‘गीता’ साध्यहरुलाई विश्वविद्यालमा किन पढाइदैन?


फिनल्याण्डको राजधानी हेलसिन्कीमा मिडिया म्यानेजमेन्ट  स्नातकोत्तर तहमा अध्ययनरत छु। शोध गर्नुपर्ने छ तर बिषय निश्चित भईसकेको छैन। एकदम पृथक बिषयमा गर्न मन छ तर बिषय भेटिन्न। यो मेरो मात्र समस्या होइन रहेछ, अन्य धेरै बिधार्थीको पनि यहि गुनासो सुनिन्छ।

ठुला ठुला शोध अनुसन्धानमा साना साना  कुराले उत्प्रेरकको भूमिका खेलेका हुँदा रहेछन। आइज्याक न्युटनको दिमागमा पनि ८६ अर्ब स्नायु तन्तु थिए, रुखबाट स्याउ खस्नु उत्प्रेरक बन्यो। जसबाट उनले गुरुत्वाकर्षण सम्बन्धि अध्ययन गरे, आज तीन सय बर्षपछि पनि उनैले स्थापित गरेको सिद्दान्तको आधारमा हिसाब गरिरहेका छौँ। त्यस्तै उत्प्रेरक बन्यो अल्बर्ट आइन्स्टाइनलाई आफ्नो पिताले किनिदिएको सानो कम्पास।

नेपाल आइडलमा आएका विभिन्न कमेन्टहरू हेर्दा हिन्दु धर्म भनेको समाजमा जातभात, छुवाछुत सिर्जना गर्ने बाहेक अरु केहि होइन भन्ने किसिमको आरोप देखिन्छ। साँच्चै हिन्दुधर्ममा जन्मैको आधारमा जात छुट्ट्याउने र जातको आधारमा व्यवहार गर्ने छ कि पछि मानिसहरू मनलाग्दी व्याख्या भएर यस्तो अवस्था आएको हो? ‘ब्रम्ह बोध हुने ब्राम्हण, स्खलनमा जीवन व्यतित गर्ने शुद्र’ भन्ने तर्कले जन्मैको आधारमा जात छुट्टिन्छ भन्छ?

जन्मलाई भन्दा कर्मलाई प्राथमिकता दिने र संसारका सबै मानिस दाजुभाई हुन (बसुधैव कुटुम्बकम) भन्ने वेद बचनलाई चटक्क बिर्सेर जन्मैको आधारमा एउटा बच्चा तल्लो जातको हुने अर्को बच्चा माथिल्लो जातको हुन्छ भनेर उछितो काढ्नु कतिसम्मको तर्कपूर्ण छ? कथित उपल्ला जातका मानिसले डा. काले राई (स्वामीप्रपन्नाचार्य) को चरणस्पर्श गर्नु र नेवार परिवारले पालेको, सालनाल सहित बाटोमा भेटिएका भनिएका डा. योगी विकासानन्दको चरणमा कथित उपल्ला जातहरू लम्पसार परेको यथार्थलाई चटक्क बिर्सिनु कतिसम्म न्यायसंगत छ?

मठ मन्दिरमा प्रवेश गर्न नदिने, धारा पँधेरोमा छुन नदिने जस्ता घृणित काम नभएका होइनन कथित उपल्ला जातबाट तर तिनीहरूले सिकेको पनि सहि ज्ञान नपाएका आफ्नै बाबु  आमाबाट न हो। यदि स्कुले शिक्षामा हिन्दु, बौद्ध, जैन, किरात र बोन जस्ता मौलिक धार्मिक सम्प्रदायको ज्ञान दिईएको र अझ बहुसंख्यकले मान्ने हिन्दुधर्ममा जन्मले होइन कर्मले मानिसको जात निर्धारण गरिन्छ भनेर सानै देखि शिक्षा दिनसकिएको भए त्यसले मन्दिरमा छिर्न नदिने, धारा छुनै नदिने जस्तो अमानविय हर्कतमा कमि आउँथ्यो।

समयमै धार्मिक ज्ञान दिन सकेको भए न राज्यले राष्ट्रिय दलित आयोग गठन गरेर व्ययभार उठाउनुपर्थ्यो न समानता निर्माणको नाममा बिदेशी एनजीओ आईएनजीओले चलखेल गर्न पाउँथे। अरु त अरु विभिन्न खोज अनुसन्धानमा समेत धर्मग्रन्थमा उठाईएका बिषयले उत्प्रेरकको भूमिका खेल्न सक्थे।

