‘प्रेमबिवाह हिन्दी फिल्मको कथा जस्तो लाग्थ्यो’


साढे तीन दशक अघिको फल्यासव्याकमा पुग्दा मन फरुंग भो। शरिरभरी हावा दौडिएजस्तो अनुभव भयो। बाको हात समातेर बजारमा खाएको मटरको तरकारी। पसल अगाडि पुग्दा आउने वास्ना। अनि मिठापानको स्वाद सम्झदा अहिले पनि मुख पानी पानी हुन्छ। वजारमा सबैले चिन्ने बच्ची थिए म। मान्छेको उमेर ढले नी मान्छे जहा पुगेपनि त्यही वालापनको स्वाद र झल्को मिठो लाग्ने। उमेर वितेको त पत्तै नपाइने रैछ। उमेर ढल्दै जाने। मन कहिल्यै ढल्न नमान्ने।

छोरीले पढ्नु पर्छ भन्ने मान्यता स्थापित नभएको बेला तराई गाउँका जन्मेकी छोरी म। सावाँ अक्षर चिनेका बाबु आमा। एक त छोरी त्यसमाथी घण्टौँ टाढाको स्कलु। तै पनि बाआमाले पढाउनु भयो। छोरीलाई घण्टौँ टाढा पठाएर पढाउनु कुरालाइ मैले कत्तिचोटी लापरवाहि गरे। स्कलु जान मानिन। ‘बुढी कति गनगन गर्न सक्ने।’ भन्दै कतिचोटी आमाको गुनासो गर्दै हिडे।

आमाले भन्नु हुन्थ्यो ‘भोली त पनि आमा होलीस। सासु होलीस। बल्ल बुझ्लीस।’ मनमनै लाग्थ्यो त्यो बुझ्ने समय कहिल्यै नआओस। समय मेरो वसमा किन हुन्थ्यो र! बाआमाको वलले स्कुल सकाए। क्याम्पस जाने बेला थियो। त्यो प्रेम गरेर विवाह गर्नु हिन्दी फिल्मको कथा जस्तो थियो। त्यसै ‘लभ’ त्यो बेला महत्वको बिषय भएन।

उमेर बढेपछि घरमा बिवाहको कुरा चल्यो। मागि बिवाहको चलन थियो। जिवनमा कहिल्यै नदेखेको मान्छेसँग जानु पर्ने जिवनको नियमित परिवर्तन आइलाग्यो। मान्छेको नियन्त्रणमा समय कहिलो पो हुन्छ र। हामी मान्छेपो समयका दास हौँ।

बिवाह भयो।

वैवाहिक जीवन शुरुवाती दिन कौतुहता मिश्रित विचित्रको हुदो रहेछ। नयाँ परिवारभित्र सव कुरा नयाँ र अनौठो लाग्ने। भाउजु, माइजु, जस्ता सम्बोधनले आफु फरक भुमिकामा आइपुगेको महशुष गराइरहने। अझ आफू परिपक्व भएको आभास हुने। कत्ति चाँडै स्कुल जाने उमेर सकिएर आइमाइ बनिसकेको भन्ने सम्झ्यो भने मन खिन्न हुने।

बुहारीबाट फेरी आमा हुने चरणमा पुगे। महिलाहरुले एउटै जुनीमा कति धेरै भुमिका निभाउनु पर्ने। गर्भावस्थाको समय कसैले थाहा पाउछ कि भनेर कम्ता लाज नलाग्ने। मान्छेको चक्र यस्तै हो भन्ने थाहाँ हुदाहुँदै पनि अनेक कुरा मनमा आइरहने।

प्रसव वेदना अनि त्यसपछि आमा बन्दाको अनुभूति। पहिलापटक स्तनपान गराउदा लाग्ने काउकुती। सन्तानको विकसित रुपले दिने आत्मसन्तुष्टि यस्ता परिवर्तनहरु महिलाहरुले महिनै पिच्छे अनुभाव गर्न पाँउछन। हरेक दिन नयाँ भूमिका। जीवनमा आइपर्ने फरक फरक प्रश्नहरुलाइ छिचोल्नु पर्ने। वदलिइरहने हामी नारीको  भूमिकाले हामीलाई मज्जाले माझ्दो रहेछ। जिम्मेवार र परिपक्व बनाउदो रहेछ।

