नेयमार जस्तै नेपाली खेलाडी ‘क्लब ट्रान्सफर’ हुने कहिले होला?


खेलकुद यस्तो चिज हो जसले एकआपसमा लडिरहेका मानिसलाई पनि एकै ठाउँमा ल्याउन सक्छ। उदाहरणका लागि, केही समय पहिले गृहयुद्धमा रुमलिइरहेको आइभरी कोष्टमा त्यहाँका महान् फुटबल खेलाडी डिडियर ड्रोग्बाले गरेको अनुरोधमा त्यहाँ फुटबल खेलका लागि एक दिन मात्र भए पनि गृहयुद्ध रोकिएको थियो। विश्वमा अरबौँ मानिसहरु छन्, जसले फुटबल, क्रिकेट लगायतका खेलबाट मनोरञ्जन लुटिरहेका छन् र हजारौँ खेलाडीहरुले अरबौँ डलर कमाइरहेका छन्।

विश्वमा खेलप्रेमीहरुका लागि बडो मजाको खुराक बनिरहेको छ ब्राजिलियन फुटबल खेलाडी नेयमारको क्लब ‘ट्रान्सफर’। उनी पिएसजी जान हुन्थ्यो या बार्सिलोनामा नै बसेको भए हुन्थ्यो या इङलिस प्रिमियर लिगको क्लबमा गएको भए राम्रो हुने थियो भनेर अनेक कोणबाट बहस चलिरहेका छन्। बार्सिलोनमा रहँदा सधैं मेस्सीको छायाँमा परेका नेयमारको क्लब परिवर्तन खासै आश्चर्यजनक छैन। एउटै जंगलमा दुईवटा सिंह राजा भएर सधैंभर बस्ने अवस्था पक्कै पनि थिएन। कि मेस्सीले छोड्नुपर्ने थियो कि नेयमारले। मेस्सीले बार्सिलोनासँग नयाँ सम्झौता गरपछि नै अन्य क्लब जान नेयमारको लागि बाटो खुला भएको अनुमान गरिएको थियो। हुन पनि विश्व कीर्तिमान रकम २ सय २२ मिलियन युरोमा नेयमार बार्सिलोनाबाट पीएसजी लागेका छन्। अब उनले हप्ताको ८ लाख ६५ हजार युरो पारिश्रमिक वापत बुझ्नेछन्। उनको सम्पूर्ण ट्रान्सफर प्रक्रिया पूरा भइसकेको छ। यतिबेला बार्सिलोनाका फ्यानहरु रिसाउँदै छन् भने रियल म्याड्रिडका फ्यानहरु केही राहतको सास फेरिरहेका छन्। रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले भनिसकेका छन्– नेयमार बार्सिलोनामा नहुँदा हामीलाई केही भए पनि सहज हुनेछ।

नेयमार ब्राजिलका अहिलेको समयका मुख्य हतियार हुन्, फुटबलमा। विपक्षी टिमका लागि जतिबेला पनि धावा बोल्न सक्ने र जस्तो सुकै सयममा पनि गोल गर्न माहिर खेलाडी हुन् भनेर आफूलाई प्रमाणित गरिसकेका छन्।

अरु देशको फुटबल लिग हेरेर रमाउँदै पक्ष र विपक्षमा तर्कबाजी गर्दै बसिरहेका हामी लाखौं नेपालीहरुलाई छाती फुलाउँदै नेपाली फुटबल र क्लबको समर्थन गर्न पाउने दिन के साँच्चै अब सपना नै हुने अवस्था आएको हो त? नेपालको फलानो क्लबले अन्जन विष्टलाई यति करोडमा किन्यो रे, बिमल घर्तीमगरलाई यतिमा किन्यो रे, अनन्त थापा, नवयुग श्रेष्ठ, भरत खवास जस्ता खेलाडीलाई करोडौं डलरमा किन्न विदेशी क्लबहरुले प्रतिस्पर्धा गरिरहेका छन् भनेर साँच्चै हामीले सुन्न नपाउने हो? यो केबल सपना मात्रै हुने नै हो त?