अर्जुनले आफ्नो गर्भवती श्रीमती शुभद्रालाई चक्रब्यूह तोड्ने बिद्या बताउँदा अभिमन्यु गर्भबाटै उक्त कुरा सुनेका हुन्छन र कुरुक्षेत्र युद्धमा गर्भमा सुनेको कुराको आधारमा चक्रब्यूह तोड्न सफल भएको कुरा बताईएको छ।

पेटको बच्चाले सुन्न सक्छ रे भनेर मरी मरी हाँसेर खिल्ली उडाउन पनि सकिन्थ्यो तर त्यहि बिषयलाई उत्प्रेरकको रुपमा गर्भको बच्चाले सुन्न सक्छ कि सक्दैन भनेर अध्ययन गरेको भए के हुन्थ्यो? दुई बर्ष मात्र भएछ स्पेनकी डा. मरिसा लोपेज तेइजोन आमाको गर्भमा रहेको बच्चाले १६ हप्तादेखि सुन्न थाल्छ भनेर पत्ता लगाएको।

सुन्ने मात्र होइन बच्चाले संगीतको तालमा झुम्दो पनि रहेछ। पेटमा हुँदा आमाको कुरा सुनेको अभिमन्युको किस्सा नेपालका चिकित्सा विज्ञानका बिधार्थीको किताबका कुनै पानामा पार्न सकेको भए, त्यसैको उत्प्रेरणामा बच्चाले गर्भमा सुन्न सक्ने तथ्यको खोज गर्ने श्रेय इन्स्टिच्युट मारकेसलाई नगएर टिचिङ्ग अस्पताललाई पो प्राप्त हुन्थ्यो की?

तर हाम्रो समाजमा धर्म भनेको अवैज्ञानिक हो, कुसंस्कार हो, अशिक्षित मात्र मान्छन, पढे लेखेकाले यसलाई फालिहाल्नुपर्छ भन्ने किसिमको वातावरण निर्माण गरिएको छ।

विचारको निर्माण कसरी हुन्छ भनेर अझै पनि सर्वमान्य खोज भएको छैन। यौन नै यौनमा आधारित रहेको  सिग्मनड फ़्रायडको चेतन र अचेतन मनले प्राथमिकता पाउने गरेको छ। बुद्धि, अहंकार, मनस र चित्त जसलाई हिन्दु दर्शनले मोक्ष र बौद्ध दर्शनले निर्वाणको भन्ने गरेको छ, यस बिषयका बारेमा मनोविज्ञानका बिधार्थीलाई वास्तै नहोला।

मनोविज्ञानका विधार्थीका पानामा यहुदी दर्शनले शिक्षित बीसौं शताब्दीका सिग्मण्ड फ़्रायडकै खोजको साथै हजारौं बर्ष पुरानो हिन्दु र बौद्ध दर्शनका कुरा पनि पार्न सकेको भए, मस्तिष्कमा विचार कसरी निर्माण हुन्छ भन्ने खोजमा नेपाल संसारकै अग्रणीमा गनिन्थ्यो की?

हरेक क्रियाको बराबर बिपरित प्रतिक्रिया हुन्छ। न्युटनको चाल सम्बन्धि तेस्रो नियम भौतिक वस्तुहरूमा अकाट्य रुपमा लागु हुन्छ। यहि नियम र श्रीमद्दभगवत गीतामा बताईएको ‘कर्म अनुसारको फल’ मा समानता भेट्छु। फरक यति हो गीताका वचन भौतिक वस्तुमा मात्र होइन जीवन र जगतका हरेक क्रियाकलापमा लागु हुन्छ भनिएको छ। सोचनीय छैन यो बिषय?

ग्यालिलियो हुँदै न्युटन, आइन्स्टाइन र आज स्टेफ़िन हकिंगसम्मको पालासम्म आईपुग्दा ब्रम्हाण्ड झन् झन् रह्यमयी हुँदै गएको छ। सैयौं बर्ष बिते, अर्बौ डलर खर्च भए। अहिले आएर उपपारमाणविक कणको अवस्था अवलोकनकर्तामा भर पर्ने देखियो। आकासका ६८ प्रतिशत भाग डार्क इनर्जीले ढाकिएको छ जसले तारा, ग्रह, उपग्रहलाई यथास्थानमा राखेको छ अवस्था। २७ प्रतिशत डार्क म्याटरले ढाकिएको छ जसले न प्रकाससंग पर्याप्त प्रतिक्रिया गर्छ न अन्य पदार्थसंग। यो के हो भन्दा के होइन मात्र थाहा पाउन सकिएको छ।

