सुनकोशी थुनिएको दिनबाट सुरु भयो सिन्धुपाल्चोकमा विपत्ति


सिन्धुपाल्चोकलाई २०७० साल पछि लगातार प्राकृतिक प्रकोपले प्रताडित बनाएको छ। कहिले पहिरो, कहिले भुकम्प, कहिले बाढी त कहिले मोटरेबल पुल भाचिएर आवतजावत नै बन्द हुनु सिन्धुपाल्चोकका प्राकृतिक विपत्तिका उदाहरण हुन्। यदि यी सबै मानिसका कारण हुदो हो त अहिले सम्म युद्ध भइसक्थ्यो तर प्रकृतिको लिला सहनु बाहेक मानिस के नै गर्न सक्छ र?

२०७१ साल साउन १७ गते साविकको मांखा र राम्चे गाविसको बीचमा रहेको जुरेमा पहाडै खस्दा सुनकोसी नदी थुनिएको थियो। उक्त ठाउँमा १ सय ४५ जनाले ज्यान गुमाएका थिए। १ सय ९९ घर नष्ट भयो। जुरे र ड्यामसाइड गाउँको नामोनिसाना नै मेटाएर पहिरोले लगेको थियो।

घर, पशुचौपाया, खेतीयोग्य जग्गा जमिन, स्कुल, होटल लगायत धेरै त्यही पहिरोमा अलप भए। नदी थुनिदा नेपालमा मात्र हैन भारतको विहारमा समेत खतराको घण्टी बजेको थियो। तर धेरै प्रयासका बाबजुद २०७१ भदौ ९ गते राति खोलो खुलेपछि धेरैले चैनको श्वास फेर्न पाएका थिए। मर्ने मरेर गए आफन्तहरु गुमाउनुको पिडा त छदैछ। गुमाएका आफन्तको लाससम्म देख्न नपाउँदा र भएको बास बस्ने घर, गुजारा चलाउने खेतपनि नहुदाँ त्यहाँको पिडित विस्थापित नै हुनुपर्यो। अहिलेसम्म तिनीहरुको पुनर्वासको कुनै अत्तोपत्तो छैन।

स्थानीय प्रशासनले पीडितको लगत संकलनको लागि एउटा टोली बनाएको थियो। त्यो टोलीले बढो मेहनतका साथ सबै पीडितको लगत संकलन गरी प्रतिवेदन बुझायो। तर त्यो प्रतिवेदनप्रति जनप्रतिनिधिहरुले वेवास्ता गर्दा हालसम्म तिनिहरुको पुर्नवास हुन नसकेको लगत संकलन टोलीका सहभागि सोम सापकोटा बताउँछन्। ‘पिडितको उद्धारका लागि साँझ बिहान, खानपान, बाटोघाटो केही नभनी हामीले लगत संकलन गर्यौं। उक्त लगत संकलनको क्रममा त्यहाँ भन्दा बाहिर घरघडेरी भएका र नभएका भनेर छुट्टयाएर लगत संकलन गरी राहत के कति पाउने समेत उल्लेख गरी प्रतिवेदन पनि बुझायौं तर त्यो प्रतिवेदन त्यतिकै थन्कियो, अहिलेसम्म उनीहरु विस्थापित नै छन्।  स्थापित हुन सकेका छैनन्।’

जुरेले हरेक वर्ष वर्षा याममा यातायात आवतजावतमा समेत समस्या पुर्याइरहेको छ। गत साल चीनकै सहयोगमा त्यो बाटो पीच गरिएको थियो। तर अहिले यो बाटो पीच गरिएको होर जस्तो देखिन्छ। सामान्य प्राविधिक कुराहरुको ख्यालै नगरि गरिएको पीचको कारण स्रोत र साधन मात्र खेर गयो। जसको गति पहिलेजस्तै छ। गाडीहरु पास हुन निकै समस्या रहेको स्थानीयहरु बताउँछन्। २०७२ साल बैशाख १२ गते ११.५६ मा  महाभुकम्प गयो। साथै १३ र २९ गते गएका भुकम्प त्यतिकै भयानक थिए। भुकम्पमा ३१ जिल्ला प्रभावित भए भने १४ जिल्ला अति प्रभावित भए। १४ जिल्लामध्ये सिन्धुपाल्चोक अति प्रभावित भयो। ३५ सष ७० जनाको मृत्यु भयो।

