दुई सन्तानकी २० वर्षीया विधवा आमा


घुम्टी सदा। नाम सुन्ने बित्तिकै आँखा ठ्याक्कै टाउकोमा पुग्छ। बेहुली भएको झलक्क सम्झन्छ, दिमागले। तर, अवस्था विवाह जस्तो रङ्गीचङ्गी भने छैन। उनी सेताम्मे छिन्। साडीचोलो, काँटा, चप्पल, छाता, ब्याग सबैसबै सेता।

उमेर २० वर्ष भइसक्यो तर झलक्क हेर्दा १६/१७ वर्षकी झैं देखिन्छिन्। दुई सन्तानकी आमा पनि भइसकिन्।

सिन्धुली दुधौली–९, लालपुर निबासी घुम्टी सदाले १२ बर्षकै उमेरमा गाउँकै ईन्द्र सदासँग भागी विवाह गरेकी थिइन्। विवाह हुँदा श्रीमान् १७ वर्षका थिए। विवाह गरेको तीन वर्षपछि नै उनी आमा बन्ने भइन्।

उनी छोरीकी आमा भइन्।

समय बित्दै गयो। जसोतसो परिवार पनि चलिरहेको थियो।

ईन्द्र ज्यामी पेशा गर्थे। र, उनीसँगै आश्रित आमाबाबु र भाइ पनि थिए। ज्यामी पेशाको आम्दानीले सदा परिवारको खर्च नथेग्ने भयो।

ईन्द्रले विदेश जाने निर्णय गरे। आमाबाब्, श्रीमति मिलेर ऋणको चाँजोपाजो मिलाए। पासपोर्ट पनि बन्यो। एजेन्टमार्फत साढे २ वर्षअघि ईन्द्र मलेसिया उडे। सँगसँगै उड्यो परिवारको खुसी पनि।

पहिलो पटक वैदेशिक रोजगारीमा गएका ईन्द्रले नेपालको म्यानपावरले भनेजस्तो काम पाएनन्। राम्रो काम नभएपछि पारिश्रमिक पनि निकै कम हुन्थ्यो। खान र लाउन नै ठिक्क हुनथाल्यो। मासिक नेपाली ५ हजार जति बच्थ्यो। थोरैथोरै पैसा पठाइरहन भन्दा अलिअलि जम्मा गरेर पठाउने सोचे।

यता नेपालमा उनको परिवारलाई बिहान बेलुका हातमुख जोर्न धौ धौ हुन थाल्यो। ईन्द्रको ज्यामी काम घुम्टीले सम्हालिन्। जसोतसो चल्दै थियो दैनिकी।

आफ्नो काममा चित्त नबुझेपछि ईन्द्रले सँगै काम गर्ने साथीसँग गुनासो गरे। साथीकै सहयोगमा मलेसियास्थित नेपाली राजदुतावासको सम्पर्कमा पुगे। दूतावासले श्रम सम्झौता बमोजिमको पारिश्रमिक उपलब्ध गराउन सहयोग ग¥यो। बिस्तारै ईन्द्रको आम्दानी बढ्दै गयो। अब उनले मासिक ३५००० सम्म कमाउने भए।

श्रीमान् विदेशिएको ६ महिना भइसकेको थियो। घुम्टीले आफ्नो शरीरमा असन्तुलन महसुस गर्न थालिन्। आफू दोस्रो सन्तानकी आमा बन्न लागेको उनले अड्कल काटिन्।

स्वास्थ्य जाँचबाट थाहा पाइन्– आफ्नो पेटमा चार महिनाको सन्तान हुर्कदै छ। अब, सासुससुरा, देवर र छोरीको मात्रै होइन, पेटमा हुर्कंदै गरेको अर्को सन्तानको पनि जिम्मेवारी आईपर्‍यो १८ वर्षकी घुम्टीलाई।

दुई जिउकी उनलाई अब ज्यामी काम गर्न अप्ठ्यारो हुन थाल्यो। गर्भको बच्चा ८ महिना लाग्दा काम गर्न छाडिन्। श्रीमान्ले गाउँमा ऋण काढेर दैनिकी चलाउनु, पैसा आउने बित्तिकै पठाउछु भनेपछि उनीहरुको व्यवहार ऋणमै चल्न थाल्यो।

दोस्रो सन्तानस्वरुप छोराको जन्म भयो। दैनिकी ऋणमै चल्दै थियो। श्रीमान्ले अलिअलि पैसा पनि पठाउन थाले। ब्याज तिर्ने र घरखर्चमा केही सहज हुँदै थियो।

