देश बाँचिरहेको कवि


दुई चिम्सा आँखाहरूमाथि मोटो फ्रेमवाला चस्मा, टिपिकल मंगोल अनुहार, लामो कपाल, र निधारमा रातो पट्टी बाँधेको युवक। यही हो उनको बाहिर देखिने रुप र पहिचान।

र, अर्को परिचय छ तिब्बती कवि तथा एक्टिभिष्ट।

आफ्ना लेखरचना तथा कविताहरूमा तिब्बत, तिब्बतको स्वतन्त्रता र पराई भूमिमा बाँच्नु परेको शरणार्थी जीवनको पीडा लेख्ने सशक्त कवि हुन् तेन्जिन सुन्दे। उनको कविताका शब्दहरु जति शक्तिशाली छन्, त्यति नै शक्तिशाली छन् उनका क्रियाकलापहरु पनि। आफ्ना कविताहरूमा निर्वासित जीवनको दुःख र पीडा निकै गम्भीर रुपमा बोल्छन् तेन्जिन। उनका कविताहरूले देशप्रति संवेदनशील हरेक पाठकलाई भित्रसम्म छुन्छन्।

तेन्जिन सुन्देको जन्म भारतीय राज्य हिमाञ्चल प्रदेशमा भएको थियो। उनलाई आफ्नो जन्ममिति बारे धेरै अन्योल छ। तिब्बतबाट भागेर भारत पस्दा जीविकोपार्जनको लागि सडक निर्माण कार्यमा लागेका बाआमाबाट तेन्जिनको जन्म भएको थियो। अशिक्षित बुवाआमाले छोरो जन्मेको सही मिति याद राख्न नसकेकै कारण तेन्जिनको जन्ममिति बारे तीन बेग्लाबेग्लै रेकर्डहरु छन्। यही कारण पनि तेन्जिन आफ्नो जन्मदिन मनाउँदैनन्।

तेन्जिनको प्रारम्भिक स्कुले शिक्षा धर्मशालामै भएको थियो। पछि भारतीय सहरहरू मद्रास, लद्दाख र मुम्बईबाट उनले उच्च शिक्षा हासिल गरे। तेन्जिन सानैदेखि तिब्बतको स्वतन्त्रताबारे हुने सम्मेलन तथा गोष्ठीहरुका लागि मानिस भेला गर्न तिब्बती शरणार्थी शिविरमा डुल्ने गर्थे। त्यतिबेलैदेखि ठूलो भएर तिब्बतको लागि केही गर्ने चाहना थियो उनको मनभरि। ‘फ्रेण्ड्स अफ तिब्बत’ संगठनको संस्थापक तेन्जिन सन् १९९९ देखि संसारभरि स्वतन्त्र तिब्बतको समर्थनमा अनेक कार्यशाला र सेमिनारहरू गर्दै हिँडिरहेका छन्। तेन्जिन यस आन्दोलनको एक अगुवा र तिब्बतको स्वतन्त्रताप्राप्तिको चाहना बोक्ने युवा पुस्ताको प्रतिनिधी हुन्।

सन् १९४९ मा चिनिया सेनाले तिब्ब्बतमाथि कब्जा गर्यो। यसलाई चिनिया सरकारले तिब्बतको शान्तिपूर्ण स्वतन्त्रताको नाम दियो। चिनिया आर्मीले तिब्बतको राष्ट्रिय आन्दोलनलाई निर्ममतापूर्वक दमन गर्दा करिब ८७,००० तिब्बतीहरूले ज्यान गुमाए। त्यसपश्चात् चीनको दमनबाट बच्न तिब्बतबाट धार्मिक नेता दलाई लामा र ८०,००० जति तिब्बतीहरुले आफ्नो देश छोड्दै भारतमा शरण लिएका थिए। आज, तिब्बत स्वतन्त्र देश नभई चीनशासित एक प्रान्तको रुपमा बाँचिरहेको छ। तिब्बतको कष्टपूर्ण र पीडादायी ईतिहासमा चीन सरकारको अत्याचार सहन नसकी हालसम्म अनुमानित १,५०,००० तिब्बतीहरूले देश छोड्दै संसारका अरु देशहरूमा जीवन व्यतित गर्दै छन्।

