सधैँ किन नेपाल आउनु हुन्छ?

सधैँ किन नेपाल आउनु हुन्छ?


‘अस्ति भर्खर नेपाल आएको होइन, सधैँ किन नेपाल आइरहनु हुन्छ?’

वर्षको तीन चोटि नेपाल पुग्दा मैले सबैभन्दा बढी सामना गर्नुपर्नै एउटै प्रश्न यहि हो। मेरा धेरै समकक्षी, आफन्ती, दाजुभाइ, दिदी बहिनी र मित्रहरू मलाई सोध्छन्- सधैँ किन नेपाल किन आउँछौ?

मैले यो प्रश्नको जवाफ अहिलेसम्म बनाउन सकेको छैन। मनमा लागिरहन्छ आफू जन्मेको घरमा ‘किन आउनुहुन्छु?’ भन्ने प्रश्नको जवाफ के हुन सक्ला र!

आठ वर्षअघिको एकदिन त्रिभुवन विमानस्थलमा कोरियन एयरलाइन्सको जहाज ओर्लियो। कोरियाको सोलहुँदै अमेरिका जान लागेको यो जहाजले काठमाडौंको जमिन छोडेर जति उचाइ लग्यो त्यति मन चिसो भयो।

आकासबाट तल हेर्दाहेर्दै काठमाडौ बिलायो। ‘अब कहिले आउने होला?’ मनभित्र उब्जिएको बिग्रहलाई मैले जवाफ फर्काए-‘सके ६ महिनामा एक पटक। नसके वर्षमा १ पटक त आउँछु।’

नेपाल छाडेको ८ वर्षपछि म जन्मेको पुरानो घरमा मन्दिर बनेको छ, हेर्न मन लाग्छ। गाई गोठालो लागेका दिन दिउँसो भोक लाग्यो भने माली गाईले सधै आफ्नो बाच्छोलाई जस्तै दुध खान दिन्थी। म खुसीले रमाउँदै माली गाईको दुध चुसेर दिन कटाउँथ्ये। अब माली गाई छैन। तर माली गाईका सन्तानहरू छन्। ती सबै माली गाईका सन्तान मेरा दिदी-भाइजस्ता लाग्छन्। उनीहरूलाई हेर्न मन लाग्छ।

म सानो हुँदा हराउने गाउँका साना गल्लीहरू अहिले पनि उस्तै छन्। ‘म यी गल्लीमा पनि हराउँथ्ये’ भन्ने कुरा अहिले सम्झ्यो भने मनभित्र हाँसो र सुख बराबर उम्लिन्छ। यी गल्लीलाई बारम्बार हेरिरहन मन लाग्छ। बगाउँछ भनेर डर देखाउँने गाउँको खोलाको डिलनेर कहिलेकाही उभिएर हेर्न मन लाग्छ। हातका ‌औला नडुब्ने खोलाले मलाई ‘बगाउला भन्ने डरले घरबाट निस्कन मानिनँ’ भन्ने सम्झ्यो भने मुखबाट हाँसोको फित्को निस्कन्छ।

सानोमा पहाड जत्रो लाग्ने घरको आँगन आजकल म उभिएँ भने घरको उँचाइ आफ्नै उँचाइभन्दा सानो लाग्छ। घर, खोला, गल्ली, मालीगाई, दिदी, बाटो सबैले समय देखाउँछन्। समय सबैभन्दा ठूलो सुख हो भन्ने बुझेको छु मैले। र, यो सबैभन्दा ठूलो सुख म जन्मेको घर र माटोमा पाउँछु त्यसैले म नेपाल आइरहन्छु।

