एउटा उम्मेदवारको चुनावी डायरी


राजनीतिमा असल र सक्षम मानिस आएनन्, यो त साह्रै खराब भयो भन्ने बहस चिया चमेनादेखि ककटेल डिनरसम्म सुन्न थालिएको पनि दशकौं भयो। इमानदार र योग्य मानिसहरु राजनीतिमा नहोमिने अनि सर्वआहारावादीहरुले खत्तम पारे भन्न पनि नछाड्ने हाम्रो बानी छ। यसरी त कसरी पो मुलुक बन्ला त भन्ने मान्यतालाई आत्मसात गरेरै मैले क्रियाशील राजनीतिमा हामफाल्ने निर्णय गरेको हुँ।

यसैक्रममा साझा पार्टीको तर्फवाट स्थानीय तहकोे निर्वाचनमा इटहरी उपमहानगरपालिकाको उपमेयर पदमा उम्मेदवार बन्ने शौभाग्य पाएँ। फरक क्षेत्रबाट राजनीतिमा होमिएलगत्तै जनताको मनोभावना बुझ्ने अवसर मेरा लागि अत्यन्त महत्वपूर्ण निधिका रुपमा संग्रहित भएको छ। पत्रकारिताको नजरले भन्दा पनि उम्मेद्वारको मनोदशाका हिसाबले यो अनुभूति अझ बढी सान्दर्भिक होला भन्ने विश्वासले पाठकसमक्ष चुनावी दौरानका सिलसिलामा देखेका र भोगेका केही सन्दर्भलाई पस्कने प्रयत्न गरेको छु।

उम्मेदवारी घोषणा चर्चा र शुभेच्छा

साझा पार्टीको तर्फवाट मलाई इटहरी उपमहानगरपालिकाको उपमेयरको उम्मेद्वार घोषणा गरिएको विज्ञप्ति सार्वजनिक भएसँगै फोन, एसएमएस र सामाजिक सञ्जालमा बधाई र शुभकामनाको ओइरो लाग्न थालिहाल्यो।

सहयोग, सद्भाव, समर्थन र शुभेच्छाले ढिलो उम्मेदवारी घोषणा गरेर चुनावी समुन्द्रमा होमिने निश्चय गर्दा पनि चुनावै जितेसरहको प्रतिक्रिया अमूल्य थियो, मेरा लागि। पारिवारिक सदस्य, सहपाठी, छिमेकी, आफन्त हुँदै गृहनगरदेखि देशैभरीका शुभेच्छुकको माया, सद्भाव र विदेशमा रहेका नेपालीहरुको प्रेरणादायी वचन, हौसलाका सन्देश र सहयोगका वाचा राजनीतिक जीवनकै सम्पत्ति नबन्ने कुरै भएन।

आकस्मिक उम्मेदवारी दिएर उपमहानगर छिर्दा

इटहरी उपमहानगरको जनप्रतिनिधि हुन भोट त इटहरीबासीकै चाहिन्छ। यो थाहा नपाउने कुरै भएन। तर पार्टी निर्णय बमोजिम आकस्मिक उम्मेदवारी घोषणा हुँदा भने मेरा धेरै शुभेच्छुकहरुले दुखेसो पोखे। आकस्मिक उम्मेदवारीले मलाई बहुतै माया, सम्मान र शुभेच्छा गर्नेे ठूलो जमातलाई हल्का असजिलो पनि भएछ।

अलि अगाडि उम्मेदवारी दिनेबारे हामीसँग पनि ईच्छा जाहेर गरेको भए अरुलाई बुझाउन, सम्झाउन र भोट माग्न सजिलो हुन्थ्यो कि भन्ने नै उनीहरुको खास गुनासो र चासो देखिन्थ्यो। अझ नजिकवाट परामर्श गरेर आशिर्वादसहित उम्मेदवारी दिएको भए हुन्थ्यो भन्ने चाहना राख्नेहरु पनि नभएका पनि होईनन, मानका खातिर माननै भए पनि।

