विदेशीले पनि नपत्याएको हिमताल विष्फोटन हामीले खोज्यौं


२०५५ भदौ १८ को कुरा हो।

दूधकोशीमा ठूलो बाढी आयो। त्यो त्यतिसारो पानी परेको बेला थिएन।

मलाई कतै हिमताल त फुटेन भन्ने शंका लाग्यो। त्यतिबेला अहिलेजस्तो भूउपग्रहबाट खिचेको तस्बिर सजिलै प्राप्त हुँदैनथ्यो। गृह मन्त्रालयले हेलिकप्टर निरीक्षण त गर्यो, तर कारण पत्ता लगाउन सक्ने प्राविधिक कसैलाई लगेन।

मसँगै क्यानेडियन कन्सल्ट्यान्ट थिए। मैले उनलाई भने, ‘हिमताल विष्फोटन भएजस्तो छ।’

उनले हाँसोमा उडाउँदै भने, ‘त्यो क्षेत्रमा ठूलो वर्षा भयो होला।’

म भर्खर जागिर खाएको मान्छेको कुरा कसैले पत्याएन।

त्यसबेला म पथप्रदर्शकको काम पनि गर्थें। नोभेम्बरमा स्वीस समूहसँग पोखरा वरिपरि ट्रेकिङ सकेर चितवन जंगल सफारी गर्दै थिएँ। हामी १० जना थियौं। चारवटा हात्तीमा १६ जना अट्ने हुँदा अस्ट्रेलियन समूहका ६ जना पनि हामीसँगै मिसिए।

दुई दिन हामीबीच खासै कुरा भएन। तेस्रो दिन टेन्ट क्याम्पबाट जंगल लज फर्कने क्रममा कोठा तयार भैसकेको रहेनछ। चिया खान बस्दा एक जोडी अस्ट्रेलियन सँगै थिए। पत्नी अलि बोलक्कड थिइन्। मैले उनीहरुको भ्रमणबारे सोधेँ। पत्नीको नाम सास्किया थियो। उनले ‘मेरा पिक’ ट्रेकिङ गरेर आएको सुनाइन्। भनिन्, ‘एउटा ताल फुटेर आएको बाढीले बाटो सबै बगाएको रहेछ। हाम्रो ट्रेकिङ सरदारलाई पनि थाहा रहेनछ। बाटो हिँड्दै गयो, ठाडो भिरमा टुंगिन्थ्यो। ऊ पनि हैरान भएको थियो। हामीले नयाँ बाटो बनाउँदै जानुपरेको थियो। त्यहाँ फुटेर बाँकी रहेको एउटा ताल पनि थियो।’

यो सुन्नेबित्तिकै मेरा कान ठाडा भैहाले। उनलाई केही फोटो पठाउन मिल्छ भनेर सोधेँ। हिमताल विष्फोटन भएको हुनसक्छ भन्दा हाँसोको पात्र हुनुपरेको पनि सुनाएँ।

उनले अस्ट्रेलिया फर्केपछि फोटो पठाइदिइन्।

मैले फोटो पाउनेबित्तिकै प्रोजेक्ट म्यानेजर स्कट फर्गुसनलाई देखाएँ। उनले स्थलगत भ्रमणका लागि केही बजेट भए जाने अनुमति दिए। हामी तयारीमा लाग्यौं। म त्यसअघि कहिल्यै उच्च हिमाली क्षेत्र गएको थिइनँ। बुवा भने हिमाल आरोहणको सम्पर्क अधिकृतका रुपमा जाने गर्नुभएको थियो। उच्च हिमाली क्षेत्र जान चाहिने केही सामान घरमै थिए। केही भाडामा लियौं।

हामी तीन जना इन्खु खोलाको शिरमा रहेका हिमताल अध्ययनमा जान तयार भयौं। हामीमध्ये शरद जोशी धेरैपटक हिमताल सर्भे गर्न माथिल्लो भेग पुगिसकेका थिए। माधवदेव आचार्य र म हिमाली क्षेत्रका लागि नयाँ थियौं।