मैले हिँड्न सिकेको गाउँको बाटोको आकार बदलिएको छ। मेरो जीवनजस्तै म जन्मेको गाउँको बाटोमा देखिन थालेको परिवर्तन हेर्न मन लाग्छ। जब मेरी दिदीलाई भेट्छु एक शब्द नबोलेर दीदिले एक हजार वटा गाउँका खबर सुनाउँछे। दिदीले नबोलेर सुनाउने यी खबरहरू वर्षमा ३ चोटी मात्र होइन त्यो भन्दा बढी सुन्न मन लागिरहन्छ। एकदिन जन्मेको घर पुगेपछि पाउने सुखको आयतनले सारा शरीर थिच्छ। यो गह्रुगो सुख म जन्मेको गाँउ र घरबाहेक अन्त पाउँदिन। त्यसैले म नेपाल आइरहन्छु।

नेपाल आइरहन पर्ने कारण यति मात्र पर्याप्त छैनन्। मलाई किन नेपाल आइरहन मन लाग्छ भन्ने कुरा लेख्न बस्यो भने रामायण बन्छ। नेपालमा मेरो ब्यापार ब्यवसाय छैन। मेरो कर्मथलो अब नेपाल रहेन। ब्यापारका हिसाबले, कामका हिसाबले, नाफाका हिसाबले, उपलब्धिका हिसाबले मलाई नेपाल गइरहनु भन्दा नजानु बढी फाइदा छ। र पनि म नेपाल आइरहन्छु। सबै नेपाली नेपालमै बसिरहन पर्छ भन्ने कुराको जसरी म प्रतिवाद गर्छु त्यसैगरी बाहिरिएका नेपालीहरु कम्तिमा वर्षको २ चोटी नेपाल पुग्नुपर्छ भन्ने कुराको समर्थन गर्छु।

दैनिक ३५ सयका दरले बाहिरीने नेपालीका आ-आफ्ना फरक फरक दुःख छन्। यी सबै दुःखका जराहरू अन्तिममा आएर पैसासँग ठोकिन्छन्। हामी त्यसैले बाहिरिएका हौं। फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले ऊ बेला भनेका थिए रे- ‘पैसाको कुनै मातृभूमि हुँदैन।’ मातृभूमि नहुने यो पैसाको खोजीमा नेपालीहरू संसारका कुनाकुनामा पुगेका छन्।

आजका दिन ‘पैसा मात्र सबैथोक हो र?’ भन्न थाल्यौँ भने त्यो खोक्रो राष्ट्रवाद बाहेक केही हुँदैन। बिकशित देशका विदेशीहरू पनि त नेपालमै आएर काम गरिरहेकै छन्। पैसाको पो मातृभूमि हुँदैन। मान्छेको त हुन्छ र संसारको जुन कुनामा पुगे पनि जन्मेको माटोको प्रेमले मान्छेलाई तानिरहन्छ। हो त्यसैले म नेपाल आइरहन्छु।

जन्मेको गाउँ, गोठ, पाखो, बारी हेरेर सुखी हुन नेपाल आइरहने नेपालीहरू मात्र छैनन्। विदेशमा कर्म गरेर सफल भएका नेपालीहरु पनि आइरहन चाहन्छन्। लगानी गर्न चाहन्छन्। लगानी गरिरहेका पनि छन्। यो सब जन्मेको माटो प्रतिको प्रेम हो, सुख हो। यसमा कुनै ‘फाइदाको गणित’ लागू हुँदैन।

गएको महिना नेपाली ब्यवसायी जिवा लामिछानेसँग भेट भयो। ब्यापारिक प्रशंगमा लामिछाने भन्दै थिए- ‘मलाई कसैले ब्यापार गर्ने ठाँऊ छान्न भन्यो भने १ नम्बरमा म नेपाल छान्छु। मलाई नेपालमा लगानी गरेको जती सन्तुष्ठी मिल्छ त्यो अन्त कहीँ मिलेको छैन।’

