‘गुन्द्रुक’को बिश्व भ्रमण


‘गुन्द्रुक’ भनेको गुन्द्रुक नै हो। कुनै भरपर्दो आकार पनि नभएको र बोलीचालीको जिब्रोले खासै इज्जत पनि नदिएको लोकप्रिय नेपाली खानेकुरो हो यो। गुन्द्रुकलाई दस थोक भनेर पुकार्नुभन्दा गुन्द्रुकलाई गुन्द्रुक नै भन्यो भने छर्लंग हुन्छ, लण्ठै साफ! हाम्रो दिमागले, जिब्रोले र हाम्रो आफ्नै गुन्द्रुक संस्कृतिले बहुअर्थमा बुझ्दै, अनेक परिकारमा चाख्दै र जुगौंजुग जोगाउदै आएको सागको सिकुटी एक तन्द्र्यांगतुन्द्रुंग गुजुल्टे खाद्य नै गुन्द्रुक हो।

गुन्द्रुक मानव चोलाका सबै बर्ग उँभोमा राजादेखि उँधोमा गरिबीले तन्नम परेको सुदामा  वर्ग सम्मका चुल्हामा उमालिएको, भुटिएको, भिजाएर चटनी बनाइएको, भटमासमा भुटिएको, दालमा झानिएको जिनिस हो। सबैलाई एक मुठी जाउलो सुलुलु निल्न निक्कै सजिलो बनाउने तात्तातो गुन्द्रुकको झोल सम्झेर मुखमा पानी नआउने कमै हुन्छन्।

गुन्द्रुकको नाम लिएर जति हेयले बोलिन्छ त्यति गएगुज्रेको र नमिठो भने हुँदैन गुन्द्रुक. गुच्चे गोलभेंडा मथेर झोल बनाउने हो भने, करेसाको धनियाँ टिपेर थप्ने हो भने, घिऊको भुटुन हालेर पकाउने हो भने र खाद्य संस्थानकै चामलसँग पनि नाइटो निक्लने गरी खाइन्छ भात नाथे गुन्द्रुकै सँगपनि।

म लिम्बू गाउँमा जन्मे-हुर्केको मान्छे। लिम्बू जनसँग राम्रै हितचित, हाँसो-दिल्लगी गरेर बालापन सक्दै बयस्क भइयो। लिम्बू साथीले हामीलाई उडाउदै भन्थे- गुन्द्रुक कि केही नहुने गरिब-निमुखाले खान्छ, कि त मासु किन्नका लोभले बाहुनले खान्छ। लिम्बूले गुन्द्रुक खाने भनेको त हेर केटा, कि मुख फेर्न हो कि त रहरले हो।

एक हिसाबले हो कि भन्नु जस्तो नि उनका कुरा। छिमेकी लिम्बू साथीको बाउ झिसमिसेमै हप्तैपिच्छे लाग्ने सोमबारे बजारमा भैंसी वा सुँगुरको गोस लिन पुग्थ्यो। सबै सोमबार उनीहरुको मासु खाने दिन हुन्थ्यो। उनका बाउले नेटको झोलामा रगत झार्दै मासु बोकेर असारमास खेतको बाटो आउदा हामी बैष्णब बाहुन गुन्द्रुकको अचारसँग चाम्रे गोदेर हलो-कोदालो गरिरहेका हुन्थ्यौं।

तिनै मासु मात्रै खान्छौं भन्ने साथीहरु ‘हौ भाउजु, हौ काकी…कुन्द्रुक छैन ? हौ चेपमा भित्र लुकाको निकाल न हौ अलिकति…तिहुन के पनि नभर मोर्नु बेला भोयो हौ’ भन्दै बाहुनका सिकुवामा आएको सम्झिदाचैं गुन्द्रुक गरिब र बाहुनले मात्रै होइन नेपालीले खान्छ भन्दा हुने रहेछ भन्ने लाग्छ अहिले।

