मृत समाचार


नेकपा एमाले ऐतिहासिक नगरी जनकपुरमा आफ्नो सातौँ महाधिवेशनको चटारोमा रहँदै गर्दा देशमा राजा ज्ञानेन्द्र निरंकुशतालाई घनीभूत बनाउने चेष्टा गरिरहेका थिए। मुलुकको शासनसत्ता हठात् आफ्नो हातमा लिँदा पनि सर्वसाधारण मौन थिए। कतैबाट राजाको कदमविरुद्ध आवाज उठिरहेको थिएन।

दलहरु ठूलो असमञ्जसमा थिए। आन्दोलन गर्दा जनताको साथ पाइने हो कि होइन भन्ने द्विविधामा थिए ती। कारण स्पष्ट थियो, सत्तामा रहँदा जनआकांक्षाप्रति पटक्कै ध्यान नदिनु। त्यसैले हत्तपत्त आन्दोलनको हुरी चल्ने सम्भावना थिएन।

आफूलाई प्रजातन्त्रको मसिहा ठान्ने नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाकै गलत सोचका कारण दरबारलाई सक्रिय बन्न बल पुगेको थियो। उनले पार्टीको आन्तरिक किचलो र अर्का नेता गिरिजाप्रसादसँग बदला लिन र दरबारनिकट हुन पनि प्रजातन्त्र किस्तीमा राखेर राजालाई बुझाएको आरोप अहिले पनि लाग्ने गर्छ।

त्यसबखत म भर्खरभर्खर राजधानी दैनिक छाडेर नयाँ सञ्चारगृहमा आवद्ध हुन पुगेको थिएँ। त्यो नयाँ ठाउँ यस्तो थियो, जसमा जिन्दगीमा एक पटक काम गर्ने चाहना अधिकांश नेपाली पत्रकारको हुन्थ्यो। प्रतिष्ठित थियो त्यो पत्रिका। म रहरले पत्रकारितामा प्रवेश गरेको मान्छे। पत्रकारिताका विषयमा मैले एक दिन पनि कुनै तालिम लिएको थिइनँ। न त मेरो पढाइको विषय नै यो थियो! यसका प्राविधिक पक्ष, खोजका आधार, बलियो तथा आकर्षक लेखनशैलीबारे कमै ज्ञान थियो।

पत्रकारिताका धर्मबारे भने म भलिभाँती परिचित थिएँ। त्यस पत्रिकामा प्रवेशका बखत नै मैले सम्पादकसँग अनुरोध गरेको थिएँ– मलाई तपाईंले सिकाउनुपर्छ, म सिक्न चाहन्छु। त्यस पत्रिकाको सबैभन्दा राम्रो पक्ष के थियो भने, आफूलाई लेख्न मन लागेको स्टोरी आफैले प्रस्ताव गर्ने। मैले कुनै एउटा विषयमा एउटै पार्टी वा समूहका मान्छेका फरकफरक विचारलाई ‘आमनेसामने’ स्तम्भ लेख्छु भन्ने प्रस्ताव सम्पादकसमक्ष राखेँ। उनले सहर्ष त्यो कुरा स्वीकारे।

त्यस स्तम्भको पहिलो स्टोरीका पात्र मैले एमालेका दुई शीर्ष नेता माधवकुमार नेपाल र केपी शर्मा ओलीलाई बनाएँ। सातौँ महाधिवेशनमा यी दुई नेताबीच पार्टीलाई अध्यक्षीय प्रणालीमा लाने वा महासचिवीय राख्ने भन्ने विषयमा ठूलो विवाद थियो। त्यही विवादलाई मैले स्टोरीको विषय बनाएँ। माधवकुमार त्यसबेलासम्म महासचिवीय प्रणालीका पक्षमा थिए भने केपी अध्यक्षको व्यवस्था गर्नुपर्ने बताइरहेका थिए। यही विषयले पनि सातौँ महाधिवेशन तातिरहेको थियो।

