हिलो कहाँ लाग्ला, नाइलनको साडीमा?

हिलो कहाँ लाग्ला, नाइलनको साडीमा?

टिजरको एक दृश्यमा अभिनेताहरु बुद्धि तामाङ र दीपकराज गिरी


लोकगीतलाई मेरो भन्नु र सार्वजनिक चौतारोमा आफ्नो नामको झण्डा गाडेर चौतारोलाई मेरो भन्नु उस्तै उस्तै हो नानु। हात्ती र हात्ती छाप चप्पल जस्तै भनेर यो आलेखको सुरुवात गरेको छु।

यो साता बजारमा एउटा गीतलाई लिएर निकै हल्ला र चर्चा भयो। गीत हो ‘ए दाजु नसमाऊ नाडीमा, हीलो लाग्ला नाइलनको साडीमा….’ दीपकराज गिरी निर्मित अनि दीपाश्री निर्देशित चलचित्र ‘छक्का पञ्जा २’ मा समावेश गरिएको उपरोक्त गीतका गायक हुन् अल्मोडा जसले ‘पानी पर्‍यो असिना झर्‍यो, दाइको रूमाल भाउजुलाई मन पर्‍यो….’ गाएर निकै चर्चा बटुले कुनै बखत। र उनलाई महिला आवाजमा साथ दिएकी छिन् सुजाता वर्माले।

गीतको रचनाकार प्रिन्स नेपाली र दीपकराज गीरी भनेर प्रचार गरिएको छ। अहिलेको हल्ला यसकारण भयो कि यो गीतका सर्जक अरु कोही हुन् अर्थात् कान्छा मगर नेपाली तर आरोप लाग्यो विना अनुमति अल्मोडा राना उप्रेतीले गाईदिए भनेर। चलचित्र चलाउनको लागि बेलाबेलामा यस्ता हल्ला प्रायोजित रुपमा चलाइन्छन् तर यसपाली भने जानेका अनि नजानेका सबैलाई सर्जक मर्कामा पर्‍यो भनेर धेरै नै टाउको दुखेको पाइयो।

म गलत छैन भने लोकगीत ‘लोक’को गीत हो। जस्लाई संकलन गरिन्छ र गाइन्छ वा यान्त्रिक प्रविधीबाट रेकर्ड नै गरिन्छ। शब्द नै काफी छ कि यस्ता गीत कसैका पेवा होइनन् लोकका हुन्। लोकगीत यार्सागुम्बा संकलन गरेजस्तो होइन। जहाँ कुनै खास योगदान दिनु परोस्। लोकगीतहरु घाँस–दाउरा, पेलापात, घट्ट पसल, ढिकी जाँतो, रत्यौली, दोहोरी गर्दा गर्दै जन्मन्छन् र लोकको जीब्रोमा झुण्डिन्छन्। भाषिका र आञ्चलिकता अनुसार लोकगीतका लय र शब्दमा विविधता पाइन्छन् तर कसैको निजी सम्पत्तीको रुपमा लोकगीतलाई लिन मिल्दैन।

मेरो बाल्यकालमा एकजना साथी थियो। हामी स्कुल जाँदा आउँदा बाटोमा फलेका ऐँसेलु टिपेर खान्थ्यौं। म ऊ भन्दा अलिक अग्लो कदको थिएँ त्यसैले झाडीको माथी माथीको ऐँसेलु टिपेर खान्थेँ तर मेरो त्यो बालसखा मैले टिपेर खाएको ऐँसेलुमा उसको हक लाग्ने तर्क गथ्र्यो, कारण पेश गथ्र्यो – त्यो ऐँसेलु मैले पहिला देखेको हुँ त्यसैले मैले पाउनु पर्छ। तर उसको दावी अगाडी नै मैले ऐँसेलु खाईसकेको हुन्थेँ। यहाँ पनि यस्तै तर्क गर्न खोजिएको जस्तो भान हुन्छ। लोकको सम्पत्तीलाई कस्ले पहिला देख्यो भन्ने तर्क त्यति युक्तिसँगत देखिँदैन। उसो त सार्वजनिक चौतारोमा आफ्नो नामको झण्डा गाडेर आफ्नो हक जमाए भई गयो नि।

