक्ती प्रदर्शन गरेका छन् । संस्थागत नहुनुको बिडम्बना र दादागिरीको स्वरुपमा गरिएका पत्राचारले यस पटक एनआरएनको साख गिराएको छ । आफै एकतामा बाधिन नसकेको संस्थाको विधानको ब्याख्या आफुखुसी गर्दा कयैन गैरआवासिय नेपालीहरु मर्माहत बनेका छन् । विधानले ठूलालाई नछुने तर सानालाई च्याप्ने परम्पराले संगठनको मर्ममाथिनै प्रहार गरेको छ ।

संस्थामा सकेको योगदान गर्ने भन्दा खुट्टा तानातान बढि देखिन्छ । आफ्ना कृतिम उचाई देखाउन नेतृत्व हिल जुत्ताको प्रयोगमा रमाइरहेको छ । पैसाको धाकले संस्थाको गहिराई नापिदैछ । संसारमा छरिएर रहेका लाखौं प्रवासीहरुको हितभन्दा व्यक्तीको स्वार्थमा रम्दैजाने प्रवृतीले बढुवा पाइरहेको छ । कतिपय मानिस आफू खुसी हुनलाई अरुलाई दुखी बनाउँछन् । तर केहि भने अरुलाई दुखी नबनाई पनि खुसी हुन्छन् । यतिखेर एनआरएनभित्र यस्तै भीडको भिडन्त हुने पक्का छ । नेतृत्व भनेको पहुँंचको बिषय पनि हो । संस्थाको अहिलेको मुख्य कमजोरी पनि यहि हो । यो अबिछिन्न उत्तराधिकारीको संस्था पनि हो । तर कार्यशैली र निर्णय हेर्दा कर्पोरेट कल्चर हावी भएको पाइन्छ ।

लाखौं सदस्यबाट उठाइएको सहयोग रकममा रुमल्लिएका छन् । संस्थाको सहयोगलाई व्यक्तीको आवरणमा च्यादर ओढाइँदैछ । पीडामा बाँंचेका असहायमाथि जुटाइएको सहयोग फेसवुकमा फाटा पोष्ट गरेर सामाजिक अभियन्ताको खोल ओढाउने चलन बढेको छ । यो कदापी उचित मार्ग होइन । सोचमा परिवर्तनको आवश्यकता छ । मेरो होइन हाम्रो भन्न सिक्नुपर्छ ।

सडकमा हिड्दैमा मान्छे भुइमान्छे हुँंदैन । मान्छेको स्तर आचरण, बिचार र संस्कारले मापन हुन्छ । गगनचुम्बी महलमा बस्दैमा मान्छेको चेतनाको स्तर बढ्दैन । यस्तै नेतृत्वमा पुग्ने व्यक्तीले आफ्नो बाहेक अरुको बिचारलाई निषेध गर्ने हो भने, निर्वाचनको संघारमा रहेको एनआरएनले फेरि पनि सहि बाटो समात्ने छैन । अमेरिकाका गौरी जोशीहरुमाथि न्यायीक हुनुपर्छ एनआरएन । जीतसँंगै थपिने दायित्वबोध जबसम्म नेतृत्वले गर्दैन त्यो सबैको नेतृत्व हुनै सक्दैन । हिजो नेतृत्वमा पुग्नेहरुले कसको हितमा काम गरे त्यो समिक्षा गर्न जरुरी छ । बिगतको समिक्षा नगर्ने हो भने एनआरएनले बाटो बिराउँदै जानेछ ।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.