यी दुई नेताको विवाद उत्कर्षमा पुगेको मौका छोपेर मैले टेलिफोन वार्ता गरेँ। दुई जनाबीचको विवादले पार्टीलाई नै गुट–उपगुटमा विभक्त गरिदिएको थियो। जनकपुरमा महाधिवेशन चलिरहँदा पत्रिका प्रकाशित भएको थियो। मेरा केही शुभेच्छुक मित्रहरुले दुई नेताबीच पत्रिका फालाफाल भएको खबर सुनाए।

एकले अर्कोलाई ‘तपाईंले किन यस्तो भनेको’ भन्ने र पत्रिका पल्टाएर मेरो स्टोरी देखाउने गरेछन्। शुभेच्छुकका खबरले मलाई निकै आनन्दित बनायो। आफूले लेखेको समाचारलाई लिएर चर्काचर्की वा बाझाबाझ अनि छलफल हुनु मेरो सफलता नै हो। म दंगदास भएँ, दुई नेताबीच झगडा चर्काउन सफल भएकोमा। मैले लेखेको स्टोरीमा केही मलजल गरिदिएका थिए सम्पादकले। त्यसकारण पनि त्यो निकै रोचक बन्न पुगेको थियो। ती सम्पादकको सम्पादनकला तारिफयोग्य थियो। उनलाई म अहिले पनि एउटा कुशल सम्पादक मान्छु।

बीचमा केही समय त्यस्ता अरु स्टोरी पनि गरेँ मैले। राजाको निरंकुशताविरुद्ध दलहरु मोर्चा निर्माण गर्ने प्रयत्न गरिरहेका थिए। कतिपय नेता पक्राउ पर्ने र छुट्ने घटना भइरहेको थियो। सुरक्षाको अवस्था कडा पारिएको थियो। दिनप्रदिन राजाले आफ्नो पञ्जा फैलाउन खोजिरहेका थिए।

त्यही समय नेपाली कांग्रेसका केही नेता (विशेषगरी, पुराना पुस्ताका) राजाविरुद्धको आन्दोलन कांग्रेस एक्लैले गर्नुपर्ने, वामपन्थीसँग मिलेर जान नहुने जिकिर गरिरहेका थिए। त्यस्तो जिकिर गर्नेमध्ये अग्रंपक्तिमा थिइन् शैलजा आचार्य। शैजलासँग समाचारकै सिलसिलामा केही पटक कुरा गर्ने मौका पाइसकेको थिएँ। उनले मलाई नामले पनि चिन्थिन्। स्नेहले ‘राजेन भाइ’ भन्थिन्। उनको चाबहिल मित्रपार्कस्थित कोठामा म केही पटक पुगेको पनि थिएँ।

मेरो दिमागमा विषय फुरिहाल्यो। राजाविरुद्धको आन्दोलनमा कांग्रेसले वामपन्थीसँग मिल्नु हुन्छ कि हुँदैन भन्ने विषयले त्यसबखत ठूलै चर्चा पाउने मेरो अनुमान रह्यो।

एउटा पात्र त शैलजा भइहालिन्, अब अर्को पात्र कसलाई बनाउने? केहीबेरमै मेरो दिमागमा पात्रको अनुहार नाच्न थालिहाल्यो– अर्जुननरसिंह केसी। केसी ‘मिडियाफ्रेन्ड्ली’ थिए। केसीले मिलेर आन्दोलन गर्दा त्यो बलियो हुने र राजालाई झुकाउन सहज हुने व्यहोराका अभिव्यक्ति दिएको मैले पढिरहेको थिएँ। सामान्यस्तरको भए पनि उनीसँग मेरो चिनजान थियो। उनको मोबाइल नम्बर पनि डायरीमा थियो।

मैले ती दुई कांग्रेसी नेताका विचार आफ्नो आमनेसामने स्तम्भका निम्ति तयार पारेर सम्पादकलाई बुझाएँ। उनले ओँठ लेप्राउँदै भने– यो छाप्यो भने त कांग्रेसमा झगडा भइहाल्छ नि! यस्तो काम नगरौँ पराजुलीजी।’

सम्पादकको कुरा सुनेर म तीनछक परेँ। आफूलाई निकै व्यावसायिक तथा स्वतन्त्र दाबी गर्ने ती पत्रकारले आफ्नो हैसियत त्यसैबखत मेरासामु देखाइहाले। उनलाई एमालेमा झगडा पर्नुसँग कुनै चासो रहेनछ, कांग्रेसमा विवाद नगराउने ठेक्का उनैले लिएका रहेछन्!