कसैले एकदम मौलिक भाका रचना गर्‍यो वा शब्द सृजना गर्‍यो भने हो उ नै हो त्यसको असली हकदार नत्र लोकगीतमा कसैको हक लाग्दैन। यान्त्रीक प्रविधीमा रेकर्ड गरिएको छ भने कुरा बेग्लै या बौद्धिक सम्पत्तीको रुपमा दर्ता गरिएको छ भने त्यसको पनि कुरा बेग्लै। करोडौंको लगानीमा बनेको चलचित्र प्रदर्शन हुने बेलामा यो विवाद निकाल्नु निहीत स्वार्थ भन्दा बाहेक केही पनि देखिँदैन। कलामा जब व्यवसायिकता भित्रिन्छ तव त्यसमा बिकृति आउँछ, संगीतकार सुरेश अधिकारीले कुनैबेला मसँग गरेको अनौपचारिक गफको सन्दर्भ हो यो। अहिले सामाजिक सँजालको प्रयोग र त्यसको उपयोगबाट कलाको ब्यापार जब शुरु भयो अनि पैसाले सबैका नेत्र बलेका मात्र हुन् भनेँ भने गलत नहोला। नेपालमा विगतदेखि नै जनजिब्रोमा प्रचलित गीतहरुको नक्कल गरेर नयाँ गीतहरु रेकर्ड नभएका होइनन्। यसो भनीरहँदा कला चोरिनु ठीक हो भनेर तर्क गर्न खोजिएको भने पटक्कै होइन। विशेषगरी लोकगीतको भाकासँग मिल्दोजुल्दो र शब्दलाई जस्ताको त्यस्तै गाउने प्रचलन नयाँ हुँदै होइन। उदाहरणको रुपमा थुप्रै गीतहरु छन्।

संगीतकार सुरेश अधिकारीले संगीत गरेको ‘टिकुली है मेरो टलटल टल्कनलाई’ गीत पश्चिमी भेगमा चलेको तिज गीतको भाका हो। यो भाकामा धेरैवटा तीजगीतहरु रेकर्ड पनि भइसकेका छन्। कसले दावी गर्ने अव यो सँगीतमा ?स्वर्गीय गायक खेमराज गुरुङले गाएको बहुचर्चित पूर्वेली भाकाको गीत ‘वारी जमुना पारी जमुना’ कै भाकामा अरुण उपत्यका साँस्कृतिक समूहका नविन खड्का, पुस्तका खड्का लगायतले गीत रेकर्ड गराए, ‘घिन्ताङ घिन्ताङ मादल बज्यो कोशी किनारैमा, कान्छा भाइको भाग्यै छैन खोटी निधारैमा’। किन गरेनन् खेमराजले गीतमाथीको अधिकारमा दावी वा किन भन्न सकेन अरुण उपत्यका साँस्कृतिक समूहले, यो भाका त हाम्रो थियो भनेर ? किन कि यो साझा सम्पत्ती थियो।

नेपथ्य व्याण्डका अमृत गुरुङले गाएको ‘रेसम’ गीत पुराना पुर्वेली लोक गायक लक्ष्मी जोशी  (एलपी जोशी ) ले गाएका हुन् पहिले। झण्डै १५ वर्ष अगाडी झापामा जोशीकै निवासमा मैले उनलाई भेट्दा उनले भनेको सम्झन्छु। उनी भन्थे कि अमृतले उक्त गीत गाएर चर्चा बटुलीसकेपछी आएर माफी मागे। उनले भने लोकगीत हो यो मेरो मात्र सम्पत्ती होइन त्यसैले मसँग किन माफी माग्नु पर्‍यो ? तर उनको एउटा गुनासो भने थियो, अमृतले गाएको गीतमा शब्द प्रयोग भएको छ– सानोमा सानो कमलको हाँगो। लक्ष्मीले हाँसेर भन्थे शब्द चाहीँ बिचार गरेर गाउनु पथ्र्यो अमृतले। उनले तर्क गरे कमलको हाँगो नै हँुदैन। त्यही गीतले अमृतलाई चिनायो तर लक्ष्मी जोशीले कहिल्यै त्यसमा दावी पेश गरेनन्। किन भने उनले पनि त्यसलाई संकलन नै गरेका थिए नकी विशेष योगदान दिएर रचना।