काम गरेर कहिले नथाक्ने आमाको पौरखले एकताका हाम्रो घर सागपात, गुन्द्रुक-सिन्की, तितौरा-मस्यौराको भण्डारजस्तो थियो गाउँमा। खाडी मुलुकमा छोराछोरी हुनेदेखि मलाया, हंगकंग, लन्डनका लाहुरेका आमा जाहानसम्मले गुन्द्रुक लान्थे हाम्राबाट उता भेज्न। आमाको आफ्नै नियम थियो-एकपल्टलाई सबैलाई सित्तैमा दिने दोश्रो पल्टदेखि दाम लिने। गुन्द्रुक, सिन्की, आलु, सागपात बेचेर आमाले मनग्य आर्जन गर्नु हुन्थ्यो। अर्थात्, गाउँमा गुन्द्रुकको मागलाई धान्नु भएको थियो। अहिले पनि बाआमा त्यही थलोमा हुनहुन्छ तर गुन्द्रुकको पौरख अहिले निक्कै सुकेको छ।

यो रुप न रंगको नेपाली आहार स्वादिष्ट गुन्द्रुकका बारे हाम्रो भाषा भने कहिले सम्मानजनक छैन।

मान्छे अलिक लोसे भयो, बिकामे पल्टियो भने पनि ‘केको गुन्द्रुक र’छ यो मोरो’ भन्छ मान्छे। ‘जात फाल्नु गुन्द्रुकका झोलमा’ भनेर भनिएको छ। अर्थात्, गुन्द्रुक जाबो पाउन चैं केही गुमाउनु ठुलो मुर्खता नै हो।

‘हौ तिम्रामा आउनु त भन्छौ, खसी काट्ने हो भने आइन्छ, गुन्द्रुकै खान त के आउनु हो त्यत्रो बाटो धाइधाई’ हस्यौलीमै गुन्द्रुकको मानमर्दन गर्दिन्छ मान्छे।

‘बरु जीवनभर गुन्द्रुक खाएर बसिन्छ तर फलानाको पाऊ पर्न गइन्न’ भनेर अड्डी कस्न सक्छ मान्छेले।

‘जग्गा बेचूँ त भन्या, गुन्द्रुकको दाममा दिन सकिन्न, भनेको दाम हाल्न कोही आएन’ जग्गावाल निर्दोष गुन्द्रुकमाथि नै प्रहार गर्छ।

‘भुइँसी हो भुइँसी, गुन्द्रुकको मोल गरेर भुइँसी किनिन्छ ?’ सम्भावित ग्राहकलाई भुइँसीवाला गुन्द्रुकलाई नै सिध्याएर अघि सार्दै आफ्नो भाउमा अड्डी कस्छ।

यसरी हाम्रो बोलीचालीमा गुन्द्रुकको कुनै मूल्य छैन। गाउँघरतिर बाख्रालाई घाँस काट्न हिडेकी आमाले बारीका पल्ला छेउमा छिमेकी घरमा पसेर कुनै योजना र आसा बिनै एकछाक गुन्द्रुक मागेर पाउन सक्छिन् र सारीको फेरमा पोल्टो बनाएर गुन्द्रुक च्यापेर घर फिर्छिन्। अर्थात्, बोलीमा दलिएको गुन्द्रुक ब्यबहारमा अझै पनि पैसा हालेर किन्नु भन्दा एकअर्कामा मागीचुडी खाने तिहुनभन्दा मास्तिर बुझिदैन गुन्द्रुकलाई। तर गुन्द्रुकले अहिले भने केही आर्थिक हैसियत आर्जन गर्दै जान थालेको छ। अहिले गुन्द्रुक छवै महादेसका नेपाली चुलोमा उम्लिन्छ। त्रिभुवन हवाइ अड्डाबाट गुन्द्रुकले बोर्डिंग पास लिन थालेपछि अब गुन्द्रुक मागेकै भरमा सजिलै पाइने जिनिस रहन छोडेको छ रे। कालिमाटीका पसलहुँदो गाँडको ओखती जति गुन्द्रुकलाई भाउ कसेर लिन तैनाथ भेटिन्थे बोलेर कसैले नजित्ने तरकारीवालीहरु। हाम्री आमाले समेत बिदेस पठाउनेलाई यो साल मात्रै तीन हजार दुई सयको गुन्द्रुक सिन्की घरैबाट बेच्नु भो रे। अब ‘गुन्द्रुक अर्थतन्त्र’ पनि हुने रहेछ भन्न सकिने स्थितिमा पुगेको छ रे गुन्द्रुक नव नेपालमा।