मैले आफ्ना सामान्य तर्क राखेँ, त्यो स्टोरी छापिँदा राम्रो हुन्छ भनेँ। तर उनी मेरो कुरा सुन्ने मुडमा थिएनन्। जीवनमा पहिलो पटक आफ्नो समाचारको मृत्यु भएको त्यस दिन मलाई नमिठो लागिरह्यो। सोही दिन जागिर छाडूँजस्तो पनि लाग्यो, तर आफूले आफैलाई सम्हालेँ। मेरा अघिल्तिर कुनै विकल्प थिएनन्, कमाउने र परिवार पाल्नका निम्ति। बाध्यता मेरो कमजोरी बन्यो।

जागिर छाड्ने निर्णय गर्न नसकेको त्यस समय मलाई अलिकति स्वाभिमानको पनि मृत्यु भएको महसुस भएको थियो। त्यो अंकदेखि मैले आमनेसामने स्तम्भ लेखिनँ। सम्पादकले धेरै वटा विषय र पात्र पनि दिए, तर मैले स्टोरी गर्नै सकिनँ– जाँगरै चलेन। अन्य कामतिर लागेँ र जागिर खाने मेलो समातेँ। तर, अप्ठेरो त कतिखेर पर्‍यो भने शैलजा र केसी दुवैले मलाई फोन गरेर आफ्नो कुरा कहिले छापिन्छ भनेर सोध्दा म नाजवाफ हुन्थेँ। मलाई के भनेर दुई नेतालाई चित्त बुझाउने भन्ने समस्याले निकै लामो समयसम्म पोलिरह्यो। शैलजा विरामी भएको समय उनलाई भेट्न र कुरा गर्न जाँदा पनि मैले त्यो स्टोरी नछापिनुको रहस्य खोल्न सकिनँ। तर, मृत समाचारले मलाई लखेट्न भने छाडेको थिएन।

अहिले पनि ती सम्पादकसँग कहिलेकाहीँ भेट हुन्छ, मैले उनीबाट स्नेह र विश्वास पनि पाइरहेकै छु। म उनका पत्रकारिताबारे विचार तथा भाषण पनि सुन्छु। जुनसुकै विचार प्रस्तुत गर्दा पनि उनी व्यावसायिक पत्रकारिताका कुरा गर्छन्, नेपाली पत्रकारिताको उन्नति नभएकोमा साह्रै चिन्ता जाहेर गर्छन् र चित्त पनि दुखाउँछन्।

भारतका कतिपय पत्रकारको उदाहरण दिन्छन्। विशेषगरी पी. साइनाथको नाम लिन्छन्। नेपाली पत्रकारिताले एउटा पनि साइनाथ पाउन नसकेकोमा चित्त दुःखाउँछन्। नेपाली पत्रकारको लेखनशैली, खोजबिन, मेहनत तथा अध्ययनलाई लिएर सधैँ तिखो प्रहार गरिरहेका हुन्छन्। त्यसबखत म सम्झन्छु उनको व्यावसायिकता।

उनको विचार र कांग्रेससँगको निकटता। केही वर्षपछि उनलाई कांग्रेसले एउटा महत्वपूर्ण पदमा नियुक्ति दियो। धेरै वर्ष उनी सो पदमा विराजमान रहे। त्यसअघि पनि सामान्य राजनीतिक नियुक्ति उनले पाएएका थिए, तर त्यो पद त्यति लामो टिक्न सकेन। कांग्रेसप्रतिको उनको त्यो तहको वफादारीको पर्दाफास त्यसबेला राम्ररी हुन पुग्यो।