कांग्रेस एमालेको घरदैलो सकिँदा पत्रकार सम्मेलन

मैले इटहरीमा उम्मेदवारी र प्रतिबद्धतापत्र सार्वजनिक गरिरहँदा कांग्रेस र एमाले वडावडाका आफ्ना उमेदवारहरुले घरघरमा पुगी भोट माग्ने काम सकिसकेका थिए। पहिलो चरणकै लागि चुनावी मोर्चामा होमिएका परम्परागत दलका नेता तथा कार्यकर्ताहरु पटकपटक चुनावको मिति सर्दा कतिपय त आजित भइसकेका थिए।

जनताको घरघरमा पुगेर आफ्नो उम्मेदवारी र बाचा प्रस्तुत गरिसकेका उनीहरुलाई ‘रात रहे अग्राख पलाउने’ पीरलो हुनु पनि स्वभाविकै हो। जनताहरु पनि आएका र सुनेकाबाटै कुनै उम्मेद्वार या पार्टीलाई झण्डैझण्डै रोजीसकेको अबस्थामा म समृद्ध इटहरीको खाका लिएर प्रस्तुत भइरहेको थिएँ। धेरैले राजनीतिक आँटका रुपमा सम्मान गरिरहेका थिए भने कतिपयले पार्टीको उपस्थितिका रुपमा उभिएको बुझिसकेका थिए।

सक्रिय पत्रकारिता, क्रियाशील राजनीति

पत्रकारितामा मेरो आफ्नो छुट्टै राष्ट्रिय परिचय बनिसकेको थियो। दर्शक र पाठकले मन पराइरहेका थिए। पुरस्कार र सम्मानबाट विभुषित गरिरहेकै थिए। गौरवका साथ छाती फुलाएर मैले असल पत्रकारिता गरेको थिएँ भन्न हिचकिचाउन पर्दैन। प्रत्यक्ष र अप्रत्यक्ष रुपमा समाज र राष्ट्र रुपान्तरणमा मेरो पेशागत योगदान थियो भन्ने गहिरो विश्वास आजपर्यन्त छ, नहुने कुरै भएन। तर मेरो पेशाको सीमा थियो, यो अन्तिम सत्य थिएन।

विगत देखि नै राजनीतिमा मेरो प्रगाढ रुची र गहन चासो थियो, त्यसैले मैले राजनीतिलाई नजिकवाट नियालीरहेकै थिएँ। पेशागत, संस्थागत र नेतृत्वदायी भूमिका पनि निर्वाह गरेरै अघि बढिरहेको थिएँ। पेशाका हिसाबले पनि राजनीति बुझ्नु पर्ने, राजनीतिक दलका नेता, अगुवा र सरोकारवालाहरुसँग सम्पर्क र संगत गर्नु पर्ने छँदै थियो।

मैले सक्रिय राजनीतिमा पाइला चालेँ। एक जना सक्रिय पत्रकारको रुपमा मलाई सजाइरहेका जनतामाझ उम्मेदवारका रुपमा प्रस्तुत हुँदा कतिपय सचेत मतदाताहरु आश्चर्यचकित भएका थिए। इमानदार रुपमा क्रियाशील पत्रकारिता गरिरहेको एकजना पत्रकार सक्रिय राजनीतिमा होमिएको देख्दा धेरै जनालाई योग्य मानिस राजनीतिमा आएकाले खुसी पनि लागेको थियो। केही भने पत्रकारितामै जमेको भए राम्रै हुन्थ्यो भन्ने मनशाय प्रकट गर्थे।

फेसबुकबाट स्वयंसेवक आह्वान

बिना संगठन साझाको ब्राण्ड प्रोमोशन गर्न उम्मेदवारी दिनु काठमाडौंमा जस्तो सरल कुरा थिएन। इटहरीमा साझा पार्टीको एकाइ पनि गठन गरिएको थिएन। पार्टीमा आबद्ध हुन चाहने चारपाँच जना साथीको भरमा घरदैलो र प्रचारप्रसार सम्भव थिएन। हामीले फेसबुकमा प्रचारप्रसारमा हिँड्न चाहने शुभेच्छुक चाहियो भनेर पोष्ट गर्‍यौं। धेरै साथीहरुले रुची देखाएपछि हामीलाई सजिलो भयो। इटहरीभन्दा टाढाका साथीहरुले प्रचारप्रसारमा सहभागी हुन चासो पनि देखाए। तर चुनावी समय व्यवस्थापनका हिसाबले हामीले उनीहरुलाई परिचालन गर्न सकेनौं, शुभेच्छा स्वीकार्यौं मात्रै।