तेन्जिनका बाआमाले अन्य तिब्बतीसँगै सन् १९५९ मै तिब्बत छाडेका थिए। साथमा आएका अन्य तिब्बतीझैँ उनका बाआमा पनि हिमाञ्चल प्रदेशको पहाडि क्षेत्रमा सडक निर्माण कार्यमा संलग्न भएर परिवारको गुजारा चलाउन थाले। यी तिब्बतीहरू सडक छेउछाउ साना टेन्टहरुमा बस्ने गर्थे। सुरु-सुरुमा गर्मी सहन नसकेर सयौं तिब्बतीहरुले अकालमा ज्यान गुमाए। पछि धर्मशालामा बसोबास गर्न थालेपछि यी तिब्बतीहरूको जीवन केही व्यवस्थित र सजिलो हुँदै गयो।

तेन्जिन आफू समय र परिस्थितिले लेखक, कवि भएको बताउँछन्। एक शारणार्थी भएको कुरोले मन अमिलो बनाउने अनुभव छ तेन्जिनसित। आफूभित्र हुर्किरहेको तिब्बत फर्किने सपनाले नै कलमलाई डोर्याएको बताउँछन् उनी। कहिलेकाहिँ सजिलो लाग्दैन यो सपना। तर हराएर पनि जाँदैन मनबाट। सुषुप्त अवस्थामा संसारभरका तिब्बतीभित्र पल पल बाँचिरहेको स्वतन्त्र तिब्बतको सपना जीवनको धपेडीमा पिल्सिँदा पनि धुमिल हुँदैन र कहिल्यै मासिँदैन भन्ने लाग्छ उनलाई। किनभने देश, माटो र पहिचान जस्ता कुराहरूले आजीवन पछ्याइरहन्छन् मानिसलाई। कहिलेकाहीँ पहिलो पुस्ताको शरणार्थीहरुको संख्या बिस्तारै कम हुँदै गइरहेको तथ्यले नराम्ररी पिरोल्छ कविलाई। त्यसकारण, एक पटक पनि तिब्बत टेक्न नपाएका तिब्बती युवाहरुमा तिब्बतको यो सपनालाई जीवित राख्न पनि एक ठूलो जिम्मेवारी हुन गएको छ। र यो दुःख र चुनौती तेन्जिनका कविताहरूमा पोखिन्छन्–

थाकी सकेको छ लड्दै त्यो देशको निम्ति

जसलाई मैले कहिले देखेको छैन।

तेन्जिनको पहिलो कविताकृति ‘क्रासिङ्ग द बोर्डर’ सन् १९९९ मा मुम्बई यूनिभर्सिटीमा मास्टर्स डिग्री अध्ययन गरिरहँदा ताका प्रकाशित भएको थियो। यस कृति प्रकाशनका लागि उनले आफ्ना सहपाठी साथीहरुसित सहयोग लिएका थिए। यस कृतिमा सङ्ग्रहित कविताहरुमा भारत–तिब्बत बोर्डर हुँदै भारत छिरेका तिब्बतीहरूका दुःख पीडा समेटेका छन् तेन्जिनले। यही कृतिको लागि उनलाई सन् २००१ को ‘आउटलुक पिकाडोर अवार्ड’ प्रदान गरिएको थियो। र, उनको दोस्रो पुस्तक ‘कोरा’ अंग्रेजी, फ्रेन्च, पोलिस र मलयालम आदि अनेक भाषामा अनुवाद भइसकेको छ। आफ्नो छैठौँ संस्करणसम्म आइपुग्दा यो कृति १५,००० प्रतिभन्दा धेरै बिक्री भइसकेको छ। उनको तेस्रो कृति निबन्ध सङ्ग्रह ‘सेमसोक’ सन् २००७ मा आयो। जसमा तिब्बती स्वतन्त्रतासङ्ग्राम र संघर्षबारे लेखिएका निबन्धहरु संग्रहित छन्। यी बाहेक उनका लेख,रचना भारत र भारतबाहिर अनेकौं पत्रपत्रिकाहरुमा निरन्तर छापिँदै आएका छन् जसले तेन्जिनलाई अन्तरराष्ट्रिय पहिचान दिलाएका छन्।