एउटा दैनिक पत्रिकाका एक जना अध्यक्ष तथा प्रकाशकले दुई पटकको भेटमा मलाई आफूसँग काम गर्न आह्वान गरे। त्यसबखत उक्त पत्रिकाको बजार राम्रै थियो। काम गरिरहेको स्थानमा अड्न सकस परिरहेको बेलमा अन्त प्रस्ताव आउनु मेरा निम्ति अवसर थियो। त्यसमाथि नयाँ प्रस्तावकर्ताले मलाई सम्पादकै बनाउने संकेत दिइरहेका थिए। म उफ्रिहालेँ नयाँ सञ्चारगृहमा जान।

सुरुसुरुका दिनमा नयाँ ठाउँमा काम गर्न निकै रमाइलो हुन्छ। एकप्रकारको चुनौती पनि हुन्छ भने नयाँ प्रयोग गर्न पाउँदा पेशा रोमाञ्चक पनि बन्छ। सञ्चारमाध्यमका लागि समय झनै कष्टपूर्ण हुँदै गइरहेको थियो। राजा ज्ञानेन्द्र थप महत्वाकांक्षासहित अघि बढिरहेका थिए। आफै मन्त्रिपरिषद्को अध्यक्ष बने उनी। र, वरिपरि राखे ‘स्वच्छ छवि’ उपमा दिएर गनाएका व्यक्तिहरु। उनले बदनाम माघ १९ ल्याए आफू मन्त्रिपरिषद्को अध्यक्ष बन्ने र देशको सारा बागडोर आफ्नो हातमा लिने महत्वाकांक्षामा।

पत्रिकामा सम्पादकीय प्रायः मैले नै लेख्थेँ। त्यस दिन राजाले माघ १९ को कदम चालेको एक वर्ष पुगेको थियो। साँझपख म राजदरबार, ठमेल, नयाँ सडक, दरबारमार्गलगायतका स्थानमा मोटरसाइकलमा घुम्न निस्केँ। मलाई हेर्न मन थियो– राजाको कदमलाई समर्थन गर्दै जनताले दीपावली मनाउँछन् कि मनाउँदैनन्? जाडोको महिना, साँझ ७ बजे नै झमक्क भइसकेको थियो।

म सहरका कुनाकुनामा पुगेँ। तर, माघ १९ को कदमो वर्ष दिन पुगेको उपलक्षमा कतै पनि स्वागत गरिएको पाइनँ। अफिस फर्केर त्यही विषयमा सम्पादकीय लेख्न बसेँ। राजाको माघ १९ को कदम यदि सही र जनमुखी थियो भने आज वर्ष दिनमा सर्वत्र दीपावली गरिन्थ्यो, तर अवस्था त्यस्तो देखिएन। सहर सम्साँझै अन्धकार छ भन्ने व्यहोराको सम्पादकीय लेखेर म घर फर्किएँ। अलि काव्यिक पनि भएको थियो उक्त सम्पादकीय।

राति ९ बजे मेरो मोबाइलमा सम्पादकको नम्बर देखापर्‍यो। उनले भने, ‘यस्तो सम्पादकीयले त हाम्रो पत्रिकाको साख सबै गुम्छ। आर्थिक स्रोत समाप्त हुन्छ। अहिले नै राजाको मूल्यांकन गर्ने बेला भएको छैन। तपाईंले कस्तो कुरा नबुझेको? ल तपाईं अहिल्यै अफिस आउनुुस् र अरु कुनै विषयमा सम्पादकीय लेख्नुस्।’

अघिपछि मृदुभाषा प्रयोग गर्ने सम्पादक त्यस दिन अलि कटुवचन बोलिरहेका थिए। उनको कुरा सुनेर म के जवाफ दिने भन्नेमै अलमलमा परेँ। दु्रतसंवाद जहिले पनि मेरा निम्ति कष्टकर बन्छ। त्यसबेला पनि त्यस्तै भयो। के भन्ने? कसरी भन्ने? कस्तो तर्क दिने? बडो संकटपूर्ण अवस्था उत्पन्न भयो। भित्री मनले भन्यो– अफिस आउन गाह्रो छ भन्ने र पन्छिने। ‘सर मैले त आवश्यक विषयमै सम्पादकीय लेखेको जस्तो लाग्छ, अरुले पनि त्यही विषयमा लेख्ने सम्भावना छ। तपाईंलाई त्यो मन परेन भने अरु कसैलाई लेख्न लगाउनुस् न! यतिखेर त म किन अफिस आउनु?’ उनले तत्कालै ‘हुन्छ म अरु कुनै साथीलाई लेख्न लगाउँछु’ भने।

