राजीनामा पत्र


बाह्र वर्ष लागिसकेछ। अस्ति भर्खर कक्षाकोठामा छिर्न थालेको जस्तो लाग्छ। हुन त नितान्त सरकारी कोषबाट तलबभत्ता खाने गरी काम गर्ने सुअवसर पाएको छैन। तर पनि सरकारी मान्यताप्राप्त संस्थामा वैध सेवा गरेको हुँ। थोरै तलब खाईपाई आएकोमा पनि राज्यलाई कर त तिरेकै छु। जसरी पनि सरकारी निकायसँग मेरोे ‘अट्याचमेण्ट’ छ। मेरो तीन पुस्ते पनि जिल्ला शिक्षा कार्यालयमा कुनै कुनामा ट्वाल्ल परिरहेकै होला।

यस देशमा १०÷१० वर्षमा कुनै न कुनै ठूलै परिवर्तन भएको देखिन्छ। तर, परिवर्तन यथार्थ धरातलमा भएन। र म पनि यतिखेर आफूले अध्यापन थालेको एक दशक बितेको सन्दर्भमा मेरो मानेमा एउटा दुस्साहस गर्दैछु।

मलाई आजसम्म दालभात दियो मेरो पेशाले। नाम दियो होला। यकिन छैन। मैले के पाएँ र के पाइन भनेर हिसाब पनि गरेको छैन। यो एउटा यात्रा हो। यात्रामा भेटिने, छुटिने, पाउने, गुमाउने क्रम चलिरहन्छ। यात्रा सुखद वा दुःखद दुवै हुनसक्छ। मैले यो यात्राबाट विदा लिने निर्णय गरेको छु। तर थकाइ लागेर होइन। दिक्दारीले पनि होइन। विमति भने पक्कै नै छन् मेरा केही।

राजीनामा पत्र कोरिरहँदा मनमा एउटा शङ्का उत्पन्न भएको छ। मलाई सन्तुष्टि मिल्ने अर्को पेशा के छ त? कतै मैले वैदेशिक श्रममा जानुपर्ने वा वेरोजगार रहनुपर्ने त होइन? मजस्ता कैयन् पढालेखालाई पनि स्वरोजगारमुखी चिन्तन र आइडिया नै छैन। के पढेछौं हामीले? कसरी होला नवनिर्माण देशमा? के सिकिरहेका छौं हामी? कुन उपयोगी कुरा सिकाइरहेका छौं दैनिक?

कुनै नेटवर्क बिजनेस जसरी शिक्षा क्षेत्रलाई अगाडि बढाएर होला? जस्तो, हामीलाई एक पुस्ताले पढायो। हामी उनीहरूका छोराछोरीलाई पढाइरहेका छौं। हाम्रा छोराछोरीलाई हाम्रा चेलाचेलीले पढाउनेछन्। एउटा अविच्छिन्न क्रमशिवाय के बनाउन सक्यौं त हामीले यस शैक्षिक जगतलाई? मेरो मस्तिष्कले एउटा मान्यता निर्माण ग¥यो यो एक दशकमा। कि त जीवनोपयोगी शिक्षा दिने, हैन भने बन्द गरिदिने काम गर्न। यसो भनिरहँदा हामी चौतर्फी चुनौतीको दबाबमा छौं। सङ्क्रमणमा अल्झेको छ समय। यतिबेला छुमन्तर गरेर परिवर्तन हुँदैन थाहा छ तर आरम्भका बाछिटाहरू त देखिनुप¥यो नि। त्यसैले सके सुरु गरौं नसके छाडौं।

यो देशव्यापी रुपमा लेखिएको राजीनामा पत्र नै हो भन्ने सोचेको छु मैले। र केही सन्दर्भ त उप्काउनै प¥यो भनेर प्रयत्न गर्दैछु।

मान्छेले जीवनभर सिकिरहन्छ। सिक्नुपर्छ। सिक्न छाडेको दिनदेखि ऊ वृद्ध हुन्छ। यस मानेमा वृद्ध भएर काम गरिरहेका शिक्षक मित्रहरुलाई म स–सम्मान स्मरण गरिरहेछु। बाध्यतामा गरिने पेशा किन बनाउने शिक्षणलाई? अन्तिम विकल्पको रुपमा यो पेशालाई स्थापित गर्न, गराउन कोको जिम्मेवार छौं त? अब जिम्मेवार बन्न अबेला भएन र? आँखा चिम्लेर बस्दैमा टाउकोको पीडा त कम हुँदैन नै।

दुःखको कुरो यो छ कि सिकाउने व्यक्तिको उत्पादन गर्ने अधिकांश कारखाना नै खारेज गर्न लायक छन्। कारखाना सञ्चालन गर्न बनाइएका नीति नियममा अलमल, ढुलमुल र पुरातन विचारले जरो गाडेकै हो। स्वीकार्नुपर्छ। परिवर्तन जरुरी छ। अभ्यासकर्ताहरुमा पनि अन्यौलता छ। अनुमति प्रदायकले पनि प्रष्ट नभएरै प्रमाणपत्र बाँडेको बुझिन्छ। र नेपाली शैक्षिक संस्थाहरु एकाधलाई पन्छाएर कुरा गर्ने हो भने केवल प्रमाणपत्र विक्रयका लागि खोलिएका पसल मात्र हुन् झैं लाग्नु अस्वभाविक छैन।

