खनियाँ सरको तासको घर जब गर्ल्यामगुर्लुम ढल्यो


सन् २००२ देखि २००४ सम्म त्रिभुवन विश्वविद्यालयको शिक्षा संकायको केन्द्रीय क्याम्पसको विद्यार्थी थिएँ। प्रा.डा. नै प्रा.डा. ले पढाउँथे हामीलाई।

बडेबडे गुरुहरुको लाममा एक थिए हाम्रा गुरु अहिलेका त्रिवि उपकुलपति डा तीर्थ खानियाँ।

महाभारतका भिमको जस्तो ठूलो अग्लो काया भएका डा तीर्थ खानिया हाम्रा एक रहस्यमयी र अगम्य गुरु थिए। कमै बोल्थे। आम बिद्यार्थीहरुका लागि त्यति सजिलै पहुँच नहुने मास्टरमा पर्थे उनी। हप्तामा तीन दिन, दिनको एक घण्टाले पढाउनु पर्ने ‘ल्यांग्वेज टेस्टिंग’ भन्ने बिषयलाई बरिष्ठ हुनुको सजिलोले उनले आफ्नो खुसीले हप्तामा एक दिन तर दुई घण्टाको कक्षा बनाएर पढाउँथे।

उनको ६ फिट अग्लो अजंगको डबलदारको शरीरमा बेलायतको एडनबरा युनिभर्सिटीबाट ‘परीक्षा प्रणालीमा’ पिएचडी गरेको ल्याकत सवार भएकोले जो कसैले उनको व्यक्तित्व र बौद्दिकतासँग खेलाँची गर्ने कुरै थिएन। फिटिक्क गरिदैन थियो।

उनका बारे केही चलेका गईंगुईं थिए त्यो बेला। उनी कांग्रेस पार्टीका नेता तथा त्यो बेलाका पटके मन्त्री गोबिन्दराज जोशीका बहिनी ज्वाइँ हुन्, कहाँ बहिनी ज्वाईं हुनु साडु दाइ हुन् साडु दाइ, उनी कांग्रेस पार्टीको बौद्दिक फाँटका एक हस्ति हुन्, यिनको पोलिटिकल लहरो सिधै बालुवाटार पस्न र निस्किन सक्छ, यी निकै ठूला र धुरन्धर प्राज्ञ हुन्, अबको त्रिविका उपकुलपति भनेकै अकाट्य हिसाबले यिनै खनियाँ हुन् आदि।

हामीसंगै पढ्ने एकजना इलामतिरका ‘पानी-दादा’ थिए। उनले साथीभाइ माझ गफ जोत्न र फुइँ लडाउन पनि भ्याउँथे तीर्थ खनियाँको नाम लिएर- जस्तो कि ‘अबको भिसि भन्या कतै नजा तीर्थ खानियाँ हो, त्यसपछि गरिन्छ त्रिविमा राज’ आदि।

विश्वविद्यालयमा गुरुहरुसंग राजनीति मिलेको लहनाले, क्षेत्रियता जुधेको बहानाले वा अरु कुनै तेल मालिस गरेर बोल्ने योग्यताको करामतले विभागीय प्रमुख र प्राध्यापकहरुको फेरो समातेर यस्तो धक्कु लाउने पानी दादाहरु लछेप्रै हुन्थे हाम्रा पालामा। प्राध्यापकहरु पनि यस्ता प्रवृत्तिलाई खोइ कुन आवश्यकताले गर्दा हो हुर्किन मौलाउन नै दिन्थे। हामी त्यहाँ छउन्जेल तीर्थ खनियाँ तत्काल उपकुलपति भने भएनन्।  खनियाँको नाम उपकुलपति हुने भनेर चलेको भएपनि शाही नियुक्तिले शिक्षण अस्पतालका एकजना डाक्टर गोबिन्द शर्मा उपकुलपति भए पछि।