काम त अरुलाई पन्छाइयो, तर मनभित्रको उकुसमुकस भने बढ्दै थियो। राति राम्ररी निद्रा पनि परेन। भोलिपल्ट के विषयमा सम्पादकीय आउने हो भन्ने उत्सुकताका साथै चिन्ता पनि बढ्यो। पत्रकारितामै रहेका कतिपय साथीलाई त्यस पत्रिकामा सम्पादकीय मैले लेख्छु भन्ने थाहा थियो। प्रायः भेटमा सम्पादकीयलगायत अन्य विषयमा कुराकानी पनि हुन्थ्यो।

बिहान ७ बजेतिर मेरो घरको आँगनमा पत्रिका आयो। मैले अन्त कतै नहेरी सम्पादकीय पृष्ठ पल्टाएँ। मैले लेखिएको सम्पादकीय हटेको थियो र पर्वे सम्पादकीय छापिएको थियो। त्यस दिन सरस्वती पूजा परेको थियो। सरस्वती पूजाका दिन साना बच्चालाई अक्षर चिनाउन आरम्भ गर्ने परम्परा हिन्दु संस्कारमा अझै पनि छ। यही परम्पराका विषयमा सम्पादकीय आएको थियो। देश गलत दिशामा हिँडिरहेको थियो।

निरंकुशता बलशाली बन्दै थियो, जनता आफ्नै देशमा नजरबन्दको अनुभूति गरिरहेका थिए। तर, म आफू काम गर्ने पत्रिकाको सम्पादकीय भने सरस्वती पूजाको महिमा गाइरहेको थियो। नराम्रो झट्का लाग्यो त्यस दिन पनि मलाई आफूले रोजेको पेशाबाट। मैले त्यस दिनको सम्पादकीय दुई–तीन पटक पढेँ र मज्जाले हाँसे।

अघिल्लो साँझ आफूले लेखेको सम्पादकीयको प्रिन्ट मैले घर ल्याएको थिएँ। एक पटक त्यो निकालेर हेरेँ। त्यो मृत सम्पादकीयको खुब माया लागेर आयो।

मृत सम्पादकीयको ह्याङ बोकेर जागिर पकाइरहेको म पत्रकार ५ वर्षपछि त्यस सञ्चारगृहबाट बाहिरिएँ। त्यसबेला देशमा राजाले हारिसकेका थिए। मुलुकले संविधानसभाबाट नयाँ संविधान बनाउने बाटो पक्रिसकेको थियो। गणतान्त्रिक लोकतन्त्रलाई जनताले चुनिसकेका थिए। राजालाई सदाका निम्ति बिदा दिने अवस्था बलियो बनिसकेको थियो। परिवर्तन, नयाँ संविधान तथा संविधानसभाको औचित्य र महत्वबारे थुप्रै सम्पादकीय र लेख लेखेँ।

तर, त्यसमा मेरो आत्माको आवाज मिसिएको थिएन। म करबलले अर्थात् जागिर पकाउने ढंगमा सबथोक लेखिरहेको थिएँ। सम्पादक भने ‘लोकतन्त्र मजबुत पार्न तपाईंले कलात्मक शैलीमा सम्पादकीय र लेख लेख्नुपर्‍यो है’ भनिरहन्थे। बरु त्यस समय मैले नेपाली साहित्यबारे केही क्रिटिकल लेख लेख्न थालेँ। मन नलागीनलागी काम गरिरहनु हुन्न भन्ने मलाई राम्रै थाहा थियो। म जतिसक्यो चाँडो उक्त सञ्चारगृहबाट मुक्त हुन चाहन्थेँ। सम्पादकसँग आफ्नो र सहकर्मीहरुको तलबका बारेमा केहीबेर वादविवाद भएपछि मैले एउटा निहुँ पनि पाएँ।