सुख र सन्तुष्टी नाफामा मात्र तौलिन र नाप्न सकिने वस्तु हुँदै होइन। र यो सुख र सन्तुष्टी आफू जन्मेको माटोमा बाहेक अन्त पाइने वस्तु पनि होइन।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको प्रस्थान गेटनेर बिहानदेखि बेलुकासम्म बस्ने हो भने हाम्रो मुलुको सारा नक्सा देखिन्छ। आमाको गहना  बैंकमा राखेर, साहुको ऋण टाउकोमा बोकेर गाउँठाउँमा बस्नै नसकेर खाडी मुलुकहरुको तातोमा पाक्न एयरपोर्टमा लाइन लागेका कसैलाई हामीले ‘देश छोडेर किन जान लागेको भनेर सोध्दैनौ। तर तिनै कामदार तीन महिनामा एक चोटी देश फर्कन थाले भने लज्जाबोध हुने गरि सोध्छौँ ‘किन आ’को?’

साच्चै, संसारको कुनै पनि नागरिकलाई आफ्नो जन्मेको गाउँमा फर्कन कुनै कारण चाहिदैन।

गएको २ महिनाअघि फ्लाई दुवईको फ्लाइट न. ५७५ बाट काठमाडौँ जाँदै थिएँ। छेउको सिटमा बसेकी थिइन् पूर्वकी एक जना तामाङ बहिनी। इजरायलबाट नेपाल फर्किदै थिइन्। उनी भन्थिन् ‘इजरायलमा अन्य नेपाली महिलाले जस्तो मैले दुःख भोगेकी छैन। मेरो इम्प्लोयर राम्रो छ।’ राम्रो काम भएकै कारण वर्षमा २ चोटी आउजाउ गर्न उनको इम्प्लोयरले प्लेन भाडा बेहोर्ने गर्छ।

‘तर नेपाल गइ रहन मन लाग्दैन। त्यसैले यस पाली २ वर्षमा मात्र फर्किएँ।’

किन?

‘काम गर्न विदेश पसेपछि स्वदेश आउनै हुँदैन जस्तो गर्छन्। यसको सुरूवात त एयरपोर्टबाटै हुन्छ। ‘लौ स्वागत छ। ६ महिनामा घर आउन पाउनुभयो’ कसैले भन्दैनन्। ‘किन ६-६ महिनामा आउने जाने गर्नुहुन्छ?’ भन्ने प्रश्न सोधेर सास्ती दिन्छन्। आफ्नै घरमा पुगेपछि बुढा बाले समेत किन सधैँ नेपाल आउन पर्‍यो भनेर हैरान कटाउँछन्। मेरो बाध्यताले म बिदेश काम गर्न गएकी हुँ। मलाई देशमा आइरहन पाँउदा खुसी लाग्छ भन्ने कुरा कसैले बुझ्दैनन्। अनि किन आइरहनू ६-६ महिनामा?’

धरानबाट आर्टस पढ्न २००९ मा काठमाडौं झरेकी थिइन् उनी। पढाई राम्रो हुँदाहँदै जीवनको बाटो मोडियो। ‘गाउँ फर्कनुभन्दा विदेश जान्छु।’ भन्ने भूत सवार भएपछि इजरायल पुगेकी यी पढेलेखेकी बहिनीको तर्कमा दम थियो।

त्रिभुवन अन्तरिष्ट्रिय विमानस्थलबाट हरेक दिन ३५ सय नेपाली बाहिरिन्छन्। कोही खाडी मुलुकमा पुग्छन्। कोही यूरोप, अमेरिका र जापान। बाहिरिने ३५ सय मध्ये खुसीले बाहिरिने फाट्ट फुट्ट अनुहार होलान्। बाँकी काम र पैसाकै लागि बाहिरिएका हुन्। जन्मेको माटोप्रति बिद्रोह गरेर होइनन्। यी यसरी बाहिरीएका अनुहारहरु वर्षमा एकचोटी होइन ४ चोटी स्वदेश आउन पाइयो भने बढी खुसी हुने हुन्।

आफ्नो देशमा खुसी साट्न स्वदेश आउने नेपालीलाई हामीले ‘किन आको?’ भन्नु भन्दा ‘नेपालमा स्वागत छ’ भन्नुपर्ने होइन र?

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.