युरोप अमेरिकाका नेपाली किराना पसलमा गएर कराईमा एक छाक झ्वाइँय ओइरिने गुन्द्रुकलाई डलर दाम तिरेर नेपाली रूप्पेमा निकाल्दा रु. ५०० परेको नभोगुन्जेल हामीले गुन्द्रुकको मूल्य कहिले थाहा पाउने छैनौ जस्तो देखिन्छ। गुन्द्रुकको मोल थाहा पाए पनि गुन्द्रुकको खोइरो खन्न  भने हामीले नछोड्ने रहेछौं। बिहान रु. ५०० को एक छाक गुन्द्रुक उमालेर जाउलो निलेर दिउसो बजार निस्केको मान्छे इन्डियन बासमति चामल सधैंभन्दा आधा दामनै सस्तो सेलमा लागेको देखेपछि ‘होइन चामल त गुन्द्रुककै दाममा आयो त आज’ भनिहाल्छ।

गुन्द्रुक मानहानीको एउटा किस्सा सम्झिन्छु। छिमेकमा एक बाहुन थिए। आफ्नो पाडो गाउँमै काट्नेलाई बेच्न होज्दा रहेछन् तर दाममा सुकोसुको दलाल गरेर बस्दा रहेछन्। लिम्बू बडाऊले आफुले सक्दो दाम दिएको नि निक्कै दिन बितिसकेको रहेछ। तर, बाहुन अझै गलफति गरेर बस्दा रहेछन्। तेरै दाममा लैजा लैजा नि भन्ने फुकाएर दिई पनि नहाल्ने गर्दा रहेछन्। धेरै दिन बाटो हेर्दा नि दाम बढ्ने छाँट नदेखेपछि सधैं घर अगाडिको बाटो हिड्ने सुब्बालाई रोकेर ‘ए दाजु, लु भैगो तिम्रै दाम भो लैजाऊ पाडो, अहिले फुकाइदिन्छु’ भनेछन्।

लिम्बू बडाउलाई कन्पारा तातेर आएको झ्वाँकमा ‘तेरो पाडो खानु भन्दा त गुन्द्रुक खान्छु जाँ…’ भन्दे रे ! बाहुन बाजे त हेरेको हेरेई !

राँगाको सिकुटी खाएर हुर्किएका लिम्बू साथीहरु दशैंको अष्टमी, नवमीका दिन पनि हामीलाई दिल्लगी गर्दै भन्थे ‘हौ यम, के आज रायो र मुलाको सिकुटीसँग टन्न भात खाएर दशैं मनाइयो कि कसो ?’ अर्थात् दशैंमा पनि गुन्द्रुक-सिन्की खानु ? गुन्द्रुकलाई झन्डै-झन्डै अखाद्य कुरो नै हो भनेझैं गर्छ हाम्रो भाषा बोलीले त।

गुन्द्रुकलाई नहेपिएको र नसेपिएको ठाउँ बखत नै छैन हाम्रो समाजमा। साथीभाइले जिस्क्याउनु रमाइलो गर्नु त मानव चरित्र हो। त्यसमाथि संगै खाइखेली हुर्केकाले जे भने नि पच्ने भैगो। तर गुन्द्रुकलाई मुल्यहीन हेयको वस्तु ठान्नु र गिराउने भाषाले पेल्नुचैं हाम्रो सनातन हो।