जागिर छाडेर बाहिरिँदा मेरो हातमा कुनै काम थिएन। मास्टरी गर्न छाडिसकेको थिएँ। शरीरले पनि शिक्षण पेशा हानिकारक ठहर्‍याइसकेको थियो। बच्चाहरु विद्यालयस्तरको शिक्षा सकेर कलेज जान थालिसकेका थिए। तिनको महँगो मासिक शुल्क, दैनिक खर्च, घरव्यवहार, आफ्नै खर्चालु आदत यी सबै धान्ने मसँग कुनै आधार थिएन।

म बिनाआधार जागिर छाडेर निस्किएको थिएँ। जागिर छाड्ने समयमा सम्पादकले ‘अब कहाँ जानु हुन्छ? कहीँ नटिक्ने तपाईंको बानीले तपाईंलाई कहीँ पनि पुर्‍याउँदैन। यो तपाईंको केटाकेटी बानी हो। तपाईं यसलाई स्वाभिमान भन्नु हुन्छ क्यार, म त यसलाई घमण्ड भन्छु। सुधार्नुस् आफ्नो बानी। मैले के नै भन्या छु र जागिरै छाड्नुपर्‍यो!’

समग्रमा उनी मैले जागिर नछाडोस् नै भन्ने चाहन्थे, तर मलाई भने त्यस सञ्चारगृहमा एक मिनेट पनि बस्ने इच्छा थिएन। त्यहाँ थप समय काम गर्नु भनेको आफूलाई ‘डिप्रेसन’ को सिकार बनाउनु हो भन्ने लाग्थ्यो। म सम्पादकलाई ‘धन्यवाद’ भन्दै त्यहाँबाट निस्किएँ।

केही महिना हल्लिएँ म धक फुकाएर। खल्तीमा भएका पैसा रित्याएँ। कहिले पोखरा त कहिले इलाम, धरान, धनकुटा पुगेँ। आफूलाई प्रकृतिको सान्निध्यमा राख्न पाउँदा अघोर आनन्द लुटेँ। धेरै समयअघि किनेका थुप्रै राम्रा पुस्तक पढ्न भ्याएको थिइनँ, अखबारी पत्रकारिताको व्यस्तताका कारण। तीमध्ये कतिपय पुस्तक पढेर भ्याएँ। केही कथा, साहित्यिक लेख, समीक्षा पनि लेखेँ। पुनः एक पटक नेपाली साहित्यमा दह्रो हाजिरी जनाएँ। थुप्रै पत्रपत्रिकामा लेखरचना छापिए।

जिन्दगी त्यसरी चलाउन मुश्किल थियो। नियमित आम्दानीबिना राजधानीमा जीवन बिताउन र परिवार चलाउन कठिन थियो। म त्यसबखत दुई–तीन वटा पुस्तक च्यापेर पोखरा पुगेको थिएँ। एकजना शुभचिन्तक पत्रकार मित्रले फोन गरेर भने, ‘जागिर खाने हो?’ मलाई लाग्यो ती मित्र मलाई जिस्काउँदैछन्। मेरो बेरोजगारीमा व्यंग्य कस्दैछन्। ‘कसले दिन्छ र मजस्तो घमण्डी मान्छेलाई जागिर?’ मैले पनि व्यंग्यकै शैलीमा उनलाई प्रतिप्रश्न गरेँ।

मलाई काम चाहिएको थियो, केही कमाउनु अनिवार्य थियो। नियमित आम्दानी नहुँदा त्यसबेलासम्म मैले निजी खर्चकै लागि लाख रुपैयाँजति ऋण लिइसकेको थिएँ। मित्रले मलाई जिस्क्याएको होइन रहेछ। म दैनिकउन्मुख साप्ताहिक पत्रिकामा काम गर्न थालेँ। अघिल्लो सञ्चारगृहमा मैले पाउने तलबभन्दा केही कम तोएिको थियो मासिक तलब त्यस नयाँ सञ्चारगृहमा। उक्त पत्रिका चाँडै नै दैनिक बन्दै थियो, त्यही कारण मैले जागिर पाएको थिएँ।

