काउन्सिलको विभेदकारी ‘एक्रिडिटेशन स्टयान्डर्ड फर एमबिबिएस २०१७’

काउन्सिलको विभेदकारी ‘एक्रिडिटेशन स्टयान्डर्ड फर एमबिबिएस २०१७’


(क) बेसिक मेडिकल साईन्स विभागहरुमा एम.एस्सी/पि.एच.डी होल्डर प्राध्यापकहरूले झेल्नुपरेका समस्याहरु

नेपाल मेडिकल काउन्सिलको एमबिबिएस गुणस्तर निर्धारण संहिता २०१७ अति नै विभेदकारी ढंगले नियम ल्याउन खोजिएको रहेछ । हाम्रा विरुद्ध यसमा उल्लेख गरिएको छ – ‘कुनै पनि मेडिकल कलेजमा बेसिक मेडिकल साईन्स विभागहरुमा एम.एस्सी./पि.एच.डी. (चिकित्सा विज्ञान)  प्राध्यापक एक जना मात्रै राख्न पाउने । हाम्रा विरुद्ध नेपाल मेडिकल काउन्सिलको कदम कुनै वैज्ञानिक प्रक्रियाबाट नआएको तथा काउन्सिलका केही अदूरदर्शी र स्वार्थी पदाधिकारीका पारिवारिक व्यक्तिहरुलाई रोजिरोटिको सुनिश्चितता गर्न आएको देखिन्छ । काउन्सिलको नजिकिँदै गरेको निर्वाचनलाई ध्यानमा राखेर आधारभूत चिकित्सा विज्ञानका एमबिबिएस/एम.डी/एम.एस र वीडीएस/एम.डी/एम.एस हरुलाई भोटको लागि रिझाउन निश्चित व्यक्तिहरुको लबिङमा यो नियम आएको रहेछ । यो विभेदकारी नियम हामीलाई कुनै पनि हालतमा मान्य छैन। यो नियमले एम.एस्सी/पि.एच.डी प्राध्यापकहरूको जागिर गुम्ने र दक्ष जनशक्ति विदेशिन बाध्य हुने देखिन्छ ।

एम.एस्सी/पि.एच.डी (चिकित्सा विज्ञान) कोर्षको मूलभूत उद्देश्य आधारभुत चिकित्सा विज्ञानका विषयहरुमा दक्ष र अनुसन्धानमूलक जनशक्ति उत्पादन गर्नु हो। यसमा एनाटोमी, फिजीयोलोजी, वायोकेमेष्ट्री, माईक्रोवायोलोजी, फर्माकोलोजी र कम्यूनिटी मेडिसिन विषयहरु पर्दछन्। नेपाल राज्यभरका २० मेडिकल र ३ डेन्टल कलेजहरुमा आधारभूत चिकित्सा विज्ञानका विषयहरु पढाउने एम.एस्सी/पि.एच.डी प्राध्यापकहरु लगभग ३५० जना र एम.डी/एम.एस प्राध्यापकहरु पनि लगभग ३५० जना (अनुपात लगभग ५०–५० प्रतिशत) छ। यस तथ्याङ्कले नेपालमा चिकित्सा शिक्षाको प्रादुर्भावदेखिनै आधारभुत चिकित्सा विज्ञानको पाठ्यक्रम विकास देखि अध्ययन–अध्यापनमा र अनुसन्धानमा एम.एस्सी/पि.एच.डी समुदायका प्राध्यापकहरुको अहं भुमिका रहेको तथ्य प्रष्ट पार्दछ। बेसिक मेडिकल साईन्स विभागहरुमा एम.एस्सी/पि.एच.डी गरेका प्राध्यापकहरु बिषयबिज्ञ हुनुको प्रमाण यी बिषयहरुमा लेखिएका अधिकांस किताबहरु एम.एस्सी/पि.एच.डी गरेका लेखकहरुले लेखेका छन्। बेसिक मेडिकल साईन्समा हिजो र आज पनि कयौँ विभागीय प्रमुख प्राध्यापकहरु एम.एस्सी/पि.एच.डी समुदायबाट  छन्।

एम.एस्सी/पि.एच.डी (चिकित्सा विज्ञान) का कोर्षहरुमा उक्त बिषय अन्तर्गत आबश्यक सम्पूर्ण क्लिनिकल ज्ञानहरु पढाईएको हुन्छ। आधारभूत चिकित्सा विज्ञान पढाउनका लागि उक्त ज्ञान भरपूर्ण छ। अमेरिका र बेलायत लगायत विश्वका अधिकांस मूलुकहरुमा आधारभूत चिकित्सा विज्ञान अध्ययन–अध्यापनको लागि एम.एस्सी/पि.एच.डी गरेका प्राध्यापकहरु उत्कृष्ट मानिन्छन्। आज विशिष्ट जनप्रयोगमुखी अनुसन्धानहरु गरेवापत मेडिसिनमा नोबेल पुरस्कार जित्नेहरु बढीजसो एम.एस्सी/पि.एच.डी समुदायकै छन् । हामी एम.एस्सी/पि.एच.डी गरेका प्राध्यापकहरुले अस्पताल क्षेत्रका क्लिनिकल बिज्ञान अन्तर्गतका बिषयहरु पढाउने भनिरहेका छैनौ। क्लिनिकल बिज्ञानका लागि एमबिबिएस, एम.डी/एम.एस गरेका चिकित्सक प्राध्यापकहरुको विकल्प छैन।

 

(ख) बेसिक मेडिकल साईन्स विभागहरुमा एम.एस्सी/पि.एच.डी होल्डर प्राध्यापकहरुबाट आएका सुझावहरुः