नेपाली फुटबल साँच्चै नै यस्तो दयनीय अवस्थामा छ कि, न यहाँभन्दा माथि जान सक्ने न यहाँभन्दा तल जान सक्ने घिटीघिटी भएर बसिरहेको अवस्थामा छ। नेपाली फुटबलको संरचना यति कमजोर छ कि भत्काउन कुनै लात्ती हान्नु पर्दैन, फुकिदिए मात्रै पनि ढल्छ। सन् १९९० को दशकतिर उत्कृष्ट लयमा रहेको नेपालको फुटबल अहिले ओरालो लागेर अब यहाँभन्दा तल झर्न नमिल्ने ठाउँमा आइपुगेर बसिरहेको छ।
९/९ महिनामा फेरिने विश्वकै नमुना सरकार नेपालमा नै छ। देशको सारा खेलकुदलाई हाँक्ने मन्त्रालय युवा तथा खेलकुद मन्त्रालय यति सस्तो बनेको छ कि, यो मन्त्रालय कसैले लिनै मान्दैनन्। मानौ, यो कुनै डस्टबिनमा फालिएको फोहोर वस्तु हो। यस्ता मान्छे मन्त्री भएर आउँछन् कि जसलाई फुटबल के हो? क्रिकेट के हो? भन्ने थाहै हुन्न। उसलाई थाहा हुन्छ, पार्टीभित्रको गुटको खेल, राजनीतिको फोहोरी खेल।

नेपालमा एउटा अजिबको फुटबल संगठन छ, एन्फा। जसले फुटबलमा विकास गर्नेतर्फ भन्दा बेइज्जत बढाउने काम मात्र गर्छ। एक वर्ष फुटबलको लिग भयो भने ५ वर्ष हुँदैन। केबल विभिन्न राजनीतिक दलका कार्यकर्ताको झगडा गरेर गाइजात्रा देखाउने टुँडिखेल बनेको छ, एन्फा। निर्वाचन गर्न बर्षौ लाग्छ। ध्यान केबल कसरी अध्यक्षलगायतका पदाधिकारी बन्ने र विदेशमा कसरी घुम्न जाने छ। लिग सञ्चालन कसरी गर्ने, धेरै भन्दा धेरै खेलाडीलाई कसरी सहभागी गराउने भन्ने तर्फ सोच्ने फुर्सद हुँदैन। कुनै विदेशी प्रतियोगिता जस्तैः ओलम्पिक, एसियन गेम्स, सागजस्ता प्रतियोगितामा खेलाडीभन्दा झण्डै दोब्बर पदाधिकारीहरु जान्छन्, घुम्नलाई। बरु खेलाडीको भिषा नआउला तर तिनीहरुको सबै प्रक्रिया चाँडै पूरा हुन्छ।

लापारवाहीको नमुनाको एउटा उदाहरण हेरौँ, केही समय पहिले एएफसी प्रेसिडेन्ट कपको लागि छनौट चरण पार गरेको थ्री स्टार क्लबले उक्त प्रतियोगिताको दोस्रो चरण खेल्न नै पाएन। कारण एउटै छ, एन्फाले पठाउनुपर्ने एउटा पत्र नपठाइदिनाले। यहाँ भन्दा लाजमर्दो अवस्था सायद अरु केही हुन सक्छ? तैपनि, पदाधिकारीहरु टाउको उठाएर हिँडिरहेका छन्। के तिनीहरुलाई कुनै नैतिकताले छुँदैन? रगत र पसिना बगाएर खेलेका खेलाडी र करोडौँ लगानी गरेको थ्री स्टार क्लबलाई अरबौँ रुपियाँ दिए पनि त्यसले क्षतिपुर्ति हुन सक्दैन।