भोट माग्यो, चुनाव चिन्ह छैन

ढिलो उम्मेदवारी दिए पनि जनतासँग त साक्षात्कार हुनै पथ्र्यो। केही शुभेच्छुकका साथ भोलिपल्टैदेखि घरदैलो अभियान शुरु गरियो। जनतासँग भोट त माग्यो, तर चिन्हचाहिँ के नि भनेर सोध्दा पछि आउँछ भन्दै हिँड्नुपर्ने बाध्यता पर्‍यो। एक चरणमा नै सबैका घरमा पुग्न हम्मेहम्मे परिरहेका बेलामा पछि चुनाव चिह्नका साथ आउन सक्ने अवस्थै थिएन। साझा पार्टीको भनिए पनि पार्टी दर्ता बिनै हामीले स्वतन्त्र हैसियतमा उम्मेदवारी दिएका थियौं। बिस्तारै सामाजिक सञ्जाल र मिडियामार्फत थाहा पाएरै जनताले त्यति भोट दिएका हुन्।

साझाको सभा र जेसिजको ककस

साझा पार्टीले इटहरीको केन्द्रिय भाग रोजेर चुनावीसभा आयोजना ग¥यो। चुनावी ध्रुवीकरण चर्किरहेका बेलामा संगठन नै नभएको पार्टीका सभामा जनताको सहभागिता अनुमान गर्न सकिन्न थियो। तर, सभामा उल्लेख्य सहभागिता देखियो। पार्टी संयोजक रवीन्द्र मिश्रसहित उम्मेद्वारहरुको भाषण तथा प्रतिबद्धताले निकै चर्चा पायो। इटहरीका अग्रजहरु र पत्रकारहरुले सकारात्मक संकेत देखाए। आशाको सञ्चार फैलियो। लगत्तै इटहरी जेसिजले गरेको उम्मेद्वार ककस कार्यक्रम हाम्रा लागि राम्रो फोरम साबित भयो। आफ्ना धारणा राख्ने र अगुवा जनताहरुलाई विश्वास दिलाउने सवालमा सार्वजनिक बहस र ककस नै उपयुक्त माध्यम हो।

भोक भौकै भाषण गर्दा

चुनावी दौरान उम्मेदवारको रुपमा जनता सबैभन्दा शक्तिशाली भएको अवस्थालाई मैले नजिकवाट नियाल्न पाएँ। हाम्रो खानपान, हिँडाइ, बोलाइ, तौरतरिकालाई जनताहरुले निकै नजिकबाट ख्याल गरेको पाएँ। हामीले सुसंस्कृत राजनीतिक अभ्यासलाई जोड दिएका थियौं, हामी परम्परागत दलभन्दा तडक भडक, विपक्षीहरुमाथि जबर्जस्त आक्रमक प्रस्तुत हुने शैलीलाई चिर्न खोजिरहेका थियौं। असार ८ गते मेरो गृहवडा तरहरामा चुनावीसभा थियो। पूर्वयोजना बमोजिम नजिकैको घरदैलो सम्पन्न गरेर कार्यक्रमस्थल छैवैमा खाना खाने अनि कार्यक्रममा सहभागी हुने योजना थियो। हामी खाना खान त आयौं तर खाना त सकिइसकेछ। तत्काल बाहिर गएर खाने अवस्था पनि थिएन। ठूलो सङ्ख्यामा जनता देखेपछि भोक हराउँदै गयो, भोकै भाषण गर्नुको अर्को मजा अनुभव गरियो। स्थिति कस्तो रह्यो भने कार्यक्रम सकिएपछि पनि खाना पाकेन। केही फास्टफुडकै भरमा अर्को टोलमा भोट माग्न हिँडियो।