करिब ६ महिनामा पुनः सुरु भयो मेरो पत्रकार जीवन। म पुनः व्यस्त हुन थालेँ। पुनः मन परेका पुस्तकलाई र्‍याकमा थन्काउन थालेँ।

केही महिनापछि पत्रिका दैनिक भयो। सुरुवाती दिन बडो उत्साहप्रद रह्यो। समाचारको जिम्मा मेरो काँधमा थियो। म पहिलो र तेस्रो पृष्ठको जिम्मेवारीमा थिएँ। ती दुवै पृष्ठ समाचारका थिए। र, सम्पादकको जिम्मेवारीमा थिए उनै मलाई बोलाएर जागिर दिने मित्र।

चितवनमा एउटा नामी जुस उद्योगले आफ्नो उत्पादनमा हेलचेक्राइँ गर्दै मिति नाघेको मात्र होइन जुसमा लेउ र झ्याउसमेत रहेको बजारमा भेटिएको समाचार भाइरल भएको थियो त्यस दिन। मैले सम्पादकसँग यसबारे सल्लाह गरेँ र चितवन संवाददातालाई लगाएर समाचार तयार पार्न लगाएँ। यता आफूले पनि जुसका इन्ग्रेडियन्ट्स, मिति नाघेका त्यस्ता वस्तु खाँदा मानवस्वास्थ्यमा पर्ने असरलगायतका विषयमा विशेषज्ञहरुसित कुरा गरेँ।

त्यो समाचारको स्थलगत सूचना संवाददाताले लेखको भए पनि त्यसलाई मजबुत पार्ने काम भने मैले गरेको थिएँ। समाचारमा तीनचौथाइ योगदान मेरो रहेको थियो। दह्रो र परिपूर्ण समाचार तयार भयो। मैले उक्त समाचारलाई पहिलो पृष्ठमा बक्स बनाएर छाप्ने निधो गरेको थिएँ।

सम्पादकले त्यसलाई तेस्रो पृष्ठको दायाँपट्टि राख्न निर्देशन दिए र बाइलाइन नराख्न पनि भने। सम्पादकको निर्देशन नमान्नु भनेको मैले त्यस जागिरबाट पनि हात धुनु थियो। त्यसो गर्न म चाहँदैनथेँ। मैले उनको निर्देशनमुताविक त्यो समाचारलाई तेस्रो पृष्ठमा आकर्षक लेआउटमा प्रस्तुत गरेँ।

काम सकेर घर फर्कनै आँट्दा रातको १० जति बजेको थियो। सम्पादकले मलाई कोठामा बोलाएर उक्त समाचार आज नहाल्ने बरु भोलि थप कुरा बुझेर मात्र छाप्दा राम्रो होला भने। सम्पादकको कुरा सुनेर म तीनछक परेँ। सुरुमा उनैले तयार पार्न लगाएका थिए त्यो समाचार।

मैले दाबीका साथ भनेँ, ‘यो समाचारमा जेजति कुरा परेका छन्, त्योभन्दा परिपूर्ण समाचार अर्को हुनै सक्दैन। भोलिका अन्य अखबारमा यो समाचार पक्कै पनि आउला। हाम्रो भन्दा स्तरीय र सबै कुरा मिलेको अर्कोमा आयो भने म जवाफदेही हुन्छु। यसलाई यत्तिकै छापूँ।’ सम्पादक केही बोलेनन्। उनको अनुहारमा समाचारप्रति नकारात्मक भाव रहेको बुझ्न मलाई गाह्रो परेन। तर, उनी किन यो समाचारलाई हटाउन चाहन्छन् भन्ने बुझ्नचाहिँ मैले सकेको थिइनँ।

बिहान साढे ६ बजेतिर पत्रिका घरमा आइपुग्यो। आँगनमा खत्रक्क आवाज आउँदासाथ म हत्तपत्त उठेर पत्रिका पल्टाउन थालेँ। मेरा आँखा अघिल्लो दिन समाचार राखिएको ठाउँमा सोही जुसको विज्ञापन आएको देख्दा एकछिन तिरिमिरी भए। तीन–बीस अर्थात् ६० सीसीको रंगीन विज्ञापन थियो, तेस्रो पृष्ठको दायाँपट्टि। विज्ञापनले मलाई नराम्ररी गिज्याइरहेको थियो। त्यसले भनिरहेको थियो– तँजस्ता छुसी पत्रकारले मेराबारेमा नकारात्मक समाचार लेख्ने?