स्कुले दिनहरुदेखि नै तिब्बतको स्वतन्त्रतासंग्राममा निरन्तर लागिरहेका छन् तेन्जिन। तर उनीतर्फ विश्व मिडियाको ध्यान भने सन् २००२ बाट गयो। जब उनले मुम्बईको पाँच तारे होटल ओबराय टावर्समाथि चढेर स्वतन्त्र तिब्बतको झण्डा फहराए र तिब्बतको समर्थनमा नाराबाजी गरे। भारतको भ्रमणमा रहेका तत्कालीन चिनिया राष्ट्रपति झु रोन्झी त्यही होटलमा भारतीय व्यापारीहरूको समूहलाई सम्बोधन गरिरहेका थिए। त्यसपछि तेन्जिन पक्राउमा परे। उनले त्यस्तै प्रवृत्तिको विरोध सन् २००५मा पनि दोहोर्याए। जब चिनिया राष्ट्रपति वेन जियाबाओ भारतीय सहर बैंग्लौरमा आएका थिए। तेन्जिनले भारतीय विज्ञान संस्थानको २०० फुटे टावरमा चढेर स्वतन्त्र तिब्बतको झण्डा फहराएका थिए। फलस्वरुप उनलाई भारतीय पुलिसले फेरि समातेर तेन्जिनमाथि आवतजावतमा प्रतिबन्ध नै लगाएको थियो। उनलाई धर्मशाला नछोड्न आदेश दिइयो। सन् २००८ मा उनले धर्मशालादेखि तिब्बतसम्मको रिटर्न मार्चमा भाग लिने घोषणा गरे। जसलाई पाँच प्रमुख तिब्बती एनजिओले संचालन गर्ने भएको थियो। त्यही साल चीनमा ओलम्पिक खेलकूद हुँदै थियो र तिब्बतीहरूको यस कदमले चीन सरकारमाथि मानसिक दबाब सिर्जना गर्दै विश्वको ध्यान तिब्बततिर आकर्षित गर्न सफल बनेको थियो।

तेन्जिन सुन्देले दक्षिणी भारतीय सहर मद्रासबाट उच्च शिक्षा हासिल गरेर फर्केपछि आफ्नो पुर्खौली देश टेक्ने लालसामा अप्ठयारो पहाड, हिँउ, आँधीतुफान, र सरकारी नियमकानूनको चिन्ता नगरी हिँडेरै हिमालयहरु पार गर्दै निषेधित तिब्बत पुगे। उनी चिनिया नियन्त्रणमा रहेको तिब्बतको जनजीवन आफ्नै आँखाले हेर्न चाहन्थे। आफ्नो देशलाई आँखाभरि सजाउन चाहन्थे। तर दु:खको कुरा चिनिया बोर्डर पुलिसले उनलाई समातेर तीन महिना जेलमा राखेपछि भारत फिर्ता पठायो।

तेन्जिन सुन्देका कविताहरुमा तिब्बतीहरूका आफ्नो देश फर्किने सपनाहरू सजीव भेटिन्छन्। उनको शब्द शब्दमा देशप्रतिको माया मगमगाइरहेको हुन्छ। अक्षरहरूले एउटा निर्वासित जीवनको पीडा रुन्छन्। हरेक कविताले पराई देशमा बाँच्नु परेको पीडादायी कथाव्यथा बोल्छ। यी कविताहरूमा तेन्जिन मात्रै होइन अपितु संसारभरि छरिएर शरणार्थी जीवन बिताइरहेका तिब्बतीहरुका स्वर घन्किन्छन्। देशहीन नागरिकका आवाज हुन् उनका यी कविताहरू। यी मनछुने कविताहरुले आफ्नो देश नहुनुको पीडा बोल्छन्। छोडी आएको घरआँगन, आफन्तजन, आफ्नो पहिचानको पक्षमा सशक्त उभिन्छन् तेन्जिनका यी कविताहरू। देशप्रतिको माया साथै त्यहाँ पुग्न नसक्ने आशंका पनि चियाइरहेका हुन्छन्। आफूहरुले तिब्बतमा छाडी आएका घरबारे उनी यसरी लेख्छन् :-

छानामाथि घाँस

फूलका कोपिलाहरू फुरेका छन्

र, लहरा भित्तामाथि चढ्न थालेका छन्

झ्यालबाट मनीप्लान्ट घिस्रिन थालेको छ

यस्तो लाग्छ कि हाम्रा घरहरूका जारा उम्रिएका छन्।

करेसाबारीहरु जंगलमा फेरिएका छन्

अब म कसरी भनूँ आफ्ना बच्चारुलाई

कि कहाँबाट आएका थियौँ हामी ?

