हामी सधैं जवान रहन बाध्य छैनौं


‘तिम्रो उमेर कति भयो?’ अनायासै सोधिएको उक्त प्रश्नमा म एकैछिन अलमलिएँ  र तुरून्त जवाफ फर्काएँ, ‘केटी मानिसलाई पनि उमेर सोध्छन्?’ यसअघि पनि कसैले मेरो उमेर जान्न चाँहे म यसैगरि प्रश्नकर्तालाई प्रतिवाद गर्थेँ। साँच्चै भन्ने हो भने आफ्नो उमेर नढाँटेको अनुभव मसँग छैन।

यो पटक मेरो उमेरबारे प्रश्न गर्ने अरू कोही नभएर मेरै अफिसका सिनियर थिए। आफ्नो उमेर नबताउने मेरो ठाडो उत्तरसँग मेरा ती अग्रजको केही सिप लागेन, भलै उनले मलाई प्रश्न गर्न‘को अन्तर्य कुनै सामाजिक अनुसन्धानको लागि थियो।

उमेर भन्नु पर्ने तनावबाट मेरो सिनियरले मलाई त्यतिखेर सजिलै पार लगाईदिए, जब त्यही प्रश्न मलाई छोडेर मसँगै बसेको मेरो पुरूष सहकर्मीलाई सोधे। यस पटक मैले मुक्तिको अनुभव गरेँ। सँगैको केटा साथीले आफ्नो उमेर गर्वका साथ भन्यो- ‘म ३३ पुगेर ३४ लागेँ।’

उही ३३ वर्षे साथीले गर्व र आत्मविश्वासका साथ आफ्नो उमेर बतायो तर, सोही उमेर लुकाउन मैले चाहिँ कम्ता जोड गरिनँ। मिटिङ सकियो। तर मेरो मनमा आफ्नो सही उमेर भन्न नसकेको बारे हिन भावना जब्बर भएर बस्यो। सिधासाधा अनुसन्धानको लागि सोधिएको प्रश्नमा मैले कस्तो लोकलाज टार्नेगरि जवाफ फर्काएँ कि–केटी मानिसको पनि कहीँ उमेर सोध्छन्?

महिनौंसम्म यही कुरा मनमा खुब खेल्यो। मनमा हुटहुटी नै चल्यो आफ्नो खुट्टामा उभिन सिकाउने आमाबाले किन साँचो उमेर भन्न सिकाएनन् होला अथवा किन मलाई उमेरबारे प्रश्न गर्दा केटी मानिसको पनि उमेर सोध्छन् भन्ने रेडिमेड उत्तर दिन सिकाइयो होला? साँच्चै उमेर ढाँट्न कसले सिकायो हामीलाई? अनेक तर्कवितर्क मनमा चले।

उमेरसम्बन्धी यही उल्झन मनमा थियो। केही समय अगाडि भारतीय विदेश मन्त्री सुष्मा स्वराजका पति स्वराज कौशल जो उत्तरपूर्वी राज्यका गभर्नरसमेत छन् उनलाई ट्विटरमा एक जनाले सोधे, ‘साँच्चै, सुष्मा म्याडमको तलब कति होला?’

ट्विटरमा सवाल जवाफ गरिरहने स्वराजले जवाफ फर्काए-जमाना बदलियो, अब पुरुषलाई उसको उमेर र महिलालाई उनको तलब सोध्नुहुन्न।

सुष्माको पतिको उत्तरमा जमाना बदलिएको कुरा ठिक थियो तर महिलाको उमेर सम्बन्धमा स्वराजको उत्तर मैले खोजेजस्तो पाइनँ। बरू यसको बदला मैले आफैं मेरा पुरुष साथीहरुलाई सोध्न थालेँ- केटा मानिस कस्ती केटीलाई मन पराउँछन्। अर्थात् कति उमेरकी केटीमा केटा मानिसको नजर जान्छ? सँगै यो पनि सोध्न भुलिनँ,-तपार्इं कति उमेरकी केटीसँग विवाह गर्न चाहनुहुन्छ?

२४ देखि ४५ वर्ष समूहका कैयौं पुरूषलाई म आफैंले सोधेको छु–तपाईँलाई कति उमेरकी केटी मनपर्छ? उत्तर अनौठो थिएन। औसत पुरुषको आँखा २० देखि २५ वर्ष उमेर समूहमा जादो रहेछ। विवाहको लागि पनि यही उमेर समूहका केटी रोजिन्छन्। केटा मानिस ६० उमेरकै छ भने पनि उसको आँखा २० वर्षे तरूनीमा जानुमा उसको आँखाको के गल्ती भयो र?