त्यस दिन अफिस जान मन लागेन। गर्दिनँ अब यो पत्रकारिता–सत्रकारिता भन्ने सोच बलियो भएर आयो। खल्तीमा रहेको वालेट झिकेँ, त्यहाँ हल्का सवारीचालकको लाइसेन्स थियो। निकालेर हेरेँ, ट्याक्सी किनेर चलाउनुपर्‍यो कि क्या हो! मनमा यस्तो विचार पनि धेरै बेर आयो। चिनजानका जना ट्याक्सीचालकसँग सल्लाह पनि गरेँ। तर, तिनले मलाई यो काममा नलाग्न सुझाव दिए।

मध्याह्नको २ बजेको थियो। मोबाइलमा सम्पादकको नम्बर देखा पर्‍यो। उठाएँ, उनले भने, ‘तपाईं सिंगापुर जाने हो? अफिस आउनुस् पासपोर्टको फोटोकपी चाहियो। किन ढिला गर्‍या आज अफिस आउन? आज साँझ तपाईं र म सोल्टीको पार्टी पनि अटेन्ड गर्नुछ। आइहाल्नुस्।’

३ बजेतिर अफिस पुगेँ। पासपोर्टको फोटाकपी सम्पादकको टेबुलमा राखिदिँदै भनेँ, ‘मलाई एकदम टाउको दुख्या छ, म आज काम गर्न सक्दिनँ। पार्टी पनि जान्न, तपाईं जानुस्।’ म यत्ति भनेर उनको कोठाबाट बाहिर निस्कन के आँटेको थिएँ उनले रोक्दै भने, ‘हेर्नोस् मित्र अब हामीले जागिर खाने त हो, साहुले भनेको मान्नै पर्‍यो। पत्रिका चलाउन उसलाई पनि गाह्रै छ। यतिविधि प्रतिस्पर्धा छ, बजारमा कसरी टिक्ने भन्ने समस्या छ।’ उनले भारतमा पनि इन्डियन एक्सप्रेसदेखि अधिकांश पत्रिकामा विज्ञापन र समाचारबीच द्वन्द्व भए पनि विज्ञापनले नै जित्ने गरको उदाहरण दिए। आखिर पत्रिका बाँच्नु पनि त पर्‍यो भन्ने उनको तर्क व्यावहारिक नै भए पनि मलाई पचिरहेको थिएन।

म निरुत्तर उनको कोठाबाट निस्केँ र मन परेको रेस्टुराँमा छिरेँ। घाँटीबाट पहिलो चुस्की ह्विस्की प्रवेश गरिरहँदा त्यस दिनका थुप्रै पत्रिका मेरो मानसपटलमा घुमिरहेका थिए। अधिकांश पत्रिकामा सोही जुसको विज्ञापन छापिएको थियो। जुन पत्रिकामा उक्त जुसको विज्ञापन थिएन, त्यसमा चाहिँ जुस कम्पनी र त्यसका बेइमानीबारे समाचार थिए।

जुसका उपभोक्ता पैसा तिरेर पनि खराब पदार्थ पिउन बाध्य थिए भने विचरा समाचारका उपभोक्ताचाहिँ रनभुल्लमा थिए। उपभोक्ता हितका नाममा खुलेका संघ–संगठन–मन्च तथा अधिकारकर्मीहरु कतै कुनै झोल पदार्थ पिएर मस्त निदाइरहेका थिए। मलाई भने त्यस दिनको एक क्वार्टर ह्विस्कीले बिलकुलै असर गरिरहेको थिएन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.