  • सबैभन्दा गंभीर र डरलाग्दो समस्या नेपाल मेडिकल काउन्सिलले जारी गरेको  ‘एक्रिडिटेशन स्टयान्डर्ड फर एमबिबिएस २०१७ ’ मा बेसिक मेडिकल साईन्स विभागहरुमा एम. एस्सी./पि.एच.डी (चिकित्सा विज्ञान) प्राध्यापक एक जना मात्रै राख्नने निणर्य गरेको छ। सन २००० अगाडि सम्म एम.एस्सी/ पि.एच.डी र एम.डी/एम.एस प्राध्यापकहरुको अनुपात नरहेको देखिन्छ भने २००६ हुँदै २०१२ भन्दा अगाडिसम्म एम.एस्सी/ पि.एच.डी शिक्षक संख्या ५० प्रतिशत हुँदै आएकोमा सन २०१२ मा ३० देखि ५० प्रतिशतसम्म भनियो । सन २०१३ मा आएर यसको संख्या ३३ प्रतिशतमा झारियो । यसरी एम.एस्सी/पि.एच.डी प्राध्यापकहरुको प्रतिनिधित्व नभएको एक सरकारी निकायले हाम्रो पेशाप्रति रोक लगाउनु गैरकानुनी र मानव अधिकारको हनन हो। यस्तो अवस्था आउन नदिन र यहाँको जनशक्तिलाई विदेश पलायन हुनबाट जोगाइयोस् । यो विभेदकारी र अवैज्ञानिक नियम तुरुन्त सच्चाइनु पर्दछ।
  • एकातिर नेपाल विद्याभुषण’ जस्तो गरिमामय पदक पि.एच.डी होल्डर डिग्रीले पाउने र एम.डी/एम.एस होल्डर डिग्रीले नेपाल विद्याभुषण ’  पाउने सरकारी नीति छ भने अर्कातिर नेपाल मेडिकल काउन्सिलले एम.एस्सी/पि.एच.डी डिग्रीलाई अवहेलना गर्न खोजेको छ । यसलाई जिम्मेवार निकायबाट उचित ध्यान र पुर्नविचार गरियोस्। विगतमा एम.डी/एम.एस अध्यानरत विद्याथीहरुलाई गाईड गर्न योग्य रहेका एम.एस्सी/पि.एच.डी प्राध्यापकहरु हाल आएर कुन आधारमा अयोग्य ठहराईयो जवकी अन्तराष्ट्रिय स्तरमा अनुसन्धानकालागि एम.एस्सी/पि.एच.डी गरेका प्राध्यापक/बैज्ञानीक हरुलाई पहिलो प्राथिमिकता मा राखिन्छ। आधारभूत चिकित्सा विज्ञानका स्नातकोत्तर तहका एम.डि/एम.एस विद्यार्थीहरुलाई उक्त विषयमा एम.एस्सी/पि.एच.डी गरेका अनुभवी प्राध्यापकहरुले गाईड गर्न नपाउने गरी आएको नियम अवैज्ञानिक छ। किन र कुन आधारमा पि.एच.डि गरेका अनुभवी शिक्षकहरुलाई यसबाट रोक लगाइयो ? यो विभेदकारी नियम तुरुन्त सच्चाइनु पर्दछ।
  • चिकित्सा शिक्षा कार्यक्रमहरुका लागि माथेमा कार्यदलबाट आएको प्रतिवेदनमा प्रस्ट रुपमा भनिएको छ– ‘मेडिकल कलेजहरुमा बेसिक मेडिकल साईन्स को] फ्याकल्टी हुनको लागि मूलतः चिकित्सा विज्ञानमा स्नातक तह पूरा गरी आधारभूत विज्ञानका कुनै एक विधामा स्नातकोत्तर तहको पढाइ पूरा गरेको हुनुपर्ने विद्यमान व्यवस्था विज्ञानसम्मत र व्यावहारिक नभएको कारणले अब उप्रान्त जीव विज्ञानका विधामा स्नातक तह पूरा गरी प्याथोलोजी बिषय बाहेक आधारभूत विज्ञानका अन्य कुनै एक विधामा स्नातकोत्तरको पढाइ पूरा गरेका व्यक्तिहरु पनि समान रुपले योग्य मान्नु उपयुक्त हुनेछ। यस कार्यदलबाट आएको प्रतिवेदनलाई जतिसक्दो छिटो पारित गरी प्रयोगमा ल्यायोस् ।
  • बेसिक मेडिकल साईन्स विभागहरुमा फ्याकल्टीहरुको उमेर बढीमा ७० वर्ष कायम गरियोस र अन्य फ्याकल्टीहरुको संख्यामा पनी वृद्धि गरियोस। पढाउने कक्षाकोठा एउटै, उही विद्यार्थीहरु र एउटै पाठ्यक्रम तर एम.एस्सी/पि.एच.डी, वीडीएस/एम.डी/एम.एस र एमबिबिएस/एम.डी/एम.एस प्राध्यापकहरु विच फरक–फरक व्यवहार छ। हामी के भन्न चाहान्छौ भने बेसिक मेडिकल साईन्स विभागहरुमा एम.एस्सी/पि.एच.डी, वीडीएस/एम.डी /एम.एस र एमबिबिएस/एम.डी/एम.एस सबै प्राध्यापकहरुलाई समान व्यवहार गरियोस्। अन्त्यमा, राज्यका उत्तरदायी निकायहरुले हामीलाई न्याय दिनेछन् भन्नेमा हामी विश्वस्त छौं।

डा. राजीव मुखिया

लेखक: मणिपाल मेडिकल कलेजका उपप्राध्यापक तथा एशोसियसन अफ बेसिक एन्ड एप्लाइड मेडिकल साइन्सेज संस्थाका सदस्य हुन्

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.