बेलायत अमेरिका जस्ता देसमा पढेर आउनुलाई उसैपनि चानचुन ठानिने चलन नै छैन हाम्रोमा। यो कारणले र कक्षामा पढाउने सिलसिलामा उनले गरेका राम्रा नीतिबादी कुराले गर्दा खनियाँलाई अर्कै ड्यांगको मूला ठान्थियौं हामी। एकदिन आफ्नो विषयको लेक्चर गर्ने क्रममा त्रिविको बिद्द्यमान परीक्षा प्रणाली र अन्य यावत चलन, कुचलनसम्बन्धी उनले कक्षामा भनेको कुरा म जहिले सम्झिन्छु। उनको भनाइले कक्षामा एउटा घतलाग्दो हाँसो पनि उठाएको थियो।

उनको लेक्चरको आसय यस्तो थियो- हाम्रो शिक्षा प्रणाली, परीक्षा प्रणाली र समग्र त्रिविको अपरेसनमै आमुल सुधारको खाँचो छ। कसले गर्ने, कसलाई भन्ने ? मैले बेलायतको शिक्षा लिएर आएपछि त्रिविका हार्ताकर्तासँग निक्कै गलफति गरें। लडें जुधें। आफ्नो कुराको पुछारमा उनले भनेका थिए “राम्रोमा बदल्न सकिन्छ कि भनेर निक्कै कसरत गरें तर अन्तिममा मैले होइन उनीहरुले चाहिं मलाई बदलिदिए।” तीर्थ खानियाँले कक्षामा यसो भन्दा हाँसोको फोहोरा छुटेको थियो। यसो भन्दै गर्दा उनी आफैं पनि हाँसेका थिए।

यी चैं हुन् खाँचोका खास मान्छे भन्ने लाग्थ्यो। त्रिविलाई चमत्कारिक ढङ्गले माथि उठाउन सक्ने उनको विदेसी डिग्रीभित्र लुकेका रहस्यमयी र अथाह योजना, दृष्टिकोण र प्रतिबद्धता कुराले मख्ख पर्दै हामी साथीहरुमा छलफल  चलाउथ्यौ ‘गर्ने छोरो जन्मिएको रछ तर पाखा पर्यो’ पर्यो भनेर।

विभिन्न काम कारणले उनको घर बैठक कोठामामा बसेर चिया खाँदै पनि गफ गरियो एक दुई पटक उही शिक्षा, व्यवस्था, भागबण्डाले सकेको थिति आदि बारे। खनियाँ गुरुले अनौपचारिक भेटघाट र गफको शिलशिलामा हामी तीन/चार साथीहरु माझ आफ्नो उच्च नैतिक मूल्य-निष्ठाबारे अझै सुन्दर अर्को कुरा गरेको सम्झिन्छु। गुरुले भनेका थिए उहाँ एउटा ठुलो राजनीतिक दलको निर्वाचित महासमिति सदस्य हो। रत्नपार्कमा प्रतिगमन बिरोधी धर्ना र अनसन चलिरहन्थे त्यो बेला। गुरुले भनेअनुसार उनलाई आफ्नो बिबेकले, आफ्नो सामाजिक प्रतिष्ठाले, इमान-जुवानको डरले र एक निष्ठावान प्रजातान्त्रिक चेतको मानव हुनुको मुल्यमान्यताको संहिताले आफू संलग्न दलका तत्कालीन नेता कार्यकर्ताको हारमा बसेर रत्नपार्कमा धर्ना-अनसन गरेर बस्न सकेनन् रे उनी। फलस्वरुप प्रजातन्त्रका लागि चितवन गएर धर्ना बस्नु परेको दुखेसो थियो उनको । उहाँका यस्ता गतिला कुरा सुनेर उहाँप्रतिको हाम्रो सम्मान र भरोसा उसै दोब्बरबाट तेब्बर भएको आउथ्यो त्यो बेला। हामीले फेरि दोहोर्याएका बहस गरेका थियौं ‘गरेर देखाउने छोरो पाखा पर्यो, हिरालाई चिनिएन।’

एकदिन त्रिवि परिसरको पुस्तक पसलदेखि शिक्षा संकायको भवनसम्म जाँदा खनियाँ गुरुसँग हामी पैदलमा संगै पर्यौं। चार/पाँच जना थियौं हामी चेलाहरु।

समूहमा कसैले सोध्यो “सर, तपाईं त उपकुलपति हुने भन्ने हल्ला सुनिन्छ जताततै, हो त सर ?”