केही पुर्वाधारको कुरा गरौँ। नेपालमा एउटा मात्र अन्तर्राष्ट्रिय रंगशाला छ, जहाँ लगभग ३० हजार दर्शक अट्न सक्छन्। अहिले यसको अवस्था कवाडी सामाग्री थन्क्याएर राख्ने ठाउँ जस्तो बनेको छ भुकम्पका कारण। तर न त्यो रंगशालाको मर्मत भएको छ, न नयाँ रंगशाला निर्माण भएको छ। नेपालमा भएका सार्वजनिक संस्थान केबल कौडीको भरमा बेचेर सक्नेले अब त्यो रंगशाला कोही व्यक्तिलाई घडेरी बनाउन बेचे भने अचम्म नमाने हुन्छ।

खेलाडीले खाने डाइटको कुरा छाडौँ, गुल्कोज छैन। लगाउने जुत्ता नपाएर खालि खुट्टा ट्रयाकमा दौडिरहेका छन्। घाइते भएर सहयोगको याचना गरिरहेका छन्। तर पदाधिकारी तथा मन्त्रीहरुलाई यस्तो कुराले कहिल्यै पनि छुँदैन। लाग्छ, उनीहरु निर्जीव वस्तु हुन्।

जब नेपाली खेलाडीले अन्य देशसँग प्रतिस्पर्धा गर्छन्, होम ग्राउण्ड म्याच हुँदा पनि हामी प्रत्यक्ष हेर्न पाउँदैनौ। टिभी हेरेर बस्नु पर्छ। खेल हेर्नको लागि बरु ३ हजारको टिकट बनाउ तर हामीलाई प्रत्यक्ष खेल हेर्न मिल्ने रंगशाला बनाइदेउ सरकार।

केही वर्ष पहिले खेलाडीको नाममा यो देशका कलंकहरुलाई म्याच फिक्सिङ गरेको आरोपमा प्रहरीले समात्यो र मुद्दा दायर गर्‍यो। अझै त्यसको फैसला हुन सकेको छैन। अर्कोतर्फ, त्यतिबेला किन खेलाडी मात्र पक्राउ परे? तिनीहरुलाई थाहा पाएर पनि जोगाउने एन्फाका पदाधिकारीहरु कहाँ छन्? के त्यस्तो काम तिनीहरुको सहयोग बिना खेलाडीले मात्र गर्न सक्छन्? सम्भव छ एक्लै गर्न? राजनीतिक पहुँचका आधारमा तिनीहरुलाई कारबाही हुन नसकेको हो?

अब के गर्ने त?

अब स्पष्ट भिजन बनाएर काम गर्न शुरु गरौं। विगतमा पनि यस्ता भिजन नबनेका त होइनन्, ती केबल पैसा खाने भाँडा बने। मलाई त यस्तो लाग्छ, सायद प्रधानमन्त्रीले भन्दा युवा तथा खेलकुद मन्त्रीले नै बढी काम गरी देशलाई योगदान गर्न सक्छन्। म चाहन्छु, खेलकुद मन्त्रीले सारा खेलकुदको विकासको नेतृत्व गरुन्। मन्त्रालयमा खेलकुद बुझेका कर्मचारी मात्रै राखुन्। एउटा शक्तिशाली फुटबलको संगठन बनाउन्, जसको शाखा ७५ वटै जिल्लामा होस्। हरेक वर्ष लिग सञ्चालन होस्, खेलाडीहरु खाली बस्न नपरोस्। विदेशी लिग झैं महिनौ लामो लिग चलोस्। खेलकुदका लागि पर्याप्त बजेट छुट्टियोस्।

सरकारले धेरैभन्दा धेरै अन्तर्राष्ट्रिय रंगशालाहरु बनाओस्। क्लबलाई पनि सशक्त बनाओस्। आफ्नै ग्राउण्डमा फुटबल खेल्ने अवस्था आओस्। अहिले ५० हजार मासिक तलब लिएर खेल्ने खेलाडीलाई पाँच करोड तलब दिने अवस्था आओास जसले गर्दा खेलाडीलाई अन्य कुनै कुराको चिन्ता नहोस केबल २४ सै घण्टा ध्यान खेलकुदमा पुगोस्।