घर दैलो हिडेको मान्छे चुलो चौका पुग्दा

देशका कुनाकन्दरामा अझै पनि छुवाछुतको जालो तोड्न नसकिरहेका बेला दलित समुदायको व्यक्तिको उम्मेदवारीले पनि सामाजिक रुपान्तरणमा उल्लेख्य भूमिका खेल्न सक्छ। यो अनुभूति म आफैंले संगाल्न पाएँ। तुलनात्मकरुपमा पूर्वमा छुवाछुत तथा जातिय भेदभाव कम छ। तर जरै उखेलिएको भने पटक्कै होइन। मतदाताको घरघरमा भोट माग्दै जाँदा कतिपयले बाहिरै आएर वा आँगनमै झरेर कुरा सुन्ने र आफ्ना कुरा राख्थे। कतिले भने चर्को गर्मीले आलस्य भएकाहरु प्यासेज, किचन र वेडरुममै हुन्थेँ। घरदैलोमा भोट मागिरहँदा उनीहरु कोठामै बोलाएर हाम्रा कुरा सुन्न चाहन्थे। कोठामै पुगेर कुरा राख्न पाउँदा र कुरा सुन्दाचाहिँ त्यतिखेरै चुनाव जिते जस्तो लाग्थ्यो। भलै कतिपय ठाउँमा अप्ठ्यारो मानेका पो हुन कि जस्तो भान हुन्थ्यो।

आफ्नै टोललाई समय नपुग्दा

उपमहानगरमा थपिएका नयाँ बस्तीहरुमा पुगेर प्रभाव छोडनु पर्छ, गृहवडा तरहरा त अलि पछि भोट मागौँला भन्ने रणनीति अपनाइयो। तर गाउँ टोलमा हिजो पनि प्रकाश आएन आज पनि आएन, हैन त्यसलाई भोट चाहिन्न कि क्या हो भन्ने गाइगुइ शुरु भएछ।

बिस्तारै मेरो घरमा आएर बुबाआमालाई सुनाउन थालेछन्। टोल छिमेकमा पनि त्यस्तै चर्चा चल्न थालेछ। कतिसम्म भने मतदानको चार दिन अघि एक दर्जन बढी गाउँलेहरु भोट चाहिँदैन कि क्या हो? भोट माग्न आउनु पर्दैन? भन्दै सम्झाउन पो आईपुगे। आफ्नो बाध्यतासहित उम्मेदवारीबारे राम्ररी बुझाएपछि पो थाहा पाइयो कि उनीहरुलाई त म वडाध्यक्षमा उठेको भन्ने लागेको रहेछ। वडाको टोलटोल नकुदी यसले कसरी भोट पाउला र जित्ला भन्ने उहाँहरुको चिन्ता पनि गज्जबकै थियो।

रोचक इटहरीको चुनावी परिभाषा

इटहरीको सम्भावना, आवश्यकता र प्राथमिकतालाई केन्द्रबिन्दु बनाएर साझाका नेता समेत रहेका पूर्वाधारविद् सूर्यराज आचार्य र सहरीविद् किशोर थापाको सहयोगमा इटहरीको विकासको एजेण्डा सहितको घोषणापत्र तयार गरेका थियौं।

घोषणापत्रका मुख्यमुख्य कुराहरु त हामीलाई चासो राख्ने र बताउनै पर्ने व्यक्तिहरुलाई हरेक ठाउँमा स्पष्ट राख्ने नै गरेका थियौं। तर सरल रुपमा मुख्य हाइलाइट्सका हिसाबले इटहरीलाई गरिएको शाब्दिक व्याख्या प्रभावकारी देखियो। मैले इटहरीलाई इटहरीजस्तै बनाउने हो, त्यो भनेको इटहरीको नाममै पाईन्छ भनेर परिभाषित गर्ने प्रयास गरेको थिएँ। जस्तोः– इन्जिनियरिङ इन्फास्ट्रक्चर सहितको इटहरी, – टहरारहित इटहरी, – हरियाली इटहरी र री– रिङरोडयुक्त इटहरी। अर्थात्, इटहरीजस्तै इटहरी। धेरैले यति परिभाषालाई व्यवहारमा ढाल्न पाए कति राम्रो हुने थियो भनेर प्रसंशा गरेका थिए।