बाँकी रहेको ५ प्रतिशतले ग्रह, उपग्रह, सौर्य मण्डल, तारा मण्डल इत्यादि सबै बनेका छन् जसको आधारभूत संरचनामा उपपारमाणविक  कण हुन्छ, त्यहि उपपारमाणविक कणको अवस्था पनि सम्भाव्यताको आधार तय गरिन्छ अर्थात एकै समयमा फरक फरक अवस्थामा रहने सम्भाव्यता बोकेको हुन्छ।

यदि कसैले अवलोकन गर्छ भने त्यसले एउटा अवस्था देखाउँछ गरेन भने अर्कै अवस्था।  पदार्थको आधारभूत चरित्रमा अवलोकनकर्ताको भूमिका स्वीकारिएको क़्वाण्टम मेकानिक्सको कोपेहेगन व्याख्याले बृहदारण्यक उपनिषदमा उल्लेखित ‘अहम ब्रम्हास्मी’ संग सोझै समानता देखाउँछ।

अहम ब्रम्हास्मी अर्थात म ब्रम्हाण्ड हुँ अर्थात चेतना नै ब्रम्हाण्ड हो। अवलोकनकर्ता अर्थात चेतनाको उपस्थितिको कारण ब्रम्हाण्ड अहिले जस्तो छ त्यस्तो देखिएको हो, यदि अवलोकनकर्ता नहुँदो हो त यो तरंगको रुप बिलिन हुने रहेछ। क्वाण्टम मेकानिक्सको यहि उदेग लाग्दो पक्ष देखेर अल्बर्ट आइन्स्टाइनले भनेका थिए – चन्द्रमा जहाँको त्यहि हुनेछ मैले हेरे पनि नहेरे पनि।

भौतिक शास्त्रका प्राध्यापक एवं लेखक मिचिओ काकु, दिक-कालमा एघार वटा आयाम हुने उल्लेख गरेका छन्। एघार भन्दा माथि जाने हो भने ब्रम्हाण्ड अस्थिर हुने उनको तर्क छ। मस्तिष्कका ८६ अर्ब स्नायु तन्तुहरू एघारै वटा आयाममा काम गर्दा रहेछन भनेर स्विजरल्याण्डका मुख्य खोजकर्ता स्नायुबिज्ञ हेनरी मार्क्राम अनुसन्धानको निचोडले समेत सनातन धर्मको ‘अहम ब्रम्हास्मी’ अर्थात चेतना र ब्रम्हाण्डको गज्जबको सम्बन्ध देखाएको छ।

सोच्छु, त्रिभुवन विश्वबिधालयका भौतिक शास्त्रका बिधार्थीलाई बृहदारण्यक उपनिषदको यो वाक्यले पदार्थको बारेमा यस्तो धारणा दिएको छ भनेर कुनै पानामा राख्न सकेको भए क्वाण्टम मेकानिक्सको कोपेनहेगन व्याख्याको सट्टा ‘काठमाडौँ व्याख्या’ पो भनेर चिनिन्थ्यो की? लार्ज हेड्रोन कोलाईडर  जस्ता ठुला ठुला प्रविधि बनाउन सक्ने पैसा र प्रविधि नभए पनि सिद्दान्त निर्माण गर्ने दिमाग र ज्ञान त छ नि।

माथि हेर्दा देखिने आकाश शुन्य होइन यो केहि चिज हो भन्ने कुरा केहि यसै बर्षको सुरुमा पत्ता लागेको गुरुत्वाकर्षण तरंगले प्रमाणित गरिसकेको छ। आकाश आफैमा खालि होइन यो खदिलो केहि चिज हो, यो बाङ्गिन सक्छ, टेडोमेडो हुनसक्छ।

सुन्दै आश्चर्य लाग्ने यो कुरा थाहै नपाई भौतिक शास्त्रका कति बिधार्थीले पढाई सके होला? अँ साच्चै, श्रीमद्भगवत गीतामा कृष्णले अर्जुनलाई तेह्रौं अध्यायको ३१ औं हरफमा आकाश बारे ‘सर्वात्रावस्थितोदेहेतथात्मानोपलिप्यते यथाप्रकाशयत्येक:कृत्सनंलोकमिमंरवि:’ भनेर बुझाएका रहेछन। अर्थात आकाश सर्बब्यापी भएर पनि सूक्ष्मताका कारण कहीं बाँधिदैन त्यसरी नै आत्मा सबै ठाउँमा ब्याप्त भए तापनि शरीरसंग ऊ लिप्त हुदैन।