दुई वर्षअघिसम्म फुटबल ¥याङिकनमा नेपालभन्दा पछाडि रहेको भारत अहिले रकेटको गतिमा अगाडि बढिरहेको छ। यही गतिमा भारतको फुटबल लगानी र विकास भयो भने भारतले एसिया कप र विश्वकप खेल्न धेरै समय कुनुपर्दैैन। हामी केबल टुलुटुलु हेरिरहेका छौँ। इण्डियन लिगमा विश्वका हस्ती खेलाडीहरु खेलेको म्याच हेरेर थकथक मानेर बसेका छौँ।

हामीलाई कस्तो प्रशिक्षक चाहिन्छ खोजर ल्याऔँ, त्यसका लागि जति खर्च गर्नुपर्छ गरौँ तर अब पनि लगानी गर्न खुट्टा नकमाऔं। पूर्वाधार बिना खेलकुद विकास गर्न सकिँदैन। त्यसैले यसमा निजी क्षेत्रलाई पनि आकर्षित गरौँ। स्कूल लेभलदेखी नै फुटबलको अनेक प्रतियोगिता सुरु गरौँ। विभिन्न उमेर समूहका प्रतियोगिताहरु सञ्चालन गरौँ। राष्ट्रिय टिमको खेलाडीको लागि कुनै नकआउट प्रतियोगितमा एक खेल खेलेको खेलाडीलाई छानेर ल्याउने अवस्था नहोस्। सिनियर खेलाडीलाई सँधै जगजगी होस् कि मलाई युवा खेलाडीले चाँडै रिप्लेस गर्न सक्छन्।
खेलाडीलाई घोषणा गरेको पुरस्कार समयमा नै दिऔँ। कुनै प्रतियोगिता जितेर आएको खेलाडीलाई सरकारले ५० हजार दिने घोषण गर्छ तर बर्षौसम्म दिदैन। यो काइदाले अब चल्दैन।

खेलकुद मन्त्री ज्यु, हजुर भर्खर आउनुभएको छ खेलकुद मन्त्रालयको नेतृत्व गर्न। हजुरलाई ठूलो अवसर छ, काम गरेर देखाउने। समय यही हो, उपयोग गर्नुस्। राष्ट्रिय खेलकुद प्रतियोगिता निरन्तर र व्यवस्थित हुने व्यवस्था मिलाउनुहोस्। नेपाली खेलकुदलाई आउने विदेशी सहयोग र सरकारको सहयोगको पारदर्शी हिसाबकिताब देखाउनुहोस्। काम नगर्ने तर भ्रष्टाचार गर्ने पदाधिकारीलाई घोक्रे ठ्याक लगाएर काम गर्नेलाई नियुक्त गर्नुहोस्। खेलाडीको समस्या बुझेर समाधान गर्नुहोस्। नेपालको जुनसुकै म्याच हुँदा मैदानमा पुग्नुहोस् र हौसला दिनुहोस्। जसको कारण खेलाडीले रगत तताएर खेल्न सकुन्। किनकी हजुर नेपाली खेलकुदको अभिभावक हो।

मन्त्री ज्यु, खेलकुद पूर्वाधार विकासका लागि कम्मर कसेर लाग्नुस्। कहाँ कसले अवरोध गर्छ हजुरलाई सार्वजनिक रुपमा भन्नुहोस्। बुझ्नुहोस्, हजुरको नाम खेलकुद क्षेत्रमा स्वर्ण अक्षरले लेख्ने अवसर हजुरलाई प्राप्त भएको छ। हामीले छिमेकी भारतको जस्तै निजी क्षेत्रलाई आकर्षण गरी लगानी गर्ने वातावरण बनाउन सक्यौँ भने हामीले सफलता पाउन धेरै समय कुर्नु पर्दैन। यस्तो समय चाँडै नै आउने छ कि नेपाली खेलाडी विश्कै महंगो खेलाडी बन्ने छन्।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.