प्रमाणपत्र त चाहिन्छ। तर सीप, दक्षता, अनुभव, ज्ञान सबै कुराले पोख्त भएको कुरा खुलाएर दिन सके पो। आज प्रमाणित गरेको जनशक्तिले भोलि कुनै समस्या आइपर्दा सिर्जनशील तरिकाले समाधान गर्न सकोस् न। आज प्रमाणपत्र हासिल गरेर निस्केको विद्यार्थीले भोलि ‘मैले त केही सिकेकै रहेनछु’ भनेर महसुस ग¥यो भने के हुन्छ? जो आज भइरहेछ।

हामी त यस्तो चक्करमा छौं। यो घनचक्कर हो। सबै जान्नेसुन्ने। कोभन्दा को कमको स्थिति छ। नजान्नेले पनि जान्दिनँ र सिक्छु भन्ने अवस्थाको घेरो सानो छ। पाठ्यक्रम भनेको पाठ्यपुस्तक नै हो भन्ने अवस्थामा हामी छौं। अझ बुझ्नेले भने पाठ्यक्रमलाई लगाम सम्झेका छन्। मन्त्र सम्झेका छन्। ब्रह्मवाक्य मानेको स्थिति छ। यो खाले चिन्तनमा पनि बदलाव आउनु जरुरी छ।

हास्यासपद कुरो। पीडाप्रद सत्य। प्रयोगात्मक विधि चित्त नबुझेको पनि ताजा स्मरण छ। बालमैत्री शिक्षणसिकाइ वातावरणले सिकाइ स्तरमा ह्रास आयो भनी निष्कर्ष निकाल्ने शिक्षक पनि भेटेको छु। जसको शिक्षण अनुभव तीन दशकको छ। हामी नै हौं घामको राप तापेर जागिर पकाउने पनि। आफूलाई ऐनामा नहेरी अरुको अनुहारमा दाग देख्ने प्रवृत्ति हाम्रो पेवा भइसक्यो। यो प्रवृत्तिलाई चिर्नु अनिवार्य छ। आफ्नै शरीरमा पलाएको ट्युमरलाई अपरेसन गरेर नमिल्काई रोग निको भएन भनेर फलाक्नु निरर्थक छ। असान्दर्भिक छ। बकवास हुन् यस्ता कुरा। कुतर्क गरेर दालभातडुकुका लागि आफ्ना कमजोरी कतिञ्जेल ढाकिबस्ने?

अभिभावकको पक्ष दर्बिलो हुनु पर्ने हो, शिक्षाका लागि। हुन सकेन किन? अभिभावकलाई कमजोर सावित गरिरहँदा हामीले कहिल्यै सोच्यौं त हामी कत्तिका बलिया छौं भनेर? आफूसँग भएको क्षमता, बुुद्धि र ताकतको कति प्रतिशत सदुपयोग गरेका छौं त हामीले? अभिभावकको सहभागितालाई बृद्धि गरी शिक्षणसिकाईलाई थप प्रभावकारी बनाउनतर्फ हामीले गरेका प्रयत्न कस्ता छन्? सोचनीय छ।

हातमा डाडुपन्यू बोकेर सुत्नेहरूले अनुभूत गर्नु जरुरी छ। भोका कोको छन्। कहाँकहाँ छन्। कसरीकसरी वितरण गरिनुपर्छ भोकको समाधान? पद्धति कस्तो बनाउने सवाल प्रमुख छ। हामी चुकेका छौं पद्धति निर्माणमा। हामीले ख्यालै नगरी कुनै अनुत्पादक पद्धति संस्कृति बनिदिन्छ। अनि हामीले पछुताएर पनि केही हुँदैन। संस्कृति बलियो गरी टाँसिएर बस्छ समाजमा। देशमा। निर्माणको आधारशिविर हो सिकाइको क्षेत्र। सिकाइ हुने ठाउँ भनेर स्कूललाई मात्र ठान्ने मान्यता बनेको देखिन्छ। यो होइन भनेर बुझिने कहिले होला? घर, छिमेक, पसल, बाटो, खेलमैदान, भान्छाकोठा, बसपार्क सबैसबै ठाउँ सिकाइका लागि स्कुलसरह हुन्।

आर्थिक अभावले खेप्नुपरेकाको दुःखको पाटा सम्झँदा लाग्छ, किन महङ्गो बन्दैछ नेपालमा शिक्षा? के निशुल्क तर अनिवार्य गर्न सकिँदैन? जनशक्ति उत्पादन नै गराउने गरी रुचि, क्षमता र सम्भाव्यतालाई आधार मानेर शिक्षालय सञ्चालन गर्न केले रोकिरहेछ त हामीलाई? के गरिरहेछ सरोकारवाला? प्रश्न गर्ने बेला आएकै हो।

यसरी अक्षर कोरिरहँदा निराशै बन्नुपर्ने अवस्था चाहिँ मैले देखेको छैन। आशावादितामा बाँचेको छु म पनि। परिवर्तन गर्न सकिन्छ भन्नेमा पूर्णतः विश्वस्त। तर पनि राजीनामा दिने मनस्थितिमा किन पुगेको छु त? यस सन्दर्भमा मलाई के भन्नु छ भने मेरो जस्तो मनस्थिति यस देशका हज्जारौं शिक्षकमा छ। खल्तीमा राजीनामा पत्र बोकेर कक्षामा प्रवेश गरेको उदाहरण यो लेख पढ्दै गरेका पाठकलाई मलाईभन्दा बेसी जानकारी होला। सिर्फ प्रकट भएन वा विस्फोट हुन पाएन। छेकबारहरू धेरै छन्। यस बारेमा लोक जान्दछ। म बबुरो के बोलुँ।

अन्तिममा भन्छु– यस्तो कहिल्यै लेख्नु नपरोस्।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.