सार्वजनिक रूपमा हामी ३० नाघेका युवतीले आफ्नो उमेर भन्न नसक्नुको मुख्य कारण यही २० देखि २५ वर्ष उमेरको सीमा नाघिसक्नु हो। प्रायः कुनै पनि केटा मानिस ३० नाघेको केटीलाई हेर्छु भन्न समेत तयार हुँदैन। हेर्नलाई पनि केटा मानिस २०/२५ कै युवती नै रोज्छन्।

३० नाघेका युवती पनि केटीनै हुन, उस्तै मानवीय समवेदना भएका र झनै परिपक्क। तर, विवाहका लागि ३० नाघेको केटीलाई हेर्नसमेत नरूचाउने समाजमा बसेर कुन चै केटीले आत्मविश्वास र गर्वका साथ भन्न सक्ली कि ऊ ३४ वर्ष कि भई भनेर?

सार्वजनिक रूपमा हामीले हाम्रो उमेर भन्न नसक्नुको मुल कारण यही हो। हामीलाई डर छ कि आफूलाई ३४ वर्ष भनेमा कुनै पुरुषबाट हेरिन पनि लायक हुन्नँ। विवाहका लागि अधिकांश पुरूष हामी युवतीको उमेर २० देखि २४ होस् भन्ने अपेक्षा गर्छन्। तर, उनीहरूको ‘इच्छाविपरित’ हामी १० वर्ष बढी भईसक्छौं । आफूभन्दा १० वर्ष बढीकि केटीसँग विहे गर्नु परको कुरा हो हाम्रो समाजमा।

खासमा आफ्नो बढ्दो उमेरबारे गर्व गर्न सक्नुपर्थ्यो, जसरी मेरो केटासाथीले गर्‍यो। किनकि ३४ वर्षको उमेरसम्म म सकुशल छु, मेरो स्वास्थ्य ठिक छ। अझ गर्वको कुरा, ३४ वर्षको उमेरसम्म मैले यो अद्भुत जीवन बाँच्न पाएँ र सुख दुःख भोग गर्न पाएँ। ३४ वर्षको उमेर मेरो सम्पत्ति हो। कानको छेउछाउमा देखा परेका दुईचार वटा सेता कपाल मेरो अनुभवका प्रतिक हुन्। र, निधारमा देखा पर्न थालेका धर्साहरु मेरो ३४ वर्ष उमेरलाई सदर गर्ने साक्षी हुन्। ३४ वर्षको उमेरसम्मका यी सारा अनुभव मेरो जीवनको खजाना हो न कि भ्रष्टाचार गरेर लुकाएको धन। न त ३४ वर्षे मेरा यी प्राप्तीहरू गैरकानुनी उपार्जन हुन्।

यो समाजको बुझाइमा दिनप्रतिदिन मेरो विवाह हुने सम्भावना अब क्षीण हुँदैछ। सात वर्षकी गोमा ब्राम्हणीलाई ७० वर्षको शिव शर्मा ब्राम्हणले गरेको बालविवाहको कथा रमाई–रमाई भट्याएर नअघाएको समाजमा ३४ वर्षकी केटीको हात माग्न को आउँला? तर, मलाई भन्न मन छ– मेरो विवाहको उमेर तोक्ने को? म कि मेरो समाज? म ५० वर्षमा विहे गरूँ वा गर्दै नगरूँ, यसको फैसला त आखिर मैले नै गर्ने हो।

कस्तो अचम्म! समाजको आधा हिस्सा हामी महिलाहरु उमेर र अनुभवले परिपक्क हुने हैसियतसमेत राख्दैनौं। यति असक्षम बनाईएको छ कि हामीलाई हामी हाम्रो खुलस्त उमेर बताउनसमेत सक्तैनौं।

अरे मेरो समाज– हामी बुढी हुन स्वतन्त्र छौ। ३४ लाई ३४ नै भन्न स्वतन्त्र छौ। टाउकोमा देखा परेको सेता कपाल सेता नै रहन दिन स्वतन्त्र छौ। हामी सधैं तरूनी भइदिन बाध्य छैनौं।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.