गुरुले यस्तरी जवाफ दिए कि योग्य मान्छेलाई मौका नदिएर राजनीति मिलाएर खाने लोभीपापीको कर्तुतलाई धारे हात लाएर बेस्सरी सराप्न मन लाग्याथ्यो त्यो बेला । उनको कुरा थियो बन्नु पर्ने मान्छे नै उहाँ नै हो, हल्ला गरेर मात्रै त काम बन्दैन, काम गर्न त नियुक्ति चाहियो, समय आउछ, एकदिन उपकुलपति बनिन्छ।

नभन्दै उहाँ उपकुलपति हुने हल्ला चलेको १२ बर्षपछि उहाँ त्रिविको उपकुलपति बनेरै छाड्नु भो।

उपकुलपति हुनुअघि बौद्दिक चोरीको काण्डमा मुछिनु भो गुरु। हामी अंग्रेजी मास्टरहरुको शास्त्रमा एउटा थ्योरी छ। अंग्रेजी भाषा सिकाउदा त्यसका मातृभाषीहरुले जसरी अंग्रेजीलाई दैनिक जीवन र कामकाजमा प्रयोग गर्छन् त्यस्तै सामग्रीको निर्माण र प्रयोग गरेर अंग्रेजीलाई दोश्रो भाषाको रुपमा सिकाउदा बढी प्रभावकारी हुन्छ भन्ने। जस्तै अंग्रेजी भाषी बाबुछोराले फोनमा गर्ने कुराको हुबहु उतार पढाउनु, अंग्रेजी भाषी लेखकले लेखेको फिलिमको सक्कली रिभ्यु नै कक्षा कोठामा प्रश्तुत गर्नु, अंग्रेजी टिभीमा बज्ने वा अंग्रेजी अखबारमा छापिने वास्तविक बिज्ञापनको भाषा नै अंग्रेजीलाई दोश्रो भाषाको रुपमा पढाउँदा पाठ्यसामग्री बनाउनु आदि।

खानिया गुरुले यो बिषयमा एउटा लेख लेखेर नेल्टाको जर्नलमा छपाउनु भयो। खनिया गुरुको लेखको मनमनै दुहाइ दिंदै मैले पनि अभ्यास शिक्षणमा खटिएका मेरा बिद्द्यार्थीलाई यसो गर्नू राम्रो, उसो गर्नू राम्रो भनेर रातो मसिले निर्देशन कोरें। कक्षामा पढाउँदा यस्तो पो हो त काइदा भनेर खानियाकै लेखका अंश पढाएँ। फेरिट किलिक्काय नामका एकजना मिडल इस्ट टेक्निकल युनिभर्सिटी, अनकारा, टर्कीका प्राध्यापकको बौद्दिक सम्पतिलाई बडो सर्मनाक ढङ्गले कतै हुबहु गर्दै कतै बाक्य गठनको शीरलाई पाउतिर र पाउलाई शीरतिर पारेर आफ्नो प्राज्ञिक लेख भनेर छपाउनु भएछ गुरुले। सन्दर्भ सामग्रीको सुचीमा भुलबस छुटेछ भन्ने तर्क गरेपनि बाक्यलाई कतै अलिअलि घुमाएर कतै जस्ताको तस्तै कोट नगरी बुँदाबुँदा अनुच्छेदअनुच्छेद नै राख्नु सोझै जानीजानी गरेको ठहरिने काम देखिन्छ।

