आमा, म राजनीतिक सफाई गर्छु!


गौतम बुद्ध राजदरबारमै सीमित भइदिएको भए के उनी एसियाकै ज्योति बन्न सक्थे? के उनी एक व्यक्तिबाट बुद्ध भएर विश्व प्रसिद्ध हुन्थे? बलभद्र कुंवर, अमरसिंह थापा, गंगालाल श्रेष्ठ, दशरथ चन्द, धर्मभक्त माथेमा लगायतका वीर नेपालीले देशका लागि बलिदान नदिएको भए के हामी सार्वभौम नेपाली भनेर अहिले गर्व गर्न सक्थ्यौं? धुर्मुस-सुन्तली कलाकारितामै सीमित भइदिएको भए के गिरान्चौरमा एकीकृत बस्ती निर्माण हुन्थ्यो? महोत्तरीका मुसहरहरुका लागि भवन निर्माण हुन्थ्यो? अनुराधा कोइराला व्यक्तिगत र पारिवारिक स्वार्थबाट माथि नउठेको भए हाम्रा हजारौं चेलीबेटीको हालत के हुन्थ्यो? यसरी विभिन्न व्यक्तित्वहरू आफ्ना व्यक्तिगत, पारिवारिक एवम् क्षेत्रगत स्वार्थभन्दा माथि नउठेको भए हाम्रो समाजले यस्ता महत्त्वपूर्ण उपलब्धिहरू हासिल गर्ने थिएन।

आमा, मेरो लागि छठी मातासँग तपाईंले भाकल गर्नुभयो। तपाईं अहिलेसम्म मेरो सुस्वास्थ्य एवम् दीर्घायुका लागि छठ पूजा गरीराख्नु हुन्छ। आफू कक्षा पाँचसम्म पढे पनि आफैं नपुगेको राजधानी काठमाडौंमा तपाईंले मलाई अध्ययनका लागि पठाउनुभयो। भैंसीको गोबर सोहोरेर, घाँस काटेर, खेतबारी गरेर मलाई स्नातकोत्तरसम्म पढाउनुभयो। आफूले जति दुःख सहे पनि छोराको अनुहारमा सधैं खुसी देख्न चाहनुभयो। मेरो जीवन, मेरो हैसियत, मेरो सामाजिक प्रतिष्ठा, सफलता, मेरो सर्बस्व सबै तपाईंकै देन हो। तर यसमा यो समाज, देश एवम् विश्व जगतको अप्रत्यक्ष सहयोग र योगदान कम छैन। मैले तपाईंको लागि जीवन अर्पण गरे पनि त्यो कमै होला तर म यो समाज र राष्ट्रको जिम्मेवारीबाट पनि पछि हट्न मिल्दैन।

म तपाईंका ६ जना छोरी र एक कान्छो छोराका लागि धेरै गर्न नसकुँला। तपाईंलाई काठमाडौँमा ल्याएर राख्न नसकुँला। काठमाडौँको कठ्याङ्ग्रिदो चिसोमा तपाईंको लागि गिजर राख्न नसकुँला। सबै धामहरु घुमाउन नसकुँला। तपाईं तथा घर-परिवारका लागि धेरै पैसा पठाउन नसकुँला। राम्रो लाउन, खान, बस्न नपाउँला। राति पकाएको बिहान र बिहान पकाएको बेलुका खान परे खाउँला। जति दुःख सहनु परे सहुँला। तपाईंको यादमा आँसु झार्दै समय बिताउनु परे, त्यो पनि मलाई मञ्जुर छ।

सामाजिक कलंकको रूपमा रहेको दाइजो प्रथालाई लत्याउँदै बिना दाइजो बिहे गर्ने प्रण गर्दा कतिपयले साथीभाइ र परिवारबाट बाहिरिन्छस् भन्दै पागलको पगरी गुथाइदिँदा तपाईंले मलाई बलियो साथ दिँदै सहर्ष बुहारीलाई स्वीकार्नुभयो। तपाईंको त्याग, समर्पण, इमानदारी एवम् कर्तव्यनिष्ठ व्यवहारबाट पाठ सिक्दै आफ्नै जीवनकालमा सफा, समृद्ध, भ्रष्टाचाररहित एवम् कल्याणकारी नेपाल बनाउने अभियानमा संलग्न हुन चाहन्छु। यसका निम्ति पनि मलाईं आशिर्वाद दिनुस्, आमा।