जीवन गहिरो दुख्छ जब वर्तमानमा बाँचिरहेको देश आफ्नो नभएको अनुभूतिले नराम्रो गरी घोच्छ। कताकता एउटा शरणार्थी भएको तितो यथार्थले मनमुटु चिमोट्छ। आफ्नो शरणार्थी पहिचानले आँसुको घूँट रुवाउँछ। हरेक वर्ष शरणार्थी–कार्डको नविकरण प्रक्रियाका लागि भारतीय कार्यालयतिर लाइनमा उभिनु पर्दाको पीडा यी कविताहरुमा दुखेर आउँछन्। एउटा तिब्बतीले आफू जन्मेको ठाउँलाई मनभरि सजाएर राखेझैँ तेन्जिनले पनि आफ्नो देशलाई कोरिरहन्छन् कविताहरुमा। यी कविताले एउटा लक्ष्य बनाएको छ संसारभरि फैलिएको हरेक तिब्बतीको मनमा स्वतन्त्र तिब्बतको सपना जीवित राख्ने।

दिनहरू पराई मुलुकमा बितिरहेको भएता पनि मर्नचाहिँ आफ्नै पुर्खाको देशमा पुग्न चाहन्छन् यी तिब्बतीहरू। तिब्बतमा छोडी आएका घर आँगन र आफन्तजनको यादले घरी घरी मनको संघारमा टेकिरहन्छन्। घाँसदाउरा र गाईवस्तुसित डुल्ने गरेका ती वनजंगलहरू, ती हिमाली याकजस्ता शक्तिशाली यादहरू, घरखेत जस्ता सुन्दर सपनाहरू, अग्ला पहाड र खोलानाला केवल सम्झनामा मात्रै बाँकी छन् अब। तिब्बत छोड्दा धेरै थोक छुटेका छन्। कसैका बाआमा उतै छुटेका थिए त कसैका दाजुभाइ दिदीबहिनीहरू। वर्षौं भइसकेका छन् भेटघाट गर्न नपाएका एक अर्कासित। कोही उतै मृत्युवरण गरिरहेका छन् त कोही यता हुर्किरहेका छन्। लाग्छ अब यिनीहरुको भेटघाट सम्भव छैन। र, त मनमा एउटा डर सल्बलाउँछ स्वदेशी माटोको गन्ध सुँघ्ने र आफ्नो हावाको गीत सुन्ने सपनाहरू मुटुमै थुनिएर सिद्धिने पो हो कि पराई भूमिमा?

तेन्जिनका कविताहरुले कवि स्वयंको शरणार्थी अनुभव बोल्छन्। देशको सम्झना, देशप्रतिको माया र देशमा फर्किने आशले उकुसमुकुस भरिएका छन् यी कविताहरु। जहाँ शब्द शब्दमा देश नहुनुको पीडा रुन्छ। देशदेखि टाढा बस्नुपर्दाको व्यथा दुख्छ। उनले आफ्ना कविताहरुमा तिब्बत, तिब्बती संस्कृति र शारणर्थी जीवनको हरेक पाटोलाई उजागर गर्ने कोसिस गरेका छन्। पराई भूमिमा हराई रहेको आफ्नो पहिचान र संस्कारसंस्कृतिले दुःखी तुल्याउँछ उनलाई। आफुहरू भारतमा विदेशी शरणार्थीको पहिचानमुनि बाँचिरहेको मान्छन्। लामो समयसम्म भारतमा रहेर अब अनुहारबाहेक सबथोक भारतीय हुँदै गएको लाग्छ तेन्जिनलाई। यस परिस्थितिमा पनि तेन्जिन आफ्नो राष्ट्रियता तिब्बती भएको सगौरव स्वीकार गर्छन् तर विश्वमानचित्रमा तिब्बत नामको देश कतै नभएको वेदना उर्लिरहन्छ–