हाम्रो कुरा गराई सुन्दा आफ्नो रोजाइले गुन्द्रुकको पक्षमा लाग्न कोही तयार नै छैन। गुन्द्रुकले तिहुनको अनिकाल टार्छ। मेहनतले दाल तरकारी पकाउनका अल्छीलाई भुलुक्क उम्लिएर गर्जो टार्न गुन्द्रुक तयार छ। चौरासी व्यंजन पकाएर गुन्द्रुकको झोल वा चटनी पनि छ भने त्यसले नेपाली भन्सापन जोगाउछ, खाद्य संरक्षणको उत्तम नमूना हो गुन्द्रुक, ओसारपसार गर्न सारै सजिलो तौल हुन्छ यसको… गुन्द्रुकको गुण सम्झिने हो भने दोसल्ला र खादाको भागीदार हुनु पर्ने हो गुन्द्रुकले पनि। बाध्यताले खानेको प्राण बचाउने, रहरले खानेको रहर तुष्टी गर्ने, मिठो मानेर खानेको मन-दिल तृप्त पार्ने अनेक भूमिका निर्बाह गरेपनि यसले कहिले गतिलो सामाजिक हैसियत र जस भने पाएन गुन्द्रुकभक्षीबाट। समाजमा कस्ताकस्ता चुन्द्रेमुन्द्रे ‘गुन्द्रुके’हरुले दोसल्ला पाउछन् तर गुन्द्रुक स्वयं भने जहिले हाम्रो भाषिक अर्घेलोको मारमै थन्किन विवश छ।

गुन्द्रुक नेपाली चुलोचौकोको अभिन्न खजना हो। बिशेषगरी सागसब्जी किनेर खाने बानी र गच्छे नभएका ग्रामीण घर-गृहस्थमा कराइमा ओइरने भातको साथी केही नभएको बेला गुन्द्रुक लुसुक्क हाँजिर भइहाल्छ भान्सामा। अब गुन्द्रुकै पनि छैन आपदमा भने तपाईंको हुति-हैसियत बुझ्न मान्छेलाई केही बेर नै लाग्दैन फेरि।

हिउँदको लहलह सागलाई एउटा विधिले कुहाएर सुकाएर सिकुटी पारेपछि बर्खाभरिलाई अमिलो झोलसँग भात खान पाइने यो काइदा यता पश्चिमाले प्रिजर्भेटिभ हालेर क्यानमा बन्द गरेर पोहोरको खानेकुरा यसपाली जस्ताको तस्तै खाएको काइदासँग मिल्छ।

जीवनमा गुन्द्रुकका पन्त्यौरा निक्कै बोकियो। मैले २०५२ सालदेखि गुन्द्रुक बोक्न थालेको हुँ। पढ्न इलाम जाँदा झन्डै पाँच बर्ष निरन्तर झापाबाट इलाम बजार गुन्द्रुक ओसारियो। त्यसपछि गुन्द्रुक ओसार्ने मुकाम झापाबाट कीर्तिपुरतिर सर्यो। राजधानी बसाइका करिब दस बर्षमा घर छोड्ने बखत कुम्लाको कुनाकाप्चामा कतै गुन्द्रुक नपरेको यात्रा भएन होला। त्यसमा पछि पाँचथर ससुरालीबाट आउने गुन्द्रुक पनि थपिन थाल्यो। अहिले झापा र पाँचथरको गुन्द्रुक १८ घण्टा जाहाज चढेर यता क्यानाडा पनि आउन थालेको छ। यो लेख्दै गर्दाका बखत मेरो घरमा एक दुई पोका गुन्द्रुक र केही सिन्की त छ नै।

झापामा जन्मेर देस खाँदै बिदेस खान पुगेको एउटा म बाहुनको जस्तै धेरै नेपालीको जीवन गुन्द्रुकमय जीवन रहेछ भनेर भन्दा हुन्छ। मैले गुन्द्रुक बोक्न थालेको एक्काईस बर्ष भएछ र यो एक्काइस बर्षमा मेरो चुल्हो कुनै बर्ष गुन्द्रुकरहीत चुल्हो भएनछ सम्झी ल्याउदा ।

बोलीचालीमा गन्ति न मन्तिको यो गुन्द्रुकले अहिले त संसारको यात्रा गरिसकेको छ। नेपाली गुन्द्रुक कुन देसको कुन ठाउँमा पाक्दैन ? साउदी, लन्डन, कोरिया, टोकियो, दिल्ली, कलकत्ता, बेल्जियम, मलेसिया, कतार, न्युयोर्क, टोरोन्टो, क्यालिफोर्निया जहाँजहाँ नेपाली छन् त्यहाँत्यहाँ गुन्द्रुकको झोल र चोक्टामा नेपाली जिब्रो फड्कारिएको छ अहिले।