पहिलो र दोस्रो संविधानसभाताका सडक सन्देश, सडक नाटक, र्‍यालीद्वारा तथा दलहरूको पार्टी कार्यालय पुगेर समयमै जनचाहना अनुसारको संविधान निर्माण गर्न हामीले आग्रह गर्‍यौं तर संविधान बने पनि कार्यान्वयन हुन सकिरहेको छैन। भूकम्पपछि फाटेको पालमा रात काट्नु परेपछि गाउँघरबाट राहत संकलन गर्न लगाइयो र राहत वितरण गर्ने क्रममा नुवाकोट, सिन्धुपाल्चोकलगायत जिल्लामा म पनि पुगें। बिहानदेखि बेलुकासम्म ट्रमा सेन्टरमा बिरामीको हेरचाहमा समेत खटिएँ तर अहिलेसम्म कतिपय भूकम्प पीडित आफ्नो घर फर्किन सकेका छैनन्। कान्ति बाल अस्पतालको शौचालयदेखि विभिन्न मन्दिर, पुल, अस्पतालको सफाईमा म सहभागी भएँ। घरमा असहाय बच्चालाई स्वयंसेवी रूपमा तथा एसिड प्रहार गरिएकी एसएलसीकी छात्रा संगीता मगरलाई सिनामंगल अस्पतालमा पढाएँ पनि।

तर आमा! बाग्मती सफाई अभियान २१९ औं हप्ता तथा देशका विभिन्न ठाउँमा स्वयंसेवी सफाई अभियान चलिराख्दा पनि सम्बन्धित सरकारी निकाय जिम्मेवार भएर आउनुको सट्टा कानमा तेल हालेर बसेका छन्।

राजनीति भनेको सफा गिलासजस्तै हो: सफा पानी राखे सफा देखिन्छ, फोहोर पानी राखे फोहर देखिन्छ। राजनीति आफैंमा खराब होइन। यो त कस्ताले कसरी प्रयोग गर्छन् त्यसमा भर पर्दछ। अमेरिका, फिनल्याण्ड, ब्रिटेन पुग्नै पर्दैन। हाम्रै छिमेकी भारत र चीनको राजनीति हेरे पुग्छ। जसरी आँपको रूखबाट स्याउ प्राप्त गर्न सकिन्न त्यसरी नै अक्षम, गैरजिम्मेवार, संकीर्ण सोच भएका एवम् भ्रष्ट राजनीतिकर्मीबाट अपेक्षा गर्न सकिन्न।

मधेसी दलहरू मधेसीप्रति नै गैरजिम्मेवारी देखिनु, सुस्ता, भद्रपुर आदि ठाउँमा छिमेकीको हेपाहा प्रवृत्तिप्रति मौन रहनु तथा आममधेसीहरूको जीवनस्तर उकास्नभन्दा आफ्नो स्वार्थ पूर्तिमा तल्लीन हुनु हाम्रा लागि दुर्भाग्यपूर्ण अवस्था हो। त्यस्तै, अन्य नेपाली राजनीतिकर्मी एवम् कार्यकर्ता नातावाद र कृपावादमा लिप्त हुनु, कर्मचारी र व्यापारी सेवकभन्दा शासकका रुपमा प्रस्तुत हुनु, विद्यार्थीमा समाज र राष्ट्रप्रेमको कमी रहनु, नैतिकता र इमानदारीको अभाव हुनु अनि भष्टाचार र धनी-गरिबबीचको दूरी बढ्नु जस्ता कारणले मन खिन्न हुँदै गएको छ, आमा!

कुलमान घिसिङको कुशल नेतृत्व एवम् आँटले १८ घण्टाको लोडसेडिङ अन्त्य हुँदैछ भने अधिवक्ता ओमप्रकाश अर्यालको समाजप्रतिको इमानदारी एवम् उत्तरदायित्वले ‘लोकमानतन्त्र’को अन्त्य भएको छ। आमा! अब मलगायत हरेक नेपालप्रेमीले समाज एवम् राष्ट्रका लागि आफ्नो सानो दायरा नाघेर केही गर्नुपर्ने बेला आएको छ।

काठमाडौंको बाग्मती, रुद्रमती, विष्णुमतीमात्र होइन देशभरिकै नदिनाला, मन्दिर, अस्पताल सफा गरिनुपर्छ। कर्मचारी, व्यापारीमा समेत सेवाको भावना आउनुपर्छ, सम्पूर्ण देश सफा हुनुपर्छ र देशको मूल नीति सफा बनाइनुपर्छ। यसका लागि सर्वप्रथम राजनीति सफा हुनुपर्छ। यसका लागि अझै र अहिलेकाहरुबाटै आश गर्नुको साटो हामी विकल्प बन्नुपर्छ र राजनीतिमै प्रवेश गरी राजनीतिक सफाई गर्नुपर्छ। यसको सुरुवात म आफैंबाट गर्न चाहन्छु। आफ्नो व्यक्तिगत स्वार्थबाट माथि उठेर इमानका साथ जनताको सेवक भएर राजनीति सफाई गर्न चाहन्छु। र,  सम्पूर्ण इमानदार अनि सक्षम व्यक्तिहरूलाई पनि राजनीतिमा आउन आह्वान गर्दछु। किनभने,  म यो देश आफ्नै जीवनकालमा परिवर्तन भएको हेर्न चाहन्छु।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.