९० प्रतिशत व्यतिगत आवास, सार्वजनिक भवन, विद्यालय, सरकारी कार्यालय लगायत संरचनाहरु नष्ट भए। भुकम्प गएको दुइवर्ष बितेको छ। तर पिडीतहरु टहरोमै जीवन निर्वाह गर्न बाध्य छन्। विद्यार्थीहरु टहरोमै पढ्न बाध्य छन्।

‘गर्मीमा अति गर्मी र जाडोमा अति जाडो हुने टहरोको पढाई र बसाई धेरै कष्टपुर्ण छ। र पनि बस्नुपर्ने बाध्यता छ। बिहान बेलुका त ठिकै हो दिउँसो बस्न सकिदैन् रुखमुनि गयो बस्यो’ बलेफि गाउँपालिका २ की लक्ष्मी न्यौपाने भन्छिन्।

बालबच्चा र वृद्धवृद्धालाई यसले अझ बढी गाह्रो बनाएको उनको अनुभव छ।  पुर्ननिर्माणको काम एकदम सुस्त गतिमा छ। व्यक्तिगत आवास बनाउनका लागि सुरुमा सरकारको स्पष्ट निति निर्देशन समयमा नआउँदा सबै अल्मलमा परे। अहिले जनशक्तिको अभावमा पुर्ननिर्माण कार्यले गति लिन सकेको छैन। स्थानीय युवा शक्ति वैदेशिक रोजगारमा पलायन भएकोले तालिम प्राप्त डकर्मी, सीकर्मी नहुदाँ पनि आवास निर्माणमा समस्या छ।

गाउँमा खटिने प्राविधिक पिच्छेको कुराले पनि आवास निर्माणमा अप्ट्यारो स्थिति आएको पीडितहरुको भनाई छ। त्यस्तै विद्यालय बनाउन सम्झौता गरेका विभिन्न पक्षले समयमा काम सुरु नगरिदिदा विद्यालयको जग खन्ने काम पनि हुन सकेन यी २ वर्षहरुमा। विद्यार्थीहरुले सुविधायुक्त भवनमा पढ्न पाउने दिन अझ टाढा  धकिलिदै छ।

गत साल  २०७३ असार २१ गते साँझ चीनमा परेको अविरल वर्षाका कारण भोटेकोशीमा ठुलो बाढी आयो। बाढीका कारण बाह्बिसे माथिदेखि लिपिङसम्म ९९ घरमा खोलाले कटान गरि बगायो। धार्मिक र पर्यटकीय हिसाबले अति महत्वपुर्ण मानिएको तातोपानी धाराका धेरै संरचनाहरु पनि उक्त बाढीले ध्यस्त बनायो।   बाढीले बाह्बिसे माथिको बाटो कटान गर्दा बाह्बिसे तातोपानी लिपिङ आवतजावत सुचारु हुन ३ महिना लाग्यो। १ सय ९९ घर परिवारका धेरै मानिस काठमाण्डौंको बौद्धमा बसोबास गर्दछन्।काठमाण्डौंमा बसोबास गर्न नसक्नेहरु त्यही जायजेथागरी बसेका छन्। तिनीहरुलाई तातोपानी स्थापित गरी तातोपानीलाई पहिले जस्तै बनाउने भन्नेमा सबै लागिरहेको बेला २०७४ साउन ८ गते लार्चा पुल भाँचिएर अर्को विपति भोग्न बाध्य हुनुपर्यो सिन्धुवासीले। २०७२ को भुकम्पले कमजोर बनाएको लार्चा पुलमा माथिबाट पहिरो भत्किएर आउँदा त्यसको भार थेग्न नसकी पुल बीचमा भाँचियो। सोही दिन परेको अविरल वर्षाले बढेको भोटेकोशीले उक्त भाँचिएको पुल बगाएर लगेको छ।