शायद यसैलाइ समय भन्छन।

तराइमा हुर्के। बिहा पहाडमा भयो। धेरै समय वसिन। वर्षको एकपटक दशैमा जान्थ्यौं। पहाडबारे जानेकै विहे भएपछि हो। सानो बच्चा काखमा लिएर खचाखच भरिएको वसको भीड अनि उकालो बाटो। त्यो सम्झदा अहिले पनि साँस भरिएर आउँछ।

विहान सबै उठेर बुहारीले पानी लिन जानु पर्ने। पधेरामा नौलो मान्छेप्रतिको उत्सुकता लाग्ने। फरक र अनौठा अनुभवहरु महिलाहरुले बाहेक सायद करुकसैले गर्न सक्छन। एकदिन सासुले ‘वाहिर गोवर र माटोले आँगन लिप’ भन्नु भो। जीवनमा कहिल्यै नगरेको काम। एकछिन स्तब्ध। कसरी गर्ने सासु? आमाले जस्तै सिकाउनु भयो। लिप्न सिके। लिँपे। जिवनका सबै अनुभवहरु सिकाइ त हुन।

घर्किएको समय सम्झ्यो भने छोरीका लागी सबैभन्दा सुनौला दिन सानो हुँदाका रहेछन। न धेरै सिक्ने टन्टा न फरक भुमिकामा आफुलाइ राख्नुपर्ने चुनौती।

‘छोरी अब त तिमि पनि सासु हुने भयौ।’ स्काइपमा बाले यसो भने पछि झल्यास्स भए। फेरी अर्को भुमिका। ‘म सासु बन्ने दिन आइसक्यो!’ छोरी, आमा, बुहारी हुँदै सासु सम्मको भूमिका सम्झ्यो भने समयले नेटो काटेको अनुभव त गराउँछ तै पनि मनले नमान्ने। ‘साँच्चै समय कत्ति छिट्टो दौडिन सकेको।’

अब म सासु बने। टाढाका कहिल्यै नदेखेका नचिनेका मान्छेहरुसँग सम्वन्ध बिस्तार हुने भो। त्यो सम्वन्धलाइ मिठो बनाउन फेरी अर्को भुमिकामा म तैनाथ हुन पर्यो। आम सासु र बुहारीबीचका व्यहवारले नै सम्वन्ध कस्तो हुने भन्ने देखाउने हो। सासु बुहारी र आमाको सम्वन्ध राम्रो हुन सकेन भने हामी बिचलित हुने हौ। अनि हामी त्यो बेला महिला अधिकारका ठूला गफ गर्न बाहिर निस्कन पर्ने हो। यी तिन सम्वन्ध स्वच्छ राख्न सक्यो भने कोहि महिलाले महिलाको अधिकार खोज्न धाइरहन पर्दैन भन्ने मेरो मान्यता।

छोरी होस् वा छोरा,  बुहारी हुन् वा सासु–ससुरा सत्यका पक्षमा सबैले पालना गर्नुपर्छ।  परिवार सन्तुलनमा चलेको संस्था हो। एक अर्कोप्रतिको विश्वासको आधार अनि, पारदर्शिताको परीक्षामा खरो उत्रिनु पर्ने सामाजिक संम्बन्धबीचको ओत लाग्ने छानो हो। त्यसैले जन्म घर होस् या कर्म परिवारका सदस्यबीच आपसी, सहयोग, आदर, सद्भाव एवं माया बाड्न सकिए सासु आमा र बुहारी छोरी हुन सक्छन्।

म जसरी सासुको घरमा छोरी बन्न सकेँ त्यसैगरी मेरो नयाँ भूमिकालाइ निभाउन सकु।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.