हामी काठमाडौंबाट उडेर फाप्लु पुग्यौं। हामीलाई तत्कालीन जिल्ला सभापतिले बोलाउनुभयो। हामीले हिमताल विष्फोटन र बाढी अध्ययन गर्न आएको बतायौं। मिल्छ भने एउटा बाटो देखाउने मान्छे खोजिदिन भन्यौं। त्यसै बेला बुङ निवासी जीवन राई आफ्नो व्यक्तिगत काममा त्यहीँ आएका रहेछन्। उनी हामीसँग जान राजी भए। सल्लेरीकै लाक्पा सहयोगीका रुपमा जान तयार भए।

पहिलो दिन बूढीडाँडा पुगियो। घुँडा दुखेर हिँड्नै नसक्ने भयौं। बाढीले आँगनसम्म कटान गरेको घरमा बास बसियो। दोस्रो दिन सोताङ र तेस्रो दिन खिरौंलेमा बसियो। पाँचौं दिन मोज्याङ खोला पुगियो। जीवन र लाक्पालाई हाम्रो सारमा हिँड्न साह्रै गाह्रो हुन्थ्यो। हामी घुँडा दुखेर हिँड्नै नसक्ने, उनीहरु दौड्न सक्ने। त्यसमाथि चार हजार मिटर माथि उच्च हिमाली क्षेत्रमा हामीलाई त्यसै गाह्रो।

हामी थाकेर लखतरान भएका थियौं। बल्लतल्ल लड्दैपड्दै हामी मोज्याङ खोला किनार पुग्यौं। हामी थाकेर केही नखाई सुतौं भन्नेसम्म भैसकेका थियौं। जीवन भाइ भने ‘यसरी हुँदैन, तातो तातो खानुपर्छ, नत्र लेक लाग्छ’ भन्दै हामीलाई दूध र सुप बनाएर खुवाउँथे।

भोलिपल्ट मोज्याङ र इन्खु खोला दोभानमा हिमबाढीले पुर्याएको क्षति हेर्दै हामी अगाडि बढ्यौ। हिँड्न त यसै सुस्त, त्यसमाथि कुहिरोले केही नदेखिने। थागनाग पुग्ने लक्ष्यले हिँडेको साँझसम्म पुगिएन। केही वरै टेन्टमा सुतियो।

सन् १९९९ फेब्रुबरी २१ को बिहानै कुहिरो फाटेर झलमल्ल घाम लागेको थियो। चारपाटे हिमाल टाउकैमाथि ठडिएजस्तो तामपोखरी हिमतालको काटिएको मोरेन बाँध आँखैअगाडि देखियो। हामी हतारहतार हिमतालतिर लाग्यौं।

तामपोखरी हिमताल जमेको थियो। केही नाप्ने काम गर्दै हामी फोटो खिच्न लाग्यौं। हामी थकाइले चुरचुर भएका थियौं, तै हिमताल फुटेको पत्ता लगाउन सफल भएकामा दंगदास थियौं।

हामीलाई त्यहाँबाट पाँच हजार मिटरको भञ्ज्याङ नाघेर लुक्ला पुग्नु थियो। खानेकुरा लगभग सक्किएको अवस्थामा हिउँ पर्न थाल्यो। चार हजार चार सय मिटर माथि एउटा ओडार भएको जीवनलाई थाहा थियो। हामी त्यही ओडारमा बास बस्यौं। हिउँ परिरहेको बेला पाँच हजार मिटरको भञ्ज्याङ नाघेर जानुछ भन्ने कल्पना मात्रले हाम्रो निद्रा चोरेको थियो।

राति ओडारको छतबाट हेर्दा आकाशमा तारा देखियो। भोलिबाट हिउँ पर्न छाडेर यात्रा सजिलो होला भन्ने सोचेर हामीलाई खुसी लाग्यो।

भोलिपल्ट भञ्ज्याङ पुग्दा दिउँसो १ बजेको थियो भने लुक्ला पुग्दा रात परिसकेको थियो।

हामी थकित र हिँड्नै नसक्ने अवस्थामा थियौं, तै साह्रै खुसी थियौं।

यत्रो मिहिनेत गरेर हामीले दूधकोशीको बाढी हिमताल विष्फोटनबाट भएको पत्ता लगाउन सफल भएका थियौं। त्यसअघि यस्तो बाढीको कारण सबै विदेशीले मात्र पत्ता लगाएका थिए। हामी पहिलो नेपाली भएका थियौं।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.