यस श्लोकमा उल्लेखित आत्माको कुरा छोडौं। आकाशको बारेमा दिईएको ज्ञान गज्जबै  छ। अल्बर्ट आईन्स्टाईन थिए जसले आकाश आफैमा केहि चिज हो भने धारणा पहिलो पटक राखे र भर्खर नौ महिना भयो उनको धारणा प्रमाणित भएको तर कहिले हो कहिले बनेको गीतामा एक त आकाश सम्बन्धि बिषय उठ्नु आफैमा आश्चर्यजनक छ भने अर्कोतिर यसले भौतिक विज्ञानमा नयाँ आयाम थपेको देखिन्छ। पदार्थको न्युनतम इकाई इलेक्ट्रोन, प्रोटोन र न्युट्रनका बीचमा पनि त्यहि आकाश हुन्छ जुन चन्द्रमा र सुर्य बीच देखिन्छ। ब्रम्हाण्ड जहाँसम्म फैलिएको छ, त्यो त्यहि आकाश हो जुन ठिक हाम्रो दुई हातको बीचमा छ।  वारपार सबैतिर जोडिएको छ।

आकाश सम्बन्धि भगवत गीतामा उल्लेखित उक्त वाक्यलाई मानक मान्दा, यदि ए नामको अति सुक्ष्म पदार्थको निर्माण गर्ने हो भने त्यो एकै समयमा एक्स , वाइ र जेट तीनै दिशामा हुनसक्छ। उपपारमाणविक उल्झनमा रहेका दुई उपपारमाणविक कण मध्ये एक उपपारमाणविक कणलाई हेरेर लाखौ प्रकाश बर्ष टाढा रहेको अर्को उपपारमाणविक कणको अवस्था पहिल्याउन सकिने उदेग लाग्दो रहस्य सुल्झिन्थ्यो की काठमाडौँ विश्वबिधालयका भौतिक शास्त्रका बिधार्थीको पानामा गीताको उक्त वाक्य उत्प्रेरकको रुपमा राखिदिन सकेको भए?

गरिदिएको भए, राखिदिएको भए, भैइदिएको भए यस्ता शब्द पढ्दा पढ्दै दिक्क लाग्यो होला तर होइन गरेका पनि छन्। पाचौं वेद मानिने भरतमुनिको नाट्यशास्त्रमा आधारित रहेर काठमाडौँ विश्वबिधालयका प्राध्यापक डा. निर्मलमणि अधिकारीद्वारा निर्मित संचारको सधारणिकरण ढाँचा विश्वका अठारवटा भाषामा अनुवाद भएर विभिन्न विश्वबिधालयमा पढाई भईरहेको छ।

मानिसको आधिभौतिक, आदिदैविक र अध्यात्मिक गरी तीनै पक्षलाई समेट्ने साधारनिकरण मोडल, भौतिक पक्षलाई मात्र समेट्ने अरस्तुको संचार ढाँचा भन्दा बृहद छ। विज्ञानका समेत रहेका बिधार्थी डा अधिकारीले धार्मिक ग्रन्थ भन्ने बितिक्कै फालिहाल्नुपर्छ भन्ने सोच राखेको भए संचारको साधारनिकरण सिद्दान्त बन्थ्यो त?

कोट पाइण्टमा टिलिक्क हुनेले धर्मको कुरा गर्नै हुन्न। धर्मको कुरा गर्नेले पढेकै हुन्न भन्ने जुन गलत धारणा युवा जमातमा बढ्दै छ यसलाई परिवर्तन गरेर हिन्दु, बौद्ध, किरात, बोन र जैन जस्ता नेपालका मौलिक धार्मिक ग्रन्थमा उठाईएका बिषयलाई उत्प्रेरक झैँ प्रयोग गरेर समाजविज्ञान, मनोविज्ञान, चिकित्साशास्त्र, खगोलशास्त्र, भौतिकशास्त्र र अर्थशास्त्रका नयाँ खोज तथा अनुसन्धान गर्न वैज्ञानिक ढंगले लगाउन सक्ने हो भने हाम्रो जस्तो पर्याप्त पुँजी नभएको देश पनि ज्ञान विज्ञानको निम्ति कहलिनसक्थ्यो।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.