सहायक सरको कुर्सीमा सहायक म्याडम भएर बस्दा


कार्यकक्षको झ्यालबाट पर देखिएको लाङटाङ हिमाल हेरेर एकोहोरिइरहेको बेला ढोकाबाट एउटा आवाजले झस्कायो।

‘सहायक सर हुनुहुन्न?’

सहायक सर भनेको जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको छोटकरी रुप हो। वा, भनौं म बसिरहेको कुर्सी।

‘हजुर! सहायक प्रमुख जिल्ला अधिकारी खोज्नुभएको भए मै हुँ,’ मैले ती आगन्तुकलाई भनेँ।

उनको हेराइमा एकाएक अविश्वास झल्कियो।

‘जिल्लामा गएपछि अलि होसियार हुनू है। धेरै पुरुष कर्मचारीसँग हिँडडुल नगर्नू। ग्रुपमा भए ठिकै छ, हैन भने कसैकोमा नि नजानू। सबैले वाच गरिरहेका हुन्छन्। कुरा काट्छन्,’ सहायक सिडिओ भएर रसुवा आउनुअघि मलाई मेरा शुभचिन्तकहरुले सम्झाएका थिए।

‘यति सानो बच्चा छाडेर काठमाडौं बाहिर है!’ कतिले भनेका थिए, ‘मान्छे त आँटिलो हो तपाईं।’

कार्यालयको प्रमुख/उपप्रमुख पुरुष नै हुन्छन् भन्ने छाप धेरैलाई हुन्छ। विभिन्न कार्यालयको धेरै माथिल्लो तहमा पुगिसकेका मेरा अग्रज दिदीहरु नै महिला हुनुको होसियारी पल-पलमा कायम गर्नू भनेर अर्ति दिनुहुन्छ। म आमा भएर पनि सानो बच्चा छाडेर घरबाहिर काम गरिरहेकोमा ग्लानि महसुस गर्नुपर्छ भन्ने मान्यता राख्ने जमातको समाजमा कमी छैन।

यो सबैसँग भिडिरहेको म एक महिला सरकारी कर्मचारी हुँ। ठूल्ठूला तारे होटलमा महिला अधिकार र सशक्तीकरणका खोक्रा भाषण, नारीवादको सिद्धान्त र आदर्शसँग परिचित म अहिले हरेक वाद र भाषणको प्रयोगात्मक परीक्षा दिइरहेको छु। र, देख्दैछु समाजको एउटा भिन्नै तस्बिर।

‘घरको लोग्नेमान्छे अबुझ भएपछि के गर्नु। छोरो कुर्दाकुर्दै सातवटा बच्चा भए। ६ वटा बाँचे। बूढा भिरबाट गुडेर बिते। साइँली छोरी साथीभाइको लहैलहैमा लागेर बम्बई पुगी। मैले नै पुलिसमा खबर गरेर बचाएर ल्याको। नौ महिना माइती नेपालमा बसी। अहिले नागरिकता बनाउन ल्याको,’ भर्खर १९ टेकेकी छोरीको नागरिकता बनाउन आएकी आमाले गन्थन सुनाइन्।

नागरिकता बनाएको भोलिपल्ट तिनै साइँली छोरी पासपार्टको फारम बोकेर दुबाई जान भन्दै आइपुगिन्।

मेरो दिनको आधाजति समय इराक, कुवेत र दुबई जान भन्दै पासपोर्ट बनाउन आउने १८-१९ वर्षका युवतीहरुलाई वैदेशिक रोजगारीका जोखिमबारे सल्लाह दिँदै बित्छ। नेपालीसमेत राम्ररी बोल्न नजान्ने कतिपय दिदीबहिनीले मेरो कुरा कति बुझ्छन् म जान्दिनँ। कम्तिमा टाउको भने हल्लाउँछन्। कसैले दुई कक्षा पढेर छाडेको भन्छन्, कसैले चार।

मलाई उकुसमुकुस हुन्छ, ती सबैलाई भेट्दा र हरेक दिन विदेशी भूमिमा समस्यामा परेका दिदीबहिनी सम्झँदा। अवैधानिक बाटोबाट वैदेशिक रोजगारीमा जान तम्सेका यी दिदीबहिनीलाई मेरो सल्लाहले कत्तिको रोक्ला कुन्नी, तर मलाई यसले आत्मसन्तुष्टि दिन्छ- कम्तिमा मैले थाहा पाएको कुरा भन्न त भनेँ।

फेरि अघिल्तिर २० वर्षको उमेर पुग्दा-नपुग्दै दुई/तीन सन्तानका आमा बनिसकेकाहरु नागरिकता लिन उभिन आइपुग्छन्। चौध वर्षमा बिहे, बीस पुग्दा तीन सन्तान!