२०७४ बैशाख २१ गते घुम्टीको मोबाईलमा कसैले फोन ग¥यो र भन्यो– ईन्द्रको मलेसियामा मृत्यु भयो। दशैंमा टिकाकै दिन ठ्याक्कै घर आईपुग्छु भनेका श्रीमानको बोली चारैतिरबाट गुन्जियो कानमा। फोनमै भक्कानिइन् घुम्टी। परिवारका सदस्यले कुरा गरे। मलेसियामासँगै रहेका मामा पर्नेसँग कुराकानीपछि ईन्द्र मलेसियास्थित एउटा पोखरीमा मृत अवस्थामा फेला परेको टुंगो लाग्यो।

नजिकै रहेको घुम्टीको माइतीमा पनि यो कुरा पुग्यो। शिक्षा र चेतनाको हिसाबले निकै पछि परेका मुसहर बस्तिमा रहेका यो परिवारलाई नेपालमा लास कसरी ल्याउने कनै ज्ञान थिएन। सूचना तथा परामर्श केन्द्र सिन्धुलीको सहयोगमा ईन्द्रको लास नेपाल आईपुग्यो।

दाहसंस्कार नसकिउन्जेल त सबै साथै थिए। पछि सबै आफ्नो व्यवहारमा लागे। माइती पक्षबाट पनि खासै आशा गर्न सक्ने अवस्था थिएन। आर्थिक अवस्था मजबुत नभएको घुम्टीको परिवार आफैं निम्न आर्थिक अवस्थामा छ। उनको दुःखमा रोइदिने बाहेक अरु कुनै सहयोग गर्न सक्ने क्षमता छैन।

जेठी छोरी पाँच वर्ष लागिन्। छोरा २ बर्ष लाग्यो। सासुससुराको बृद्धावस्थामा छन्। विदेश जाँदा लिएको २ लाख १ हजार ऋणमा डेढ लाख अझ बाँकी छ। र, बाँकी नै छ, घुम्टीको जिन्दगी पनि।

अहिले उनी वैदेशिक रोजगारको क्रममा मृत्यु भएको परिवारको आफन्तलाई सरकारले प्रदान गर्ने क्षतिपुर्ति लिनको लागि दौडधुपमा छिन्। क्षतिपुर्तिको लागि पनि सजिलो कहाँ छ र? घुम्टीको नागरिकता नै बनेको थिएन। क्षतिपुर्ति पाउनलाई आवश्यक पर्ने कागजात पनि छैन । बनाउने प्रक्रिया पनि राम्रोसँग थाहा छैन। सूचना केन्द्रको सहयोगमा जसोतसो उनको प्रक्रिया अघि बढ्दैछ।

कलिलै उमेरमा उनले जिन्दगीमा ठूलो आरोहअवरोह बेहोरिसकेकी छिन्। तर, कमजोर भने भएकी छैनन्। साहस रत्तिभर हलचल भएको छैन। आफुले पढ्न नपाएपनि छोराछोरीलाई पढाउँने सपना देखेकी छिन्। सासुससुराको स्याहार गर्ने अठोट छ।

उनलाई पढ्न नपाएकोमा निकै पछुतो छ। उसबेला पढेको भए अहिले दुःख पाउनुपर्दैन थियो भन्ने लाग्छ। घुम्टीलाई आफ्नो नाम लेख्न सक्ने र लेखेको कुरा पढ्न सक्ने हुने ठूलो रहर छ।

श्रीमान् बैदेशिक रोजगारीमा गएपछिका अप्ठ्यारा दिनहरुलाई सम्झदै घुम्टि भन्छिन्– विदेश कोही नजाउन्। गए पनि सीप सिक्ने र आवश्यक कागजात सबै साथैमा राख्नुपर्ने रहेछ।

थाहा छैन, क्षतिपूर्ति कहिलेसम्ममा पाइसकिन्छ। सकेसम्म चाडै क्षतिपूर्ति रकमको अपेक्षा छ उनमा।  रकम पाइनसक्दै उनले त्यसकाे बाँडफाँड गरिसकिन्। सबैभन्दा पहिले ऋण चुक्ता गर्ने, छोराछोरीको पढाइमा खर्च गर्ने र सानोतिनो व्यवसाय गरेर बाँकी जीवन चलाउने।

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.