अहिले तातोपानी सडक सञ्जालबाट अलग छ। १०, १५ दिनका लागि खानेकुरा र औषधि पुग्ने भएतापनि तत्काल वैकल्पिक बाटोको व्यवस्था नगर्ने हो भने ठुलो समस्या आइपर्ने जिल्ला दैवी प्रकोप उद्धार समितले ठहर गरेको छ। एकदम सिरियस बिरामी कोही भयो भने हस्पिटल लाने बाटो छैन। ‘त्यसका लागि तुरुन्त मानिस आवतजावत गर्न सक्ने पुल तत्काल आवश्यक भएकोले उक्त पुल निर्माणका लागि नेपाल प्रहरी, नेपाली सेना, र शसस्त्र प्रहरी काममा लागिसकेको’ जिल्ला प्रहरी प्रमुख रविन्द्र केसी  बताउँछन।

तातोपानी नाका खोल्ने सन्दर्भमा कुरा भइरहेको बेला लार्चा पुल नै भाच्चिनुले यो नाका खुल्ने सम्भावना अझ पर सरेको उद्योग वाणिज्य महासंघका अध्यक्ष वेद बहादुर श्रेष्ठको भनाई छ। भुकम्प पछि अघोषित रुपमा तातोपानीको नाका चिनियाँ पक्षले बन्द गर्दा सिन्धुपाल्चोकका मानिसको रोजीरोटी गुमेको छ भने देशले दैनिक करोडौ राजश्व गुमानुपरिरहेको छ।

वर्षैपिच्छे यसरी आउने प्राकृतिक विपतिले जन र धनको ठुलो क्षति हुने गरेको छ। ‘प्राकृतिक विपति आउनुको मुख्य कारण कमजोर जमिन हो।’ उसैपनि नेपालको पहाड कमजोर रहेको इन्जिनियरिङ जियोलिष्ट डा. कृष्ण देवकोटा बताउँछन्। ‘प्राकृतिक रुपमै जमिनहरु हल्लिराख्छन्। कमजोर जमिनमा यो हल्लाई अझ बढी हुन्छ। जहाँ दरारहरु उत्पन्न हुने र जमिन स्थिर भएर नबस्ने हुन्छ। बर्षायाममा लगातार आउने पानीले त्यही कमजोर जमिनमा क्षति हुन्छ।’ डा.देवकोटाको भनाई छ।

कति पय विपतिबाट भएका क्षतिहरु प्रकृतिको कारण मात्र नभइ हामी मान्छेका कारण पनि आएका हुनसक्छन्। कमजोर धरातलमा भवनहरु निर्माण हुनु,  विकास प्रकृति र वातावरण मैत्री नहुनु, खोलामा जग राखेर घरहरु निर्माण हुनु आदि कारण पनि प्राकृतिक विपतिले धेरै भौतिक र मानवीय क्षति हुने गरेको छ। अबको विकास निर्माण प्रकृतिमैत्री हुनुपर्छ। कहाँ वस्ति बसााल्ने, सडक कहाँ खन्ने, खेती कहाँ गर्ने, विद्युत गृह कहाँ बनाउने, कलकारखाना कहाँ खोल्ने सबै विस्तृत रुपमा इन्जिनियरिङ भौगर्भिक अध्ययन गरी निर्माण गर्न सके मात्र यस्ता विपतिबाट जन र धन दुवै जोगाउन सकिएला।

फोटो: गुगलबाट

 

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.