यो बौद्दिक चोरी अनलाइन खबरमा सचित्र देखेपछि मैले यी तीर्थ खनियाँ सर तिनै खनियाँ सर हुन् त भनेर पत्याउन दिनभर मथिंगल भुलभुलैयामा पार्नु पर्यो। ती अपार ज्ञान, क्षमता र शिक्षा प्रणाली सुधारका योजना भएका भीमकाय खनियाँ सर नामको तासको घर गर्ल्यामगुर्लुम ढल्यो मेरो मनको सम्मानबाट। सायद म जस्ता उनका हजारौं बिद्द्यार्थी, सहकर्मी र अन्य बौद्दिक मान्छेलाई पनि पत्याइनसक्नु भयो होला तर सत्य घामझैं आयो सबैका अघिल्तिर।

विश्वविद्यालय जस्तो संस्थाको उपकुलपति पदमा बस्ने मान्छेले बौद्दिक चोरी गरेको दिनदहाडै प्रमाणहरू छ्यापछयाप्ति हुँदा हजुरले पढेको त्यो बेलायत भन्ने देसमा के हुन्थ्यो होला गुरु भनेर अहिले सोध्न मन लागेको छ। सायद नाकमुख ढुङ्ग्रोमा खाँदेर गुप्तबास बस्नु पर्थ्यो होला आजीवन। खासमा यस्तो काण्ड परेका व्यक्तिले देसको विश्वविद्यालयको नेतृत्व गर्नु भनेको र हामी सबैले यस्तो हालीमुहाली टुलुटुलु हेरेर बस्नु भनेको सारा नेपालीहरुको नैतिक सम्पतिप्रतिको आस्थालाई बाँसमा उनेर झुन्ड्याउनु हो। दलीय राजनीतिले गर्दा गुहु र गोबर छुट्याउन नसक्ने गरी मूल्य मान्यता, नैतिकता र आचरण थला पारिएको स्थिति हो यो भनेको।

त्रिवि सुधारका अनेक रोमान्चकारी तर अव्यक्त योजना र दृष्टीकोण आफुसंग भएको सुनाउने गुरुले १० महिनासम्म त आइओएमको डीन पद नै खाली राखे। अनि अन्तिममा जनताको गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकारका लागि ज्यान फाल्न तयार गान्धीबादी डाक्टरको निष्ठामा प्रहार गर्दै प्रणाली र पद्दति मिचेर डीन नियुक्त गरे। भर्खरै अर्को मेडिकल कलेजलाई सम्बन्धन दिए र फेरि खोसे।

चमत्कारिक छडी बोकेर हिंड्ने तर प्रयोग गर्न नपाएको गुनासो गर्ने खनियाँ सर अहिले उपकुलपति छन्। स्वास्थ्य शिक्षा र सेवामा आम जनताको हितमा भन्दा मान्छेका मुटु कलेजो बिग्रिएको मौका छोपेर कमाउन तम्सिने पापी बेपारीको हितमा नै चालबाजी गर्न पटुका कसेर देखिन्छ उनी पनि। कहाँ गए गुरु ती रामराज चलाउने थिएँ पाए भन्ने सपना र अठोटका गुलिया कुरा ?

त्रिवि नामको बुढो विश्वविद्यालयलाई फगत सर्टिफिकेट उत्पादन गर्ने कारखाना मात्रै बनाउनुबाहेक दलीय राजनीतिको भागबन्डाले यसको गुमेको साख फिर्ता ल्याउन, पठनपाठनको गुणस्तर उकास्न, प्राध्यापकहरुको उच्चतम ब्यबसायिक निष्ठा कायम गराउन र त्रिविका सकल संस्थाहरुलाई बिशुद्द प्राज्ञिक अभ्यास गर्ने थलो बनाउन यिनले बोल्ने, कार्यक्रम बनाउने र निर्देशन दिने नैतिक धरातल नै छैन उनीसँग। तरपनि अझै उनी भिसि नै छन् !

यी प्राज्ञ पनि नेपाल भन्ने सुन्दर देसका मगज भ्रष्ट र कुरूप शासकहरुका लगौंटी सेवक बाहेक केही होइन रहेछन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.