रमाइलो चुनाव चिह्न

चिह्न पाएर भोट माग्न जाँदाचाहिँ अलि सजिलो भएको थियो। त्यसमाथि पनि जनमनमा सजिलै बुझाउन सकिने चिह्नका कारण छिट्टै मुखमा झुण्डिएको थियो। कतिपय स्वतन्त्र उम्मेद्वारले पाएका चिह्न त साँच्चै बुझाउन कठिन, सम्झन र सम्झाउन निकै गाह्रो पर्ने खाले थिए।
चुनाव चिह्नले खास गरेर महिला र बालबालिकामा राम्रै छाप छोडेको पाएँ। सेलरोटी भन्ने बित्तिकै महिलाका कान ठाडा हुन्थे र ‘ए! सेलरोटीचाहिँ तपाईंको’ भनेर मुस्कुराउथे। बालबालिकालाई ‘भोट केमा? सेलरोटीमा’ भनेर खेल्न, जिस्कन सजिलो भएको थियो।

मतदाताभन्दा बढी शुभेच्छुक

तपाईंहरु दक्ष, क्षमतावान् , इमानदार, केही गरौं भन्ने मानिसहरु राजनीतिमा आउनुभएको छ, तडकभडक छैन, शिक्षित र युवा व्यक्तिलाई सहयोग गर्छौं भन्नेहरुको सङ्ख्या ठूलो थियो। तपाईंहरुको चर्चा व्यापक छ, निराश नहुनुुस्, माहौल राम्रो छ भन्नेहरुको सङ्ख्या पनि प्रशस्तै थियो। हामीलाई शुभेच्छा, सद्भाव र समर्थन गर्ने ठूलो समुह निकट सम्पर्कमा आएर काम गरिरहेका थिए, खुलेर नआए पनि।

खुलेर हामीलाई साथ दिने शुभ चिन्तकहरुले सल्लाह, सुझाब उत्साह र उर्जाचाहिँ दिनुभयो तर भोटचाहिँ दिनुभएन। किनकि, मौन अवधिमा उहाँहरुलाई हामीले टिकाइराख्न सकेनौं। त्यही ४८ घण्टाभित्र हाम्रा शुभेच्छुक मतदाताहरुको मन बदलिइसकेछ। मान्छे त राम्रा हुन् तर जित्दैनन्, किन भोट खेर फाल्नु भन्दै परम्परागत दलहरुलाई नै भोट दिइलाई राजी भएछन्।

महंगो चुनाव, सर्वसाधारण त उठ्नै नसक्ने भए

हाम्रा स्वयंसेवकहरु समोसा तरकारी खाएर प्रचारप्रसारमा डुलिरहँदा परम्परागत दलको चुनावी यात्रामा नियमित भोज चल्थ्यो। कतिसम्म भने इटहरीका कम्तिमा ७ वटा वडाका वडाध्यक्षको उम्मेदवारको खर्च २० देखि ३५ लाखसम्म भएको चर्चा अझै सेलाएको छैन। अझ मेयर र उपमेयरको खर्च त स्वतः अनुमान गर्न सकिन्छ। अनावश्यक खर्च थेग्न नसक्ने इमानदार र जनप्रिय नेताले पनि आर्थिक कारणले उम्मेद्वार बन्ने आँट नै गर्न नसक्ने अवस्था बनेको छ। त्यसो त परम्परागत दलहरुमा उम्मेद्वारको टिकट पाउन पनि ठूलो आर्थिक चलखेल हुने गरेको चर्चा लामो समयदेखि चलिरहेको छ। चर्चा र खर्च दुवै बढीरहेकै छ।

जसलाई भेट्यो ‘अलि ढिलो भयो’ मात्रै भन्ने

चुनावी दौरानमा धेरैले अलि ढिलो उम्मेदवारी दिएको भनिरहे। सायद उहाँहरुले भोट कसलाई दिने भनेर सोच बनाई सक्नुभएको थियो कि! कुराकानी गर्‍यो, सहमत पनि देखिने, अत्यन्त राम्रो उमेदवार, राम्रो एजेण्डा, गज्जब पार्टी भनेर ढाडस पनि दिने तर अन्तिममाचाहिँ तपाईहरु अलि ढिलो आउनुभयो भनिहाल्ने। ढिलो आए पनि राम्रो एजेण्डा, राम्रा उमेदवार भनेर सम्झाउन सकिन्छ कि भन्ने हाम्रो प्रयास यस पटकलाई सफल भएन।

Twiter: @ChandraPari

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.