उसो त अमृत गुरुङले नै गाएको अर्को गीत ‘भेडाको उनजस्तो’ गायक दिपेश किशोर भट्टराईले पनि गाए। यो गीत रसुवा जिल्लाको लाङटाङ क्षेत्रका ह्योल्मो जातिको प्रचलित लोकगीत हो। यसमा अमृतले पनि आफ्नो दावी प्रस्तुत गरेको प्रमाण छैन। लोकगीतमा कस्ले दावी गर्ने ? चलचित्र दर्पण छायाँमा रञ्जीत गजमेरले सँगीत गरेको गीत ‘जिन्दगानी दर्पण छायाँ’ पनि गायिका हिरादेवी वाइवाले गाएको ‘धनकुटाको डाँडैडाँडा चल्यो हुलाकी नि नारन’सँग मेल खान्छ। केही तोडमोड गरेर गाइएको यो गीतमा पनि विवाद आएन किन भने त्यतिखेर कला पैसासँग साटिएको थिएन। अहिले निकालिएको विवाद (यदि प्रायोजित स्टन्ट होइन भने) केवल सामाजिक सँजालबाट प्राप्त हुने रोयल्टीमाथिको गीद्धे दृष्टीको रुपमा बुझ्न सकिन्छ।

‘हुक्का मेरो डल्ले डल्ले नली नलाई खान्न भनेर हो राना ज्यू’लाई रेडियो नेपालमा रेकर्ड गराएका थिए एलपी जोशीले। यही शब्दलाई पप ब्याण्ड कर्माले गायो पछी। गीतमा प्रयुक्त शब्दलाई कसैले दावी गर्न सकेन किनभने माथी नै भनियो सार्वजनिक सम्पत्तीमा ढुङ्गो गाडेर आफ्नो हकदावी पेश गर्न कसैको नैतिकताले दिँदैन। एउटा फितलो तर्क के पनि छ भने जुन समयमा ‘ए दाजु नसमाऊ नाडीमा जान्न म त डिजेलको गाडीमा’ भन्ने गीत संकलन गरिएको भनिएको छ, त्यतिबेला डिजेल गाडी त्यती प्रचलनमा थियो होला र ? धिरज राइले गाएको सोइ ढोले सोइ कस्को ? यो पनि राई समुदायको धान नाचमा गाइने एउटा टुक्का हो जस्लाई राइ समुदायका र अन्य गायकहरुले पनि गीतलाई फुर्का हाल्न प्रयोग गरेका छन्।

लोकगीत कसैको बौद्धिक सम्पत्ती होइन। अहिले प्रचारमा आएका श्याम नेपालीले सारंगीमा विभिन्न धुन बजाएर विश्व परिक्रमा गरिरहेका छन् र सायद रकम पनि राम्रै कमाएका हुनन्। उनले बजाएका सबै लोकधुनका संकलकसँग उनले अनुमती मागेका छन् कि छैनन् वा कमाएको पैसा बाँडेका छन् कि छैनन् ? उनको दावी पनि माथी उल्लेख गरिएको ऐँसेलुको कहानी जस्तै हैन र ?

उता गीतसंगीतका विश्लेषक प्रकाश शायमीले उक्त गीत वरिष्ठ गीतकार चेतन कार्कीको सम्पत्ती भएको तर्क गर्दै सामाजिक सँजालमा गीतको असली सर्जक चेतन कार्की भएको दावी गरेका छन्। श्याम नेपाली र उनका छोरा प्रिन्स नेपालीले अब शायमीको कुरालाई पनि उछिनेर ‘ए दाजु’ आफ्ना बाऊ बाजेको सम्पत्ती त्यसैले आफ्नो हक रहेका पुष्टी गर्नुपर्ने हुन्छ। सायमीको दावीमा पनि सहमत हुन सक्ने ठाउँ यसकारण छैन कि उनले फलानो गीतको शव्द भनेर प्रस्तुत गरेका शब्दहरु अहिले विवादमा रहेको गीतको भाकामा समायोजन गर्दा त्यसको तादम्यता मिल्दैन। भाका र शब्दको तालमेल नमिलेपछि फलानो गीत फलानो शब्द सहितको फलानोले पहिलोपल्ट प्रस्तुत गरेको भनेर तर्क गर्दा गीतसँगीतको खासै ज्ञान नभएकालाई त झुक्याउन सकिन्छ तर गीतको गेडा जानेकाले यस्ता तर्क पत्याउँदैनन्।