मेरो घर भन्ने कुनै ठाउँ छैन यो संसारमा

मात्रै एक राजनीतिक शरणार्थी हूँ।

सुनसान क्याम्पहरू, अलग अलग देशतिर छरिएका आफन्तजन र शरणार्थीको नमिठो परिचय मात्रै बाँकी छन् अब धेरै तिब्बतीहरूसित। तर मनमा छ एकदिन तिब्बत फर्किने अप्ठयारो सपना। आस्थाका स्रोत दलाई लामाले देखाएको सपना हो यो। तर अब यो सपना दलाई लामाझैँ नै बूढो र कमजोर भइरहेको प्रतीत हुन्छ। तिब्बतीहरू आफ्नो देशदेखि बाहिर अनाथझैँ बाँचिरहेको भान हुन्छ। तेन्जिनले एउटा कवितामा तिब्बती शरणार्थीहरुलाई यस्ता बच्चाहरूका रुपमा चित्रण गरेका छन् जसको आमा छैनन् र यी बच्चाहरु गल्लीगल्ली लावारिस घुमिरहेका छन्। अर्को एउटा कविता ‘धर्मशालाको वर्षा’ मा शरणार्थीको जीवन पानी पर्दा हुने नरमाइलोपनझैँ नै बनेको आशयले लेखेका छन्।

तेन्जिन सुन्देका यी कविताहरू आप्रवासी र प्रोटेस्ट साहित्य दुवै हुन्। उनका कविताहरुमा शरणार्थीको दुःख पीडा स्पष्ट कोरिएका छन् भने तिब्बतबाट निर्वासित हुँदै भारतसम्मको यात्रामा पाएका दुःखहरू पोखिएका छन्। तेन्जिनका कविताहरुमा एक शरणार्थीको आफ्नो देशप्रतिको माया र घरफिर्तीको इच्छा भेटिन्छन्। यी कविताहरू भावनात्मक र बौद्धिक दुवै छन्। देशको स्वतन्त्रताका लागि चलिरहेको संघर्षको गाथा र आफ्नो माटोमा टेक्न चाहने इच्छाहरूले यी कविताहरुलाई धेरै बलशाली र भावनात्मक बनाइदिएका छन्।

अन्त्यमा, देश नहुनुको पीडा एउटा तिब्बती नागरिकभन्दा धेरै कसले पो बुझेको होला? आफ्नो देशलाई चीनले अधिनमा लिएपछि, यी तिब्बती नागरिक संसारभरि छरिएर बाँचिरहेका छन्। भौतिक रुपमा सम्पन्न भए पनि आफ्नो देश नहुनुको पीडा सधैँ दुख्छ यिनका भित्री मनहरूमा। र यही पीडाको चित्र तेन्जिन सुन्देले ‘मेरो तिब्बती परिचय’ शीर्षकको यस कवितामा गजबले उतारेका छन्।

निर्वासनका उनन्चालीस वर्षहरू

तर पनि कुनै देशले हामीलाई समर्थन गर्दैन

कुनै एउटा देशले पनि!

 

हामी यहाँ शरणार्थी हौँ,

एउटा हराएको देशको जनता

कुनै पनि देशको नागरिक होइनौँ।
तिब्बती दुनियाँको सहानुभूतिको पात्र

निर्दोष भिक्षुहरू र उत्साही परम्परावादीहरू;

एक लाख र केही हजार जति

गजब मिलेका, आत्मसमर्पित बनेका

विभिन्न समावेशी सांस्कृतिक आधिपत्यमा।

 

हरेक चेकपोष्ट र कार्यालयमा

म हुँ एक भारतीय–तिब्बती

मेरो रजिष्ट्रेशन सर्टिफिकेटलाई

मैले नवीकरण गर्नुपर्छ हरेक साल, एउटा सलामसित

भारतमा जन्मेको एक विदेशी।

 

म धेरै भारतीय हुँ

शिवाय आफ्नो चिम्सो परेको तिब्बती अनुहारले

नेपाली? थाई? जापानी?

चिनियाँ? नागा? मणिपुरी?

तर कसैले सोध्दैन- तिब्बती?

 

म तिब्बती हुँ

तर म तिब्बतबाट आएको होइन

कहिले गएको पनि छैन त्यहाँ

तर पनि सपना देख्छु–

त्यहाँ गएर मर्ने।

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.