पखेटा लाएर सागर महासागर तरेर आएको गुन्द्रुकको महिमा बिदेसमा भने राजषी ठाँटको छ।

‘यो चैं गुन्द्रुकको अचार, टिमुर हालेर बनाको, एकदमै अर्ग्यानिक हेर्नुस्’ भोजनदाता सगौरब गुन्द्रुक प्रश्तुत गर्छ यता। मानौं ऊ माहाराजले ज्युनार गर्ने हरिणको दुर्लभ सिकुटी नै खुवाई रहेछ आज। अर्थात्, नेपालमा हरिणको सिकुटी प्रश्तुत गर्नु र बिदेसमा गुन्द्रुकको परिकार पस्किनु एउटै महत्व स्थापित हुन खोज्दै छ।

‘तपाईंका घरको पुदिना हालेर पकाएको गुन्द्रुकको त्यो झोल त मेरो जिब्रो मै झुण्डिएको छ भन्या’ गुन्द्रुक गफको अर्को प्रकार सुनिन्छ।

गुन्द्रुक ठुलो कोशेली हो अहिले। गुन्द्रुकको पहिचान अहिले देसको सिमा काटेर संसारका बडेबडे बिकसित सहरमा पुगेको छ। स-स्याना पोलस्टी पोकामा सिल गरेर नेपाल गएर आएकाले यहाँ कोशेली भनेर दिन्छन्। पोकाको आकार र गुन्द्रुकको मात्रा हेर्दा सबैलाई पुर्याउनु पर्ने पिरोलोले गलेकी आमाले भुरालाई सुन जोखाई गरेर कुराउनी भाग लाएजस्तो लाग्छ। तर जहाँ गएपनि बाँडीचुँडी खाने नेपाली पाराले गर्दा एउटाकामा नेपालबाट गुन्द्रुक विमानस्थल ओर्लियो भने दुईचार घरले खान त पाइहालियो।

सन्तान भेट्न गुन्द्रुक बोकेर हावाजाहज चडेर सात समुद्रपारि आइपुगेका दुई-चार बाआमाले गुन्द्रुक पनि समाबेस भएको एउटा भात खाने भेलामा गुन्द्रुकबारे स्वतस्फुर्त गन्थनमन्थन सुरु गरे-

‘गुन्द्रुक रायोको नै मीठो’ भर्खर नेपालबाट गुन्द्रुक बोकेर आएकी पुर्बी नेपालकी एक आमाले गुन्द्रुक मिसाएर फत्काएको गोलभेंडाको चट्नीले जिब्रो ट्वाक्क पड्काउदै भनिन्।

‘होइन नि, गुन्द्रुक त सप्रेको तोरीको साग परो भने त तोरीको कता हो कता मिठो नि’ अर्की गुन्द्रुकबोका आमाले थपिन्।

‘अँ, रुखो ठाउँको तोरी परो भने त सिन्का लागेर खान हुँदैन गुन्द्रुक’ तेस्री आमाले आफ्नो भनिन्।

‘मुलाको सागको गुन्द्रुक त फिटिक्क मीठो हुदैन’ एउटी बुहारीले थपिन।

‘तपाईं भन्नुहुन्छ…मुलाको गुन्द्रुकलाई अलिकति कागती निचोरेर हाल्नु पर्छ, जिरा पड्काएर हरियो प्याजसँग झ्वाइयाँ झान्नुस त कति मिठो हुन्छ मुलाको गुन्द्रुक’ दोस्री बुहारीले ठाउँको ठाउँ पाक शिक्षा दिइन्।

‘गुन्द्रुकको स्वादै लिने हो भने भने त गुन्द्रुकलाई राम्ररी केलाएर तेलमा हल्का भुट्नू, अनि सिद्रालाई भुंग्रोमा सेकेर धनिया, अलिकति टिमुर, लसुन र पोलेको गोलभेंडा गरेर सिलौटामा  लसलस पिस्नू र भातका टुप्पामा राखेर चाट्दै भात खानु अनि थाहा हुन्छ गुन्द्रुक कति मीठो हुन्छ’ अर्को थान गुन्द्रुक महिमा आयो।