प्रकाश सायमीले नै सामाजिक सँजालमा लेखेका छन् की यो गीत बिधान श्रेष्ठले रेकर्ड गरिसकेका छन्। त्यसो हो भने श्याम नेपाली वा चेतन कार्कीले किन त यसअघी नै उपर्युक्त गीतमा आफ्नो दावी प्रस्तुत नगरेका ?सँगीतमा रागको उत्पत्ती कहिले कहाँ र कस्ले गर्‍यो ? शास्त्रमा उल्लेख गरिएका रागमा आधारित भएर गीत गाउन पाइने की नपाइने ? कुनै रागमा आधारित सँगीतलाई आफ्नो सृजना भन्न पाइने की नपाइने जस्ता प्रश्नहरुको पनि जवाफ दिनुपर्ने हुन्छ। जनजिब्रोमा समाहित भइसकेका शब्दहरु र मुखाग्र भइसकेका लोकका धुनहरुलाई सबैले गाउन पाउनुपर्छ। राजेश हमाललाई कसले चलचित्रमा आगमन गरायो ? बाँकी दिनमा उनले उसैको मात्र चलचित्रमा अभिनय गर्नुपर्ने थियो अनि गरे?

अहिलेको विवादलाई दुई धारबाट मूल्याङ्कन गर्न सकिन्छ। पहिलो, चलचित्रको व्यापारलाई बढावा दिनको निम्ती गीतको असली सर्जकको हौवा फिँजाएर नजानिँदो प्रचार गरिँदैछ (चलचित्रको क्षेत्रमा अनर्गल हल्ला चलाएर प्रचार गर्ने पुरानै चलन हो), जसमा लामो समय टेलीचलचित्रमा विताएका दीपकराज गीरी जो प्रचारबाजीमा माहिर छन्, उनको नियोजित षडयन्त्र लुकेको छ। दोस्रो, सम्भवतः गीत रिलिज भएको २४ घण्टा भित्रै गीतले पाएको चर्चा र गीतले कमाउने रकममा श्याम नेपालीको आँखा लागेको हुन सक्छ या प्रिन्स नेपाली जसलाई गायक अल्मोडाले कमाउन लागेको ख्यातीका कारण डाह भइरहेको छ वा उनी सपनामा बर्बराइरहेका छन्। उसो त युट्युवबाट सार्वजनिक गरिएको उक्त गीतको विवरणमा संगीतकारको रुपमा प्रिन्स नेपाली र स्वर्गीय कान्छा मगर नेपाली भनेर स्पष्ट उल्लेख गरिएको छ। भित्री लेनदेन के भयो या अनुमति लिइयो लिइएन त्यो त सम्बन्धितलाई नै थाह होला।

जे होस् नकारात्मक टिप्पणीले पनि सकारात्मक प्रचार गरिरहेको हुन्छ भन्ने मान्यतालाई स्विाकार गर्ने हो भने अहिलेको बजार हल्लाले छक्का पञ्जा २ टिमलाई सित्तैमा फाइदा पुगीरहेको छ। गीत चोरी भयो भन्ने हल्लाकै भरमा चलचित्रको ब्यापार नघट्ला। गीत मात्रै चर्चित हुँदैमा चलचित्र चल्छ भन्ने छैन। थुप्रै राम्रा र चलेका गीत समावेश गरिएका चलचित्रहरुले धुलो चाटेका उदाहरणहरु धेरै टाढा छैनन्।

छक्कापञ्जाले नराम्ररी छक्यायो: श्याम नेपाली

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.