म आफूले सिद्धान्तमा पढेको ‘रेस्पोन्सिभनेस’ व्यवहारमा प्रयोग गर्न खोज्छु। चोयाको टोकरीमा नाम्लो लाएर दूधे बालक बोक्दै र अर्को डोर्याउँदै आएका कलिला आमाहरुलाई भित्र बोलाएर फाँटमा लग्छु। उनीहरुको काम छिटो गर्दिन भन्छु। मलाई दूधे बच्चा बोकेर चार-पाँच घन्टा हिँडेर आएका उनीहरु देखेर अत्यास लाग्छ। मेरो कार्यकक्षको सोफामा बसेर उनीहरु निसंकोच नानीलाई दूध चुसाउँछन्।

‘पढ्न किन छाडेको? कति छिटो बिहे गरेको?’

मेरा यस्ता प्रश्नको उनीहरुसँग सहज उत्तर छ, ‘यस्तै छ मिस हाम्रोतिर!’

उनीहरुको जवाफ सुन्दा यस्तो लाग्छ, मानौं यो सबै उनीहरुका लागि अतिसामान्य हो।

यो सबै दुःख हो भन्ने चेतनासमेत नभएका उनीहरुलाई तिमी दुःखमा छौ भनेर पनि अरुले भनिदिनुपर्ने अवस्था छ। दुःखलाई दुःख हो भन्ने नबुझेर अज्ञानमा जीवन काट्ने यी आमा-दिदीबहिनीहरुलाई यो जीवनको अति सामान्य प्रक्रिया लाग्नु नौलो भएन।

म आफू पनि कामकाजी आमा- ‘वर्किङ मदर’। सहरतिर वर्किङ मदरका दु:खका कुरा हुन्छन्, बहस हुन्छन्। म यहाँ हरेक दिन गाउँबाट झरेका वर्किङ मदर भेट्छु। बच्चालाई पिठ्युँमा मजेत्रोले गुजुल्ट्याएर पाखाबारीमा काम गरिरहेका सबै आमाहरु वर्किङ मदर त हुन् आखिर। अनि यी धेरै वर्किङ मदरका कम्तिमा आधा दर्जन बच्चा छन्।

उनीहरुको संघर्षको कथा आफ्नै छ।

मैले दैनिक भेट्ने हरेक महिला सेवाग्राहीलाई मेरो एउटा नियमित प्रश्न हुन्छ, ‘कति पढ्नुभएको छ? पढाइ किन छोड्नुभएको?’

उनीहरुको उत्तर ‘पढेको छैन’ बाट सुरू भएर ५ कक्षाभन्दा माथितिर उक्लिँदैन। यसबीच विद्यालय गइरहेका बहिनीहरु भेट्दा मलाई अपार आनन्द आउँछ।

यी विद्यालय नै नदेखेका बहिनीहरुलाई विद्यालय देखाउन र ड्रपआउटहरुलाई विद्यालयमा टिकाउन मात्र सके कम्तिमा अब अर्को नारी पुस्ताले अँध्यारोमा बाँच्नुपर्ने थिएन।

यी अनेक समस्याको जड अशिक्षा हो। हामीले महिलाहरुका नाममा गरेको बहस र प्रतिपादन गरेका सिद्धान्तको भेउसम्म नपाएका यी जीवनहरु बदल्ने हो भने यहाँ चेतना आवश्यक छ र चेतनाका लागि शिक्षा। मैले महिला भएर सामना गरेका चुनौती र बटुलेका अनुभवले भन्छ, चेतनाको जरा शिक्षा हो। जबसम्म शिक्षारुपी जरा मजबुत बनाइँदैन, तबसम्म महिला सशक्तीकरणका नाममा रुखका हाँगामा जति मलजल गरे पनि चेतनाको विकास सम्भव छैन।

त्यही शिक्षा र त्यसको नतिजारुपी सशक्तीकरणका कारण म यो सहायक सरको कुर्सीमा छु र त्यसैको अभावमा मानिसहरु त्यो कुर्सीमा सर खोजिरहेछन्। बालविवाह, घरेलु हिंसा, असुरक्षित वैदेशिक रोजगारीजस्ता सामाजिक विकृतिमा पिल्सिरहेछन्।

(लेखक रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी हुन्।)
twitter – @Aryataara

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.