‘जे भने नि उमालेको गुन्द्रुकको तातो झोलसँग स्वामस्वाम भात खानुमा जति स्वाद त अरुमा छँदै छैन, अझ जाडोजाडो दिन होस्…’ गुन्द्रुकको अर्को परिकार थपे एक बाले।

‘हौ…कोइलो भट्माससँग तोरीको गुन्द्रुक साँधेर ताइचनको च्युरासँग कहिले खाएको छ पासा ? त्यसमा एउटा लसुन र हरियो प्याज फ्राई गरेर मिसाएर हेर त, कस्टो मिठो हुने रेछ।।।खान जानेको छैन कुरा गर्छ” गुन्द्रुकको अर्को नेपाली स्वाद खनियो।

‘तोरीको गुन्द्रुकलाई कालो दालमा जिम्मुसँग गाईको घिउमा झानेर खाइहेर्नू एकपल्ट अनि बोल्नू गुन्द्रुकबारे’ अरु सबै गुन्द्रुक पारखीलाई खारेज गर्दै अर्को गुन्द्रुक स्वर उचालियो।

‘भन्न सजिलो छ मान्छेलाई। गुन्द्रुक सिन्की तुल्याउन कम पौरख गर्नुपर्छ ?…बाझो खन्यो, डल्ला फुटायो, फेरि खन्यो, रफ्फु मिहीन माटो बनायो, सागका बेर्ना उमार्यो, झरीले हान्छ जोगायो, अनि बेर्ना सार्यो, पानी हाल्यो, गोडमेल गर्यो, मलखाद गर्यो…’ एउटी आमाले भन्दाभन्दै अर्की आमाले काटिन्।

‘हो नि, हेर्दा पो ‘गुन्द्रुक’ भन्नु छ त हेपेर, कम गोता छ र गुन्द्रुक बनाउन…बल्लतल्ल साग बनायो, साग टिप्यो, केलायो, ओइलाउन सुकायो, मुंग्राले कुट्यो, खाडलमा हाल्यो…तौजी मिलेन भने कुहिएर बिष्टा गनाउन बेर लाग्दैन…’ अर्की आमाले सक्न नपाउदै अर्का अनुभवी बा अघि सरेकाले यी आमाको पनि कुरा टुंगिन पाएन।

‘गुन्द्रुक हालेर खाडलबाट निकाल्न पाएर मात्रै हुन्छ र ? घाम लागिदिएन, धुम्मियो, पानी पर्यो, हुस्सु लाग्यो, शीतलहर चल्यो भने गयो सबै मिहिनेत…आलो गुन्द्रुक कुहिएपछि सुँगुरले पनि खाँदैन’ बाले पनि सक्न नपाई अर्की भुक्तभोगी आमाले बिचैमा उछिनिन्।

‘लु घाम पनि लाग्यो रे, गुन्द्रुक पनि सुक्यो रे…अब त्यसलाई जतनले जोगाएर राख्न सकिएन भने ढुसी पलाएर खानै नहुने भएर बिग्रिन्छ’ भुक्तभोगी आमाले गुन्द्रुकको अन्तिम जीवन जोखिम बयान गरिन्।

गुन्द्रुक ठुलै पौरख र तपसको उपज रहेछ ध्यान दिएर गुन्दा। तर गुन्द्रुक बनाउन जति दुखभुक्त बेहोर्नु परे पनि अन्तिममा हात लाग्नेचाहिं उही ‘गुन्द्रुक’ नै रहेछ।

गुन्द्रुक थपिथपी खाएर सकियो। अघिदेखि गुन्द्रुक कथा श्रवण गरेर बसेको म पनि जाबो गुन्द्रुके गफमा भुलेर कहाँ हुन्छ र ठान्दै उठेर हिंडें। अब देखादेखि छ, पढ्दैपढ्दै यहाँ आइपुग्दा तपाईंले पनि अबस्य भन्नु नै हुनेछ ‘के के न लेख्यो होला भन्या त गुन्द्रुकै लेखेर गुर्केछ यसपालीचैं…’ जय होस !

 

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.